विश्वकप फुटबल : समूह ‘जी’ मा ब्राजिल शीर्षस्थानमा

काठमाडौं । पोर्चुगलले उरुग्वेलाई पराजित गर्दै फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ । कतारको लुसाइल स्टेडियममा आज बिहान सम्पन्न खेलमा उरुग्वेलाई २–० गोलअन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा पुगेको हो । पोर्चुगलले समूह ‘एच’ बाट लगातार दुई खेल जित्दै नकआउट चरणमा स्थान बनाएको हो । पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेसले नायक बने । खेलको ५४औँ मिनेटमा बु्रण्नोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा बु्रनोले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २–० को जित दिलाए । उरुग्वेका जोसे जिमिनेजले पेनाल्टी क्षेत्रमा ह्यान्डबल गरेपछि भीएआरमा पोर्चुगलले पेनाल्टीको अवसर पाएको थियो । पोर्चुगलले २ खेलमा छ अङ्क जोडेको छ । पराजित उरुग्वेको १ अङ्क छ । त्यसैगरी कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘जी’ मा ब्राजिल नकआउट चरणमा पुगेका छ । कतारको स्टेडियमा ९७४ मा गए राति भएको खेलमा स्वीट्जरल्याण्डलाई १–० गोलअन्तरले हराउँदै ब्राजिल नकआउट चरणमा पुगेको हो । ब्राजिलको जितमा कासिमिरोले निर्णायक गोल गरे । उनले खेलको ८३औँ मिनेटमा गरेको एक गोल नै निर्णायक गोल सावित भयो । यस जितसँगै ब्राजिलले लगातार दोस्रो जित निकाल्दै खेलमा छ अङ्क जोडेको छ । समूह ‘जी’ मा ब्राजिल शीर्षस्थानमा छ । स्वीट्जरल्याण्ड दुई खेलमा तीन अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ ।

क्यानडालाई ४–१ गोलले पराजित गर्दै क्रोएसिया बिजयी

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा क्रोएसियाले क्यानडालाई पराजित गर्दै पहिलो जित दर्ता गरेको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज भएको खेलमा क्रोएसियाले क्यानडालाई ४–१ गोल अन्तरले हराउँदै पहिलो जित दर्ता गरेको हो । क्रोएसियाको जितमा आन्द्रेज क्रमारिचले दुई गोल गरे भने मार्को लिभाजा र लेभ्रो माजेरले समान एक एक गोल थपे गरे । यसैगरी क्यानडाका अल्फान्सो डाभिसले एक गोल फर्काए । खेलमा सुरुआती अग्रता भने क्यानडाले बनाएको थियो । खेलको दोस्रो मिनेटमा डाभिसले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए तर, खेलको ३६ औ मिनेटमा क्रोएसियाका क्रमारिचले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । यसपछि खेलको ४४ औँ मिनेटमा लिभाजाले गोल गर्दै क्रोएसियालाई २–१ को अग्रता दिलाए । खेलको ७० औँ मिनेटमा क्रमारिचले व्यक्तिगत दोस्रो गोल गर्दै क्रोएसियालाई ३– १ को अग्रता दिलाए । यसपछि खेलको इन्जुरी समयमा माजेरले गोल गर्दै क्रोएसियालाई ४–१ को जित दिलाए । यस जितसँगै समूह ‘एफ’ को क्रोएसियाले दुई खेलमा चार अङ्क जोडेको छ । क्यानडाको यो लगातार दोस्रो हार हो र क्यानडा प्रतियोगिताबाट बाहिरिएको छ ।

स्पेन र जर्मनीको खेल बराबरी

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा स्पेन र जर्मनीले बराबरी खेल्दै अङ्क बाडेका छन् । अल बेयत रङ्गशालामा आज बिहान सम्पन्न खेलमा स्पेन र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलको ६२ औँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाएका थिए । यसपछि खेलको ८३ औँ मिनेटमा जर्मनीका खेलाडी निकलस फूलक्रुगले गोल गर्दै खेललै १–१ गोलको बराबरी ल्याए । यस बराबरीसँगै समूह ‘ई’ बाट दवबै टोलीको नकआउट सम्भावना कायम रहेको छ । स्पेनले दुई खेलमा चार अङ्क जोडेको छ भने जर्मनी दुई खेलमा एक अङ्क जोडेर पुछारमा रहेको छ ।