आहा ! रारा पोखरा गोल्डकपको तयारी पूरा, एक विदेशीसहित १० टोलीले प्रतिस्पर्धा गर्ने
काठमाडौं । सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखि २३ गतेसम्म सञ्चालन हुने ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा गोल्डकप’ फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । ‘खेलकुद विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा स्थापित गरौँ’ भन्ने उद्देश्यका साथ क्लबको आयोजनामा २२ औँ संस्करणको सो फुटबल प्रतियोगिता पोखरा फुटबल रङ्गशालामा हुनेछ । प्रतियोगितामा एक विदेशीसहित १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष हरिराम (सुरज) गुरुङले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र धरान एफसीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा साविक विजेता एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, धरान फुटबल क्लब, मनाङ मर्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटनिज युथ स्पोट्र्स क्लब युएसए, नेपाल पुलिस क्लब, सङ्कटा क्लब र सहारा क्लब पोखराको सहभागिता हुनेछ । आयोजक सहाराले यस पटकको संस्करणमा पुरस्कार राशिमा वृद्धि गरेको छ । क्लबका महासचिव रामजीप्रसाद अधिकारीका अनुसार प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान इलेक्ट्रिक स्कुटर तथा उत्कृष्ट, डिफेण्ड, गोलकिपर, फरवार्ड, मिडफिल्डर र प्रशिक्षकले जनही २५ हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ र हरेक खेलको ‘म्यान अफ द म्याच’ ले ८ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने महासचिव अधिकारीले बताए । प्रतियोगितामा बचत रकम क्लबबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिनेछ । हाल तेस्रो ब्याचको सो एकेडेमीमा १० जिल्लाका १३ बालकले आवासिय रुपमा फुटबल खेल्दै शिक्षा प्राप्त गरिरहेका छन् । सर्वोत्कृष्ट राष्ट्रिय खेलाडी पुरस्कार अनन्तलाई सहारा क्लबले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि सर्वोत्कृष्ट राष्ट्रिय खेलाडी पुरस्कार प्रदान गर्ने भएको छ । यस वर्ष नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेण्डर अनन्त तामाङलाई सो पुरस्कार प्रदान गर्न लागिएको क्लबले जनाएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालको तर्फबाट सहभागी भएर देशका लागि उपाधिसहित राम्रो खेल प्रदर्शन गरेका आधारमा तामाङलाई पुरस्कार प्रदान गरिने क्लबका महासचिव अधिकारीले बताए । पुरस्कारको राशि ५० हजार ५ रुपैयाँ रहेको छ । गत वर्षका तुलनामा पुरस्कार राशिमा १५ हजार ५ रुपैयाँ थप गरिएको हो । यसअघि यस पुरस्कारबाट राष्ट्रिय फुटबल खेलाडीहरु भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल र अन्जन विष्ट पुरस्कृत भइसक्नुभएको छ । प्रतियोगिताको उद्घाटन समारोहमा सो पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।
सुर्य नेपाल इस्टर्न ओपन गल्फमा निरजलाई अग्रता
धरान । सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सुर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन घरेलु गल्फर निरज तामाङले एक स्ट्रोकको अग्रता बनाएका छन् । पार(७० को धरान गल्फ क्लबको कोर्समा उनले ५ अन्डर ६५ को कार्ड तयार पारे। नेपाल नम्बर एक शुक्र बहादुर राई र सञ्जय लामा ४ अन्डर ६६ को स्कोरकासाथ संयुक्तरुपमा दोस्रो स्थानमा रहेका छन्। ३ अन्डर ६७ मा पहिलो १८ होलको खेल सकाएका भुवन नगरकोटी चौथो स्थानमा रहदा इभनपार ७० सहित जयराम श्रेष्ठ पाँचौ स्थानमा रहेका छन् । एमेच्योर गल्फर राजकुमार राई १ ओभर ७१ सहित छैटौ स्थानमा छन् । यसैगरी २ ओभर ७२ को स्कोरमा सात व्यवसायिक खेलाडीहरु रबि खड्का, रमेश अधिकारी, रामे मगर, टंक बहादुर कार्की, सुर्य प्रसाद शर्मा, दिनेश प्रजापति र बलभद्र राईले सातौ स्थान बाडेका छन्। लिडर निरजले सानदार सुरुवात गर्दै फ्रन्ट नाइन ६ अन्डर ३० मा सकाउने क्रममा दोस्रो, तेस्रो, पाँचौ, छैटौ र सातौ होलमा बर्डीको सफलता प्राप्त गरे। यसपछि आठौ होलमा बोगि खेपेका उनले चार पारको नवौ होलमा इगल प्रहार गरे। ब्याक नाइनको सुरूवाती तीन होलमा बर्डी प्रहार गर्दै उत्कृष्ट स्कोरतर्फ अग्रसर भएपनि १३औं, १४औं, १७औं र १८औं होलमा बोगीको सामना