१३ विधामा ‘आइसिटी अवार्ड २०२३’ को अनलाइन नोमिनेसन भदौ १५ गतेसम्म

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको आठौं संस्करणको लागि अनलाइन नोमिनेसन (आवेदन) भदौ १५ गतेसम्म बुझाउन सकिनेछ । लिभिङ विथ आइसिटीको मुख्य आयोजनामा हुने ‘आइसिटी अवार्ड’मा यस वर्ष १३ विधा सहित सातै प्रदेशका स्टर्टाअपहरुलाई सम्मान गर्नेगरी आवेदन खुल्ला गरिएको हो । यस वर्ष आइटी प्रोफेसनलहरुलाई लक्षित गरेर प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड २०२३ विधा थप गरिएको छ । अवार्डमा स्टार्टअप तथा इन्नोभेसन सम्वन्धी विधाहरुमा स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड विधाहरु रहेका छन । यसैगरी व्यत्तिगत उपलब्धीको आधारमा प्रदान गरिने विधाहरुमा प्रोफेसनल एक्सिलेन्स, पायोनियर, आन्टरप्रेनर, नेपाली डायस्पोरा र वुमन आइकन आइसिटी अवार्ड विधाहरु समावेश छन् । डिजिटल रुपान्तरणमा अभ्यासरत सस्थाहरुलाई प्रदान गर्ने अवार्ड विधाहरुमा डिजिटल एजुकेशन पब्लिक र प्राइवेट सेक्टर, डिजिटल गर्भनेन्स र डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२३ रहेका छन । यसैगरी सार्क देशहरुका स्र्टाटअपहरुलाई लक्षित गरेर साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२३ विधामा पनि नोमिनेशन खुल्ला जारी छ । सन् २०१६ बाट सुरु भएको आइसिटी अवार्ड हरेक वर्ष परिस्कृत र विस्तारित रुपमा आयोजना हुदै आइरहेको छ । यस वर्ष आयोजकले सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान गर्नेगरी ‘प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन’ पनि सुरु गरेको छ । यसैगरी स्टार्टअप, आइडिया र इन्नोभेसनको पिचिङ सहित छनौट प्रकृयालाई कान्तिपुर टेलिभिजन मार्फत पनि विशेष एपिसोड प्रशारण गरिने आयोजकले जनाएको छ । आइसिटी अवार्डको छनौट प्रकृया नेपालमा हुने अवार्डहरुमध्ये सबैभन्दा वृहत, निष्पक्ष र पारदर्शी रहने आयोजकले दाबी गरेको छ । भदौ तेस्रो हप्तादेखि सञ्चालन हुने अवार्डको छनौट प्रकृयाको लागि विभिन्न २५ चरणमा जुरी समितीको मिटिङ तथा प्रिजेन्टेशन सेसनहरु सञ्चालन हुनेछन । जुरी समितिमा नेपाल सरकारका प्रतिनिधिहरु सहित १४ जना विज्ञ रहेका छन भने सल्लाहकार समितिमा १५ जना विशिष्ट व्यत्तिहरु रहेका छन । साउथ एसिया स्टार्टअप अवार्डको लागि भारत, बंगलादेश, पाकिस्तान, श्रिलंका लगायतका देशहरुबाट विज्ञ जुरी समिति मार्फत छनौट प्रकृया सञ्चालन गरिने छ । आवेदन दर्ताको लागि आधिकारिक वेबसाइट ictaward.org मार्फत विवरण बुझाउन सकिन्छ । आफु स्वंम वा अन्य कोहिले सम्वन्धित व्यत्ति, कम्पनी वा सस्थाको सम्पुर्ण विवरण उल्लेख गरेर नोमिनेशन दर्ता गर्न सकिनेछ । स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधाको लागि भदौ १५ र अन्यको लागि भदौ ३१ गतेसम्म नोमिनेशन बुझाउन सकिने आयोजकले विज्ञप्तीमार्फत जानकारी गराएको छ । यी हुन आइसिटी अवार्ड २०२३ का १३ विधाहरु आइसिटी अवार्ड २०२३ मा १३ विधामा अनलाइन नोमिनेशन खुल्ला गरिएको छ । यसैगरी सातै प्रदेशका स्थानिय स्टार्टअपहरुले पनि प्रदेशको उत्कृष्ट स्टार्टअपको सम्मान र निशुल्क बुटक्याम्प र मेन्टरिङ सेसनमा सहभागि हुनको आगि आवेदन खुल्ला गरिएको छ । नोमिनेशन दर्ता गर्न आधिकारिक वेबसाइट apply.ictaward.org मा गएर गएर विधा (क्याटेगोरी) छनौट गरी आवश्यक विवरण उल्लेख गरी अनलाइन फारम बुझाउनुपर्नेछ । नोमिनेसनको अन्तिम मिति यहि साउन ३१ गते रहको छ । १. स्टार्टअप आइसिटी अवार्ड आइटी प्रडक्ट, सर्भिस तथा इन्नोभेसन क्षेत्रमा काम गरिरहेका कम्पनीहरूलाइ प्रवद्र्धन र प्रोत्साहन गर्ने यो अवार्डमा सहभागी हुन नेपालको प्रचलित कानून अनुसार कम्पनी दर्ता भएर सञ्चालनमा रहेको हुनुपर्नेछ । यस विधामा विगत ४ वर्षको अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्नेछन् । २. प्रडक्ट आइसिटी अवार्ड आइसिटी प्रडक्ट अवार्डमा कुनै नेपाली कम्पनी, संस्था, समूह  वा व्यक्तिले विकास गरेको आइटी तथा इन्नोभेटिभ प्रडक्टलाई नोमिनेशन दर्ता गराउन सकिनेछ । वि.स २०७९ सालमा सार्वजनिक भएका आइटी प्रडक्टहरूलाई लिएर यस विधामा नोमिनेशन दर्ता गर्न सकिन्छ । ३. राइजिङ स्टार एण्ड इन्नोभेसन आइसिटी अवार्ड राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्डमा कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरू तथा ३० वर्ष मुनिका युवाहरुको इन्डस्ट्री प्रोजेक्ट रिसर्च, आइडिया, इन्नोभेसन तथा प्रडक्टहरूलाई लिएर नोमिनेशन दर्ता गर्न सकिनेछ । ४. प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड यस वर्ष थप भएको प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड विधामा आइसिटी क्षेत्रसँग सम्वन्धित रहेर कम्तिमा ५ वर्षको अनुभवसँगै यस क्षेत्रमा पुर्याएको महत्वपुर्ण योगदान, विशेष कामको आधारमा आइसिटी प्रोफेसनलहरुले नोमिनेशन दर्ता गर्न सक्नेछन । ५. पायोनियर आइसिटी अवार्ड यो अवाडर्, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विशिष्ट योगदान दिएका अग्रज व्यक्तिलाइ प्रदान गरिन्छ । यस विधामा नोमिनेशन दर्ता गर्न यस क्षेत्रमा कम्तिमा १५ वर्षको अनुभव आवश्यक पर्दछ । ६. नेपाली डायस्पोरा आइसिटी अवार्ड नेपाली मूलका व्यक्ति, जो विदेशमा बसेर पनि आइसिटीको माध्यमबाट देश र यस क्षेत्रमा पुर्याएको योगदानको आधारमा यस विधामा नोमिनेशन दर्ता गर्न सकिनेछ । ७. आन्टरप्रेनर