लुम्बिनी इन्स्योरेन्स आमन्त्रित गल्फ प्रतियोगिता सम्पन्न

काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्सको आयोजनामा बैशाख ६ र ७ गते रोयल नेपाल गल्फ क्लब एयरपोर्टमा दुईदिने आमन्त्रित गल्फ प्रतियोगिता सम्पन्न भएको छ । युवा र प्रौढ गरी दुई समूहमा विभाजन गरिएको उक्त टुर्नामेन्ट २०१९ मा ९७ जना खेलाडीको सहभागिता रहेको थियो । जसमा १२ जना साना र ८५ जना सिनियर खेलाडीहरु रहेका थिए । खेलकुद मार्फत पनि आफ्नो गुडविललाई बजारमा लैजान सकिन्छ र खेलको विकासमा सानै भएपनि यस किसिमको सहयोग खेलाडी एवं क्लबलाई गर्न पाएकोमा आफुहरु खुशी भएको लुम्बिनी जनरल इन्स्योरेन्सका अध्यक्ष मनोहरदास मुलले बताए । सो आमन्त्रित गल्फ प्रतियोगिताको उपाधि फिन्टसो लामाले हात पारेका थिए । । विजयी खेलाडीहरुलाई रोयल नेपाल गल्फका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ, इन्स्योरेन्सका अध्यक्ष मनोहरदास मुल र कम्पनीका सिइओ नुरप्रकाश प्रधानले अर्वाड हस्तान्तरण गरेका थिए । वि.सं. २०६१ सालमा स्थापित लुम्बिनी जनरल इन्स्योरेन्सले फेयर अण्डरराइटिङ, स्मार्ट क्लेम सर्भिस र क्वालिटी म्यानेजमेन्टमा आइएसओ मान्यता प्राप्त गर्न सफल भएको छ ।

जंगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमा एनआईसी एशिया बैंक विजयी

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड चितवनको सौरहामा सम्पन्न जंगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमा विजयी भएको छ । फागुन ३० गतेदेखि चैत २ गतेसम्म प्रतियोगिता भएको थियो । पालोमा इन्टरनेसनल इभेन्ट्स एण्ड स्पोर्टस म्यानेज्मेण्ट प्रालिले आयोजना गरेको सो टुर्नामेण्टमा विभिन्न क्षेत्रका कर्पोरेट टिमहरुको सहभागिता रहेको थियो । बैंकले यस अगाडि समेत विभिन्न संघसंस्थाहरुले आयोजना गरेको प्रतियोगिताहरुमा सहभागिता जनाउँदै खेलकुद क्षेत्रमा समेत आफ्नो वर्चस्व स्थापित गर्दै आएको जनाएको छ ।

“जुनियर एकल ओपन टेनिस टुर्नामेन्ट” वैशाख २ गतेदेखि शुरु, पहिलो विजेतालाई ३६ हजार नगद पुरस्कार

