गुगल प्ले स्टोरमा रहेको एप नक्कली हो की सक्कली भनेर कसरी छुट्याउने ?
काठमाडौं । यदि तपाईं एन्ड्रोइड मोबाइल प्रयोग गर्नुहुन्छ भने अवश्य पनि तपाईंले गुगल प्ले स्टोरबाट एप्लिकेसनहरु डाउनलोड गर्नुहुन्छ । तर, धेरैलाई थाहा नहुन सक्छ की आफ्नो स्मार्टफोनमा डाउनलोड गरिएका एप्लिकेसन सक्कली हो की नक्कली ? तपाईं कसरी थाहा पाउनुहुन्छ की तपाईंले डाउनलोड गरेको एप्लिकेसन नक्कली हो की सक्कली ? यदि तपाईंमा सो विषयमा कुनै भ्रम छ भने एप्लिकेसन डाउनलोड गर्नु अगाडि तपाईंले यी विषयहरुमा ख्याल गर्नुहोस ताकी तपाईं समस्यामा पर्नबाट जोगिन सक्नुहुनेछ । १. गुगल प्ले स्टोरमा एपको डेभलपर चेक गर्नुहोस । आधिकारिक एपहरु सामान्यतया प्रतिष्ठित र व्यवसायिक डेभलपरहरुले निर्माण गरेका हुन्छन् । विश्वासिला एप निर्माणकर्ताहरुको बारेमा वेबसाइटबाट धेरै सूचना प्राप्त गर्न सकिन्छ र उनीहरुको ट्रयाक रेकर्ड पनि राम्रो हुन्छ । २.गुगल प्ले स्टोरमा एप्लिकेसको विषयमा लेखिएका समीक्षा र मूल्याङ्कन पढ्नुहोस्। वैद्यानिक एपहरूमा सामान्यतया सकारात्मक समीक्षाहरु र मूल्यांकन देख्न सकिन्छ । यदी एपमा कम समीक्षा छन् र सकारात्मक समीक्षा मात्रै छन् भने सावधान रहनुपर्छ । किनकी ती समीक्षा प्रायोजित हुनसक्छन् । ३. तपाईंले डाउनलोडको संख्याबाट पनि एपको लोकप्रियता र विश्वसनीयताको अनुमान गर्न सक्नुहुन्छ। यदि कुनै एप धेरै संख्यामा डाउनलोड गरिएको छ भने त्यो वास्तविक हुने सम्भावना बढी हुन्छ। ४. गुगल प्ले स्टोरमा प्रदान गरिएको एपको विवरण र स्क्रिनसटहरू विश्लेषण गर्नुहोस्। कुनै पनि व्याकरणीय त्रुटि वा विसंगतिहरूमा ध्यान दिनुहोस्, किनकि यी नक्कली एपको संकेत हुन सक्छ। ५. जब तपाईंले एप इन्स्टल गर्नुहुन्छ त्यसपछि यसले तपाईंको मोबाइलमा केही पहुँच (एक्सेस) माग गर्नेछ । यदि एपले अनावश्यक वा अत्यधिक अनुमतिहरू अनुरोध गर्न थाल्यो भने तपाईं सतर्क रहनुहोस । उदाहरणका लागि टर्चलाइट एपलाई तपाईंको सम्पर्क नम्बर वा म्यासेजमा एक्सेस आवश्यक पर्दैन । ६. तपाईंले डाउनलोड गर्न चाहेको एपको आधिकारिक वेबसाइट छ कि छैन जाँच गर्नुहोस्। वैद्यानिक एपहरूको प्राय डेभलपरको बारेमा विस्तृत जानकारी दिने आधिकारिक वेबसाइटहरु रहेका हुन्छन् । ७. गुगल प्ले स्टोरबाट मात्रै एपहरू डाउनलोड गर्नुहोस्। अज्ञात स्रोतहरूबाट एपिके फाइलहरू डाउनलोड नगर्नुहोस् । किनभने तिनीहरूमा मालवेयर वा नक्कली एपहरू हुन सक्छन्। ८. नक्कली एप वा मालवेयरबाट बच्नको लागि मोबाइल वा स्मार्टफोनमा एन्टिभाइरस राखेर पनि केही हदसम्म सुरक्षित हुन सकिन्छ ।
