अल्ट्रा म्याराथनबाट उदाएका स्वर्ण पदकधारी जुम्लाका दुर्गाबहादुर
पोखरा । सन् २०१० मा बङ्गलादेशको ढाकामा हुन लागेको ११औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)का लागि नेपालले तयारी गर्दै थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जुम्लामा रहेका दुर्गाबहादुर बुढालाई बन्द प्रशिक्षणका लागि काठमाडौँ आउन खबर पठायो । बन्द प्रशिक्षण अवधिभर खेलाडीको खान बस्ने खर्च राखेपले ब्यहोर्ने भयो । तर जुम्लादेखि काठमाडौँ पुग्न बुढा आफैँलै खर्चको जोहो गर्नु पथ्र्यो । थौरै खर्चले नपुग्ने भयो । जुम्ला काठमाडौँ ओहरदोहर गर्न झण्डै ५० हजारभन्दा बढी खर्च लाग्थ्यो । बुढाले त्यसका लागि हिम्मत गर्न सकेनन् । उनको परिवार खेती किसानीमै निर्भर थियो । अन्ततः खर्चको जोहो गर्न नसकेपछि बुढाले ११औँ सागको बन्द प्रशिक्षण मन मानेर त्यागे । यो १२ वर्षअघिको कुरा थियो । त्यतिबेला जुम्ला काठमाडौँ बसको सुविधा थिएन । जहाजमै यात्रा गर्नुपर्दथ्यो । जहाज भाडा तिर्न बुढाका लागि सम्भव थिएन । विसं २०६५ मा काठमाडौँमा सम्पन्न पाँचौँ राष्ट्रिय खेलकुदमा बुढा पाँच हजार मिटर र १० हजार मिटर दौडमा तेस्रो भएका थिए । यसबाट उनको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न ढोका खुलेको थियो । ‘मेरा लागि त्यो ठूलो अवसर थियो, कुनै न कुनै पदक देशका लागि जित्थे, ममा आत्मविश्वास थियो’, बुढा विगत सम्झिन्छन्, ‘आर्थिक अवस्था निकै कमजोर थियो, अवसर पाएर मन मार्नु प¥यो ।’ सागमा सहभागी हुन उनी प्रारम्भिक छनोटमाा परेका थिए । त्यतिबेला जुम्लाबाट सुर्खेतम्मको जहाज भाडा सात हजार तथा सुर्खेतदेखि काठमाडौंको १३ हजार थियो । यो उनका लागि असम्भव थियो । खेतीकिसानीबाट यती धेरै आम्दानी गर्नसक्ने उपाय थिएन । ‘धेरैतिर रकमको जोहो गर्न हार गुहार गरे, कोही दाता भेटिएनन्’, बुढाले त्यतिबेलाको पीडा सुनाए । मुश्किलले साग खेल्न प्राप्त भएको अवसर हातबाट निस्केपछि बुढा एकदमै निराश बने । उनी खेल जीवन त्याग्ने मनस्थिति बनाएर जुम्लाको कन्कासुन्दरी गाउँपालिका ३ स्थित घरमा बसे । ‘अब खेलमा कहिल्यै फर्किन्न जस्तो लागेको थियो’, बुढाले भने । तर एथ्लेटिक्स प्रशिक्षक हरिबहादुर रोकाया भने बुढालाई त्यसरी हिम्मत हारेर बस्न दिने वाला थिएनन् । किनकि उनले बुढाको क्षमता चिनेका थिए । एउटा प्रतिभा जन्माउन कति मुश्किल हुन्छ त्यो प्रशिक्षक रोकायालाई थाहा थियो । रोकायाले बुढाको ध्यान अल्ट्रा म्याराथनतर्फ मोडे । प्रशिक्षक रोकायालाई पनि उनको खेल जीवनमा अल्ट्रा म्याराथनका लागि प्रस्ताव पटकपटक आएको थियो । रोकायाले आफ्ना चेला बुढालाई अब त्यतैतर्फ केन्द्रित गर्न लगाए । सन् २००९ मा सोलुखुम्बुमा तेञ्जिङ हिलारी एभरेष्ट म्याराथन हुने भयो । प्रशिक्षक रोकायाले यो खबर थाहा पाए । उनले बुढालाई त्यसका लागि तयार पारे । प्रतियोगिता खर्चिलो थियो । एक लाख ६० हजार एक्लैले जुटाएर बुढालाई लिएर रोकाया अल्ट्रा म्याराथनमा भाग लिन सोलुतर्फ लागे । उक्त प्रतियोगितामा विदेशी नागरिकसहित एक सय ६४ जनाले भाग लिएका थिए । बुढाले सातौँ स्थान ल्याए । नेपालकै फुर्वा तामा पहिलो भए । यसबाट बुढा र प्रशिक्षक रोकाया उत्साहित भए । रोकायाले बुढाबाट गरेको आशा निराशामा परिणत भएन । दुवै जना उच्च मनोबलका साथ जुम्ला फर्किए । लगत्तै राखेपले सहायक प्रशिक्षकका लागि तालिम खुलायो । बुढा पनि त्यसमा सहभागी भए । ‘म त्यतिबेला छ महिना काठमाडौँमै बसे’, उनले भने । पन्ध्र वर्षपछि राखेपले उक्त तालिम खुलाएको थियो । ‘तालिम लिनेमा म सबैभन्दा कम उमेरको थिए’, उनले भने । तर बुढालाई के थाहा तालिम लिँदैमा नेपालमा खेल प्रशिक्षकको जागिर सहजै पाइन्न भनेर । प्रशिक्षकका लागि तालिम खुल्छ, तर अवसर नपाइने देशको सधैँको समस्या थियो । स्थिति अहिले पनि त्यस्तै छ । अवस्था फेरिएको छैन । उनी भारी मन बनाएर जुम्ला नै फर्किए । अब भने बुढालाई खर्च जुटाउन धौधौ पर्न थाल्यो । उनलाई जागिर खुवाउन रोकायाले पनि सक्दो पहल गरे । खासमा रोकाया आफ्नो चेला खेल क्षेत्रबाट पलायन भएको हेर्न चाहन्नथे । प्रशिक्षक रोकायाको मनमा नयाँ जुक्ति आयो । उनले बुढालाई लिएर भारतको बनारसतर्फ लागे । भारतीय ‘भारतीय सेनामा भर्नाका लागि छनोटको आधार त्यही अल्ट्रा म्याराथनकै प्रमाणपत्र बन्योे, ती प्रमाणपत्र देख्नेबित्तिक्कै भारतीय सैनिक अधिकारी भर्ना लिन तयार भए’, उनले भने । पहिलो पटकमै बुढा भर्ना हुन सफल भए । यो सन् २०११ को कुरो थियो । छनोटका बखत उनलाई दौडाइयो । दुई हजार चार सय मिटर दौड बुढाले चार मिनेट ३७ सकेण्डमा पूरा गरे । यसबाट त्यहाँ छनोट समितिका सैनिक अधिकारी बुढाबाट प्रसन्न भए । ‘खासमा डिउटी केही हुन्न । जताजता खेल प्रतियोगिता त्यतैत्यतै गएर खेल्नुपर्ने मात्र हुन्छ’, बुढाले सुनाए । उनले हालसम्म यही गर्दै आएका छन् । बुढा जस्तै भर्ना भएका भारतीय सेनामा धेरै नेपाली छन् । खेलको कदर गर्दै उनीहरूलाई भर्ना लिने गरिएको छ । भारतीय सेनाको जागिरले बुढा आर्थिकरुपमा सबल भए । खासमा खेल्न खेलाडीका लागि आर्थिक अवस्था चुनौतीपूर्ण बनेको छ । ‘धेरै प्रतिभाको जीवनमा आर्थिक पक्ष तगारो बन्दा खेलबाट सन्यास लिएका छन्’, उनी भन्छन्, ‘गाउँगाउँमा राम्राराम्रा प्रतिभा छन्, भविष्य सुनिश्चित नहुँदा उनीहरु खेल जीवन त्याग्न बाध्य छन् ।’ बुढाले बिदामा बसेको समयमा मात्र नेपालमा प्रतियोगिता खेल्ने गरेका छन् । ‘सकेसम्म नेपालमा हुने कुनै पनि प्रतियोगिता छुटाउँदिन’, उनले भने । भारतीय सेनामा भर्नापछि २०७२ सालमा उनले बाँकेको नेपालगञ्जमा तेस्रो धारा म्याराथन खेले । यो उनको नेपालमा खेलेको पहिलो म्याराथन थियो । निर्धारित दूरी दुई घण्टा २६ सेकेण्डमा पूरा गर्दै उनी पहिलो भए । लगत्तै झापामा भएको १५ हजार मिटर दौडमा पनि उनी पहिलो भए । धनगढीमा भएका जेसिज म्याराथनमा त बुढा चार पटक पहिलो भएका छन् । बुढाले चार वर्षअघि नेपालगञ्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदमा कर्णालीको प्रतिनिधित्व गर्दै १० हजार मिटर दौडमा भाग लिए । उनले स्वर्णपदक जिते । पाँच हजार मिटर दौड र म्याराथनमा उनले रजत पदक प्राप्त गरे । ‘लगातार दौडिनुपर्दा पाँच हजार मिटर दौड र म्याराथनमा सोचे जस्तो परिणाम ल्याउन सकिएन’, उनले भने । आठौँ राष्ट्रिय खेलकुदमा पनि कर्णालीले दुई वटा मात्र स्वर्ण जितको थियो । त्यतिबेला कर्णालीले तीन रजत जितेको थियो । जसमा बुढाका नाममा एउटा स्वर्ण र दुई वटा रजत थियो । यसपटक गण्डकीमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि बुढाले एउटा स्वर्ण र एउटा रजत पदक प्राप्त गरे । उनी कर्णाली प्रदेश स्तरीय प्रतियोगितामा पहिलो हुँदै पोखरा आएका थिए । तीन हजार मिटर दौडमा उनले स्वर्ण जिते । पाँच हजार मिटर दौडमा भने बुढा सेकेण्डले मात्र स्वर्ण पदकबाट चुके । कर्णालीका दुई खेलाडीले मात्र यसपाली स्वर्ण पदक जितेका छन् । पुरुषतर्फ उसुको नान छ्वान राउण्डमा कर्णालीका लागि दीपक हमालले स्वर्ण पदक जितेका छन् । बुढाले एथ्लेटिक्सको तीन हजार मिटर स्टेपल चेजमा स्वर्ण जित्दा विभागीय टोली आर्मी, एपिएफ र पुलिस क्लबले विरोध गरे । बुढा भारतीय सेनाको जागिरे भएको र भारतमा समेत प्रतियोगिता खेल्दै आएकाले नेपालमा खेल्न नपाउने भन्दै तीनवटै क्लबले विरोध गर्दै उजुरी हाले । बुढाले भारतीय टोलीको नेतृत्व गर्दै एशियन च्याम्पियनसिप खेलेका थिए । यही कारण देखाउँदै विभागीय टोली बुढालाई यसपाली खेल्नबाट रोक्ने प्रयासमा थिए । विरोधका बाबजुद मैदानमा उत्रिएका उनले विभागीय खेलाडीलाई उछिने । बुढाले कीर्तिमानी स्वर्णपदक जिते । उनले एपिएफका अजित यादव र आर्मी क्लबका सुवास कार्कीलाई पछि पारे । बुढाले उक्त दौड आठ मिनेट ५५ दशमलव १९ सकेण्डमा पूरा गरेका थिए । यस्तै एपिएफका यादवले सो दौड नौ मिनेट २१ दशमलव १० सेकेण्ड तथा आर्मीका कार्कीले नौ मिनेट २२ दशमलव १५ सकेण्डमा पूरा गरे । बुढाले १८ वर्षअघि धावक राजेन्द्र भण्डारीले बनाएको ८ मिनेट ५७ दशमलव ३० सेकेन्डको कीर्तिमान तोडेका हुन् । भण्डारीले सन् २००४ मा पाकिस्तानको इस्लामवादमा उक्त कीर्तिमान बनाएका थिए । ‘लामो समयदेखि देशका लागि खेल्दै आएको छु । यसपाली मेरो सहभागितालाई लिएर किन यतिसारो विरोध भयो, बुझ्न सकिरहेको छैन’, बुढाले भने, ‘म जता भए पनि आवश्यक पर्दा मेरो प्रदेश र देशका लागि खेल्दै आएको छु । देशका लागि जस्तोसुकै त्याग गर्न पनि तयार छु । मेरा लागि विदेशमा गएर जागिर खानु बाध्यता हो । मैले वर्षौं आफ्नै देशमा रोजगारीका लागि प्रयास गरे । निकै तड्पिए । खेल जीवन नै त्याग्ने अवस्थामा पुगे ।’ अहिलेसम्म जितेका पदकका लागि उनी प्रशिक्षक रोकायालाई श्रेय दिन्छन् । ‘रोकाया गुरुको ढाडसले मात्र म खेल जीवनमा छु, नत्र गुमनाम हुन्थे’, बुढाले भने । राज्यले नेपालमै बसेर खेल्ने वातावरण बनाए जस्तोसुकै त्याग गर्न बुढा तयार छन् । उनी भन्छन्, ‘खेल्नुभन्दा अघि बाँच्न जरुरी छ, म खेलाडीका रुपमा जीवित रहनकै लागि अर्काको देशमा गएको हुँ । भविष्यमा म आफ्नै देशमा खेल्न र खेलाडी उत्पादन गर्न चाहन्छु ।’ बत्तीस वर्षीय बुढा परिवारका कान्छो सन्तान हुन् । खेलकुदमा परिवारका अरु कोही पनि छैनन् । उनले चार कक्षासम्म सुर्खेतमा पढे । त्यतिबेला उनका बुबा विद्यालयमा पढाउँथे । बुढा पाँच कक्षादेखि पढ्न जुम्ला नै उक्लिए । बुढा सुर्खेतमै जन्मिएका हुन् । जुम्ला सदरमुकाम खलङ्गास्थित चन्दननाथबाट १० कक्षा उत्तिर्ण गरेका उनले त्यसपछि १२ कक्षासम्म जुम्ला बहुमुखी क्याम्पसमा पढे । सुर्खेतबाट जुम्ला उक्लिएपछि बुढा खेलप्रति आकर्षित भए । सुर्खेतमा त्यो वातावरण थिएन, जुन उनले जुम्लामा पाए । ‘प्रशिक्षक रोकायाका कारण खेलप्रति आकर्षित भएको हुँ’, उनले भने । रोकायाको नाम दुर्गम गाउँगाउँसम्म खुब प्रचलित थियो । सबै जुम्ली हरि रोकाया बन्न चाहन्थे । जोसुकैको पनि इच्छा खेलमा लागिसकेपछि हरिजस्तै बन्ने हुन्थ्यो । बुढाले पहिलो पटक जिल्लास्तरीय प्रतियोगितामा रोकायालाई देख्न पाए । रोकाया नै बुढासँग नजिकीए, जब उनले १५ सय मिटर दौडमा स्वर्णपदक जिते । रोकायाले उनलाई रु तीन सय पुरस्कार दिए । यो तीन सय पुरस्कारले बुढामा निकै ऊर्जा थप्यो । बुढा पहिलो पटक यसरी प्रतियोगितामा दौडिएका थिए । त्यतिबेला उनी १० कक्षामा पढ्थे । खलङ्गामा बुढा डेरामा बस्थे । रोकाया उनको खेलबाट प्रभावित भएर बुढालाई आफ्नै घरमा बस्न बोलाए । बुढाका लागि रोकायाको प्रस्ताव ढुङ्गा खोज्दा देउता मिले झैँ भयो । अहिले पनि रोकायाले नयाँ प्रतिभालाई आफ्नै घरमा राखि अभ्यास गराउँछन् । रोकायाको प्रशिक्षण पाएर क्षेत्रीय प्रतियोगिता खेलेका बुढाले पहिलो पटकमै १५ सय मिटर, पाँच हजार मिटर र १० हजार मिटर दौडमा कर्णालीका लागि स्वर्णपदक जिते । हालसम्म पनि उनी रोकायाकै प्रशिक्षणमा प्रतियोगिता खेल्दै आएका छन् । ‘रोकाया गुरुको प्रशिक्षणबिना मेरो सफलता सम्भव थिएन’, खुसी व्यक्त गर्दै कीर्तिमानी स्वर्ण पदकधारी बुढाले भने । एउटा असल खेल प्रतिभा मर्नबाट मात्रै जोगाएको ठान्छन् प्रशिक्षक रोकाया । ‘उसले (बुढा) देशकै लागि खेलिरहेको छ । विदेशमा जागिर खानु बाध्यता हो । बुढा मात्र होइनन् अरु धेरै प्रतिभा नेपालमा खेल्ने वातावरण नहुँदा विदेशिन बाध्य छन् ।’ प्रतिभा पलायन हुनबाट रोक्न राज्यको कुन निकायले के योजना बनाएका छन् यसबारे आफू अनविज्ञ रहेको रोकाया बताउँछन् । खेलकुद विभागीय टोलीको भरमा छोडेकामा प्रशिक्षक रोकायाको मन खिन्न छ । ‘आर्मी, पुलिस र एपिएफ क्लबको जिम्मा मात्र लगाउने भए राज्यले किन खेलकुदमा यतिधेरै पैसो खेर फालिरहेको छ’, उनको प्रश्न छ । विभागीय टोलीबाहेक अरु प्रदेशको खेलस्तर खस्किँदै गएकामा प्रशिक्षक रोकाया चिन्तित् छन् । ‘म एउटा प्रशिक्षकले मात्र चिन्ता गरेर केही नहुने रहेछ । मैले त रात दिन दुर्गममा खेलाडी उत्पादन गरिरहेकै छु’, २७ वर्षदेखि कर्णालीको दुर्गम जुम्लामा खेलाडी उत्पादन गर्दै आएका गिनिज बुक अफ वल्र्ड कीर्तिमानी रोकायाले भने । प्रशिक्षक रोकायाले सन् २००० मा विश्वकै अग्लो ठाउँमा एभरेष्ट म्याराथनमा विश्व कीर्तिमान राखेका थिए । तीन घण्टा ५० मिनेट २३ सेकेन्डको कीर्तिमान उनले गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ज गराएका हुन् । रोकाया आफ्ना खेलाडीका लागि खेल सामग्री आफैँ जुटाउँदै आएका छन् । भन्छन्, ‘राज्यको भर परे नयाँ खेलाडी उत्पादन गर्नै सकिन्न । रासस ।
जसले राष्ट्रिय खेलकुदमा लगातार पाँच स्वर्ण जिते
बागलुङ । आइटिएफ तेक्वान्दोका लीलाधर बस्नेतका लागि नवौँ राष्ट्रिय खेलकुद पनि सुखद् रह्यो । विभागीय टिम नेपाल आर्मीका लागि खेलेका उनले दुई स्वर्ण पदक जिते । यहाँ भएको प्रतियोगितामा ६५–७० किलो तौल समूहको एकल स्पाइरिङ र टिम स्पाइरिङबाट बस्नेतले स्वर्ण हात पारेका हुन् । विसं २०६४ देखि खेल जीवन सुरु गरेका बस्नेतले विसं २०७३ मा भएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो स्वर्ण जितेका थिए । त्यस यताका दुई राष्ट्रिय खेलकुदमा पनि उनले आफ्नो अपराजित यात्रालाई कायमै राखे । नेपालगञ्जमा भएको आठौँमा पनि बस्नेतले दुई स्वर्ण पदक हाँसिल गरेका थिए । दाङ घर भएका उनी १८ वर्षदेखि नेपाल आर्मीमा आबद्ध छन् । ३८ वर्षीय उनले यसअघि आइटिएफको साउथ एसियन च्याम्पियनसीपमा पनि दुई स्वर्ण जितेका थिए । अङ्ग्रेजी वर्ष २०१२ र २०१८ मा भएको उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक पाएको बस्नेतले सुनाए । सकारात्मक ऊर्जा, खेलप्रतिको समर्पण र देशका लागि खेल्ने इच्छाशक्तिका कारण खेलमा आफू पछाडि फर्कन नपरेको बस्नेतले बताए । ‘लक्ष्य त अन्तर्राष्ट्रिय पदकसम्मको हुन्छ, टिमले पनि त्यसरी नै मेहनत गरेको हुन्छ’, उनले भने, ‘राष्ट्रिय प्रतियोगिता जित्नु पनि हाम्रा लागि लागि महत्वपूर्ण छ, खेल जीवनमा यसले ठूलो अर्थ राख्छ ।’ ऊर्जा, उमेर र स्वास्थ्यले साथ दिँदासम्म खेलमै रहने बस्नेतले बताए । नेपाल आर्मी जस्तो प्रतिष्ठित टिमबाट राष्ट्रिय खेलकुदमा भाग लिन पाउँदा गौरवको अनुभूति हुने गरेको उनले सुनाए । उनीसहितका खेलाडीको उत्कृष्ट प्रदर्शनकै बलमा आर्मी नवौँ राष्ट्रिय खेलकुदमा पनि च्याम्पियन बन्न सफल रह्यो । आर्मीकै अर्का खेलाडी भीमबहादुर तामाङले अहिलेकै प्रतियोगितामा चार स्वर्ण हात पारेका थिए । एकल प्याटर्न, टिम प्याटर्न, एकल स्पाइरिङ र टिम स्पाइरिङमा