नेपाललाई विश्वकप पुर्याउने क्रिकेटरलाई सुदूरपश्चिम सरकारले जनही १ लाख दिने

बैतडी । यू–१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्याउन सफल भएका क्रिकेटरहरूलाई सुदूरपश्चिम प्रदेश सरकारले जनही एक लाख पुरस्कार दिने घोषणा गरेको छ । हालै युएईमा सम्पन्न एसिया छनोटमा अपराजित रहँदै च्याम्पियन बनेको नेपाल सन् २०२४ मा हुने आइसिसी यू–१९ विश्वकप क्रिकेटका लागि छनोट भएको थियो । नेपालको उक्त टोलीका सदस्य रहेका सुदूरपश्चिम घर भएका पाँच खेलाडीले प्रतिनिधित्व गरेका थिए । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिस्तरीय निर्णयबाट उक्त टोलीमा प्रतिनिधित्व गरेका पाँच खेलाडी जनही एक लाख र चार टोली अफिसियललाई जनही ५० हजार दिने घोषणा गरेको हो । नेपाली यू–१९ क्रिकेट टोलीमा सुदूरपश्चिमका दीपक बोहरा, दीपक बोहरा बी, मिलन बोहरा, हेमन्त धामी र आकाश चन्द रहेका थिए । यस्तै, टोली अफिसियलमा मुख्य प्रशिक्षक जगत टमटा, सहायक प्रशिक्षक धिरेन्द्र चन्द, व्यवस्थापक विक्रम विष्ट र फिजियो पुरन तिरुवा रहेका थिए । नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुरबहादुर चन्दको विशेष पहलमा सुदूरपश्चिम प्रदेश सरकारले खेलाडीलाई प्रोत्साहनस्वरुप पुरस्कार दिने घोषणा गरेको हो । चन्दको सुदूरपश्चिम गृह प्रदेश पनि हो । प्रदेश सरकारले पुरस्कार दिने घोषणा गरेकामा खुसी व्यक्त गर्दै यो प्रोत्साहनले अगामी दिनमा पनि क्रिकेट लागिरहन हौसला मिलेको खेलाडी दीपक बोहराले बताए । सुदूरपश्चिम प्रदेश सरकारले खेलाडी र टोली अफिसियललाई पुरस्कार दिने घोषणा गर्ने कार्य निकै सराहनीय रहेको क्रिकेट सङ्घका अध्यक्ष चन्दको भनाइ छ । अन्य प्रदेशले पनि सुदूरपश्चिम सरकारको सिको गरेर खेल र खेलाडीप्रति सम्मान गर्न आग्रह गरिएको छ । पुरस्कारले खेलाडीलाई खेलप्रति लागिरहन हौसला मिल्ने चन्दले बताए । विश्वकपमा छनोट भएको उक्त टोलीका सदस्यलाई नेपाल क्रिकेट सङ्घ क्यानले जनही एक लाखको पुरस्कार दिने घोषणासमेत गरेको छ । रासस

यूएईमाथि नेपालको सानदार जित, एकदिवसिय मान्यता जोगायो

काठमाडौं । नेपालले यूएईमाथि सानदार जित हासिल गरेको छ । नेपालले यूएईमाथि १७७ रनको जित हात पारेको हो । योसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ । साथै आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी २ खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने संभावना पनि कायम राखेको छ । हारसँगै यूएईले ओडीआई मान्यता गुमाएको छ भने अमेरिकाको ओडीआई मान्यता जोगिएको छ । टस जितेर पहिला बलिङ गरेको नेपालले २४८ रनको लष्य दिएको थियो । २४९ रनको लक्ष्य पछ्याएको यूएईले ७१ रन मात्रै बनाउन सक्यो ।

