‘एनसेल फर बिजनेस बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ चैत्र २३ मा हुने
काठमाडौं । ‘एनसेल फर बिजनेस बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ चैत्र २३ गते काठमाडौंमा हुने भएको छ । सोमबार काठमाडौंमा बाह्रखरी मिडियाले पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराएको हो । चैत्र २३ गते काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा प्रतियोगिता हुने बताइएको छ । व्यावसायिक र आर्थिक क्षेत्रका अग्रणीलाई गल्फ खेलमा प्रष्स्पिर्धा गराउँदै देशको आर्थिक अभिवृद्धिका लागि वैचारिक बहसमा संलग्न गराउने उद्देश्यका साथ बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको ‘कर्पोरेट गल्फ’ प्रतियोगिता यस वर्ष आठौं संस्करणमा प्रवेश गरेको जनाएको छ । गल्फ खेललाई समृद्धहरूको मनोरञ्जनको माध्यम मात्र नबनाएर यस खेलमा बढीभन्दा बढी व्यावसायिक व्यक्तित्वको प्रतिनिधित्व बढाउने र सोही समूहले देशका राजनीतिक, सामाजिक र नीतिगत नेतृत्व तहमा रहेकाहरूसँग अर्थतन्त्रको चिन्तन गर्ने ‘एनसेल फर बिजनेस बाह्रखरी गल्फ तथा इकोनोमिक सिम्पोजियम’ चैत २३ गते काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा सम्पन्न हुने जानकारी आयोजकले दिएको छ । कार्यक्रममा स्वदेशी तथा विदेशी गरी करिव १ सय २० जना कर्पोरेट गल्फरको सहभागिता रहने बताइएको छ । भारत, अमेरिका, चीन, सिंगापुर, श्रीलंकाका गल्फरले पनि प्रतियोगितामा सहभागिता जनाउनेछन् । साथै नेपालस्थित विदेशी नियोगका प्रतिनिधि पनि गल्फ प्रतियोगितामा सहभागी हुने आयोजकको भनाइ छ । काठमाडौंसहित पोखरा, धरान, चितवन, बुटवल, नेपालगञ्जलगायत क्षेत्रका कर्पोरेट गल्फर, न्यायाधीश र केही सरकारी उच्च अधिकारीले पनि प्रतियोगितामा सहभागिता जनाउने पनि आयोजकको विश्वास छ । कर्पोरेट गल्फ प्रतियोगिताको उद्घाटन बिहान ८ बजे हुने र गल्फ प्रतियोगितालगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आर्थिक परिसंवाद’मा विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको बताइएको छ ।
एनसेल नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक, पहिलो खेल भ्याली डर्बी काठमाडौं र ललितपुर भिड्ने
काठमाडौं । प्रतीक्षित एनसेल नेपाल सुपर लिग २०२५ ले नेपाली फुटबलप्रेमीहरूलाई रोमाञ्चित पार्ने गरी तेश्रो सिजनको खेलतालिका सार्वजनिक गरेको छ । चैत्र , १६ २०८१ मा सुरु हुने यो सिजन एक महिना लामो कडा प्रतिस्पर्धाको फाइनल खेल भने बैशाख १३ २०८२ मा महा भिडन्तका साथ समापन हुनेछ। एनसेल शीर्ष प्रायोजक रहेको यस सिजनमा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र चितवन गरी नेपालका सात उत्कृष्ट टोलीहरू एनसेल एनएसएल उपाधिका लागि प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ । एनसेल एनएसएल २०२५ को पहिलो खेल सिजन १ को बिजेता काठमाडौं रेजर्स एफसी र सिजन २ को बिजेता ललितपुर सिटी एफसी बीचको भ्याली डर्बी रहनेछ। यो बहुप्रतीक्षित खेलले फुटबलप्रेमीहरूलाई रोमाञ्चित बनाउनेछ, यो भिडन्तले थप उत्साह र प्रतिस्पर्धात्मक भावना सिर्जना गर्नेछ र सिजन भर नै यो उत्साहलाई कायम राख्नेछ । यो रोमाञ्चक खेलसँगै सिजनको यात्रा सुरु हुनेछ, जहाँ प्रत्येक टोलीले च्याम्पियन बन्ने लक्ष्य राख्नेछ। अप्रिल २६, २०२५ को फाइनल खेलमा यस सिजनको विजेता घोषणा गरिने कम्पनीले जनाएको छ । ।
आमाहरूको फुटबल प्रतियोगिता
म्याग्दी । खेलकुदका माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यले फागुपूर्णिमाका अवसरमा बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा आमाहरूको फुटबल प्रतियोगिता भएको छ । जलमाई भगवती आमा समूहले आयोजना गरेको प्रतियोगितामा तातोपानी, पखेर र सिङ्गाका पाँच वटा आमा समूह सहभागी भएकामा जलमाई भगवती आमा समूह (ए)ले मङ्गला गाउँपालिका–३ को पखेर आमा समूहलाई एकका विरुद्ध चार गोल गरेको छ । यो समूहले खेल जितेर रु १५ हजार हात पारेको छ । जलमाई भगवती आमा समूहका सचिव मीना जुग्जालीले ‘आमाहरुको मात्र फुटबल प्रतियोगिता जिल्लामै पहिलोपटक तातोपानीमा भएको हो’, उनले भने, ‘खेलकुदमार्फत आमाहरुलाई जागरुक र सामाजिक क्षेत्रमा क्रियाशील बनाउन प्रतियोगिता आयोजना गरिएको हो ।’ आमाहरु लुङ्गी, चोलो, कुर्तासुरुवालको पहिरनमा खेलमैदानमा उत्रिएका थिए । प्राकृतिक चिकित्सालयको रुपमा परिचित तातोपानीमा परम्परागत रुपमा लाग्ने फागुपूर्णिमा मेलालाई यसपटक आमा समूहले निरन्तरता दिएका हुन् । मेलामा फाइभ ए साइड पुरुष फुटसल, महिला र पुरुष लठो तान्ने, अन्धनिशान, पुरुष तथा महिला छेलो प्रतियोगिता भएको थियो ।