गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले रियो ओलम्पिकमा

काठमाडौं, ६ भदौं । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले ब्राजिलको रियो दि जेनेरियामो भइरहेको ओलम्पिक २०१६ मा सहभागी भएका छन् । ओलम्पिकमा सहभागी भएर घलेले नेपाली खेलाडीको हौसला बढाएका हुन् । अगष्ट २० तारिखमा नेपाल सहभागी तेक्वाण्डो खेलमा उपस्थीत भएका अध्यक्ष घलेले नेपाली खेलाडीलाई शुभकामना समेत दिएका थिए । साथै उनले नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ लगायतका पदाधिकारीसँग भेटेर नेपालको सहभागीता र उपलब्धीबारे छलफल पनि गरेका थिए । अध्यक्ष घलेले ओलम्पिक जस्ता अन्तर्राष्ट्रिय खेलमा गैरआवासीय नेपाली प्रतिभाहरुलाई नेपालका तर्फबाट सहभागी बनाउनुपर्ने सुझाव दिए । गैरआवासीय नेपाली किशोरी गौरिकाको प्रस्तुतीको स्मरण गर्दै उनले बिदेशको नेपाली समुदायमा गौरिका जस्ता धेरै प्रतिभा रहेको दावी समेत गरेका थिए । यसैबिच, घलेले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति ब्राजिलको बिशेष साधारणसभालाई सम्बोधन पनि गरेका थिए ।

रुस्लानद्वारा नेदरल्याण्ड जाँदै गरेको नेपाली क्रिकेट टोलीलाई विदाई

काठमाडौं, २१ साउन । रुस्लान क्रिकेटका ब्राण्ड एम्बेसेडरहरुलाई रुस्लान क्रिकेटका कार्यकारी निर्देशक राजबहादुर शाहले आधिकारिकरुपमा विदाई गरेका छन् । शाहले नेदरल्याण्ड जाँदै गरेको नेपाली राष्ट्रिय टोलीका सदस्य समेत रहेका ती खेलाडीलाई जावलाखेल ग्रुप अफ इण्डष्ट्रीजको आफिसमा आयोजित एक कार्यक्रमकाबीच बिदाई गरेका हुन् । सो अवसरमा नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल, अन्य खेलाडीहरु शरद भेष्वाकर, बिनोद भण्डारी र बसन्त रेग्मी उपस्थित थिए । कार्यक्रममा बोल्दै रुस्लानका ब्राण्ड एम्बेसेडर समेत रहेका उपकप्तान ज्ञानेन्द्र मल्लले नेपालमा क्रिकेट विकासमा रुस्लानले पु¥याएको सहायता एवम् समर्थनका लागि धन्यवाद दिएका थिए । विश्व क्रिकेट लिग च्याम्पियनशीपका लागि यही अगष्ट महिनाको १३ र १५ तारिखका दिन नेदरल्याण्डसँग हुने प्रतियोगिताका लागि नेपालको राष्ट्रिय क्रिकेट टोली यहि शनिबार नेदरल्याण्ड जाँदै छ । स्कटल्याण्ड, पपुवा न्यूगिनी र नामिबियासँगको खेलपछि नेपाली टोली चौंथो चरणमा नेदरल्याण्डसँग भिड्न लागेको हो । यस अवसरमा रुस्लान क्रिकेट नेपाली क्रिकेट टोलीलाई सफलताको शुभकामना दिन चाहन्छ ।

नेदरल्यान्ड्सविरुद्ध खेल्ने नेपाली टोली घोषणा

काठमाडौं, १९ साउन । आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसीपअन्तर्गत यही महिना नेदरल्यान्ड्सविरुद्ध खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)का प्रतिनिधि भेन्काटापथी राजु, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्कासहितको छनोट समितिले आज १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा कप्तान खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी र सागर पुन छन् । त्यस्तै विनोद भण्डारी, राजु रिजाल, करण केसी, अनिल मण्डल, सन्दीप लामिछाने, विक्रम सोब, राजेश पुलामी मगर र सुनिल धमलासमेत टोलीमा अटाएका छन् । नेपालले यही साउन २९ र ३१ गते उसकै घरेलु मैदानमा नेदरल्याण्ड्स दुई खेल खेल्नेछ । नेपाल क्रिकेट सङ्घ निलम्बन परेको अवस्थामा आइसिसीले प्रतिनिधि पठाएर राष्ट्रिय टोलीको छनोट गरेको हो । रासस