खेलकुद विकासका लागि १७१ पालिकामा बजेट जाने

काठमाडौं । युवा तथा खेलकूदमन्त्रीका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले खेल क्षेत्रको पूर्वाधार निर्माणका लागि आगामी आर्थिक वर्ष १७१ पालिकामा बजेट जाने व्यवस्था गरेको बताएका छन्। प्रतिनिधिसभाको आज बसेको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले एक स्थानीय तह एक खेल पूर्वाधार निर्माण गर्ने सरकारको नीतिअनुसार विगतमा निर्माणाधीन खेल पूर्वाधारलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्षमा १७१ वटा पालिकामा बजेट जाने प्रस्ताव गरेको बताए । मन्त्री पौडेलले खेलाडीहरुको संरक्षण र विकासका लागि यस आर्थिक वर्षमा खेलकुद बीमाको अवधारणाको विकास गरिएको, दुर्घटनामा परेको खेलाडीहरुको उपचार गर्न चिकित्सा केन्द्रलाई व्यवस्थित गर्न बजेटको व्यवस्था गरिएको बताए। उनले खेलाडीलाई प्रोत्साहन गर्न यसपटक खेलाडी जीवन बीमा, खेलाडी तथा प्रशिक्षण स्वास्थ्य बीमा, खेलाडी प्रोत्साहन पुरस्कार, ओलम्पिक खेलाडी भत्ता लगायतका विषयमा बजेट व्यवस्था गरेको बताए । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज वैदेशिक भ्रमणमा रहेकाले उनको सट्टामा शिक्षामन्त्री पौडेलले खेलकुद क्षेत्रको विकास विद्यालयमा तहदेखि नै हुने भएकाले एक विद्यालयमा एक खेलकुदको विकास गर्ने बताए ।

एन्फा निर्वाचनका लागि ५४ जनाको उम्मेदवारी, कसकसले दिए उम्मेदवारी ?

काठमाडौं । नयाँ नेतृत्व सहित २१ सदस्यीय कार्यसमितिका लागि असार ६ गते अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन हुँदैछ । जेठ ६ गते देखी १२ गते सम्मलाई समय तोक्दै निर्वाचनमा भाग लिन मनोनय दर्ता समय तोकेको छ । समितिले दिएको समयसीमा बिहीबार सकिँदै छ । समितिका अनुसार अहिलेसम्म अध्यक्ष सहित विभिन्न पदमा ५४ जनाको उम्मेदवारी परेको छ । र अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ नेतृत्वका लागि मनोनयन दर्ता गराउने अन्तिम बिहीबार दिन थियो । असार ६ गते हुने निर्वाचनका लागि एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, १३ केन्द्रीय सदस्य र दुई महिला सहित २१ जना सदस्यको चयन गर्नेछ । आसन्न निर्वाचनको अध्यक्षका पदका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङले प्यानल सहित उम्मेदवारी दर्ता गराएका छन भने अध्यक्ष पदकै लागि फ्रेन्ड्स क्लबका राजिव पौडेलले पनि उम्मेदवारी बिहीबार दर्ता गराएका छन् । तीन अध्यक्षका प्रत्यासीले निर्वाचन समितीले तोकेको समयभित्र छुट्टा छुट्टै कार्यक्रम गरेर घोषणा गरेका थिए । १ वरिष्ठ उपाध्यक्ष पदमा कुल दुई जनाको उम्मेदवारी परेको छ । कर्माछिरिङ शेर्पा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुलीले उम्मेदवारी दर्ता गराउँदा पंकजको प्यानलबाट सिन्धुपाल्चोक जिल्ला फुटबल संघबाट वीरबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै ४ उपाध्यक्ष पदमा शेर्पा प्यानलबाट कुमार केसी, बिज्ञानराज शर्मा, उपेन्द्रमान सिंह र रत्नकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन भने पंकजको प्यानलबाट विराटजंग शाही, सुन्दरनरसिंह जोशी, दावा लामा र दीपक खतिवडा गरी कुल ८ उम्मेदवारले मनोनय दर्ता गराएका छन् । १३ खुल्ला सदस्यको पदमा शेर्पा प्यानलबाट दिपक थापा, प्रविण यादव, रुपेश अधिकारी, लोकेन्द्र गुरुङ, रामराज गुरुङ, टीका लामा, प्रदेशसिंह राठोर, भरत बढ थापा, अनिल श्रेष्ठ, रमेश ब्यञ्जनकार, मणीराज विष्ट र मनिष जोशीले उम्मेदवारी परेको छ । उता पंकजको प्यानलबाट खुल्ला सदस्य सुरेन्द्र सिखाकार, निरोज खड्गी, प्रविणकुमार सुवाल, पुरुषोत्तम थापा, महेन्द्र क्षेत्री, विकास नारायण श्रेष्ठ, नेपाल कार्की, विजय घले, मिलन गुरुङ, कृष्णमुरारी गुरुङ, कुमार कटुवाल, सम्भु सिंह ठकुरी, रमेशकुमार श्रेष्ठ, बिनोद लामा तामाङ, मणिकुमार लिम्बु, तपेश्वर कुर्मी, मानदेव हाजार, रविन्द्र चन्द, अनिल मल्ल, भोजराज शाही, दिपेन्द्र धिमालको उम्मेदवारी परेको छ । यससँगै खुला सदस्यमा कुल ३६ जनाको उम्मेदवारी परेको छ । यस्तै महिला सदस्यमा बिमला पौडेल, सरिता श्रेष्ठ, बिन्द्रा देवन, पेमा डोल्मा लामा, विना नबाछे श्रेष्ठले उम्मेदवारी दिएका छन् । आगामी ४ वर्षको कार्यकालका लागि हुन लागेको निर्वाचनका लागि जिल्ला, संघ, क्लबबाट मताधिकार पाएर आएका पदाधिकारीले निर्वाचनमा सहभागिता जनाउँदै छन् । एन्फा केन्द्रीय निर्वाचनका लागि १४ वटा ‘ए’ डिभिजन क्लब, १४ मध्ये ११ ‘बी’ डिभिजन क्लब र १४ मध्ये ९ ‘सी’ डिभिजन क्लब, खेलाडी संघ, प्रशिक्षक संघ, महिला र रेफ्री संघ र राष्ट्रिय लिगका लागि छनोट भएका चार क्लबले मतदान गर्न पाउनेछन् ।