गरे। ब्याक नाइन उनले १ ओभर ३५ मा पुरा गरे। नेपाल नम्बर एक शुक्रले १ अन्डर ३५ मा फ्रन्ट नाइनको खेल सकाउदा ब्याक नाइनमा ३ अन्डर ३१ को उत्कृष्ट प्रदर्शन गरे। सुरूवाती दुई होलमा बोगी खेपेका उनले पाँचौ, छैटौ र नवौ होलमा बर्डी प्रहार गरे। यसपछि १०औं, १३औं,१५औं र १८औं होलमा एक एक सट बचाए भने १४ औं होलमा बोगी खेपे। यसैगरी सञ्जय लामाले फ्रन्ट नाइट ३ अन्डर ३३ मा पुरा गर्ने क्रममा दोस्रो, पाँचौ र छैटौ होलमा बर्डी प्रहार गरे। यसपछि १०औं,१६औं र १८औं होलमा एक एक सट बचाए। तर १३औं र १४औं होलमा लगातार दुई बोगी प्रहार गर्दै ब्याक नाइन १ अन्डर ३३ मा सकाए। प्रतियोगिताको एमेच्योरतर्फ राजकुमार राईले दुई स्ट्रोकको अग्रता बनाएका छन् । दोस्रो स्थानमा रहेका रूपेन्द्र गुरूङ र युवराज भुजेलले ३ ओभर ७३ को कार्ड बनाए । उनीहरू प्रोफेसनल गल्फर धन बहादुर थापासँग संयुक्तरुपमा १४औं स्थानमा रहेका छन् । प्रो दल बहादुर लामा, थाम बहादुर राई, दीपक आचार्य र भुवन कुमार रोक्कासँगै एमेच्योेर खेलाडीहरू शुक्र राज राई र सुन्दर राई संयुक्तरुपमा १७औं स्थानमा रहेका छन् । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सुर्य नेपाल प्राईभेट लिमिटेडको प्रायोजनमा जारी ५४ होलको प्रतियोगितामा २९ प्रोफेसनल र ११ एमेच्योर खेलाडीले सहभागिता जनाएका छन् । दोस्रो दिनको समाप्तिमा उत्कृष्ट २१ व्यवसायीक र कम्तीमा ६ एमेच्योर खेलाडीले अन्तिम १८ होलको खेलका लागि कट बनाउने छन् । कुल आठ लाख पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार प्राप्त गर्नेछन् । उपविजेताले ९० हजार तथा तेश्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट २१ भित्र पर्न सफल प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
नेपाल टि-२० : काठमाडौं र लुम्बिनीको विजयी शुरुवात
पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टि—२० लिगमा काठमाडौं नाइट्सले विजयी शुरुवात गरेको छ । शनिवार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा काठमाडौंले पोखरा एभेन्जर्स २६ रनले पराजित गरेको हो । काठमाडौंले दिएको १६३ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित (१९) ओभरमा ७ विकेट गुमाएर रन मात्रै बनाउन सक्यो । पोखराको लागि उपल थरङ्गाले सर्वाधिक ४४ रनको योगदान दिए । यस्तै अमिर हमाज र अभिमन्यु मिथुनले समान १८/१८ रन बनाए । काठमाडौका लागि अविनास बोहोराले ३ तथा बसिर अहमदले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १९ ओभरमा ५ विकेट गुमाएर १६२ रन बनाएको थियो । काठमाडौंको लागि अजमातुल्लाह उमरजाईले ८५ रनको अविजित पारी खेले । उनले ४२ बलमा ३ चौका र ७ छक्का प्रहार गरेका थिए । यस्तै सुनाम गौतम २८ बलमा २७ रन, एलेक्स ब्लेक्सले २१ रन, वीरनदीप सिंहले १० रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्ल शुन्य रनमा पवेलियन फर्किए । यता पोखराको लागि प्रतिस जिसी र जाहिर खान समान २/२ विकेट लिए । यस्तै मौसम ढकालले १ विकेट हात पारे । त्यस्तै आज नै कीर्तिपुर मैदानमै भएको दोस्रो खेलमा लुम्बिनी अल स्टार्सले फर वेस्ट युनाइटेडलाई ६७ रनले पराजित गरेको छ । लुम्बिनीको जितमा लाहिरु मिलान्थाले सर्वाधिक ६० रनको योगदान गरे । उनले ८ चौका र १ छक्का प्रहार गरे । त्यस्तै दीपेन्द्र सिंह ऐरीले ३५, गुलशान झा, २५ र विपुल शर्माले १२ रन बनाए । अन्य खेलाडीले भने दोहोर रन जोड्न सकेनन् । फार वेस्टर्नका लागि उमर अलि र करण केसीले समान ३/३ विकेट लिए । त्यस्तै बलिङतर्फ लुम्बिनीका दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । उनले २.२ ओभरमा ६ रन मात्र खर्चिएर ३ विकेट लिन सफल भए । त्यस्तै सागर ढकाल २, पेट ब्रोन, किशोर महतो, गुलशान झा र विपुल शर्माले समान १/१ विकेट लिए । यता फर वेस्ट युनाइटेडले भने १६.२ ओभरमा मात्र ८५ रन बनाउन सक्यो । फार वेस्टर्नको तर्फबाट हसमतउल्लाह साहिदीले ३५ रन र विनोद भण्डारीले १३ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहोरो रन जोड्न सकेनन् । पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीको सहभागीता छ । प्रतियोगिताको विजेताले ५५ लाख तथा उपविजेताले ३० लाख पाउनेछ । तेस्रो हुनले १० लाख र चौथोले ५ लाख पाउनेछन् ।