फिफा विश्वकपको पहिलो खेल आज राति पौने दश बजेबाट शुरु हुँदै

एजेन्सी । २२ औं फिफा विश्वकप आजबाट शुरु हुँदैछ । विश्वकपमा विश्वभरबाट ३२ टोली सहभागी हुँदैछन् । अहिलेसम्म खेलिएका सबै विश्वकप जुन र जुलाई महिनामा आयोजना गरिएको थियो तर कतारको हावापानी र गर्मीलाई ध्यानमा राख्दै यसपटकको विश्वकप भने नोभेम्बर र डिसेम्बरमा राखिएको छ । पहिलो विश्वकप सन् १९३० मा उरुग्वेमा खेलिएको थियो र आयोजक टोली उरुग्वेले जितेको थियो। विश्वयुद्धका कारण सन् १९४२ र १९४६ मा विश्वकप हुन सकेन तर त्यसपछि हरेक चार वर्षको अन्तरालमा फिफा विश्वकप निरन्तर रुपमा सञ्चालन हुँदै आएको छ । आज राती ९ः४५ बजे उद्घाटन विश्वकपको पहिलो खेल कतार र इक्वेडरबीच नेपाली समय अनुसार राति ९ः४५ बजे शुरु हुनेछ । त्यस्तै नेपाली समय अनुसार साँझ ७ः४५ बजे उद्घाटन समारोह दोहाबाट ४० किलोमिटर टाढा अल–बैत रंगशालामा हुनेछ । विश्वकपमा पदर्शन दक्षिण कोरियाली ब्यान्ड बीटीएस उद्घाटन समारोहको मुख्य आकर्षण हो। बीटीएसका सदस्य जंगकुक पहिलो पटक विश्वकपको उद्घाटन समारोहमा प्रदर्शन गर्नेछन्। यसबाहेक बलिउड अभिनेत्री नोरा फतेहीले पनि प्रस्तुति दिनेछिन् । सोसँगै अमेरिकी ब्याण्ड ब्ल्याक आइड पिस, कोलम्बियन गायक जे बाल्भिन, नाइजेरियन गायक प्याट्रिक नेमेका ओकोरी र अमेरिकी र्‍यापर लिल बेबीले प्रस्तुति दिनेछन् ।

डिशहोमले विश्वकप २ के रिसोलुसोनमा प्रशारण गर्दै

काठमाडौं । डिश मिडिया नेटवर्कले आफ्नो फिफा विश्वकप २०२२ अभियान फिल द म्याजिक अफ फुटबल इन डिशहोम अभियान शुरु गरेको छ । डिशहोमले लामो समयदेखि प्रतिक्षा गरिएको फिफा विश्वकप फुटबलको प्रशारण गर्नेछ । हरेक चार चार वर्षमा हुने विश्वकप फुटबललाई नेपाली फुटबलका फ्यानहरुले हर्षोल्लासका साथ स्वागत गर्ने गरेका छन् । नेपाली सामाजिक सञ्जालको लोकप्रियता र फ्यानहरुको गतिबिधीलाई मध्यनजर गर्दै डिशहोमले धेरै उपहारहरु सहित सामाजिक सञ्जालका लागि विभिन्न डिजिटल अभियानहरु जारी गरेको छ । त्यस अभियानमा सहभागी हुनका लागि सहभागीहरुले डिशहोमको फेसबुक पेजमा गइ पोस्टमा म्याजिक मुमेन्टसमा उनीहरुको मनपर्ने टिम जस्तै, म्याजिकल मुमेन्टस अफ पोर्चुगल प्रयोग गर्नुपर्नेछ । साथै आफूले समर्थन जनाएको देशको म्याजिकल क्षणहरुको भिडियो क्लिप वा फोटो पोस्ट गर्नुपर्नेछ ।

अण्डर–१९ राष्ट्रिय क्रिकेट खेलका लागि गण्डकीको टोली घोषणा

पोखरा । राजधानी काठमाडौँमा सञ्चालन हुने ‘वाई वाई अण्डर १९ राष्ट्रिय पुरुष क्रिकेट’ प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ । गण्डकी प्रादेशिक क्रिकेट सङ्घले यही मङ्सिर ७ देखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि १४ नियमित र चार वैकल्पिक गरी १८ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो । गण्डकीको टोलीको कप्तानीको जिम्मा सुवास भण्डारीले पाएका छन् भने उपकप्तान दीपक डुम्रे रहेका छन्। टोलीका सदस्यहरूमा अर्जुन कुमाल, गोविन्द विक, सोहेल कुँवर, करन पँगेनी, सचिन अधिकारी, सिव्रिन श्रेष्ठ, अपराजित पौडेल, सुजन गौतम, किरण भट्टराई, नितेश गिरी, सुदीप अर्याल र शिशिर भुसाल रहेका छन्। यसैगरी वैकल्पिक खेलाडीहरूमा विवेक नेपाली, सुगन सापकोटा, संयोग बस्याल र विपिनराज न्यौपाने छन्। गण्डकीको टिम प्रशिक्षकमा रिजन प्रजु र व्यवस्थापक दिवाकर थापा रहेको गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष देवेन्द्र प्रजुले जानकारी दिए । गण्डकी प्रदेशले पोखरामा प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन गरी खेलाडीहरू छनोट गरेको हो । पोखरामा कात्तिक २४ देखि मङ्सिर १ गतेसम्म छनोट प्रतियोगिता सञ्चालन भएको थियो । ‘वाई वाई अण्डर १९ राष्ट्रिय पुरुष क्रिकेट’ प्रतियोगितामा देशका सात वटै प्रदेशले सहभागिता जनाएका छन् ।