मान्छेको मस्तिस्क पढ्ने न्युरोटेक्नोलोजी, मस्तिस्कको तथ्यांक बिक्री गर्दै कम्पनीहरु
काठमाडौं । यदि तपाईको दिमागमा के भइरहेको छ त्यो कम्प्युटर स्क्रिनमा लेखियो भने तपाईंले कस्तो अनुभव गर्नुहोला त्यो बेला ? यस्तो विषय न्यूरोटेक्नोलोजी उपकरणहरू अर्थात् दिमाग पढ्ने मेसिनहरू मार्फत सम्भव छ। यसबाट कसैले के सोचिरहेको छ भनेर थाहा पाउन सकिन्छ। यो सुन्दा जति राम्रो लाग्छ, त्यति नै खतरनाक पनि रहेको छ । पछिल्लो समयमा यस्ता उपकरणहरूको संख्या विश्वव्यापी रूपमा बढ्दै गएको छ। कानून बनाएर नियमन गरिएन भने मानवता र विशेषगरी मानिसको गोपनियताका लागि यो प्रविधि सबैभन्दा ठूलो खतरा हुने विज्ञहरुले बताएका छन् । कोलम्बिया विश्वविद्यालयका स्नायु वैज्ञानिक राफेल युस्टेले न्युरोफाइट्स फाउन्डेसन स्थापना गरेका छन्। १८ कम्पनीले आफ्ना उपभोक्तालाई उनीहरुको ब्रेन डाटा लिनको लागि कम्पनीलाई पूर्ण अधिकार दिन दबाब दिइरहेको वैज्ञानिक युस्टेले बताएका छन् । ती मध्ये एक कम्पनीले सो डाटा कुनै तेस्रो व्यक्तिलाई दिने अधिकार पनि लिएको छ । न्यूरोटेक्नोलोजीमा सरकारको ध्यान केन्द्रित नभएको र तिव्र गतिमा बढिरहेका यस्ता उद्योगले मनमानी रवैया अपनाएकोले यो सबै भइरहेको ती वैज्ञानिकको दाबी छ । यिनलाई अहिले नै नियन्त्रण गर्न सकिएन भने आगामी दिनमा मानव दिमागलाई नियन्त्रण गर्न थाल्ने उनले बताएका छन् । मानिसको सोच र व्यवहार नियन्त्रण गर्न सक्छ मानिसहरूलाई उनीहरूको सोच र व्यवहार परिवर्तन गर्नबाट रोक्ने न्यूरोटेक्नोलोजिकल उपकरणहरूले मानिसहरूको सोच र व्यवहार दुवै परिवर्तन पनि गराउन सक्छ। त्यसैले मस्तिष्क निगरानी उपकरणहरू नियन्त्रण गर्न आवश्यक भएको वैज्ञानिकहरुको भनाइ छ । नर्थ क्यारोलिनाको ड्यूक विश्वविद्यालयकी नैतिकताविद् नीता फरहानीले नीति निर्माताहरू विशेष गरी राजनीतिमा संलग्नहरूले मानिसहरूलाई आफ्नो पक्षमा पार्न न्यूरोटेक्नोलोजिकल उपकरणहरू प्रयोग गर्नसक्ने बताएकी छन् । ठूला न्यूरोटेक्नोलोजिकल कम्पनीहरूदेखि स्टार्टअपहरूसम्मले मानव मस्तिस्क गतिविधिको रेकर्ड गर्न सक्ने हेडसेट, इयरबड लगायत प्रविधि बनाइरहेका छन् । यी कम्पनीहरूले प्रविधिको माध्यमबाट मानव मस्तिष्कको डाटाबेस बनाएर अन्य कम्पनीहरूलाई यो डाटा बेचिरहेका छन्। यस्तो कामले मानिसको व्यक्तिगत गोपनियता जोखिममा पर्दै गएको छ । अन्य कम्पनीहरूले यी डाटाको आधारमा नयाँ उत्पादन सिर्जना गरिरहेका छन्। युनेस्कोको न्यूरोटेक्नोलोजी प्रतिवेदनका अनुसार सन् २०१५ देखि २०२० सम्मको ५ वर्षमा विश्वभर न्यूरोटेक्नोलोजीसँग सम्बन्धित पेटेन्ट लिनेको संख्या दोब्बर भएको छ । सन् २०१० देखि २०२० सम्ममा न्यूरोटेक्नोलोजीको क्षेत्रमा २२ गुणाले बढेको छ । हाल विश्वभर न्यूरोटेक्नोलोजीको व्यापार ४२० लाख करोड रुपैयाँभन्दा बढीको भएको छ । कम्पनीहरूले जुन गतिमा सो क्षेत्रमा अनुसन्धान र लगानी गरिरहेका छन् त्यसबाट यो क्षेत्रको विकास निकै तिव्र हुने अनुमान गरिएको छ । यही जुलाई महिनामा युनेस्कोले पेरिसमा न्यूरोटेक्नोलोजीका फाइदा र खतराहरूका बारेमा छलफल गर्ने उद्देश्यले सेमिनारको आयोजना गरेको थियो । सो सेमिनारमा धेरै देशका स्नायु वैज्ञानिक, नीति निर्माता र मन्त्रीहरुको सहभागिता रहेको थियो । सेमिनारमा बोल्दै युनेस्कोका सामाजिक तथा मानवशास्त्रीय विज्ञानका सहायक महानिर्देशक ग्याब्रिएला रामोसले यो प्रविधिको विषय भन्दापनि सामाजिक कानूनी विषय भएकाले छिट्टै कानून बनाउन आवश्यक भएको बताएका थिए । एजेन्सीको सहयोगमा ।
अवैधरूपमा अन्तर्राष्ट्रिय कल वाइपास गर्ने गिरोहका ३ जना पक्राउ
काठमाडौं । अवैधरूपमा अन्तर्राष्ट्रिय कल वाइपास गरेको आरोपमा भीमदत्त नगरपालिका–१८ क्याम्पस रोडबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको छ । ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ पर्नेमा भारतको नयाँ दिल्ली घर भएका ४१ वर्षीय गुल्जार अहमद, दोधारा चाँदनी नगरपालिका–७ का ४० वर्षीय प्रवीण खड्का र भीमदत्त नगरपालिका–१० जिमुवाका ४७ वर्षीय दीपक बोहरा रहेको जनाएको छ । गैरकानुनीरूपमा अवैध गतिविधि भइरहेको गोप्य सूचनाका आधारमा ब्यूरोको टोली, नेपाल टेलिकम र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले छापा मारेर तीन जनालाई पक्राउ गरेको जनाएको छ । ४ महिनादेखि भारतीय र नेपाली नागरिक मिलेर भाडाको घरमा नेपाल टेलिकमको एसआइपी पिविएक्स कनेक्सन गरी कल वाइपास गर्दै आएका थिए । कल वाइपास गर्ने उपकरणसहित पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको छ । पक्राउ परेकाबाट कल वाइपास गर्ने कार्यमा प्रयुक्त ल्यापटप दुई थान, कम्प्युटर मोनिटर, लाइन केबुल दुई थान, मोबाइल सेट तीन थान, युपिएस र ब्याट्री नेपाल टेलिकमको ल्यान्डलाइन नम्बर ०९९५९७००० को ६० लाइन क्षमता भएको एसआइपी पिविएक्स कनेक्सन लाइन एक, गेटवे सर्भर सिपियु एक थान, एनटिसी एफटिटीएच वाइफाइ राउटर एक थान, वर्डलिङ्क वाइफाइ राउटर एक थानलगायत बरामद गरेको छ । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान कार्य अगाडि बढाएको छ । ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक थापाले जारी गर्नुभएको प्रेस विज्ञप्तिअनुसार तीनै जनालाई साउन १० गते पक्राउ गरिएको हो ।