काठमाडौं । आईएमई फाउन्डेसनले आगामी २०७६ साल वैशाख २ गतेदेखि “दोस्रो आईएमई जेटीआई ग्राण्ड जुनियर एकल ओपन टेनिस टुर्नामेन्ट” आयोजना गर्ने भएको छ ।  फाउन्डेसनले आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खेल क्षेत्रको विकासका साथै खेलप्रतिको सीप अभिवृद्धि गर्ने उदेश्यले उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुन लागेको उक्त टुर्नामेन्ट वैशाख ७ गतेसम्म संचालन हुने छ । जसमा देशभरबाट ८ वर्षदेखि १४ वर्षसम्मका प्रतिष्पर्धीहरुले भाग लिन पाउने आयोजकले जनाएका छन् । प्रतियोगितमा भाग लिन इच्छुक प्रतिष्पर्धीहरुले चैत ५ गतेदेखि २५ गतेसम्म आवेदन फारम बुझाउन पर्ने छ । इच्छुक खेलाडीले दशरथ रंगशाला टेनिस कम्प्लेक्स त्रिपुरेश्वर, नेपाल टेनिस एसोसिएसन सातदोबाटो ललितपुर, मण्डीखाटार टेनिस कोर्ट मण्डीखाटार, नाउलिङ्ग स्पोर्टस भिल्ला सुन्दरवस्ती भंगाल र आईएमई कम्प्लेक्स पानीपोखरीमा आवेदन फारम बुझाउन सक्नेछन् । उपत्यका बाहिरका इच्छुक प्रतिष्पर्धीहरुले आईएमईको सम्बन्धित क्षेत्रीय कार्यालयमा फारम बुझाउन सक्नेछन् । साथै, इमेल तथा आइएमई फाउन्डेशनको वेवसाइटबाट फर्म भर्ने व्यवस्था मिलाइने फाउन्डेशनका सदस्य राजु पौडेलले जानकारी गराएका छन् । त्यस्तै, प्रतियोगितामा भाग लिन इच्छुकले आफ्नो उमेरअनुसार सेवा शुल्क तिरेर आवेदन दिन पाउने व्यवस्था रहेको छ । उक्त व्यवस्थाअनुसार ८ वर्षकाले ५०० रुपैयाँ, ९ र १० वर्षकाले ७०० रुपैयाँ तथा १२ देखि १४ वर्षका प्रतिष्पर्धीले एक हजार रुपैयाँ सेवा शुल्क तिर्नु पर्ने जुनियर टेनिस एसोसिएसनको तर्फबाट कृष्णराज घलेले बताएका छन् । कुल तीन लाख २६ हजार पुरस्कार राशिको उक्त एकल प्रतियोगिता पाँच वटा वर्ग (अर्थात ८, ९, १०, १२ र १४ वर्ष)मा विभाजित गरिएको छ । सो अन्तर्गत ८, ९ र १० वर्षका प्रथम, दोश्रो र तेश्रो विजेताहरुले उनीहरुको स्थानअनुसारको पुरस्कार पाउने भएका छन् । जसमा पहिलो स्थान प्राप्त गर्ने छात्र तथा छात्राहरु दुबै विजेताले १२ हजार रुपैयाँ पाउने छन् । दोश्रो हुनेले ६ हजार रुपैयाँ जुन एक जना छात्र र एक जना छात्रालाई प्रदान गरिने छ । त्यस्तै, तेश्रो विजेतालाई चन्द्रागिरी केवल कारको टिकट प्रदान गरिने पौडेलले बताए । त्यसैगरी, १० वर्षभन्दा माथि र १२ वर्षभन्दा तलका पहिलो छात्र तथा छात्राले २० हजार नगद रुपैयाँ पाउने छ । साथै, उनीहरुले अन्तराष्ट्रिय भ्रमण तथा टुर्नामेन्टको लागि जान चाहेमा २० हजार रुपैयाँ बराबरको रकम फाउन्डेसनले व्यहोर्ने र बाकी रकम विजेता आँफैले भुक्तान गनुपर्ने पौडलले जानकारी गराए । त्यस्तै, दोश्रोलाई १० हजार रुपैयाँ नगद पुरस्कार र तेश्रो हुने विजेतालाइै चन्द्रागिरी केवलकारको दुई वटा टिकट प्रदान गरिने छ । साथै, १२ वर्षभन्दा माथि र १४ वर्षमुनिका पहिलो विजेतालाई ३६ हजार रुपैयाँ, दोश्रोलाई १८ हजार रुपैयाँ र तेश्रोलाई चन्द्रागिरीकै केवलकारको दुई वटा टिकट प्रदान गरिने आयोजकले बताएका छन् । साथै, प्रत्येक खेलाडीहरुलाई आइर्एमई ग्रुपको टिसर्ट प्रदान गरिने आयोजकले जानकारी गराएका छन् । फाउन्डेसनले मंगलबार पानीपोखरी स्थित आईएमई कम्प्लेक्समा एक पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो । सम्मेलनमा आईएमई फाउन्डेसनका सदस्य सचिव अन्जली अर्याल(ढकाल), सदस्य राजु ढकाल र जुनियर टेनिस एसोसिएसनको तर्फबाट कृष्णराज घलेको उपस्थिती रहेको थियो ।