नवौं राष्ट्रिय खेलकुदको तयारीमा म्याग्दी

म्याग्दी । जिल्ला खेलकुद विकास समिति म्याग्दी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट तयारीमा जुटेको छ । प्रदेश खेलकुद परिषद्को खेल कार्यातालिका अनुसार नवौँ राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागी हुने म्याग्दी जिल्लाका सम्पूर्ण भलिबल खेलाडीलाई आगामी भदौ ३ गतेसम्म खेलाडी दर्ता फारम भर्न र व्यक्तिगत तयारी गर्नका लागि जिल्ला भलिबल सङ्घले आह्वान गरेको छ । त्यस्तै भलिबल सङ्घमा आवद्ध म्याग्दी जिल्लाका सम्पूर्ण आधिकारिक रेफ्रीलाई भदौ ३ गतेभित्र बेनीको शिक्षामार्गस्थित सङ्घको कार्यालयमा सम्पर्क गरी लाइसेन्स नवीकरण शुल्क बुझाउन अनुरोध गरेको छ । नवीकरण दर्ता शुल्क नबुझाउने रेफ्रीलाई सङ्घले कुनै पनि मान्यता नदिने निर्णय गरिएको सङ्घका महासचिव कुमार किसानले जानकारी दिएका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका लागि पाँच सदस्यीय जिल्ला छनोट समिति पनि गठन भएको छ । समितिको संयोजकमा सङ्घका उपाध्यक्ष खड्क केसी र सदस्यमा सङ्घका उपाध्यक्ष राजकुमार भण्डारी, महासचिव कुमार किसान, सदस्य मनोज खड्का र गङ्गा तिलिजा रहेका छन् । जिल्ला छनोट प्रतियोगितालाई व्यवस्थित तरिकाले सम्पन्न गर्नका लागि उपसमितिसमेत गठन गरिएको छ । उपसमितिका संयोजकमा अशोक शाही र सदस्यमा रामबहादुर गुरुङ, अरुण तिलिजा, समुन केसी, सनमान जुग्जाली र चित्र घर्ती रहेका सङ्घले जनाएको छ । जिल्लामा विभिन्न सङ्घसंस्था तथा क्लबले भलिबल प्रतियोगिता सञ्चालन गर्न अनिवार्यरूपमा सङ्घको कार्यालयमा सम्पर्क तथा समन्वय गर्न आह्वान गरेको छ । साथै रेफ्री, अफिसियल शीर्षकमा बजेट व्यवस्थापन गरी प्रतियोगितालाई थप व्यवस्थित र नीति–नियममा रहेर सञ्चालन गर्न सुझावस्वरुप पत्रचार गर्ने निर्णय गरिएको सङ्घका महासचिव किसानले बताए। सदरमुकाम बेनीमा भलिबल सङ्घको आफ्नै कोर्ट नभएको, विगतदेखि हालसम्म खेलमैदानको अभावमा तालिम वा खेल सञ्चालन गर्न निजी विद्यालयको खेलमैदान प्रयोग गर्नुपर्ने अवस्था रहेको छ । खुलामञ्चबाहेक अरु विकल्प नरहेको परिस्थितिमा तत्कालका लागि अस्थायीरूपमा भए पनि कुनै व्यक्तिको जग्गा भाडामा लिएर खेलअभ्यास तथा प्रतियोगिता सञ्चालन गर्ने योजना अघि सारेको सङ्घले यस कार्यमा आवश्यक सहयोगका लागि सबै पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ । गाउँ–गाउँमा माटोको भलिबल कोर्टलाई प्लास्टर तथा ढलान गरी पक्की बनाउने कार्य भइरहकाले यसबाट भलिबल खेल क्षेत्रलाई भविष्यमा ठूलो असर पु¥याउने खतरा देखिएकाले यसको विकल्पमा छुट्टै खेलमैदान बनाउनका लागि सबै क्लबलाई सचेत गराउने गरी जिल्लाभर अभियान सञ्चालन गरिने सङ्घले जनाएको छ । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई म्याग्दीमा सञ्चालन गर्नका लागि पहल गरिरहेको सङ्घले खेलतालिका जिल्लामा परेको खण्डमा उत्कृष्ट व्यवस्थापनका साथ सम्पन्न गर्ने बताएको छ ।

