खेलकुदमन्त्रीको पहिलो निर्णय : मन्त्रालयको छलफल लाइभ गर्ने
काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आइतबार पदभार ग्रहण गर्दै पहिलो निर्णयका रूपमा मन्त्रालयको बैठक (छलफल) लाइभ गर्ने घोषणा गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएपछि गुप्ता मन्त्रालय पुगेका थिए । पदभार ग्रहण समारोहपछि उनले मन्त्रालयमा पारदर्शिता र जिम्मेवारी बढाउने उद्देश्यले सबै प्रकारका बैठक तथा छलफलहरू लाइभ प्रसारण गर्ने निर्णय गरेका हुन् । मन्त्री गुप्ताले खेल क्षेत्रलाई व्यवस्थित, पारदर्शी र जनउत्तरदायी बनाउन मन्त्रालयभित्रबाटै सुधार थालिने बताउँदै खेलकुद मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक पनि सार्वजनिक रूपमा लाइभ गरिने स्पष्ट पारेका छन् ।
नेपालको अमेरिकाविरुद्ध फिल्डिङ गर्ने निर्णय, कप्तान रोहित पौडेलले जिते टस
काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत युएई सिरिजमा नेपालले अमेरिकाविरुद्ध पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङको विकल्प चयन गरेका छन् । यस निर्णयसँगै नेपाल आफ्नो बलियो खेल प्रदर्शन गर्न चाहन्छ । आइतबार नेपालले देखाउने खेल कौशलले आगामी विश्वकप क्वालिफाइङ चरणका लागि महत्वपूर्ण भूमिका खेल्न सक्छ । नेपाल लिग २ मा १६ खेलमा १२ अंक सहित सातौँ स्थानमा रहेको छ । नेपाल यो सिरिजमा राम्रो प्रदर्शन गर्दै अंक तालिकामा माथि उक्लिन चाहन्छ । अमेरिकासँगको खेल नेपालका लागि महत्वपूर्ण हुनेछ । यस सिरिजमा नेपालको आगामी रणनीति बलिङ र फिल्डिङको उत्कृष्टतामा आधारित हुने भएकाले कप्तान पौडेलले टोलीलाई आत्मविश्वासका साथ मैदानमा उतार्ने विश्वास गरेका छन् । नेपालका केही प्रमुख क्रिकेटरहरू पनि उत्कृष्ट फर्ममा रहेका छन् । युएईको उष्ण वातावरणमा राम्रो खेल देखाउनका लागि खेलाडीहरूले कडा मेहनत गरेकाले यो खेल नेपालको पक्षमा पार्न सकिने विश्वासमा कप्तान रोहित रहेका छन् ।
कीर्तिपुर क्रिकेट मैदानका फ्लड लाइटका ६ वटै टावर ठड्याइयो
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका फ्लडलाइटका ६ वटै टावर ठड्याइएको छ । फ्लडलाइटको निर्माणव्यवसायीले आइतबार एक दिनमै दुई वटा पोल उठाएपछि ६ वटै पोल ठड्याउने काम सम्पन्न भएको छ । रंगशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०/३० टनका हाइमास्ट लाइट जडान गरिएको हो । पोल नं १, ४, ५ र ६मा फ्लडलाइट आंशिक रुपमा जडान भइसकेको छ । पोल ठड्याइसकिएकाले दुई वटामा अब लाइट राख्ने काम सुरु हुने आयोजना प्रमुख चक्रवर्ती कण्ठले बताए । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले गत २३ असोजमा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको अनुगमन गरेका थिए । दुवै निर्माण व्यवसायीले नेपाल प्रिमियर लिग (एनपिएल) भन्दा अगावै प्यारापेट र फ्लडलाइट जडान सक्ने प्रतिबद्धता जनाएका थिए । परापेटको निर्माण व्यवसायीले काम सम्पन्न गरिसकेको छ । एनपिएल आगामी १ मङ्सिरबाट सुरु हुँदैछ । सरकारले गुरु योजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गर्दै रङ्गशाला विस्तारका लागि दोस्रो चरणको निर्माण सुरु गर्ने निर्णय गरिसकेको छ । मन्त्रिपरिषद्को ३० असोजको बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा रङ्गशालाको गुरु योजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको छ । गुरु योजना बमोजिम रङ्गशाला निर्माणका लागि करिब १० अर्ब रुपैयाँ बजेट सुनिश्चित गर्दै दोस्रो चरणको निर्माण अगाडि बढाउने निर्णय गरेको थियो ।