पहिलो लायन्स गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिता पोखरामा हुँदै

काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालमै पहिलो पटक गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिताको आयोजना गर्ने भएकाे छ । प्रतियाेगिता आगामी असोज ४ र ५ गते पोखरा रंगशालामा सम्पन्न हुनेछ । प्रतियोगितामा नेपालका १६ जना राष्ट्रियस्तरका बाइक रेसिङ खेलाडीहरूले प्रतिस्पर्धा गर्ने आयाेजकले जनाएकाे छ । समाज सेवामा लामो समयदेखि सक्रिय लायन्स क्लबले युवा सशक्तिकरण र मोटर स्पोर्टसजस्ता साहसिक खेलको प्रवर्द्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाले जानकारी दिए । उनका अनुसार यो प्रतियोगिताले राष्ट्रिय खेलाडीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा पनि अघि बढ्न सहयोग पुग्ने छ। असोज ४ गते प्राक्टिस राउन्डको आयोजना हुनेछ भने असोज ५ गते मुख्य प्रतियोगिता हुने आयाेजकले जनाएकाे छ। प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीहरूलाई कप र नगद पुरस्कार प्रदान गरिनुका साथै प्रतियोगितामा सहभागी सबै खेलाडीलाई मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको संयोजनमा लायन्स क्लब अफ काठमाडौं युनाइटेड स्टार्स र लायन्स क्लब अफ पोखराले प्रमुख भूमिका निर्वाह गरिरहेका छन्। प्रतियाेगिताका चार उत्कृष्ट खेलाडीहरूले विश्व च्याम्पियनसिपमा समेत सहभागिता जनाउन मौका पाउने आयाेजकले जनाएकाे छ । खेलकुद मन्त्रालयसँगको सहकार्यमा याे प्रतियोगितामा हुन लागेकाे हाे ।

यी हुन् एनपीएलका ८ मालिक, साढे ३ करोडमा बिक्याे पोखरा टिम

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को ८ वटा टिमको मालिक घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपिएल) को ८ टिमको मालिक घोषणा गरिएको हो । आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने एनपिएलमा सबैभन्दा बढी पोखराको टिमलाई बोली लागेको क्यानले जनाएको छ । क्यानका अनुसार नेपाल टी–२० प्रालिले ३ करोड ५७ लाख रुपैयाँमा पोखरा टिमको फ्रेन्चाइज लिएको हो । यस्तै काठमाडौंको फ्रेन्चाइजी कान्तिपुर पब्लिकेशनले ३ करोड ३३ लाख ३३ हजार ३३९ रुपैयाँमा लिएको छ । टिम चितवनलाई चितवन मेडिकल प्रालिले १ करोड ७६ लाख १ हजार रुपैयाँमा लिएको छ भने फर्चुना हेल्थकेयर प्रालिले टिम लुम्बिनी १ करोड ८६ लाख ४ रुपैयाँमा लिएको हो । यस्तै ड्रिम स्पोर्ट्स प्रालिले टिम जनकपुरलाई २ करोड ५ लाख रुपैयाँमा लिएको छ भने एमएडी ड्रिम्स स्पोर्ट्सले टिम विराटनगरलाई १ करोड ५१ लाख रुपैयाँमा लिएको हो । हिमालयन बिल्डर्सले टिम कर्णालीलाई १ करोड ११ लाख रुपैयाँमा लिएको छ भने टिम सुदूरपश्चिमलाई इम्पायर स्पोर्ट्सले १ करोड ६८ लाख ८८ हजार ८ सय ८८ रुपैयाँमा लिएको हो ।

राष्ट्रपति पौडेलबाट पदक विजेता पलेशालाई सम्मान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन् । शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । साथै, उनका प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिए । सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै यसबाट देशको शीर उँचो पार्ने काम भएको र अर्को पटक राष्ट्रले स्वर्ण पदकको अपेक्षा गरेको बताए । सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मंगल धुन बजाएर स्वागत गरेको थियो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बाबु आमा र खेल संघका पदाधिकारीहरूको सहभागिता रहेको थियो । पलेसाले पेरिस पारा ओलम्पिकमा तेक्वान्दोको ‘के–४४’ विधाअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कास्य पदक जितेकी थिइन् ।