एनसेलले २ महिनामा पठायो बाढीको पूर्वसूचना सम्बन्धी ४४ लाख एसएमएस

काठमाडौं । एनसेलले हरेक वर्ष बाढीे पहिरोको उच्च जोखिम रहेका स्थानहरुमा बसोबास गर्ने जनसमुदायलाई बाढीको जोखिम बारे एसएमएस मार्फत पूर्वसूचना प्रवाह गर्दै आएको छ । यस वर्ष एनसेलले वर्षायामको सुरुवातपछि गत २ महिनामा ४४ लाखवटा भन्दा बढी बाढीसँग सम्भावित जोखिम बारे एसएमएस मार्फत पूर्वसूचना प्रवाह गरेको बताएको छ । यो वर्ष एसएमएस मार्फत पुर्वसूचना प्रवाह गरिएका क्षेत्रहरुमा नारायणी, कंकाई, बाग्मती, बबई, राप्ती, कोशी, कर्णाली लगायत मुख्य नदीका तटीय क्षेत्र र वरपरका समुदायहरु रहेको एनसेलले बताएको छ । एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएआर) अन्तर्गत जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा २०७३ देखि नै पूर्वसूचना प्रवाह गर्दै आएको छ । एनसेल र विभागको यस पूर्वसूचना प्रणाली सहकार्य अन्तर्गत, एनसेलले विषेशगरी वर्षायाममा जोखिम सम्बन्धी पुर्वसूचना एसएमएस मार्फत प्रवाह गर्दै आएको छ । पूर्वसूचना प्रणालीले जोखिम क्षेत्रभित्र रहेका मानिसहरुलाई आ–आफ्ना सामानहरु लिएर सुरक्षित स्थानमा जानलाई अग्रिम जानकारी दिन्छ । त्यसैगरी, विपद् पूर्वयारी तथा प्रतिकार्यमा संलग्न संघसंस्थाहरुलाई समयमा नै आवश्यक कार्य गर्न सहयोग पुर्याउँछ । पानीको सतह सामान्य अवस्थामा फर्किए पछि पनि तत्काल कुनै खतरा नरहेको जानकारी त्यस क्षेत्रका मानिसले एसएमएस मार्फत पाउँछन् । ‘नेपाली जनता र समुदायको सेवा गर्न एनसेल सधैं प्रतिबद्ध छ । हाम्रो प्राविधिक विशेषज्ञता र नेटवर्क पहुँचको सदुपयोग गर्दै समयमा नै बाढीको पूर्वसूचना प्रवाहमार्फत बाढी र त्यसबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणको लागि सहयोग गर्न पाएकोमा हामी खुसी छांै’, एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने । एनसेल र विभागबीचको यो सहकार्य, सार्वजनिक–निजी साझेदारीमा कसरी जनसमुदायका लागि प्रभावकारी कार्यहरु गर्न सकिन्छ भन्ने एक ज्वलन्त उदाहरण बनेको उनको भनाई छ । जल तथा मौसम विज्ञान विभागले आफ्ना टेलिमेन्ट्रि स्टेसनहरुमार्फत नदीमा पानीको सहतको अनुगमन गर्दै त्यसको जोखिमका आधारमा भिन्ना भिन्नै एसएमएस कन्टेन्ट एनसेललाई उपलब्ध गराउँदछ र त्यसै अनुरुप एनसेलले तोकिएको जोखिम क्षेत्रमा रहेका एनसेल ग्राहकहरुलाई तत्काल त्यो सूचनालाई सर्टकोड ११५५ बाट एसएमएस पठाउँछ । ११५५ जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर हो । यसमा कल गरेर पनि नदीमा पानीको सहतको स्थिती र बाढीको जोखिमका बारेमा निःशुल्क जानकारी लिन सकिन्छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार, सम्भवत सबै घरधुरी जीएसएम मोबाइल सेवाको पहुँचभित्र रहेकाले एसएमएसमार्फत बाढीको जोखिम सम्बन्धी प्रवाह गरिने जानकारी पूर्वसूचना प्रणालीको प्रभावकारी माध्यममध्ये एक बनेको छ । एनसेल र विभागको निरन्तर सहकार्य अन्तर्गत गत वर्ष एनसेलले ७८ लाख भन्दा बढि यस किसिमका पुर्वसूचना बाढीको जोखिम रहेको ठाउँमा बसोबास गर्ने मानिसहरुलाई प्रवाह गरेको बताएको थियो । २०७३ मा सुरु भएको यस सहकार्यलाई २०७५ मा एनसेलले विपत् पुर्वतयारीलाई थप प्रभावकारी बनाउँदै नयाँ समझदारी गरेको थियो ।

