क्रिकेटको प्रसारण अधिकारका लागि बोलपत्र आह्वान, १० हजार शुल्क तोकियो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालमा आयोजना हुने विभिन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूको व्यावसायिक, उत्पादन तथा प्रसारण अधिकार बिक्रीका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको छ । संघले शुक्रबार (आज) एक सूचना जारी गर्दै राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियामार्फत योग्य बोलपत्रदाताहरूबाट आवेदन माग गरेको हो । क्यानका विभिन्न अन्तर्राष्ट्रिय इभेन्टहरूको व्यावसायिक प्रवर्द्धन, भिडियो उत्पादन र प्रत्यक्ष प्रसारण अधिकार तथा यो बोलपत्र सिंगल स्टेज सिंगल एभलप प्रक्रिया अन्तर्गत छनोट गरिने सूचनामा उल्लेख छ । इच्छुक बोलपत्रदाताहरूले काठमाडौंको मुलपानी- ६ स्थित नेपाल क्रिकेट संघको कार्यालयबाट थप जानकारी लिन सक्नेछन् । पछिल्लो समय नेपाली क्रिकेटको बढ्दो क्रेज र अन्तर्राष्ट्रिय सहभागितासँगै क्यानले आफ्ना प्रतियोगिताहरूलाई थप व्यावसायिक बनाउन र गुणस्तरीय प्रसारण सुनिश्चित गर्न यो कदम चालेको हो ।  बोलपत्र खरिद र दर्ता सम्बन्धी विस्तृत सर्तहरू आधिकारिक बोलपत्र दस्ताबेजमा उपलब्ध गराइएको संघले जनाएको छ ।

एनपीएल दोस्रो संस्करणबाट क्यानले कमायो ४७ करोड ३६ लाख, खुद नाफा ९ करोड २१ लाख

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा नेपाल क्रिकेट संघ (क्यान) ले ४७ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ ।  सोमबार क्यानले दोस्रो संस्करणको एनपीएलमार्फत ४७ करोड ३६ लाख रुपैयाँ आम्दानी भएको जनाएको छ । एनपीएल दोस्रो संस्करणमार्फत क्यानको खुद आम्दानी भने ९ करोड २१ लाख २१ हजार रुपैयाँ रहेको छ ।  प्रतियोगिता सञ्चालन गर्न २१ करोड ९७ लाख ५ हजार रुपैयाँ खर्च भएको क्यानको आय(व्यय विवरणमा उल्लेख छ ।  क्यानले आम्दानीको ५० प्रतिशत रकम ८ फ्रेन्चाइ टिमसँग पनि वितरण गर्ने गर्छ । जसअन्तर्गत १६ करोड १८ लाख ७३ हजार रुपैयाँ ८ फ्रेन्चाइलाई दिएको छ ।  आम्दानी बाढ्नु अघि क्यानको खुद आम्दानी २५ करोड ३९ लाख ९५ हजार रुपैयाँ रहेको जनाइएको छ । 

प्रधानमन्त्री कप २०२६ को 'पावर्ड बाई' प्रायोजन मार्फत नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्दै यामाहा