ब्रिटिस कलेजले जित्यो ‘तेस्रो द ब्रिटिस कप २०२२’ टोर्नामेन्टको उपाधि

काठमाडौं । द ब्रिटिस कलेजले ‘तेस्रो द ब्रिटिस कप २०२२’ टोर्नामेन्टको उपाधि जितेको छ । ब्रिटिस कलेजको आयोजनामा काठमाडौंका विभिन्न १३ वटा कलेजहरूबीच भएको फुटसल प्रतियोगितामा ब्रिटिस कलेजले नै उक्त उपाधि जितेको हो । उक्त खेलको फाइनल राउण्डमा ब्रिटिस र एपेक्स कलेजबीच प्रतिस्पर्धा भएको थियो । शुक्रबार भएको यी दुई कलेजबीचको फाइनल खेलमा ब्रिटिस कलेजले एपेक्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जित्यो । निर्धारित समयमा यी दुईबीचको खेल एकएक गोलमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । विजेता टोली द ब्रिटिस कलेज ब्लु टिमले एक लाख नगद पुरस्कार जितेको छ । उपविजेता एपेक्स कलेजले पचास हजार नगद पुरस्कार जितेको छ । टोर्नामेन्टको उत्कृष्ट खेलाडी कप्तान अर्जुन श्रेष्ठ भए भने उत्कृष्ट गोलरक्षक नोवा हाङ लिम्बु भए । उनीहरु दुवैले १० हजार नगद जिते । कप्तान अर्जुनले उत्कृष्ट खेलाडीको अवार्ड जितेपछि भने,‘टिमको खेल प्रदर्शनप्रति गर्व छ, साथै टोर्नामेन्टभर हौसला प्रदान गर्ने दर्शकप्रति धन्यवाद दिन चाहन्छु ।’ द ब्रिटिस कलेजका म्यानेजिङ डाइरेक्टर महेन्द्रराज कँडेलले भने,‘हाम्रो विद्यार्थीहरुले टोर्नामेन्टमा सहभागीमात्रै भएनन्, टोर्नामेन्ट जित्न पनि सफल भए । उक्त सफलता प्रति हामी गर्व गछौँ । साथै, यो कार्यक्रमलाई सफलतापुर्वक सम्पन्न गराउन सहयोग पुर्याएका सबैलाई धन्यवाद दिन चाहन्छौं ।’ दुई वर्ष कोरोना महामारीका कारण यो प्रतियोगिता हुन सकेको थिएन । यो प्रतियोगिताको मुख्य प्रायोजक ब्रिटिस अमेरिकन एडुकेयर रहेको थियो । त्यस्तै अन्यमा एयरलाइन्स पार्टनरः टर्किस एयरलाइन्स, ट्राभल पार्टनर स्वा ट्राभल्स, होलिडे ट्राभल्स, सिनेमा पार्टनर, क्युएफएक्सः हस्पिटालिटी पार्टनर, मोजो बुटिक होटल र मेडिकल पार्टनर भयोदा हस्पिटल प्रायोजक रहेका थिए । प्रतियोगिताको साइनेज पार्टर ब्राइट एलइडी रहेको थियो भने सहयोगी पार्टनर कता खेल्ने रहेको थियो । सो कार्यक्रममा ब्रिटिस कलेजसहित लिटल एन्जल्स, सफ्टोरिका, प्राइम, एपेक्स, आइआइएमएस, सिल्भर माउन्टेन, पिसिपीएस कलेज, एस इन्टरनेशनल, थेम्स कलेज, क्याम्पियन कलेज, कुसोम, द ब्रिटिस प्रोफेसनल कलेजले प्रतियोगितामा भाग लिएका थिए । द ब्रिटिस कलेजका मार्केटिङ प्रमुख अमरदिप मण्डलले भने, ‘यो कार्यक्रमलाई सफलतापुर्वक सम्पन्न गराउन सहयोग गर्ने सबैलाई धन्यवाद छ । टोर्नामेन्ट सफलतापुर्वक सम्पन्न गर्न महत्वपुर्ण भुमिका खेलेका हिमाल कार्की र सुदीप भट्टराई विशेष धन्यवाद । आगामी वर्ष योभन्दा ठुलो र भव्य तरिकाले चौथो ब्रिटिस कपको तयारी गर्ने प्रतिवद्धता गर्छौं ।’

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कीर्तिमान तोड्नेलाई ५० हजार

काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् । आइतबार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषदको एक सय १३ औं बैठकले राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो । पोखरामा असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म हुने खेलकुदमा सो पुरस्कार दिने राखेपका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए । बैठकले प्रतियोगिताको एकल प्रतिस्पर्धामा स्वर्णपदक विजेत खेलाडीलाई नगद २५ हजार, टिम इभेन्टमा स्वर्ण विजेतालाई १५ हजार पुरस्कार दिने समेत निर्णय गरेको छ । बैठकले आर्थिक बर्ष २०७९/८० को वार्षिक योजना, कार्यक्रम तथा बजेट समेत पारित गरेको छ । त्यसैगरी बैठकले अर्को व्यवस्था नभएसम्मका लागि विभिन्न जिल्लामा रहेका कर्मचारी प्रदेश खेलकुद मातहत रहने गरि काम गराउने निर्णय पनि गरेको छ । यस्तै खेलाडी तथा अफिसियललाई दैनिक दुई हजार भत्ता दिने, प्रदेश छनौटका लागि आवश्यक बजेट उपलब्ध गराउने, सम्बन्धित जिल्ला तथा प्रदेशका खेलाडीहरुले मात्र सम्वन्धित टिममा सहभागी हुनु पर्ने लगायतका निर्णय पनि बैठकले गरेको छ । प्रदेश तथा विभागीय टिमहरुले भदौ १५ गते सम्म खेलाडीको संख्या र २५ गते सम्म नाम दर्ता गराउन समेत निर्देशन गरेको छ । प्रत्येक टिमबाट खेलाडी महिला ३३९ र पुरुष ३६९ कोटा निर्धारण गरेको छ । प्रतियोगिताको मूल ट्रफी प्रधानमन्त्रीज्यूबाट सार्वजनिक गरिने तथा ट्रफीलाई सातै प्रदेश तथा तीन विभागिय टोलीको मुख्यालयमा प्रर्दशन गरिने छ । यस्तै परिषद्को कर्मचारी सेवा, शर्त सम्वन्धी विनियम तयार गर्न परिषद सदस्य प्रकाश कुसारीको संयोजकत्वमा समिति गठन गरिने भएको छ । यस्तै परिषद्को भौतिक संरचना तथा सम्पती यकिन तथा प्रदेशमा हस्तान्तरण सम्वन्धी परिषद् सदस्य अन्जन धमलाको संयोजकत्वमा समिति र खेल संघ विवाद सहजीकरणमा उपाध्यक्ष शिव कोइरालाको संयोजकत्वमा समिति गठन गरिने भएको छ ।