क्यानको कदमप्रति ईपिएलका टिम मालिकहरु असन्तुष्टि

काठमाडौं ।  नेपाल क्रिकेट संघ (क्यान) ले एउटै मात्र टी–२० लिग आयोजना गर्ने घोषणा गरेसँगै फ्रेन्चाईज क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपिएल) का टिम मालिकहरुले क्यानको कदमलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् । एउटै फ्रेन्चाईज प्रतियोगिता नेपाल टी–ट्वान्टी लिग आयोजना गर्ने क्यानको निर्णयले यसअघि फ्रेन्चाईज क्रिकेटमा लगानी गरिरहेका कर्पोरेट क्षेत्रका लगानीकर्ताले असन्तुष्टि जनाएका हुन् । उनीहरुले फ्रेन्चाईज क्रिकेटमा ठूलो लगानी गरिसकेको बताउँदै कर्पोरेट क्षेत्रका लगानीकर्ताले प्रतियोगिताको निरन्तरताको माग गरेका हुन् । क्यानको निर्णयसँगै मिति घोषणा भइसकेको पाँचौ संस्करणको इपिएलले मान्यता नपाउने देखिएको थियो । यसै सन्दर्भमा सोमबार पत्रकारसम्मेलन मार्फत नेपाल टी–२० बाहेक अन्य प्रतियोगितालाई मान्यता नदिए इपिएल र यसका ६ फ्रेन्चाइज टिमले क्यानले आयोजना गर्ने सबैखाले प्रतियोगिता बहिष्कार गर्ने चेतावनीसमेत दिएका थिए । क्यानले गरेको निर्णय सही नभएको ललितपुर प्याट्रिओट्सका मालिक किशोर महर्जनले बताए । उनले क्यान निलम्बित हुँदासमेत ईपीएलले नेपाली क्रिकेटमा सहयोग गरेको भन्दै उनले क्यानको यो निर्णयबाट सम्बन्धित सबै निकायहरु निराश भएको बताए । ‘क्यानले गरेको घोषणाबाट ईपीएल र यससँग सम्बन्धित सबै सरोकारवालाहरु पूर्ण रुपमा निराश र स्तब्ध छौं, ईपीएलले क्यान निलम्बित हुँदा वा कोभिड-१९ का कारण सम्पूर्ण कार्य ठप्प हुँदाको कठिन समयमा पनि क्षमताले सकेसम्म नेपाली क्रिकेटलाई सहयोग गरेको थियाैं, यदी क्यानले हालै जारी गरेको निर्णय कार्यान्वायन गर्ने हाम्रो लागि वागमतीमा बग्ने भयो, त्यसबारेमा क्यानको ध्यान जानुपर्छ,’ उनले भने । क्यानको पछिल्लो कदमबाट यसअघि हुँदै आएको फ्रेन्चाईज क्रिकेट ईपीएलको भविष्य शंकटमा देखिएको छ । जसमा कर्पोरेट क्षेत्रले लगानी गरेको करोडौं रकमसमेत जोखिममा परेको छ । ईपीएलका धेरैजसो टिम मालिकको जमघट भएको पत्रकार सम्मेलनमा कर्पोरेट क्षेत्रको लगानीमा धक्का लाग्ने बताएका हुन् । उनीहरुसँग सहमत हुँदै इपीएलका सञ्चालक आमिर अख्तरले आफूहरुलाई पनि काम गर्ने ठाउँ चाहिएको धारणा राखे । ‘क्यान आईसीसीको प्रतिवन्धमा भएका बेला हामीले सहजीकरण नगरेर ईपीएल नगरेको भए नेपाली क्रिकेट, खेलाडी कहाँ हुन्थ्यो ? कुनै नयाँ विदेश कम्पनीलाई विश्वास गर्दा, नेपालको क्रिकेट विकासका लागि लागेको कम्पनीलाई किन हेला ? क्यानको यो निर्णयमा हामी निकै स्तब्ध भएका छौं,’ उनले भने । अख्तरले छलफलबाटै अहिले देखिएको समस्या समाधान हुनेमा आफूहरु आशावादी रहेको बताए । उनले सञ्चालकहरु पीडा र अन्यायमा परेको बताउँदै ईपीएलसँग जोडिएको कम्पनीले क्यानको लिगमा प्रायोजन नगर्ने चेतावनी समेत दिए ।