काठमाडौं । नेपालमा क्रिकेट केवल खेल मात्र होइन, यो भावनासँग जोडिएको विषय हो । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको नयाँ सिजन सुरु हुँदै गर्दा यामाहाले यस प्रतियोगिताको आधिकारिक 'पावर्ड बाई' प्रायोजकको रूपमा आफ्नो सहभागिता सगर्व घोषणा गरेको छ । युवा खेलाडीहरूको सपना साकार पार्ने र नेपाली खेलकुदको उत्साहलाई सम्मान गर्ने उद्देश्यले यो सहकार्य गरिएको हो । एक महिनासम्म चल्ने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता नेपाल क्रिकेट संघद्वारा हरेक वर्ष आयोजना गरिने देशकै प्रमुख घरेलु क्रिकेट प्रतियोगिता हो । यस प्रतिष्ठित प्रतियोगिताले प्रत्यक्ष प्रसारण, मोटरसाइकल एवम् नगद पुरस्कारसहितका विभिन्न प्रमुख अवार्डहरू वितरण गरिने पोस्ट(म्याच कार्यक्रम मार्फत उच्चस्तरीय ब्राण्ड भिजिबिलिटी प्रदान गर्दछ । नेपालमा यामाहाको यात्रा सदैव उत्कृष्ट प्रदर्शनप्रतिको प्रतिबद्धताका कारण सफल रहँदै आएको छ । काठमाडौं रेजर्ससँग फुटबल मैदानमा देखिएको जोश होस् वा विभिन्न युवामैत्री पहलहरू, यामाहाले सधैं देशलाई अघि बढाउने प्रतिभालाई साथ दिँदै आएको छ । पीएम कपसँग सहकार्य गर्दै, यामाहाले नयाँ पुस्ताका क्रिकेट खेलाडीप्रति आफ्नो प्रतिबद्धता अझ सुदृढ गरेको छ, जसले यस ब्रान्डको 'कान्दो' फिलोसोफीलाई क्रिकेटजस्तो अनुशासित र टिमवर्कमा आधारित खेलसँग जोड्दछ । मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मान गर्न यामाहाले यस वर्ष अझ आकर्षक पुरस्कारको व्यवस्था गरेको छ। प्रतियोगिताका उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र ‘प्लेयर अफ द म्याच’ लाई जनही एक–एक वटा यामाहा सलुटो मोटरसाइकल प्रदान गरिनेछ, जसले उनीहरूको खेल कौशल, मेहनत र उत्कृष्ट प्रदर्शनलाई सम्मान गर्नेछ। साँच्चै नै जनताको खेलको रूपमा रहने यो प्रतियोगिता पुरै एक महिनासम्म वीरगञ्ज, जनकपुर, माथिल्लो मुलपानी र तल्लो मुलपानी जस्ता देशका प्रमुख खेल मैदानहरूमा सञ्चालन हुनेछ । यसमा सातवटै प्रदेशलाई प्रतिनिधित्व गर्ने टोलीहरूसँगै नेपाल पुलिस, नेपाल आर्मी र एपीएफ जस्ता विभागीय टोलीहरू समेत कुल १० टोलीबीच प्रतिस्पर्धा हुनेछ । नेपाल क्रिकेट संघका सचिव पारस खड्काले भने, 'पीएम कप २०२६ मा यामाहाको सहभागिताले हामीलाई खुसी लागेको छ । यस्ता सहकार्यले घरेलु क्रिकेटलाई थप मजबुत बनाउनुका साथै खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शन गर्न प्रेरित पनि गर्नेछ।'  एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, 'पीएम कप जस्तो नेपाली युवाको उत्साह झल्काउने प्रतियोगितालाई समर्थन गर्न पाउँदा हामी गर्व गर्दछौं । यो प्रतियोगिता खेल मार्फत विकास र उत्कृष्टताको उदाहरण प्रस्तुत गर्ने सहि प्लेटफर्म हो ।' त्यसैगरी, कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले भने, 'यामाहा सधैं सपनाको शक्तीमा विश्वास गर्दछ । पीएम कप पनि एक यस्तो मञ्च हो जहाँ भविष्यका स्टारहरू जन्मिन्छन् । त्यसैले नेपाली जनतामा खुशी र गौरव जगाउने यस्तो प्रतियोगिताको हिस्सा बन्न पाउँदा हामी उत्साहित छौं ।' यामाहा देशभरका सबै क्रिकेटप्रेमीहरूलाई यस रोमान्चक प्रतियोगितामा सहभागी हुन आह्वान गर्दछ, जुन यस अघिका संस्करणहरू भन्दा अझ भव्य, प्रतिष्पर्धात्मक र प्रेरणादायी हुने अपेक्षा गरिएको छ ।