प्रथम मेयर कप फूटबल प्रतियोगिताको फाइनल खेलमा महाकाली एड्भेन्चर बि विजयी

कञ्चनपुर । प्रथम मेयर कप फूटबल प्रतियोगिताको फाइनल खेलमा महाकाली एड्भेन्चर बि बैशाखी बेलौरी विजयी भएकाे छ । उक्त टिमले कैलाली खेलकुद विकास समितिको टिमलाई ४-१ गोल अन्तरले पराजित गरेकाे छ । बिजेता र उपविजेता टिमका खेलाडीहरुलाई खानेपानी मन्त्री बिना मगरले ट्रफी र नगदसहित पुरस्कृत गरेकी छिन् । बेलौरी नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको विजेता टिमले नगद रू. १ लाख १५ हजार १ सय १५ र उपविजेता टिमले रू. ६६ हजार ६ सय ६६ नगद हात पारेका छन् । कञ्चनपुरको बेलौरीमा सञ्चालित प्रथम मेयर कप खुला फूटबल प्रतियोगिताको आइतबार समापन गर्दै मन्त्री मगरले युवाहरूलाई खेलकुद संगसंगै आर्थिक समृद्धिको यात्रामा समेत अगाडी बढाउनु पर्ने बताइकी छिन् । कार्यक्रममा सम्बोधन गर्दै उनले भनिन्, ” हामी समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा अगाडी बढिरहेका छौं । विकासको रफ्तारमा छौं । विकासमा प्रतिस्पर्धा गर्न प्रतिपक्षी लगायत सबै दललाई आह्वान गर्छु । ” मन्त्री बिना मगरले कञ्चनपुरको बेलौरीलाई भन्सार नाकाका रूपमा संचालन गर्न पहल भैरहेको जानकारी दिएकी छिन् ।

नेपाल इन्स्योरेन्स कम्पनीले चितवन टाइगर्सका खेलाडीको बीमा गर्ने

काठमाडौं । नेपालको सबैभन्दा पुरानो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले एभ्रेष्ट प्रिमियर लिग २०१८ मा चितवन टाइगर्सका खेलाडीको बीमा गरेको छ । मंसिर २२ गते देखि पुष ७ गते सम्म हुन गइरहेको टुर्नामेन्टमा चितवन टाइगर्सका खेलाडीहरुको स्वास्थ्य र दुर्घटना बीमा कम्पनीले प्रयोयजन स्वरुप गर्ने समझदारी भएको छ । यस सम्बन्धि सम्झौतामा नेपाल इन्स्योरेन्स कम्पनीका डेपुटी सीईओ विक्रान्त पाण्डे र चितवन टाईगर्सको प्रतिनिधिबीच भएको हो । आगामी तेस्रो एभ्रेष्ट प्रिमियर लिग टि–२० टुर्नामेन्टमा त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । नेपालमा क्रिकेट खेलको लोकप्रियता बढ्दै आइरहेको कारण खेलको प्रगतिको लागि चितवन टाइगर्सका खेलाडीको बीमा गरिएको पाण्डेले बताए । यस कार्यले खेलकुद प्रतियोगिता आयोजना गर्न सहयोग पनि पुग्ने र खेलाडीको जोखिम हस्तान्तरणको लागि बीमा पनि हुने उनले बताए । चितवन टाइगर्स पृथु बास्कोटाको कप्तानीसँगै दिपेन्द्र सिंह अ‍ैरी, आईरलाण्डको पल स्टर्लिङ्ग र बेलायतको जोन सिम्पसन, जर्ज स्कट र अन्य उत्कृष्ट खेलाडीहरुको साथ “रोर रोर चितवन टाइगर्स” को नारा लिई यो टुर्नामेन्टमा सहभागी हुन गइरहेको छ ।

पहिलो पल्ट अन्तर्राष्टिय प्रतियोगितामा नेत्रहीन महिला क्रिकेट टोली

काठमाडौं। नेत्रहीन क्रिकेट सङ्घ नेपालको महिला टोली पहिलो पल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएको छ । आगामी जनवरी २६ देखि फेब्रुअरी ४ सम्म पाकिस्तानमा हुनगइरहेको अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट प्रतियोगिता नेपालका दृष्टिविहीन महिला क्रिकेटर सहभागी हुने भएको हो । सो प्रतियोगिताका लागि नेपालबाट १५ जना दृष्टिविहीन महिला छनोट भएका छन् । प्रतियोगितामा सहभागिताका लागि कात्तिक १३ देखि १५ सम्म काठमाडौँमा छनोट प्रतियोगिताको आयोजना गरिएको थियो । वरिष्ठ क्रिकेट प्रशिक्षकद्वय अरुण अर्यालको संयोजकत्वमा, सुनोज भट्टराई र नेत्रहीन क्रिकेट अम्पायरद्वय नहेन्द्र निरौला र गीता रेग्मीको छनोट समितिले १५ जना खेलाडी छनोट गरेको हो । सो प्रतियोगिताका लागि नेपालबाट १५ जना दृष्टिविहीन महिला त्रिकेटरको सहभागी हुन लागेको कार्यक्रम संयोजक निरोज गिरीले जानकारी दिए। छनोट भएका खेलाडीमा आशा रेग्मी, रीता थापा, हीता गुरुङ, मुना अर्याल, सुष्मा तामाङ, सरिता घिमिरे, आयुष्मा क्षेत्री, भगवती अमगाई, मनकेशी चौधरी, विमला राई, मीना क्षेत्री, आशिका चौधरी, विनिता पुन, भगवती भट्टराई, गीता पौडेल रहेका छन् । विश्वमा नेत्रहीन महिला क्रिकेटको सुरुवात गर्ने नेपाल पहिलो देश हो । सन् २००६ देखि नै नेपालमा नेत्रहीन महिलाको क्रिकेट सुरुवात भएको थियो । सन् २०१४ मा पहिलो पल्ट नेपालमा आयोजना भएको प्रतियोगितामा नेपालले युकेको टोलीलाई पराजित गरेको थियो । रासस