पोर्चुगलले पहिलोपटक युरोकप उपाधि जित्यो

काठमाडौँ, २७ असार । आयोजक फ्रान्सलाई १–० गोल अन्तरले हराउँदै पोर्चुगलले पहिलोपटक युरोपियन च्याम्पियनसिप (युरोकप) को उपाधि जितेको छ । पेरिसस्थित फ्रान्सको राष्ट्रिय रङ्गशालामा गएराति सम्पन्न फाइनल खेलमा पोर्चुगलका एडेरले १०९ मिनेटमा गोल गरे । अन्ततः त्यही एक मात्र गोल नै निर्णायक बन्यो । यसअघि आफ्ना कप्तान क्रिष्टियानो रोनाल्डोलाई चोटका कारण खेलको २५ औँ मिनेटमा गुमाएपछि पोर्चुगल केही दबाबमा आएको थियो । तर अतिरिक्त खेलाडीको रुपमा मैदानमा आएका एडेरले त्यो अभाव खड्किन दिएनन्, र गोल गर्दै आफ्नो टोलीलाई जिताए । निर्धारित ९० मिनेटको खेलमा गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । खेल अवधिभर दुवै टोलीमा खेलाडीले केही गोलका प्रयास गरे पनि सफल भने भएनन् । त्यसमा पनि घरेलु टोली फ्रान्सले बनाएका केही सुन्दर मौकालाई पोर्चुगाली गोलकिपर रुइ पेट्रिसियोले सफल हुन दिएनन् । प्रतियोगितामा पोर्चुगल समूह चरणमा एउटा पनि खेल नजिती तेस्रो स्थानमा रहेको उत्कृष्ट टोलीका रुपमा नकआउट चरणमा पुगेको थियो । त्यसपछि सुधार गरेको उसले पहिलो ठूलो अन्तर्राष्ट्रिय उपाधि जितेको छ । यसअघि सन् २००४ मा घरमै भएको प्रतियोगितामा पोर्चुगलले ग्रिसलाई नतिजा सुम्पिएको थियो । त्यस्तै पोर्चुगल विश्वकपमा सेमिफाइनलभन्दा माथि पुग्न सकेको छैन । रासस

सानिमा बैंकले क्रिकेटर सन्दिप लामिछानेलाई प्रायोजन गर्ने

काठमाडौं, २४ असार । सानिमा बैंक लिमिटेडले नेपाली राष्ट्रिय तथा अन्डर–१९ क्रिकेटका उदयमान खेलाडी सन्दिप लामिछानेलाई दुई वर्षका लागी प्रायोजन गर्ने सम्झौता गरेको छ । बैंकले लामिछानेलाई मासिक रुपमा प्रायोजित रकम प्रदान गरी खेल जीवनमा अभ्यस्त रहन प्रेरित गरेको छ । एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र क्रिकेटर सन्दिप लामिछानेबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सन् २०००, अगस्ट २ मा जन्मिएका लामिछाने लेग ब्रेक बलिङ्ग स्टाईल मा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनी सानै उमेरमा बङ्गलादेशमा हालै सम्पन्न भएको आई.सी.सी अण्डर १९ विश्व कप मा राम्रो प्रदर्शन गर्न सफल भएका थिए । प्रमुख कार्यकारी अधिकृत दाहालले सानिमाबाट प्रेरित भई अन्य संस्थाहरुले पनि खेलाडीहरुलाई सहयोग गरी नेपालमा प्रोफेसनल क्रिकेटको विकासमा सहयोग गर्ने आशा व्यक्त गरेका छन् । साथै नेपाल क्रिकेट टिम को आगामी यू.के (बेलायत) तथा नेदरल्याण्ड भ्रमणको सफलताको शुभकामना व्यक्त गरेका छन् ।