मलेसियामाथि नेपालको सानदार जित
काठमाडौं । संयुक्त अरब इमिरेट्समा जारी आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको छ । खेल युएईस्थित मलेका क्रिकेट मैदानमा भएको थियो । यो जितसँगै नेपालले प्रतियोगितामा लगातार चौँथो जित दर्ता गराएको छ । यसअघि नेपालले सिङ्गापुर, कुवेत र हङ्कङलाई पराजित गरेको थियो । मलेसियाले दिएको ७३ रनको समान्य लक्ष्य नेपालले ९ ओभरमा कुनै विकेट नगुमाई लक्ष्य पूरा ग¥यो । नेपालका लागि दुवै ओपनर अविजित रहे । ओपनर दीपक बोहोराले अविजित ३८ रन बनाए भने अर्का ओपनर अर्जुन कुमालले २१ रन जोडे । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले ३५ दशमलव ३ ओभरमा सवै विकेट गुमाउँदै ७२ रनको योगफल बनाएको थियो । मलेसियाका लागि अक्रम मालेकले सर्वाधिक २६ रनको योगदान दिए भने मोहमद हैरिल हरिसन र मोहम्ममद स्याहिर स्यामिलले समान १२र१२ रन बनाए । नेपालका लागि दीपेश कँडेलले ४ विकेट लिए भने आकाश चन्दले ३ विकेट झारे । त्यसैगरी मिलन बोहोराले २ तथा सुवास भण्डारीले १ विकेट लिए । अब नेपालले आफ्नो अन्तिम खेल आयोजक युएईसँग यही फागुन १८ गते खेल्नेछ । प्रतियोगितामा नेपालसहित सिङ्गापुर, कुबेत, हङकङ, मलेसिया र आयोजक युएईको सहभागिता रहेको छ । राउण्ड रोबिनका आधारमा हुने उक्त प्रतियोगिताको शीर्ष टोली सन् २०२४ मा श्रीलङ्कामा आयोजना हुने यु–१९ विश्वकपका लागि छनोट हुनेछ ।
ओलम्पिक छनोटको खेल नेपालमा हुने
काठमाडौं । फ्रान्न्सको पेरिसमा सन् २०२४ मा आयोजना हुने ओलम्पिक महिला फुटबलको एसिया छनोटअन्तर्गत समूह ‘सी’ को पहिलो चरणको खेल नेपालमा हुने भएको छ । एसिया छनोटको पहिलो चरणअन्तर्गत समूह ‘सी’ को छनोट खेल नेपालमा आयोजना हुने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ । समूह ‘सी’ मा प्यालेस्टाइनले नाम फिर्ता लिएपछि अब तीन राष्ट्र नेपाल, अफगानिस्तान र भियतनाम सहभागी हुनेछन् । छनोटको पहिलो चरणका खेलहरु आगामी चैत २० देखि चैत २८ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सञ्चालन हुनेछन् । ओलम्पिक महिला फुटबल छनोटको पहिलो चरणमा विभिन्न २६ टोली छन् । ती टोलीलाई सात समूहमा विभाजन गरिएको छ । नेपालले ओलम्पिक तयारीस्वरुप भारतसित दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।
त्रिकोणात्मक सिरिज विजेता नेपाली क्रिकेट टोलीलाई सरकारले जनही २ लाख दिने
काठमाडौं । सरकारले आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज विजेता नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही २ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेसँगै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले हालै सम्पन्न नामिबिया र स्कटल्याण्डसँगको त्रिकोणात्मक सिरिज जितेका सम्पूर्ण नेपाली क्रिकेट खेलाडीहरुलाई प्रोत्साहनस्वरुप जनही २ लाख रुपैयाँ दिने घोषणा गरे । त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा सम्पन्न त्रिकोणात्मक सिरिजमा नेपालले ४ वटै खेल जितेर सिरिज क्लिन स्विप गरेको थियो । नेपालले लिग–२ को त्रिकोणात्मक श्रृंखलामा नेपाल पहिलो पटक क्लिन स्विप गरेको थियो । नेपालले श्रृंखलामा नामिबिया र स्कटल्याण्डमाथि २–२ खेलमा विजय हात पारेको हो । यस्तै, नेपालले लगातार चार खेलमा जित निकालेको पनि पहिलो पटक हो । त्रिवि मैदानमा सम्पन्न श्रृंखला अन्तर्गत नेपालले नामिबियालाई दुई र तीन विकेट तथा स्टकल्याण्डलाई तीन र दुई विकेटले पराजित गरेको थियो । स्कटल्याण्डले नामिबियालाई १० विकेट र ४३ रनले हराएको थियो । नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत अर्को हप्ता युएईमा हुने त्रिकोणात्मक सिरिजका लागि युएई जाँदैछ । नेपाल क्रिकेट संघ (क्यान) ले आज युएई भ्रमणमा जाने टोलीका सदस्यहरुको नाम सार्वजनिक गरेको छ । टिममा क्रिकेटर सन्दीप लामिछाने परेका छैनन् । नेपाली टोलीले युएईमा घरेलु टोली तथा पपुवा न्युगिनिसँग खेल्नेछ । नेपालले २७ फेब्रुअरी (फागुन १५) मा पपुवा न्युगिनीसँग खेलेर आफ्नो युएई भ्रमणको शुरुवात गर्नेछ । मार्च २ (फागुन १८) मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ । मार्च ३ (फागुन १९) मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले युएई भ्रमणको अन्तिम खेलमा मार्च ६ (फागुन २२) मा घरेलु टोली युएईसँग खेल्नेछ । युएई भ्रमणमा जाने नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जी.सी र श्याम (मौसम) ढकाल रहेका छन् ।