आइसिटी अवार्ड आन्टरप्रेनर आइसिटी अवाडर्, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील नेपाली उद्यमीलाई दिइनेछ । नोमिनेशनको लागि आइसिटी उद्यमीको रुपमा कम्तिमा ७ वर्षको अनुभव आवश्यक रहेको छ । ८. वुमन आइकन आइसिटी अवार्ड वुमन आइकन आइसिटी अवार्ड, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील नेपाली महिलाहरूका लागि लक्षित छ । यस विधामा उद्यमी, नेतृत्वकर्ता, प्रोफेसनल तथा आइसिटीको क्षेत्रमा उदाहरणिय काम गर्नुभएको महिलाहरुले नोमिनेसन दर्ता गर्न सक्नुहुनेछ । ९. डिजिटल एजुकेशन आइसिटी अवार्ड (पल्लिक सेक्टर) डिजिटल एजुकेशन आइसिटी अवार्ड, आइसिटीको प्रयोगमार्फत शिक्षा क्षेत्रलाई आधुनिक तथा प्रविधिमैत्री बनाउदै शिक्षण सिकाई तथा व्यवस्थापनमा उदाहरणिय काम गरेका सरकारी तथा सामुदायिक शैक्षिक संस्थाहरुले नोमिनेशन दर्ता गर्न सक्नेछन । १०. डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइवेट सेक्टर) डिजिटल एजुकेशन आइसिटी अवार्ड आइसिटीको प्रयोगमार्फत शिक्षा क्षेत्रलाई आधुनिक तथा प्रविधिमैत्री बनाउदै शिक्षण सिकाई तथा व्यवस्थापनमा उदाहरणिय काम गरेका नीजि शैक्षिक संस्थाहरुले नोमिनेशन दर्ता गर्न सक्नेछन्। ११. डिजिटल गभर्नेन्स आइसिटी अवार्ड यस विधामा सरकारी सेवा तथा सुविधालाई डिजिटलिकरण गर्र्दै नागरिकलाई सहज, सरल किसिमले प्रविधिमैत्री सेवा दिन प्रयासरत सरकारी सस्था, निकाय, विभाग वा पालिकाहरूले नोमिनेशन दर्ता गर्न सक्नेछन्। १२. डिजिटल सर्भिसेस आइसिटी अवार्ड यस विधामा निजी क्षेत्रका संस्था, लिमिटेड वा सर्वसाधारणलाई डिजिटल तथा अनलाइन मार्फत सेवा दिइरहेका कम्पनीहरूले नोमिनेशन दर्ता गर्न सक्नेछन् । यस विधामा आइटी तथा सफ्टवेयर कम्पनीहरू बाहेक अन्य सेवामूलक निजी क्षेत्रका कम्पनीहरूले सहभागिता जनाउन सक्नेछन्। १३ साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड यस विधामा दक्षिण एसियाली देशहरु भारत, बंगलादेश, पाकिस्तान, श्रिलंका, मालदिभ्श, भुटान, अफगानिस्तान र नेपालका स्टार्टअपहरुले सहभागिता जनाउन सक्नेछन । ५ वर्षसम्मका स्टार्टअपहरुले यस विधामा नोमिनेशन दर्ता गर्न सक्नेछन् ।  

उच्च शिक्षामा आइटी : पढ्दै कमाउँदै, स्वदेश र विदेश जहाँसुकै अवसर

काठमाडौंको मोर्गन इन्टरनेसनल कलेजमा सूचना प्रविधि अध्ययनरत विद्यार्थीहरु काठमाडौं । कक्षा–१२ को नतिजा प्रकाशन भएपछि विश्वविद्यालय तहमा अध्ययन गर्ने विषयको सम्बन्धमा विद्यार्थीहरु द्विविधामा छन् । उच्च माध्यामिक शिक्षा परिषदको परीक्षा उत्तिर्ण गरेपछि विद्यार्थीहरुलाई विश्वविद्यालय प्रवेश गर्ने ढोका खुलेको छ । स्नातक तहमा रोजिने विषयले विद्यार्थीको करिअर