फ्रेन्चाइज लिगदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता स्थगित, खेलाडी त्रसित
काठमाडौं । जेनजीको आन्दोलनले उग्र रूप लिँदा देशका धेरै सरकारी र निजी क्षेत्रका संरचना आगोले डढेर खरानी बनेका छन् । यो घटनाले कति मात्रामा क्षति भयो भनेर अहिले नै तथ्यांक आउने अवस्था छैन । यी संरचनाहरूलाई पुरानै स्थितिमा फर्काउन धेरै समय लाग्न सक्ने स्पष्ट छ । यो आन्दोलन र घटनाक्रमले समग्र अर्थतन्त्रमा नै दीर्घकालसम्म ठूलो असर पर्नेछ । यसबीच केही समय देश नै ठप्प रह्यो । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन भइसकेको छ । यो चुनावी सरकार हो, त्यसैले अबको ६ महिनासम्म यसबाट धेरै आशा गर्ने अवस्था छैन । यस्तोमा धेरै क्षेत्रले क्षति व्यहोर्नेछन् । तीमध्ये खेलकुद र पर्यटन यो अस्थिरताले अलि बढी प्रताडित हुनेछन् । अब चर्चा गरौँ खेलकुदको । यो आन्दोलन अघि धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल आयोजनाको तयारी अवस्थामा थिए । जुन अहिले धमाधम स्थगित भइरहेका छन् । केही खेल आयोजनाहरू सञ्चालन भइरहेका पनि थिए, जुन बीचमै बन्द गर्नुपर्यो । आन्दोलन हुनुअघि नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवादले नेपाली खेलकुदमा केही हलचल देखिएको थियो । यद्यपि यसबाहेक अन्य गतिविधि भने नियमित नै थिए । खेलाडीहरूले दैनिक रूपमा अभ्यासमा व्यस्त देखिन्थे । केही खेल संघहरूले आफ्ना नियमित क्यालेन्डरअनुसार कार्यक्रम गरिरहेका थिए । पोखरामा फ्रेन्चाइज महिला भलिबल लिग भइरहेको थियो । भलिबलको हब मानिने पोखरामा युरोप, अमेरिका, दक्षिण अमेरिका र एशियाका स्तरीय खेलाडीले एभरेस्ट महिला भलिबल लिगमा खेल्दा नेपालको भलिबलमा छुट्टै उत्साह छायो । स्तरीय खेलाडीको आगमनले महिला भलिबल पनि नयाँ उचाइमा पुर्याउने आशा गरिएको थियो । तर एकाएक आन्दोलन हुँदा फ्रेन्चाइज भलिबल लिग प्रभावित हुन पुग्यो । अब कहिले हुन्छ भन्ने अन्योलपूर्ण नै छ । त्योभन्दा ठूलो क्षति विदेशी खेलाडी बसेका होटलमा आन्दोलनकारीले आगो नै लगाए । यो घटनामा ती खेलाडीका सरसामान पनि जल्न पुगे । ती खेलाडीले आग्रह गर्दागर्दै आन्दोलनकारीले उनीहरूका सरसामानमा क्षति पुर्याए । यसले अन्तर्राष्ट्रिय जगतमा नेपाल सुरक्षित स्थान नरहेको सन्देश जानेछ । ‘हामीले पटकपटक आग्रह गर्दा पनि खेलाडीको सामान निकाल्न दिइएन । त्यसबेला विदेशी खेलाडीहरू धेरै आतिनुभयो । 'यो देशमा कहिल्यै आउँदैनौँ' भने,’ आयोजक टिमका एक सदस्यले भने, ‘त्यो सुन्दा धेरै दुःख लाग्यो । साँच्चै अब उहाँहरू आउनुहुन्छ जस्तो लाग्दैन । अरुलाई पनि 'नेपाल सुरक्षित छैन' भने भने अर्को क्षति व्यहोर्नुपर्छ ।’ आयोजकका प्रमुख आमिर अख्तरले पनि बीचमै नै आयोजना प्रभावित हुँदा क्षति व्यहोर्नुपरेको र अहिले नै 'यति क्षति भयो' भन्ने अवस्थामा नरहेको उल्लेख गरे । ‘आँट गरेर यो आयोजना गर्यौँ । तर अनपेक्षित घटना भयो । यसले सबै फ्रेन्चाइज लिगलाई असर गर्नेछ,’ उनले भने, ‘यो घटनाले अर्थतन्त्रमा पनि असर पारेको छ । एउटा व्यवसायिक खुशी भएर नै खेलमा प्रायोजना गर्छन् । तर अब उहाँहरू खुशी हुनुहुन्न । त्यसैले नेपाली खेलकुदका लागि यो ठूलो घाटा हो । अबको एक वर्ष ठूलो क्षति बेहोर्नु पर्नेछ ।’ उनले यो घटनाका कारण विदेशी खेलाडी त्रसित भएपनि आफूहरूले सम्झाएको बताए । ‘११ राष्ट्रका १८ जना विदेशी महिला खेलाडी हुनुहुन्थ्यो । त्यो घटना हुँदा आतिनुभयो । महिलाहरू त्यसै पनि सेन्सिटिभ हुनुहुन्छ । होटलमा जसरी आक्रमण भयो, त्यो सहन नसक्ने अवस्था नै थियो । २/४ जना खेलाडीको डकुमेन्ट र सरसामान त्यहीँ जले । जसोतसो पासपोर्ट जोगायौँ,’ उनले भने, ‘हामीले ती खेलाडीहरूसँग बसेर एउटा सेसन राखेका थियौँ । नेपाल शान्त देश हो र यस्तो पहिलोपटक भयो । यस्तो हुन्छ भन्ने आँकलन पनि थिएन भन्यौँ । बाहिर नराम्रो सन्देश नलगिदिनुस् भन्यौँ । कोही खेलाडी अब आउन चाहन्नन्, केही आउन पनि सक्छन् । हिजो मात्र खेलाडी जानुभयो र अब यो आयोजना कहिले हुन्छ भन्न सक्दैनौँ ।’ उनले भारतका एमपी विक्रम साहनी र भारतीय दूतावासको सहयोगमा ब्रोडकास्टिङ टिमलाई आफ्नै देश पठाउन सफल भएको बताए । ‘कठिन समयमा एकताबद्ध भएर अगाडि बढ्न सक्छौँ भन्ने सन्देश दियौँ । आयोजक, फ्रेन्चाइज टोली, ब्रोडकास्टिङ क्रु र भेन्डर मिलेर खेलाडीमाथि कुनै घटना हुन दिएनौँ र एक भएर लड्यौँ । तर त्यो घटनालाई रोक्न सक्दैनथ्यौँ,’ उनले भने । व्यावसायिक खेल आयोजनाले नेपाली खेलकुदलाई माथि उकास्दैछ । विभिन्न देशका स्टार खेलाडीहरू नेपालमा आएर खेल्दा खेलाडीहरूको पनि मनोबल बढेको छ । नेपाल प्रिमियर लिग (एनपीएल), एभरेस्ट महिला भलिबल लिग, नेपाल सुपर लिग (एनएसएल) र नेपाल कबड्डी लिगजस्ता फ्रेन्चाइज लिग नेपाली खेलकुद विकासमा मद्दत पुग्ने ठूला आधार हुन् । तर देशको राजनीतिक अस्थिरताले यी आयोजनालाई दीर्घकालसम्म अगाडि बढ्न दिने छैन । आयोजकहरूले पनि यस्ता प्रतियोगिता गर्न धेरैपटक सोच्नेछन् । आगामी मंसिर १ देखि २७ गतेसम्म एनपीएलको दोस्रो संस्करण हुने तयारी छ । सम्भवतः त्यसलाई पनि असर पर्न सक्छ । यसबीच एनपीएलको ट्रफी टुर थियो । त्यो प्रभावित भएको छ । यो टुरबाट एनपीएलको ब्रान्डिङ गर्ने नेपाल क्रिकेट संघ (क्यान) को योजना पनि पूरा हुन सकेन । एनपीएलको तयारीमा केही असर भने पर्नेछ । फ्रेन्चाइज टोलीमा व्यावसायिक घराना रहेका र उनीहरूको व्यवसायमाथि पनि आक्रमणबाट ठूलो क्षति भएको छ । यस्तोमा उनीहरू छिट्टै एनपीएलको तयारीमा नलाग्न सक्छन् । क्यानका प्रवक्ता छुम्बी लामाले भने, समय बाँकी रहेकाले यो घटनाले तयारीमा असर नपर्ने बताए । ‘एनपीएलका लागि समय छ, त्यसैले असर पर्ने छैन । टी–२० विश्वकप छनोटका लागि वेस्ट इन्डिज टुरको तयारीमा छौँ र यसले राष्ट्रिय टोलीको प्रशिक्षण भने नियमित गर्न सकेका छैनौँ,’ लामाले भने । आन्दोलन चर्किँदा बंगलादेश र नेपालबीच मैत्रीपूर्ण फुटबल नै स्थगित हुन पुग्यो । पाहुना टोली घर फर्कन धेरै नै सकसपूर्ण रह्यो । ठूलो आयोजना काभा महिला भलिबल लिगसँगै घरेलु प्रतियोगिता नेपालगञ्ज नाइट रन, दोस्रो पर्वतीय दौड र