क्युरासाओ र इक्वेडर बराबरीमा रोकिए

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को निकै प्रतिस्पर्धात्मक खेलमा इक्वेडर र क्युरासाओले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।  कान्सास सिटी स्टेडियममा भएको उक्त खेलमा क्युरासाओका गोलकिपर एलोय रुम नायक बन्दा बलियो टोली इक्वेडर स्तब्ध बनेको हो । पहिलो खेलमा आइभोरी कोस्टसँग १–० ले पराजित भएको इक्वेडर र जर्मनीसँग ७–१ को भारी अन्तरले पराजित भएको क्युरासाओ दुवैका लागि नकआउट चरणको यात्रा जीवित राख्न यो खेल जित्नैपर्ने दबाब थियो । इक्वेडरले खेलको सुरुवातदेखि नै बलमाथि नियन्त्रण जमाउँदै लगातार आक्रमण बुनेको थियो । कप्तान एनेर भ्यालेन्सिया, गोन्जालो प्लाटा र जोन येबोआको प्रहारलाई क्युरासाओको रक्षापंक्ति र गोलकिपरले असफल तुल्याइदिए । क्युरासाओका गोलकिपर एलाय रुमले खेलभरि कुल १२ वटा उत्कृष्ट बचाउ गर्दै इक्वेडरलाई गोल गर्नबाट पूर्ण रूपमा बञ्चित गरे।   इक्वेडरको अभागी प्रहारस् दोस्रो हाफको अन्तिम समयतिर मोइसेस काइसेडोलाई लक्षित गरी गरिएको एउटा क्रस गोलपोस्टको बारमा लागेर बाहिरिँदा इक्वेडर अग्रता लिनबाट चुकेको थियो । क्युरासाओको काउन्टर अट्याकस् रक्षात्मक रणनीति अपनाएको क्युरासाओले पनि केही राम्रा अवसर सिर्जना गरेको थियो । जुनिन्हो बाकुना र जुर्गेन लोकाडियाको प्रहारलाई इक्वेडरका गोलकिपर हर्नान गालिन्डेजले उत्कृष्ट बचाउ गरेका थिए । खेलभरि रेफ्रीले क्युरासाओका ५ जना खेलाडी (लेआन्द्रो बाकुना, जुनिन्हो बाकुना, लिभानो कोमेनेन्सिया, जुरिएन गारी र गेर्भाने कास्तानेर) लाई पहेँलो कार्ड देखाएका थिए भने इक्वेडरका जोर्डील्सिभारले पनि पहेँलो कार्ड पाएका थिए । यो बराबरीसँगै दुवै टोलीले विश्वकप २०२६ मा आफ्नो पहिलो अंक जोडेका छन् । यद्यपि, अर्को चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाउन अब दुवै टोलीले समूह चरणको अन्तिम खेलमा गर या मरको अवस्थामा मैदान उत्रनुपर्नेछ ।

आइभरी कोस्टलाई हराउँदै जर्मनी नकआउट चरणमा

काठमाडौं । चारपटकको विश्व च्याम्पियन जर्मनीले एक खेल अगावै प्रतियोगिताको नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ । रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा आइभरी कोस्टलाई २-१ गोल अन्तरले पराजित गर्दै जर्मनीले अन्तिम १६ को टिकट काटेको हो । खेलको सुरुआतमा जर्मनीले कडा चुनौतीको सामना गर्नुपर्यो । खेलको ३०औं मिनेटमा आइभरी कोस्टका कप्तान फ्राङ्क केस्सीले उत्कृष्ट गोल गर्दै अफ्रिकी टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । एक गोलले पछि परेको जर्मनीले खेलमा फर्कन लामो समयसम्म निकै संघर्ष गर्नुपर्यो । आइभरी कोस्टको बलियो रक्षापंक्ति तोड्न जर्मनीलाई हम्मेहम्मे परेको थियो । दोस्रो हाफमा जर्मनीले आफ्नो खेल रणनीतिमा सुधार गर्यो । खेलको ६८औं मिनेटमा डेनिज उन्डाभले एक आकर्षक फिनिसिङ गर्दै जर्मनीलाई १-१ को बराबरीमा फर्काए । त्यसपछि खेल बराबरीमै सकिने र दुवै टोलीले अंक बाँड्ने संकेत देखिइरहेको थियो । तर, निर्धारित ९० मिनेटपछिको थप गरिएको ६ मिनेटको इन्जुरी समय जर्मनीका लागि भाग्यशाली सावित भयो ।  इन्जुरी समयको चौथो मिनेटमा उन्डाभले व्यक्तिगत दोस्रो तथा टोलीका लागि निर्णायक गोल गर्दै जर्मनीलाई २-१ को रोमाञ्चक जित दिलाए । समूह चरणको अन्तिम खेल खेल्नु अगावै जर्मनीले नकआउट चरणमा स्थान पक्का गरेर आफ्नो दावेदारी बलियो बनाएको छ । जर्मनीसँग पराजित भए पनि आइभरी कोस्टको अर्को चरण पुग्ने सम्भावना अझै समाप्त भएको छैन । उसले आफ्नो अन्तिम खेलमा कुरासाओको सामना गर्नेछ । उक्त खेलमा अनुकूल नतिजा निकाल्न सकेमा आइभरी कोस्टको पनि शीर्ष ३२ मा पुग्ने सम्भावना कायमै रहनेछ।

स्विडेनविरुद्ध नेदरल्यान्डको शानदार जित

काठमाडौं । फिफा विश्वकप अन्तर्गत समूह ‘एफ’को आफ्नो दोस्रो खेलमा नेदरल्यान्डले स्विडेनविरुद्ध शानदार जित हासिल गरेको छ ।  नेदरल्यान्डले स्विडेनाई ५-१ ले पराजित गरेको हो । यससँगै उसले अन्तिम ३२ मा स्थान लगभग सुनिश्चित गरेको छ । नेदरल्यान्डका ब्रायन ब्रोबे र कोडी गाक्पोले समान दुई-दुई गोल गरे भने क्रिसेन्सियो समरभिलको नाममा अर्को एक गोल रह्यो । स्विडेनका लागि गोल एन्थोनी एलाङ्गाले गरेका थिए । पहिलो खेलमा जापानसँग २-२ को बराबरीमा रोकिएको नेदरल्यान्डले दाेस्रो खेलमा  फराकिलो जित निकालेको हो ।  खेल सुरु भएसँगै डच टोलीले आफ्नो दबाब बढाएको थियो ।  यस जितसँगै नेदरल्यान्ड्स चार अंकसहित समूह ‘एफ’ को शीर्ष स्थानमा उक्लिएको छ ।