नेपालमा पनि च्याटजिपिटीको एन्ड्रोइड मोबाइल एप शुरु, तर, उपयोगी छैन

काठमाडौं । सोमबारदेखि नेपालमा पनि चर्चित च्याटबट एप च्याटजिपिटीको मोबाइल एप्लिकेसन शुरु भएको छ । नेपाली एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले अब गुगल प्ले स्टोरबाट च्याटजिपिटी डाउनलोड गरेर यसको सेवा लिन सक्ने भएका छन् । नेपालमा सोमबारदेखि डाउनलोड गरेर प्र्रयोग गर्न सकिने गरि आएको च्याटजिपिटीको मोबाइल एप्लिकेसन भने खासै उपयोगी नभएको देखिएको छ । च्याटजिपिटीको मोबाइल एप्लिकेसनमा पटक-पटक लगइन गरिरहनपर्ने झन्झट नभएपनि चाहेको जानकारी भने पाउन नसकिने देखिन्छ । मोबाइलमा च्याटजिपिटीको निःशुल्क प्रयोग गर्ने प्रयोगकर्ताहरुले सोधेको विषयको जानकारी निकै छोटो मात्रै प्राप्त गर्न सक्छन् । साथै वेबसाइटमा जस्तो थप जानकारी पाउने सुविधा पनि सो एप्लिकेसनमा रहेको छैन ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले नयाँ तस्विर कसरी बनाउँछ ?

काठमाडौं । तस्विर बनाउने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एक जटिल प्रणालीबाट तस्विर निर्माण गर्ने काम गर्छ । लाखौं तस्विर र सो सँग प्राप्त जानकारीको आधारमा एआईले तस्विर निर्माण गर्ने काम गर्छ । तपाईंले एआईले त्यो तस्विर पनि बनाउन भन्न सक्नुहुन्छ, जुन कुनै पनि घट्ना, वातावरण वा पात्रसँग सम्बन्धित छैन । उदाहरणको रुपमा तपाईंले मंगल ग्रहमा टहलिँदै गरेको मान्छेको तस्विर बनाउन पनि भन्न सक्नुहुन्छ । तपाईंले एआईलाई कुनै रचनात्मक तस्विर बनाउन पनि लगाउन सक्नुहुन्छ । उदाहरणको रुपमा तपाईंले प्रशिद्ध चित्रकार पिकासोको शैलीमा कुनै प्रशिद्ध खेलाडीको तस्विर बनाउन अनुरोध गर्न सक्नुहुन्छ । एआईसँग अनियमित ढंगले रंगहरुको प्रयोग गरेर तस्विर निर्माृण गर्नसक्ने प्रविधि जोडिएकोछ । यसको अलावा विभिन्न वस्तुहरुको तस्विर निर्माण गर्न थोप्लाहरु र तरिकाको प्रयोग गर्न सक्छ । थोप्लाहरुको सहायताले एआईले पहिला एक सतहको निर्र्माण गर्छ र त्यसमाथि निर्देशित ढाँचासँग मिल्ने तस्विर निर्माण गर्छ । यसो गर्दा पहिलो सतह हराउन पुग्छ । एआईले मंगल ग्रह, अन्तरिक्षमा टहलिँदै गरेको व्यक्ति लगायतका तस्विरहरुलाई पनि फरक प्याटर्नमा राखेर नयाँ तस्विर पनि निर्माण गर्न सक्छ । जुन कुनै पनि घटनामा नभएको अलग प्रकारको तस्विर हुन्छ । एआईले अरबौं तस्विरसँग जोडिएका अरबौं प्याटर्नका आधारहरुलाई प्रयोग गरेर सो काम गर्छ । कलाकारहरुले हजारौं वर्षदेखि गरेको तस्विर निर्माण गर्ने काम एआईले एउटा काल्पनिक अवधारणाका आधारमा निर्माण गर्न सक्छ । पछिल्लो समयमा एआईले निर्माण गरेका तस्विरहरुको अर्थ र यसको अधिकारका सम्बन्धमा चर्चा शुरु भएको छ ।