अन्य थुप्रै घरेलु प्रतियोगिता स्थगित भइसकेका छन् । नेपालमा हुने भनिएको सेन्ट्रल एसियन भलिबल एसोसिएशन ९काभा० महिला आउटडोर भलिबल लिग २०२५ स्थगित भएको छ । काभा बोर्ड अफ एड्मिनिस्ट्रेसनको शनिबार बसेको भर्चुअल बैठकले लिग स्थगित गर्ने निर्णय गरेको नेपाल भलिबल संघले उल्लेख गरेको छ । प्रतियोगिता आगामी नोभेम्बर १५ देखि २२ तारिखसम्म हुने तय थियो । जेनजी प्रदर्शन र त्यसपछि उत्पन्न राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै लिग स्थगित भएको हो । केही व्यावसायिक प्रतियोगितासँगै आगामी २०औँ एशियाली खेलकुदका लागि नेपालका राष्ट्रिय टिमको नियमित तयारी थियो । जुन अहिले प्रभावित भइरहेको छ । राष्ट्रिय टोलीका अधिकांश खेलाडी विभागीय टोली आर्मी, पुलिस र सशस्त्र प्रहरीमा आबद्ध छन् । उनीहरू अहिले विभागको जिम्मेवारीमा छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) राष्ट्रिय टिम तयारी समितिका निर्देशक दीपक बिष्टले अवस्था सामान्य हुँदै आएपछि खेलाडी प्रशिक्षणमा फर्कने बताए । ‘हामी प्रशिक्षण सुचारु गर्ने तयारीमा छौँ । तर अधिकांश विभागका खेलाडीहरू हुनुहुन्छ । उहाँहरू अहिले विभागको जिम्मेवारीमा हुनुहुन्छ । अवस्था सामान्य भएपछि खेलाडी फर्काइ दिने सूचना आएको छ,’ बिष्टले भने, ‘छिट्टै मिशन–२६ को तयारी सुरु गर्छौँ ।’ भदौ २९ गते पोखरामा २०६० सालदेखि सुरु भएको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड हुने तयारीमा थियो, जुन स्थगित भइसकेको छ । तयारी अन्तिम चरणमा पुगेको अवस्थामा आयोजना स्थलमा आगो लगाइएपछि अवार्ड प्रभावित भयो र आयोजकले पनि केही क्षति बेहोर्नु परेको छ । नेपाली खेलकुदलाई नै प्रोत्साहन गर्ने अवार्ड होस् या राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता, पछिल्लो घटनाले ठूलो क्षति पुर्याएको छ । यी आयोजनाहरू स्थगित भइरहँदा दीर्घकालसम्म नेपाली खेलकुदले क्षति व्यहोर्नु पर्नेछ ।
गल्फ लुब्रिकेन्ट्सको पार्टनर मिटमा पूजा महतो ब्रान्ड एम्बेसडर नियुक्त
काठमाडौं । नेपाल ल्युब आयलले हालै पोखरामा आयोजित वार्षिक पार्टनर मिट सम्पन्न गरेको छ । रेडीफाइन योर लिमिटस भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा देशभरका ३३ भन्दा बढी व्यवसायिक पार्टनर, कम्पनी सञ्चालक समिति तथा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा पार्टनरहरूको क्षमता विकासका लागि विशेष प्रशिक्षण सत्र, विगत वर्षको समग्र समीक्षा तथा आगामी वर्षका लागि रणनीतिक रोडम्याप प्रस्तुत गरिएको थियो । त्यस्तै, उत्कृष्ट प्रदर्शन गर्ने पार्टनरलाई विभिन्न विधामा सम्मानसमेत गरिएको कम्पनीले जनाएको छ । सोही अवसरमा नेपाल ल्युब आयल लिमिटेडले राष्ट्रिय महिला यू–१९ क्रिकेट टोलीकी उप–कप्तान पूजा महतोलाई गल्फ लुब्रिकेन्ट्सको आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको घोषणा गर्यो । महतोले हालै आईसीसी यू–१९ महिला विश्वकप २०२५ को टिम अफ द टुर्नामेन्ट मा स्थान बनाउन सफल हुँदै एसोसिएट राष्ट्रबाट यो सम्मान पाउने एकमात्र खेलाडीको रूपमा इतिहास रचेकी थिइन् । कम्पनीका अनुसार महतोको लगनशीलता र अथक मेहनतले नेपाली महिला क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्याइरहेको छ र यो सहकार्यले कम्पनीसँगै सम्पूर्ण नेपाली महिला क्रिकेटलाई समेत लाभ पुग्ने अपेक्षा गरिएको छ । ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त भएपछि महतोले गल्फजस्तो विश्वव्यापी प्रतिष्ठित ब्रान्डसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै यसले आफूलाई मात्र होइन, भविष्यका महिला क्रिकेटरलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरिन् ।
रविन्द्र ढाँट बने रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेजका ब्रान्ड एम्बास्डर
काठमाडौं । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँट रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेजको ब्रान्ड एम्बास्डरमा नियुक्त भएका छन् । १७ वर्षअगाडि स्थापना भएको रोहिणी इन्टरनेसनलले आफ्नो सफलतायात्रामा ढाँटलाई एम्बास्डरको रूपमा प्रस्तुत गर्दै नयाँ अध्याय सुरू गरेको हो । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) अध्यक्ष शेषराज भट्टराईले रोहिणीलाई इतिहास बोकेको संस्था भन्दै ढाँटलाई एम्बास्डर बनाउनु गर्वको विषय भएको बताए । उनले ढाँटको प्रशंसा गर्दै भने, 'देशले यस्तो व्यक्तित्व पाउनु सौभाग्य हो, उनले नेपालको खेल क्षेत्रमा ठूलो योगदान दिएका छन् ।' त्यस्तै, रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेजका म्यानेजिङ डाइरेक्टर श्याम भण्डारीले ढाँटको समावेशीले संस्थाको गरिमा बढ्ने विश्वास व्यक्त गरे । उनले भने, 'ढाँटले मेहनत र समर्पणबाट सफलता हासिल गरेका छन् । यसले युवालाई प्रेरणा दिनेछ ।' ब्रान्ड एम्बास्डर नियुक्त भएपछि रविन्द्र ढाँटले रोहिणी परिवारलाई धन्यवाद दिदैँ यो जिम्मेवारीलाई प्रचारभन्दा बढी सहयोगको रूपमा लिने बताएका छन् । 'जीवनमा अझ धेरै गर्न बाँकी छ, आगामी बाटो सहज हुने विश्वास छ,' उनले भने । इक्यानका पूर्वअध्यक्ष राजेन्द्र बरालले ढाँटको योगदानलाई ऐतिहासिक ठहर गर्दै भने, 'बैतडीबाट काठमाडौं आएर उनले नयाँ इतिहास रचेका छन् । भारतमा घाइते भएर पनि देश चिनाएका ढाँटलाई रोहिणीले एम्बास्डर बनाउनु गौरवको विषय हो ।' रोहिणी इन्टरनेसनलका मार्केटिङ डाइरेक्टर दया थापाले एम्बास्डर नियुक्तीलाई कसैलाई सहयोग गर्ने उद्देश्यसँग जोडिएको बताए । उनले भने, 'रोहिनीले समय–समयमा विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । ढाँटलाई पनि निरन्तर साथ दिनेछ ।' रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेज काठमाडौंस्थित एक अग्रणी विदेश अध्ययन सल्लाहकार संस्था हो । विशेषगरी न्यूजिल्यान्डमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि विशेषज्ञ मार्गदर्शन प्रदान गर्दै आएको छ । संस्थाले अंग्रेजी तयारी कक्षा, आईईएलटिएस तयारी कक्षा तथा अन्य शैक्षिक परामर्श सेवा पनि प्रदान गर्दै आएको छ ।