विश्वकप फुटबलमा आज तीन खेलहरू हुँदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदैछ । कतार विश्वकप फुटबलमा समूह ‘ए’ अन्तर्गत एक खेल हुनेछ भने समूह बीमा दुई खेल हुँदैछ । पहिलो खेल समूह ‘बी’ मा रहेका इङ्ग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल बेलुका ६ः४५ बजे सुरु हुनेछ । दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रने छन् । त्यसैगरी समूह ‘बी’अन्तर्गतको अर्को खेलमा अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । अमेरिका र वेल्सबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । त्यस्तै समूह ‘ए’ मा रहेका सेनेगल र नेदरल्यान्ड्सबीच खेल हुनेछ । उक्त खेल राति ९ः४५ बजे सुरु हुनेछ । विश्वकपमा विभिन्न ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । यस विश्वकपमा कूल ६४ खेल हुनेछ । प्रत्येक समूहका शीर्ष दुई टोली नकआउट चरणमा पुग्नेछन् । फिफा विश्वकप फुटबल प्रतियोगिताको आइतबारको उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । कतारको अल बेयत रङ्गशालामा आइतबार राति सम्पन्न खेलमा इक्वेडरले कतारलाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो । इक्वेडरको जितमा एनर भ्यालेन्सिया नायक बने । उनले खेलको १७ औँ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गर्दै खाता खोले । गोलरक्षक साद अलसिबले पेनाल्टी क्षेत्रभित्र लडाएपछि इक्वेडरले पेनाल्टी प्राप्त गरेको थियो । जसलाई एनरले गोल गर्न सफल भए । त्यस्तै खेलका ३१ औँ मिनेटमा एनरले व्यक्तिगत दोस्रो गोल गर्दा इक्वेडरको जित सुनिश्चत भयो । उनले एन्जेलो प्रेसियाडोको क्रस बललाई सदुपयोग गर्दै गोल गरे । यसपछि थप गोल हुन नसकेपछि खेल इक्वेडरले कतारमाथि २–० को सहज जित हात पारयो । यस खेलसँगै इक्वेडरले शीर्ष तीन अङ्क जोडेको छ । रासस

फिफा विश्वकपको पहिलो खेल आज राति पौने दश बजेबाट शुरु हुँदै

एजेन्सी । २२ औं फिफा विश्वकप आजबाट शुरु हुँदैछ । विश्वकपमा विश्वभरबाट ३२ टोली सहभागी हुँदैछन् । अहिलेसम्म खेलिएका सबै विश्वकप जुन र जुलाई महिनामा आयोजना गरिएको थियो तर कतारको हावापानी र गर्मीलाई ध्यानमा राख्दै यसपटकको विश्वकप भने नोभेम्बर र डिसेम्बरमा राखिएको छ । पहिलो विश्वकप सन् १९३० मा उरुग्वेमा खेलिएको थियो र आयोजक टोली उरुग्वेले जितेको थियो। विश्वयुद्धका कारण सन् १९४२ र १९४६ मा विश्वकप हुन सकेन तर त्यसपछि हरेक चार वर्षको अन्तरालमा फिफा विश्वकप निरन्तर रुपमा सञ्चालन हुँदै आएको छ । आज राती ९ः४५ बजे उद्घाटन विश्वकपको पहिलो खेल कतार र इक्वेडरबीच नेपाली समय अनुसार राति ९ः४५ बजे शुरु हुनेछ । त्यस्तै नेपाली समय अनुसार साँझ ७ः४५ बजे उद्घाटन समारोह दोहाबाट ४० किलोमिटर टाढा अल–बैत रंगशालामा हुनेछ । विश्वकपमा पदर्शन दक्षिण कोरियाली ब्यान्ड बीटीएस उद्घाटन समारोहको मुख्य आकर्षण हो। बीटीएसका सदस्य जंगकुक पहिलो पटक विश्वकपको उद्घाटन समारोहमा प्रदर्शन गर्नेछन्। यसबाहेक बलिउड अभिनेत्री नोरा फतेहीले पनि प्रस्तुति दिनेछिन् । सोसँगै अमेरिकी ब्याण्ड ब्ल्याक आइड पिस, कोलम्बियन गायक जे बाल्भिन, नाइजेरियन गायक प्याट्रिक नेमेका ओकोरी र अमेरिकी र्‍यापर लिल बेबीले प्रस्तुति दिनेछन् ।

डिशहोमले विश्वकप २ के रिसोलुसोनमा प्रशारण गर्दै

काठमाडौं । डिश मिडिया नेटवर्कले आफ्नो फिफा विश्वकप २०२२ अभियान फिल द म्याजिक अफ फुटबल इन डिशहोम अभियान शुरु गरेको छ । डिशहोमले लामो समयदेखि प्रतिक्षा गरिएको फिफा विश्वकप फुटबलको प्रशारण गर्नेछ । हरेक चार चार वर्षमा हुने विश्वकप फुटबललाई नेपाली फुटबलका फ्यानहरुले हर्षोल्लासका साथ स्वागत गर्ने गरेका छन् । नेपाली सामाजिक सञ्जालको लोकप्रियता र फ्यानहरुको गतिबिधीलाई मध्यनजर गर्दै डिशहोमले धेरै उपहारहरु सहित सामाजिक सञ्जालका लागि विभिन्न डिजिटल अभियानहरु जारी गरेको छ । त्यस अभियानमा सहभागी हुनका लागि सहभागीहरुले डिशहोमको फेसबुक पेजमा गइ पोस्टमा म्याजिक मुमेन्टसमा उनीहरुको मनपर्ने टिम जस्तै, म्याजिकल मुमेन्टस अफ पोर्चुगल प्रयोग गर्नुपर्नेछ । साथै आफूले समर्थन जनाएको देशको म्याजिकल क्षणहरुको भिडियो क्लिप वा फोटो पोस्ट गर्नुपर्नेछ ।