ट्वीटरमा पनि भिडियो कल सुविधा पाइने
काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरमा पनि भिडियो कल गर्ने सुविधा प्राप्त हुने भएको छ । ट्वीटरकी सिइओ लिन्डा याकारिनोले एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै सो विषय बताएकी हुन् । ट्वीटरका मालिक एलन मस्कले एक्सलाई ‘सम्पूर्ण एप’ बनाउन चाहन्छन् । उनले ट्वीटरमा भुक्तानी सेवा समेत थप गर्न लागेका छन् । यसअघि लिन्डा याकारिनोले प्लेटफर्ममा कलिङ सुविधाको बारेमा पनि जानकारी दिएकी थिइन् ।
चोरी भएको सवारीसाधन पत्ता लगाउने प्रविधि भित्रियो, कसरी पत्ता लगाउँछ ?
काठमाडौं । मोटरसाइकल चोरीसम्बन्धी प्रहरीलाई सूचना प्राप्त गर्ने जिपीएस प्रविधि (लोकोमो) सुरु भएको छ । घर, कार्यालय तथा सुरक्षित पार्किङबाटै पनि मुलुकमा दैनिक ५ वटासम्म दुईपाङ्ग्रे सवारीसाधन हराउने र चोरी हुने गरेको सन्दर्भमा यो प्रविधि प्रयोगमा आएसँगै प्रहरीलाई हराएको मोटरसाइकल फेला पार्न सफलता मिल्नेछ । चोरी तथा सडक सुरक्षा, राजमार्ग यात्रा, महिला सुरक्षालगायतका समस्या प्रविधिको प्रयोगले समाधान गर्न अब भने केही सहज हुने लोकोमो ब्रान्ड एम्बासडर तथा मिडियाकर्मी सुरजसिंह ठकुरीले बताए । अमेरिका र नेपालमा गरिएको २ वर्ष अवधिको प्राविधिक अन्वेषणपछि प्रविधिको प्रयोगका लागि सरकारले स्वीकृति दिएको थियो । मोटरसाइकल चोरी रोक्न र व्यक्तिगत तथा सामाजिक सुरक्षामा सहयोग पुर्याउने उद्देश्यसहित जिपीएस प्रविधि ‘लोकोमो’ले नेपाली बजारमा प्रवेश पाएको हो । लोकोमोले नेपालमा मोटरसाइकल तथा स्कुटर चोरी निर्मूल, महिला सुरक्षा र सार्वजनिक सडक सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । लोकोमो कार्य विभाग प्रमुख अनिता देवकोटाका अनुसार सार्वजनिक स्थानमा सवारी छाड्न परे लोकोमो मोबाइल एपबाट ‘स्मार्ट लक’ गरेमा मोटरसाइकल स्टार्ट हुँदैन र चोरी गर्न सक्दैन । उनी कथंकदाचित चोरी भएमा मोबाइल फोनबाटै आफ्नो मोटरसाइकल बन्द गर्ने र अनि मोबाइलमै लोकेसन पहिचान गरी सवारीसाधन पत्ता लगाउन सकिने बताउँछन् । रोकेर राखेको मोटरसाइकल कुनै अनधिकृत व्यक्तिले चलाउन, तार काट्न अथवा चोरीको प्रयास गरेमा सेन्सर सक्रिय भई सवारीधनीलाई सूचना पठाउने उपकरण जडित हुनेछ । कुनै कारणबाट सवारीसाधन चोरी भएको खण्डमा सवारीधनीले प्रहरीलाई मोबाइलबाटै मोटरसाइकलको लाइभ लोकेसन जानकारी गराउन सक्ने बताइएको छ । नेपाल प्रहरीको प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा जडित सफ्टवेयरबाट मोटरसाइकल तुरुन्तै ट्र्याक गरी कुन रूटमा, कति गतिमा गुडिरहेको भनी हेर्ने र प्रहरी परिचालन हुन सहज हुने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायत बताउँछन् । सवारीधनीले चोरी भएको सवारीकोे लोकेसन प्रहरीलाई नदिँदासम्म लोकेसन हेर्न भने नसक्ने लोकोमोका प्रविधि प्रमुख विक्रममान सिंह बस्नेतले बताए । ‘चोरी पैठारी रोक्नु, सामाजिक सुरक्षामा सहयोग पुर्याउनु प्रमुख उद्देश्य हो,’ उनले भने । महिला स्कुटर चालकको रात्रिकालीन सुरक्षा लक्षित यसको अर्को विशेषता ‘सेफ्टी नेट’ रहेको छ । रातिको समय यात्रा गर्नेले आफ्नो रुट र लाइभ लोकेसन निश्चित समयका लागि परिवारका सदस्यलाई पठाउन सकिने व्यवस्था एपमा गरिएको छ । यस प्रविधिले अभिभावकलाई आफ्ना सन्ततिले प्रयोग गन्तव्य, रुट र गतिबारे घरमै बसेर जानकारी लिन सहज हुनेछ । अन्तर्रास्ट्रिय गुणस्तर प्रमाण चिह्न प्राप्त लोकोमो नयाँ पुराना जुनसुकै मोटरसाइकल, स्कुटर, चारपाङ्ग्रे सवारीमा जडान गर्न सकिने प्रवद्र्धक कम्पनी सेन्टिनेल ल्याबले जनाएको छ ।रासस
एक वर्षमा एनसेलले थप्यो ३३८ वटा नयाँ मोबाइल टावर
काठमाडौं । एनसेल गत आर्थिक वर्षमा ३३८ वटा नयाँ बेस ट्रान्ससिभर स्टेशन (बीटीएस) टावरहरु जडान गरेको बताएको छ । मोबाइल सेवाको गुणस्तर सुधारको लागि यी नयाँ मोबाइल टावर जडान गरिएको एनसेलले बताएको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले नेपालभर राम्रो दूरसञ्चार नेटवर्क निर्माण गर्ने प्रयासका लागि यी टावर जडान भएको बताए । ‘डिजिटल नेपालको परिकल्पनामा योगदान गर्न आधारभूत मोबाइल र उच्च गतिको मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा पहुँच सुनिश्चित गर्दै देशका विभिन्न भागका दुर्गम र क्षेत्रहरूलाई हाम्रो सेवाले जोडेका छौं’, कायुमोभले भने । एनसेलले फोरजी क्षमता अभिवृद्धि गर्दै गत आवमा ६० जिल्लाका झण्डै एक हजार ४५० मोबाइल टावरहरुको स्तरोन्नती गरेको पनि बताएको छ । फोरजी अन्तर्गत उच्चगतिको मोबाइल ब्रोडब्याण्ड र भ्वाइस ओभर लङ्ग टर्म इभोलुसन (भोल्टे) सेवा दिनका लागि देशभरी एनसेलका चार हजारभन्दा बढि फोरजी टावरहरु संचालनमा रहेको कम्पनीले बताएको छ ।