प्रधानमन्त्री कप क्रिकेट बैतडीमा हुने, डडेल्धुरा र बझाङ आमनेसामने

काठमाडौं । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट बैतडीमा हुने भएको छ । यही फागुन ११ गतेदेखि सुरु हुने प्रतियोगिताका खेल बैतडीको दशरथचन्द नगरपालिका-५ सुन्दरखालीमा रहेको दशरथचन्द क्रिकेट मैदानमा खेलाइने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले बताए । आठ टोली सहभागी हुने प्रतियोगिताका खेल प्लेट र एलाइट गरेर दुई चरणमा हुनेछन् । प्लेट च्याम्पियनसिपका खेल फागुन ११ गतेदेखि र फागुन १४ देखि एलाइट कप सञ्चालन हुने छ । प्लेट च्याम्पियनसिपको उद्घाटन खेलमा फागुन ११ गते बझाङ र दार्चुला भिड्ने छन् । सोही दिन हुने अर्को खेलमा डडेल्धुरा र डोटी खेल्ने छन् । फागुन १२ गते पहिलो खेलमा दार्चुला र डोटी भिड्दा दोस्रोमा डडेल्धुरा र बझाङ आमनेसामने हुने छन् । फागुन १३ गते हुने पहिलो खेलमा दार्चुला र डडेल्धुरा प्रतिस्पर्धा गर्दा दोस्रोमा बझाङ र डोटीबीच भिडन्त हुनेछ । प्लेट च्याम्पियनसिपको च्याम्पियन टोली एलाइट कपका लागि छनोट हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले जानकारी दिनुभयो । फागुन १४ गते हुने एलाइट कपको उद्घाटन खेलमा बैतडी र अछाम भिड्ने छन् । फागुन १५ गते प्लेट च्याम्पियन र अछाम, फागुन १६ गते बैतडी र प्लेट च्याम्पियन, फागुन १७ गते अछाम र कञ्चनपुर, फागुन १८ गते कञ्चनपुर र प्लेट च्याम्पियन, फागुन १९ गते कैलाली र अछाम, फागुन २० गते प्लेट च्याम्पियन र कैलाली, फागुन २१ गते बैतडी र कञ्चनपुर, फागुन २२ गते कैलाली र कञ्चनपुर, फागुन २३ गते कैलाली र बैतडी खेल्ने छन् । फागुन २४ गते प्रतियोगिताको शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुनेछ । प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली तयार गरिनेछ ।

ए, बी र सी डिभिजन फुटबल क्लब र गोल्डकप विजेता क्लबलाई ललितपुर महानगरको सम्मान

काठमाडौं । ललितपुर महानगरपालिकाले ए, बी र सी डिभिजन फुटबल क्लब र गोल्डकप विजेता क्लबहरूलाई सम्मान गरेको छ । महानगरले डिभिजनका फुटबल क्लब र गोल्डकप विजेता क्लबहरुलाई क्षमता अभिवृद्धिसँग फुटबल खेलमा उत्कृष्ट भएकोमा महानगरले आर्थिक सहयोगसहित सम्मान गरेको हो । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले क्लबहरूलाई सम्मानपत्रसहित चेक हस्तान्तरण गरे । गोल्डकप विजेता क्लब चर्च ब्वाइज युनाइटेड, फुटबल क्लबलाई २० लाख हस्तान्तरण गरिएको छ । यो क्लबले अर्ना छैठौं झापा गोल्डकप २०८०, १४ औं कन्ट्रोल इटहरी गोल्डकप २०८०, सातौं अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप, २०८१, प्रथम झापा क्लब, २०८१, एघारौ.फाल्नुनन्द गोल्डकप हासिल गरेको थियो । यसैगरी, बिग्रेड ब्वाईज क्लबलाई आठ लाख हस्तान्तरण गरिएको छ। बिग्रेड ब्वाइज क्लबले छैठौं बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप र अन्तराष्ट्रिय आमन्त्रण प्रथम इन्ट्रा पथरी शनिश्चरे गोल्डकप खुल्ला नकआउट फुटबल नकआउट प्रतियोगितामा गोल्डकप हासिल गरेको थियो । सम्मानित हुनेमा ए डिभिजन क्लब अन्तर्गत थ्री स्टार क्लब, जावलाखेल युथ क्लब, फ्रेण्डस क्लब, सातदोबाटो युवा क्लब, चर्च ब्वाइज युनाइटेड रहेका छन् । बी डिभिजन क्लब अन्तर्गत च्यासल युवा क्लब, ब्रिगेड ब्वाइज क्लब, खुमलटार युवा क्लब रहेका छन् । डी डिभिजन क्लब अन्तर्गत खालीबारी फुटबल क्लब, झम्सिखेल युथ क्लब, पुल्चोक स्पोर्टस क्लब, सानेपा क्लब रहेका छन् । ए डिभिजन क्लब अन्तर्गत रहेका ५ वटा क्लबहरू प्रत्येकलाई ५/५ लाखका दरले, बी डिभिजन क्लब अन्तर्गत रहेका ३वटा क्लब प्रत्येकलाई ३/३लाखका दरले र सी डिभिजन क्लब अन्तर्गत रहेका ४ वटा क्लब प्रत्येकलाई २/२ लाखका दरले चेक हस्तान्तरण गरिएको छ । महानगर प्रमुख चिरीबाबु महर्जनले यो सहयोग खेलाडी र क्लबलाई प्रोत्साहन गर्न महानगरले खेल क्षेत्रमा गरेको महत्त्वपूर्ण र ठूलो लगानी भएको बताए। सामाजिक विकास समितिका संयोजक तथा महानगरका प्रवक्ता राजु महर्जनले क्लब सञ्चालन गर्नु, खेलाडीको संरक्षण गर्नु जिम्मेवारीपूर्ण काम भएको बताए। ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले खेलाडीकोसम्मान गर्दै सहयोग गर्न पाएको खुशी लागेको बताए ।

डीएभी कलेजको ‘उपत्यकाव्यापी छैटौँ फुटसल प्रतियोगिता हुँदै, विजेतालाई ३ लाख नगद

काठमाडौं । ललितपुरको जावलाखेलस्थित डीएभी कलेज (प्लस टु) ले १६ माघमा ‘उपत्यकाव्यापी छैटौँ फुटसल प्रतियोगिता २०८१’ आयोजना गर्ने भएको छ । देशकै सर्वाधिक धनराशिको भनेर दाबी गरिएको उक्त  प्रतियोगिता खेलकुदका माध्यमबाट विद्यार्थीहरूमा अनुशासन, मित्रता तथा सहअस्तित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको बताइएको छ । कलेजका प्रिन्सिपल सुमन बस्नेतका अनुसार आफ्नै फुटसल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा विजेता टिमले ३ लाख नगद, ट्रफी तथा प्रमाणपत्र र उपविजेता टिमलाई २ लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । साथै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक तथा उत्कृष्ट खेलाडीलाई जनही १५ हजार नगद पुरस्कार प्रदान गरिने बताइएको छ । ऐतिहासिक रूपमा सञ्चालन गरिने उक्त प्रतियोगितामा सुरुमा दर्ता हुने उपत्यकाका ४० वटा टिमलाई मात्र सहभागी गराइने बताइएको छ ।