वीरगञ्जको क्रिकेट मैदानको स्तरोन्नति सुरु, अन्तर्राष्ट्रियस्तरकै पिच बन्ने दाबी
वीरगञ्ज । पर्साको नारायणी रङ्गशाला परिसरमा अवस्थित क्रिकेट मैदानको स्तरोन्नति सुरु गरिएको छ । वर्षाैंदेखि मर्मतसम्भार र संरक्षण अभावमा रहेको मैदानको स्तरोन्नति थालिएको हो । नेपाल क्रिकेट सङ्घले आगामी डिसेम्बरदेखि जनवरीसम्म मधेश प्रदेशको जनकपुर र वीरगञ्जमा दुई दिवसीय एलिट कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेसँगै वीरगञ्जको क्रिकेट मैदान पिच तथा स्तरोन्नतिको काम अघि बढाइएको हो । एलिट कपमा मधेश प्रदेश, बागमती, नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् । पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहले सम्भावित एलिट कपलाई लक्षित गरेर वीरगञ्ज क्रिकेट मैदानको स्तरोन्नति थालिएको जानकारी दिए । ‘वीरगञ्ज क्रिकेट मैदान लामो समयदेखि अलपत्र हुँदै आइरहेको थियो । एलिट कपको पूर्वसन्ध्यामा कम्तीमा क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको ‘पिच’ निर्माण थालनी गरेका छौं,’ उनले भने, ‘मङ्सिरको दोस्रो सातासम्म क्रिकेट मैदानको पिच र अन्य संरचना निर्माण हुन्छ ।’ नेपाल क्रिकेट सङ्घमा आवद्ध बङ्गलादेशका क्युरेटर एमडी अब्दुल अल मनुको नेतृत्वमा क्रिकेट मैदानमा पिच तयार पार्ने काम भइरहेको छ । ‘मैदानमा १८ इन्चको गहिरो बनाएर पिच निर्माण भइरहेको छ,’ उनले भने, ‘अहिलेसम्म पिचको फाउण्डेसन तयार भइसकेको छ । यो मैदानमा अन्तर्राष्ट्रियस्तरकै पिच बन्ने छ ।’ क्रिकेट सङ्घका जिल्ला अध्यक्ष सिंहले पिच तयारसहित स्तरोन्नति गर्न मजदूरको ज्यालाबाहेक रु आठ लाख रुपैयाँ खर्च हुने जानकारी दिए । मैदान चार बिघा १८ कठ्ठा १५ धुर क्षेत्रफलमा फैलिएको छ । अध्यक्ष सिंहले क्रिकेट मैदान मुआब्जा विवाद र बजेट अभावका कारण संरक्षण गर्न नसकिएको गुनासो गरे । ‘चार कठ्ठा जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन नसक्दा क्रिकेट मैदान संरक्षण र रेखदेख गर्न सकिरहेका छैनौं,’ उनले भने, ‘मुआब्जाका लागि आर्थिक स्रोत र आवश्यक प्रक्रिया अघि बढाउन जरुरी छ ।’ मधेश प्रदेश क्रिकेट सङ्घका सचिव आयुष श्रेष्ठले मधेश क्रिकेटको उर्वरभूमि भए पनि पूर्वाधार कमजोर रहेको बताए । उनले राज्यले मधेश प्रदेशमा क्रिकेटको पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए ।
नेपाललाई टी-२० शृङ्खलाको उपाधि, सुपर ओभरमा अमेरिका पराजित
काठमाडौं । नेपालले घरेलु टोली अमेरिकाविरुद्धको तीन खेलको टी-२० शृङ्खलाको उपाधि जितेको छ । अमेरिकाको डलासमा आइतबार सम्पन्न खेलमा नेपालले अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै एक खेलअगावै उपाधि जितेको हो । जितसँगै नेपालले शृङ्खलामा २-० को अग्रता बनाएको छ । यसअघि भएको पहिलो खेलमा नेपालले घरेलु टोली अमेरिकामाथि १७ रनको जीत हासिल गरेको थियो । नेपालले अमेरिकालाई जीतका लागि एक सय ७१ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ७० रन बनायो । त्यसपछि खेल सुपर ओभरमा पुगेको हो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले दुई विकेट गुमाएर जम्मा २ रन मात्र बनाउन सक्यो । सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै सुपर ओभरमा २ विकेट लिए । त्यसपछि नेपालका कप्तान रोहितकुमार पौडेल र कुशल भुर्तेलले तीन रन बनाउँदै सुपर ओभरमार्फत नेपाललाई जीत दिलाए । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय ७० रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले अविजित रहँदै सर्वाधिक ९२ रन बनाएका थिए । उनी प्लेअर अफ दि म्याचसमेत बने । त्यस्तै, अनिलकुमार शाहले २५, गुल्शन झाले १७ तथा कप्तान रोहितकुमार पौडेलले १८ रनको योगदान गरे । अमेरिकाका जसदीप सिंह र नोस्थुस केन्जिगेले समान दुई-दुई विकेट लिए भने सौरभ नेत्राभाल्करले एक विकेट हात पारेका थिए । अमेरिकाका लागि आन्द्रे गौसले ६२ रन बनाए भने साइटेजा मुक्कामल्लले ४७ रनको योगदान गरे । नेपालका लागि करण केसीले सर्वाधिक तीन विकेट हात पारे । त्यस्तै सोमपाल कामीले दुई तथा सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले समान एक/एक विकेट लिएका । नेपालले अमेरिकाविरुद्धको तेस्रो तथा अन्तिम खेल मंगलबार खेल्नेछ ।
युनिलिभरद्वारा नेपाली महिला फुटबल टोलीलाई ट्राभल किट हस्तान्तरण
काठमाडौं । युनिलिभर नेपालले डोभमार्फत् बुधबार एन्फा कार्यालयमा नेपालको राष्ट्रिय महिला फुटबल टोलीका २७ खेलाडी तथा अधिकारीहरूलाई विशेष ट्राभल किट हस्तान्तरण गरेको छ । नेपालको राष्ट्रिय महिला फुटबल टोलीको आधिकारिक स्पोन्सर पर्सनल केयर ब्रान्ड डोभ हो । खेलाडीहरूलाई सफलताको कामना पनि गरेको छ । दीर्घकालीन, मूल्य–सञ्चालित साझेदारी, महिला फुटबलको प्रवर्द्धन र फिफा महिला विश्वकप जस्ता प्रमुख टूर्नामेन्टहरूसँग पङ्क्तिबद्ध गर्दै फुटबलसंस्कृतिमा गहिरो रूपमा एकाकार गर्ने उद्देश्यका साथ,युनिलिभरले परम्परागत स्पोन्सरसिप भन्दा दर्शकहरूसँग भावनात्मक सम्बन्ध सिर्जना गर्दै सकारात्मक सामाजिक परिवर्तन ल्याउने आशा राखेको जनाएको छ । नेपाली महिलाहरूले विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहे उल्लेख गर्दै युनिलिभर नेपालले महिला एथलेटिक्सको भविष्यमा राष्ट्रिय महिला फुटबल टोलीले महत्त्वपूर्ण प्रभाव पार्न सक्ने उल्लेख गरेको छ । ‘राष्ट्रिय महिला फुटबल टोलीसँगको यस सहकार्यले महिलाहरूमा सशक्तिकरण र आत्म–आश्वासनलाई बढावा दिन डोभको निरन्तर मिशनलाई झल्काएको छ’, विज्ञप्तिमा उल्लेख छ ।