निर्धारण गर्छ । तसर्थ, आफ्नो रोजाइको क्षेत्रमा अब्बल बन्नका लागि अध्ययनको विषय पनि सोहीअनुसार रोज्नुपर्छ । पछिल्लो समय धेरैजसो विद्यार्थी र अभिभावकले सूचना प्रविधिलाई पहिलो रोजाइको विषय बनाउने गरेका छन् । विश्वभरी नै ठूलो मात्रामा रोजगारी तथा उद्यमको सम्भावना बोकेको विषय हुनाले पनि धेरैले विश्वविद्यालय तहमा सूचना प्रविधि अध्ययन गर्न सुझाव दिने गरेका छन् । सूचना प्रविधि विषय अध्ययन गरेर आफूलाई अब्बल सावित गर्नेहरू बेरोजगार बस्नु पर्ने अवस्था छैन । सूचना प्रविधि क्षेत्रका विभिन्न विषय अध्ययन गरेका नेपाली विद्यार्थीहरुले नेपालमै बसेर ६७ अर्ब रुपैयाँ भन्दा धेरै विदेशी मुद्रा आम्दानी गरेको तथ्यांक सरकारले नै सार्वजनिक गरेको छ । सूचना प्रविधि अन्तर्गत हार्डवेयर र सफ्टवेयर दुवै क्षेत्रमा दिनानुदिन अकल्पनीय प्रगति हुँदै गएको छ । सूचना प्रविधिको विकास यस्तो भएको छ कि यसको अभावका मानिसको दैनिकी नै प्रभावित हुन थालेको छ । उत्पादन तथा सेवा क्षेत्रका सबैजसो व्यवसाय सूचना प्रविधिमै निर्भर छन् । सुरक्षित करिअर, प्रशस्त आम्दानी टेक्सास कलेजका विएससीसिएसआइटी विभागका प्रमुख ओमकार बस्नेतले सूचना प्रविधि अहिले ‘ग्लोबल ल्याङ्वेज’ भएकाले विश्वव्यापी माग बढेको उनले बताए । विश्वव्यापी रूपमा आइटीमा दक्ष व्यक्तिहरूको अभाव रहेकाले नयाँ विद्यार्थीहरुका लागि प्रशस्त सम्भावना रहेको उनले बताए । सूचना प्रविधिका विषय अध्ययन गरेकाहरूलाई आंशिक वा पूर्णकालिन रूपमा कामको समस्या नभएको उनले बताए । यो विषय अध्ययन गरेका विद्यार्थीले पढ्दै कमाउँदै गर्न सक्ने भएका अध्ययन खर्च समेत विद्यार्थी आफैले जुटाउन सक्ने उनले बताए । नेपालमा डिजिटल प्लेटफर्मका विभिन्न प्रडक्टमार्फत बलियो उपस्थिति देखाएको कम्पनी एफवानसफ्टका निर्देशक सुवास शर्माले आइटी पढेका विद्यार्थीका लागि स्वदेश र विदेशमा राम्रो रोजगारीको सम्भावना रहेको बताए । देशभित्रै सूचना प्रविधि सम्बन्धी प्रशस्त उद्योगहरु खुलेका कारण आइटी पढेकालाई राम्रो अवसर रहेको उनले बताए । त्यसबाहेक, नेपालमै बसेर पनि विदेशका विभिन्न स्थापित कम्पनीमा काम गर्ने अवसर रहेको शर्मा बताउँछन् । ‘अहिले विश्व नै डिजिटलाइज भैरहेको छ, विदेशमा पनि सूचना प्रविधिको प्रचुर सम्भावना छ, नेपालमा पनि प्रशस्त अवसर सिर्जना भइरहेका छन्’, शर्मा भन्छन्, ‘आउटसोर्स कम्पनीहरु नेपालमा छन्, फ्रिल्यान्सरको रुपमा काम गर्नेहरुले पनि राम्रो आम्दानी गरिरहेका छन् ।’ विदेश जान चाहनेहरुका लागि पनि नेपालमै आइटी अध्ययन गरेर जाँदा राम्रो हुने उनले बताए । नेपालका उद्योग तथा व्यवसाय क्षेत्र डिजिटल उन्मुख भएकाले थप अवसरको सम्भावना रहेको शर्माले बताए । ‘आइटी आफैँमा व्यवसाय भन्दा पनि यसले अन्य उद्योग तथा व्यवसायलाई सपोर्ट गर्ने हो, व्यवसायहरुलाई अटोमेटेड बनाउन सहयोग गर्छ । सफट्वेयरको प्रयोगले कामलाई पेपरलेस बनाउन सकिन्छ । यो सबैले चाहेका हुन्छन् । आफ्नो बिजनेसलाई अनलाईन, अटोमेटेड र पेपरलेस बनाउँदा आइटी नै सहयोग हुन्छ । यसमा ठूलो जनशक्ति चाहिन्छ । त्यसैले, प्रशस्त सम्भावना छ’, शर्माले भने । इच्छाशक्ति भएको र मेहनती विद्यार्थीले आफ्नो शैक्षिक खर्च मात्रै नभएर पढ्ने समयमा नै प्रशस्त पैसा कमाउन सक्ने यस क्षेत्रका विज्ञहरु बताउँछन् । पढाइकै समयमा आफ्नो प्रोजेक्ट वर्कको काम गर्दा नै प्रशस्त आम्दानी गर्न सकिने अध्यापकहरुको भनाई छ । त्यसबाहेक, आंशिक, प्रोजेक्टमा आधारित र पूर्णकालिन जागिरमा आवद्ध भएर पनि कमाउन सकिन्छ । यो क्षेत्रका काम गर्ने नेपालीहरुले दैनिक ८ घण्टा काम गर्दा न्यूनतम ३०/३५ हजारदेखि लाखौं रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । के–के छन विषय ? नेपालका शिक्षण संस्थामा नेपाली तथा विदेशी विश्वविद्यालयको सम्बन्धनमा सूचना प्रविधिका विषयहरू पढाई हुन्छन् । विएससी–सिएसआइटी, बिआइटी, बिसिए, बिआईएम लगायतका विषय स्नातक तहका अध्यापन हुन्छ । सूचना प्रविधि अन्तर्गतका सबै शैक्षिक कार्यक्रमहरु सेमेस्टर प्रणालीमा सञ्चालित छन् । कक्षा–१२ मा विज्ञान संकाय अध्ययन गरेका विद्यार्थीले मात्रै विएससी–सिएसआइटी अध्ययन गर्न पाउँछन् । त्यसका लागि त्रिभुवन विश्वविद्यालयले तोकेको प्रवेश परीक्षा उत्तिर्ण गरेको हुनुपर्छ । त्यसबाहेकका शैक्षिक कार्यक्रम अध्ययन गरेका विद्यार्थीले, बिसिए, बिआईएम लगायतका सूचना प्रविधिसँग सम्बन्धीत विषयहरु अध्ययन गर्न पाउँछन् । चार वर्षको आठ समेस्टरका कोर्ष विश्वविद्यालयहरुले बनाएका छन् । यी विषयहरु अध्ययन गर्दा विश्वविद्यालय र कलेजअनुसार शुल्क फरक छ । नेपालमा सञ्चालनमा रहेका विश्वविद्यालयहरुमध्ये ८ वटा विश्वविद्यालयहरुले स्नातक तहमा आइटी सम्बन्धी कोर्ष सञ्चालन गरेका छन् । जसमध्ये त्रिभुुवन विश्वविद्यालयले बीएससी–सीएसआईटी, इलेक्ट्रोनिक्स, कम्प्युनिकेशन एण्ड इन्फरमेसन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, बीआईसीटीई, बीसीए, बीआईएम, बीआईटी र बीएससी एमएलटी कार्यक्रम सञ्चालन गर्ने गरेको छ । काठमाडौं विश्वविद्यालयले बीएससी इन कम्प्युटेस्नल म्याथेम्याटिक्स, बीबीआईएस, बीएससी इन बायोइन्फर्मेटिक्स, बीटेक बायोटेक्नोलोजी, बी–टेक इन एआई, कम्प्युटर साइन्स र बीएससी एमआईटी कार्यक्रम सञ्चालन गरेको छ । पोखरा विश्वविद्यालयले इलेक्ट्रोनिक्स एन्ड कम्प्युनिकेसन इन्जिनियरिङ, बीसीए, कम्प्युटर इन्जिनियरिङ, सफ्टवेयर