आइसीसी विश्वकप क्रिकेट लिग-२ : नेपाल ५२ रनले विजयी, अब एक खेल जिते पुग्ने

काठमाडाैं । आइसीसी विश्वकप क्रिकेट लिग-२ को अन्तिम शृङ्खलाको पहिलो एकदिवसीय खेलमा नेपालले पपुवा न्यूगिनीलाई ५२ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमलव एक ओभरमा सबै बिकेट गुमाउँदै हालसम्म कै उच्च स्कोर दुई सय ९७ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको पपुवा न्यूगिनीले ४७ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४५ रनमा सीमित बन्यो । जितसँगै नेपालले ३३ खेलमा ३४ अङ्क जोडेको छ । नेपाल अङ्क तालिकाको पाँचौ स्थानमा छ । समान ३३ खेल खेलको पपुवा न्यूगिनी ९ अङ्कका साथ अङ्क तालिकाको अन्तिम स्थानमा छ । नेपालका लागि ओपन आशिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ११० रनको साझेदारी गरे । खेलमा आशिफ शेखले सर्वाधिक ११० रन बनाए । कुल ११० बल खेलेका उनले दुई छक्का र १२ चौका प्रहार गरे । आशिफको यो पहिलो एक दिवसीय शतक हो । उनी एक दिवसीयमा खेलमा शतक प्रहार गर्ने नेपालका लागि पाँचौ खेलाडी बने । यसअघि राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले शतक प्रहार गरिसकेका छन् । शतकसँगै आशिफले एक दिवसीय खेलमा एक हजार रनसमेत पूरा गरेका छन् । एक हजार रन पूरा गर्ने उनी नेपालका उनी दोस्रो खेलाडी बने । यसअअघि नेपालका रोहित पौडेलले एक दिवसीयमा एक हजार रन पूरा गरेका थिए । साथै नेपालका लागि ब्याटर कुशल भुर्तेलले ४५ रन, भिम सार्कीले ४४ रन, रोहित पौडेलले ३० रन बनाए । साथै आरिफ शेखले १५ रन, ज्ञानेन्द्र मल्लले ११ रन र दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछोनले सात र सोमपाल कामीले चार र कुशल मल्लले दुई रन बनाए । बलिङतर्फ पपुवा न्यूगिनीका सेमो कमिया पाँच विकेट लिए भने राइली हेकुरेले तीन विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको पपुवा न्यूगिनीको सुरुवात राम्रो रह्यो । पहिलो विकेट ११ दशमलव दुई ओभरमा ७७ रनमा झरेको थियो । पपुवा न्यूगिनीका लागि नोर्मान भानुवाले सर्वाधिक ६० रन बनाए भने ओपनर टोनी उराले ५० रन बनाए । साथै असाद भालाले ४२, रिले हेकुरेले २० रनको योगदान गरे । नेपालको जितमा सन्दीप लामिछानेले चार विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले दुई र कुशल मल्लले एक विकेट लिए । विभिन्न सात राष्ट्र सहभागी यस सिरिजमा नेपालले अब तीन खेल खेल्न बाँकी छ । पपुवा न्यूगिनीसँगको एक र युएईसँगको दुई खेलमा विजयी भए नेपालले शीर्ष तीनमा रहँदै विश्वकप छनोट खेल्न पाउनेछ । लिगका सबै खेल खेलिसकेको स्कटल्यान्ड ५० अङ्काका साथ शीर्ष स्थानमा छ भने ओमान ४४ अंकसहित दोस्रो स्थानमा छ । स्कटल्यान्ड र ओमानले जिम्बाब्बेमा आयोजना हुने विश्वकप छनोट खेल्ने पक्का भैसकेको छ । बाँकी एक स्थानका लागि नामिबिया, युएई र नेपाल प्रतिस्पर्धामा छन् । यी तीन टोलीमध्ये एक टोलीले विश्वकप छनोट खेल्न पाउनेछन् । नामिबिया ३६ खेलमा ३९ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ भने अमेरिका ३६ खेलमा ३५ अङ्कसहित चौथो स्थानमा छ । कुल ३२ खेल खेलेको युएइ ३१ अङ्कका साथ छैटौ स्थानमा छ । नेपालले जारी शृङखलाको आफनो दोस्रो खेल यही फागुन २८ गते युएईसँग खेल्नेछ । रासस