उनले आर्मीलाई स्वर्ण दिलाएका हुन् । एकल स्पाइरिङमा ७६–८० किलो तौल समूहमा तामाङले प्रतिस्पर्धा गरेका थिए । आर्मीकी निकिता धिमालले पनि अहिलेको प्रतियोगितामा दुई स्वर्ण पदक जितिन् । टिममा बस्नेत, तामाङ र धिमालजस्तै सक्षम तथा प्रतिभाशाली खेलाडी भएकै कारण आर्मी लगातार आइटिएफ तेक्वान्दोमा च्याम्पियन बन्दै आएको छ । सातौँ राष्ट्रिय खेलकुदमा १७ र आठौँमा १६ स्वर्ण पदकसहित आर्मी नै पहिलो बनेको थियो । बिहीबार सकिएको नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत आइटिएफ तेक्वान्दोमा छ स्वर्ण, तीन रजत र तीन कांस्य जितेर बागमती प्रदेशले दोस्रो स्थान बनायो । तेस्रो स्थान हासिल गरेको गण्डकी प्रदेशले पाँच स्वर्ण, आठ रजत र दुई कांस्य पदक जित्यो । प्रदेश नं तीन स्वर्ण, दुई रजत र पाँच कांस्य पदक हात पा¥यो । लुम्बिनी प्रदेशले एक स्वर्ण, तीन रजत र आठ कांस्य पायो । सशत्र प्रहरी बलले एक स्वर्ण, तीन रजत र दुई कास्यमा चित्त बुझायो । कर्णाली प्रदेशले दुई रजत र दुई कास्य पदक हात पा¥यो । नेपालले पुलिसले चार कास्य पदक जित्दा मधेश प्रदेशले एउटा मात्र कांस्य पदकमा सीमित भयो । सुदूरपश्चिम प्रदेशले कुनै पनि पदक जित्न सकेन । आइटिएफ तेक्वान्दोमा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । रासस
स्वर्णपदक विजेता खेलाडी भन्छन् : ‘ देशलाई अन्तर्राष्ट्रिय पदक दिलाउने मन छ ’
कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मङ्गलबार पोखरा रङ्गशालामा नेपाल आर्मीका खेलाडी सोमबहादुर कुमालले चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिए । गण्डकी प्रदेशको गोरखाका उहाँ दश वर्षदेखि आर्मीमा आबद्ध छन् । यसैले विभागीय टोलीबाट प्रतियोगिता खेले । उनले ३२ वर्ष पूरानो कीर्तिमान तोड्दै आफ्नो नाममा लेखाउन सफल हुँदा मैदानमा जति खुसी थिए, यसरी ठूला प्रतियोगिता अब कहिले खेल्न पाइन्छ भन्ने चिन्तासँगै उनमा थियो । आफ्नो कीर्तिमानीले दिएको खुसीसँगै प्रतियोगिता नभएर स्तर खस्किने हो कि भन्ने चिन्ता लाग्ने उनले बताए । पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनु खेलाडीका लागि ठूलो अवसर भएको जनाउँदै उनले निरन्तर प्रतियोगिता हुनुपर्नेमा जोड दिए । नवौँका लागि चार वर्ष प्रतीक्षा गरेको बताउँदै उनले राष्ट्रिय खेलकुद नियमित गर्न आग्रह गरे । उनको लक्ष्य अब राष्ट्रिय प्रतियोगिताबाट माथि उठेर दक्षिण एशियाली र एशियाली प्रतियोगितासम्म पुग्ने र देशलाई पदक दिलाउने छ । उनले भने, ‘देशमा प्रतियोगिता नियमित हुनुपर्दछ नत्र हाम्रो स्तर खस्किन्छ । नियमित खेल भयो भने साउथ एशियन र एशियन लेभलसम्म पुग्न सक्छौँ । यसका लागि देश लाग्नुपर्नेमा खेलाडी व्यक्ति मात्र लागि पर्दा हामी माथिल्लो स्तरमा पुग्न सकेका छैनौँ ।’ उनले सन् २०१८ मा इन्डोनेसियामा भएको ‘एसियन गेम्स’मा आठ सय मिटरको राष्ट्रिय कीर्तिमान बनाएका थिए । अन्तर्राष्ट्रिय प्रतियोगिता खेले पनि पदक ल्याउन सकेका छैनन् । सोमको अनुभवमा नेपालीसँग खेल्न विदेशी पनि डराएका हुन्छन् तर नेपालको खेल वातावरण नभएकाले उनीहरु हावी हुने गरेको कुमालले बताए । ‘हाम्रोमा नियमित खेल्ने वातावरण छैन, ट्याकमा दुई/तीन वर्षसम्म खेल नहुँदा कमजोर भएर बस्नुपर्ने बाध्यता छ । ट्रयाक हाम्रा लागि भगवान् हो, यही भनेर कुरेर बसेका छौँ हामी । राम्रो खेल देखाउन प्रतियोगिता नियमित आयोजना हुनुप¥यो ।’ उनले भने । नेपाल प्रहरीको महिला क्रिकेट टोलीले नवौँ राष्ट्रिय खेलकुदको आफ्नो ‘डेब्यु’मै ऐतिहासिक स्वर्ण पदक जित्यो । अर्को विभागीय टोली सशस्त्र प्रहरीबल लाई पोखरा रङ्गशालामा पराजित गरेर पुलिसले स्वर्ण जित्दा टोलीका खेलाडीमा खुसीको सीमा थिएन । पुलिस टोलीको कप्तानी गरेका नेपाली राष्ट्रिय टोलीका समेत कप्तान रुविना क्षेत्रीले महिला क्रिकेटमा व्यावसायिकताको खाँचो रहेको बताउनुभयो । यसअघिका प्रतियोगितामा प्रदेशबाट खेल्दै आएका उनी यसपटक विभागीय टोलीबाट खेले । विभागबाट खेल्दा खेलाडीलाई सम्मान मिल्ने गरेको उनको अनुभव छ । उनले भने, ‘विभागमा खेलाडीमा जागीरको सुरक्षा र सुविधा हुन्छ । प्रदेशबाट सुविधा नपाएपछि खेलाडी विभागमा जाने हुन् । प्रदेशमै आवश्यक सुविधा दिने हो भने खेलाडीको पनि भविष्यको सुरक्षा हुन्छ, खेलले पनि व्यावसायिकता पाउँछ ।’ उनको अनुभवमा विभागीय टोलीमा खेलाडीको सुरक्षा र संरक्षण भए पनि व्यावसायिक खेलको चुनौती भने रहन्छ । उनले नेपाली महिला क्रिकेटको विकासका लागि खेलाडीलाई खेलिरहने वातावरण र आधार निर्माण गर्नुपर्नेमा जोड दिए । खेलकुदका सरकारी निकायदेखि विभिन्न कर्पोरेट क्षेत्रले पनि महिला क्रिकेटमा लगानी गरेर प्रतियोगिता सञ्चालन गर्न सकेको खण्डमा राम्रो व्यावसायिकताको विकास हुने उनको विश्वास छ । उनले भने, ‘खेलाडीलाई क्रिकेटमा लागिरहने आधार बनाउनु चुनौतीपूर्ण छ । म्याच धेरै हुनुपर्दछ । पुरुषको इपिएललगायतका प्रतियोगिता हुँदा केटीहरुको पनि हुुनुप¥योँ । राखेप, क्यानलगायत अन्य कर्पोरेट सेक्टरले पनि यसबारेमा पनि अब सोच्नुपर्दछ ।’ नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य अप्सरी बेगम खेल प्रदर्शनका लागि प्रतियोगिताको कमी भएको बताए । राष्ट्रिय खेलकुदबाट उत्कृष्ट क्षमताका खेलाडी निस्किरहेकाले उनीहरुलाई राम्रो म्याच एक्पोचर दिनसके खेलको विकास राम्रो हुने उनको सुझाव थियो । उनले भने, ‘अहिले म्याचको कमी छ । हामीले धेरै प्रतियोगिता खेल्न पायौँ भने हाम्रो स्तर वृद्धि हुन्छ ।’ पुलिसको टोलीमा रहेर स्वर्ण जितेपछि उनी उत्साहित छन् । ‘पुलिस टिम बनेर महिला क्रिकेटमा पहिलो सहभागितामै स्वर्ण जित्दा खुसी भएका छौँ । यस टिमले पछि समेत राम्रो खेल्नेछ ।’ उनको विश्वास छ । रासस