इन्जिनियरिङ, बीएससी एमएलटी, बीई–आईटी र बीसीआईएस कार्यक्रम सञ्चालन गरेको छ । त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालयले बीसीए, बीआईटी, बायोटेक्नोलोजी, बायोटेक, कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रोनिक्स, कम्प्युनिकेसन एन्ड अटोमेसन इन्जिनियरिङ कार्यक्रम सञ्चालन गरेको छ । मध्यपश्चिम विश्विद्यालय र सुदुर पश्चिमाञ्चल विश्वविद्यालयले कम्प्युटर इन्जिनियरिङ र बीएससी–सीएसआईटी कार्यक्रम सञ्चालन गरेको छ । गण्डकी विश्वविद्यालयमा बिआइटी र राजर्षी जनक विश्वविद्यालयमा बिएससी सिएसआटी कार्यक्रम सञ्चालन भइरहेका छन् । सामान्यतया आइटीका धेरै विषयहरु कक्षा ११/१२ मा विभिन्न विषय लिएर पढेका विद्यार्थीले स्नातक तहमा आइटी अध्ययन गर्न सक्छन् । विश्वविद्यालयहरुले स्नातक तहमा आइटी अध्ययन गर्नको लागि कक्षा ११/१२ मा निश्चित अंक ल्याएको हुनुपर्ने मापदण्ड तोकेको छ ।

सेवा प्रवाहमा सबै तहका कर्मचारीको समान दायित्व हुन्छ : मन्त्री शर्मा

प्युठान । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सबै तहका कर्मचारीले राज्य सञ्चालनमा समान दायित्व महसुस गरेर सेवा प्रवाहका काम गर्नुपर्ने बताएकी छिन् । सरकारले सुशासनलाई प्राथमिकतामा राखेको र सुशासन सेवा प्रवाहबाट नै संभव हुने भएकाले सबै तहका कर्मचारीले समान दायित्वका साथ काम गर्नुपर्ने उनले बताए । प्युठानको सदरमुकाम खलंगामा आयोजित सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरुसँगको भेटघाटमा उनले सुशासनको सवाल एउटा निकायले मात्र गरेर नहुने बताइन् । ‘सुशासन प्रधानमनन्त्री र मुख्यसचिवले कायम गरेर मात्र हुने होइन । मन्त्री र मन्त्रालयका सचिवहरुले मात्र गरेर हुने विषय पनि होइन’, उनले भनिन् । सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले भनिन्– ‘ती निकायले निर्देशित गर्ने पक्कै हो तर जिल्ला र तलतलसम्म रहेका कार्यान्वायन इकाईले राम्रो काम गरे मात्रै सुशासन संभव हुने हो ।’ आम सेवाग्राही माथिल्लो तहका पदाधिकारी र कर्मचारीसँग सम्पर्क नहुने भएकाले पनि सबैभन्दा तल्लो तहमा रहेका कर्मचारीले जति राम्रो सेवा प्रवाह गर्छन्, जनताले त्यति नै राम्रो सेवा प्राप्त गर्ने र सुशासन कायम हुने पनि उनले स्पष्ट गरिन् । ‘तपाइँ राम्रोसँग सेवाग्राहीसँग बोलिदिनुभयो भने मात्रै पनि सेवा प्रवाह प्रभावकारी भएको मानिन्छ’– उनले कर्मचारीलाई सम्बोधन गर्दै भनिन्– ‘जनताको कामसँग प्रत्यक्ष जोडिने कार्यालयमा सुब्बा, खरिदार, अस्पतालका नर्स आदिले गर्ने काममार्फत सरकारको व्यवहार प्रस्तुत हुने गर्दछ । त्यसैले जनतासँग जोडिएर काम गर्ने कर्मचारीहरुको सेवा प्रवाह र बोलीव्यवहार राम्रो बनाउनुहोला ।’ पिँधमा बसेर काम गर्ने कर्मचारीबाट नै सरकारको सफलता असफलता निर्धारण हुने भएकाले सरकारले पनि तल्लो तहका बसेर काम गर्ने कर्मचारीहरुको उच्च मूल्यांकन गर्ने नीति लिएको उनले बताइन् । केही दिनअघि भएको नेपाल सरकारको बार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत प्रधानमन्त्रीको सम्बोधनलाई मार्गदर्शनको रुपमा लिएर सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानलाई सहयोग पुुग्ने गरी हरेक निकायले कार्ययोजना बनाउनुपर्ने पनि मन्त्री शर्माले स्पष्ट गरिन् । उनले राजनीतिक र प्रशासनिक नेतृत्वबिचमा राम्रो बुुझाइ र समझदारी आवश्यक रहेको पनि बताइन् । नेपालमा सरकारले धेरै गर्न खोजे पनि राजनीतिक र प्रशासनिक नेतृत्वबिच पूर्ण समझदारी नहुँदा अपेक्षित नतिजा प्राप्त नहुने उल्लेख गर्दै उनलाई यो असझदारी हटाउनैपर्ने बताइन् । ‘त्यसका लागि हामीले केन्द्रमा प्रधानमन्त्री, मन्त्रीदेखि मुख्य सचिव सचिवहरुसम्म दोहोरो संवाद गर्ने सोंच बनाएका छौं, सरकार सञ्चालनका सवालमा हामीबाट कमजोरी भएका छन् भने पनि प्रशासनिक नेतृत्वले भनिदिनुपर्छ र प्रशासनिक नेतृत्वबाट हुने कमजोरी पनि राजनीतिक नेतृत्वले सच्याएर लैजानुपर्छ भन्ने लागेको छ’, मन्त्री शर्माले भनिन् । यसैबीच मन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको बर्तमान सरकार सुशासन र भ्रष्टाचारविरुद्ध प्रतिबद्ध रहेको उल्लेख गर्दै घरभित्रकै मान्छे भए पनि नछाडिने बताइन् छ । नेपाल पत्रकार महासंघ प्युठान शाखाले गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकार सुरुदेखि नै बिकृती, बिसंगती अन्त्य र सुशासन कायम गर्दै भ्रष्टाचार अन्त्यका लागि निर्ममढङ्गले अगाडि बढेको बताइन् । प्रधानमन्त्री ‘प्रचण्ड’ले भ्रष्टाचारमा मै परेपनी मेरो घरकै मान्छे संलग्न भएपनि नछाड्ने बताएको जानकारी दिँदै मन्त्री शर्माले सुन तस्करी, ललिता निवास, भुटानी शरणनार्थीलगायत सबै प्रकरणलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताइन् । उनले भनिन्– ‘सरकारले भष्ट्राचारसँग जोडिएका सबै प्रकरणको मिहिनढंगले अनुसन्धान गरिरहेको छ, छिट्टै निष्कर्षमा पुग्छौं ।’ शुसासन कायम गर्न र सेवा प्रवाहलाई चुस्त बनाउने कुरामा सरकारले प्राथमिक्ताका साथ काम गरिरहेको मन्त्री शर्माले सुनाइन् । उनले गल्ती गर्ने जोसुकैलाई पनि कानुनी कारबाही हुन्छ भन्ने सन्देश दिन सरकार सफल भएको स्पष्ट गर्दै भनिन्– ‘सरकारले कानुन सबैका लागी बराबर हुन्छ भन्ने सन्देश दिएको छ।’ संविधान र कानुनको मातहतमा सबै रहेकोले गल्ती गर्ने जो सुकैलाई पनि नछोड्ने गरी सरकारले स्पष्ट रुपमा काम गरिरहेको उनले बताइन् ।