सरकारसँग गुनासो छ ? अब भर्चुअल संवादबाटै गर्नुहोस्

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग जुनसुकै ठाउँमा बसेर पनि भर्चुअल संवाद गर्न सकिने भएको छ । मन्त्रालयबाट हुने कार्य सम्पादनलाई प्रभावकारी बनाउन नागरिकका सुुझाव र गुनासो सहज प्राप्त होस् भनेर यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । जसका लागि मन्त्रालयको वेबसाइटमा ‘मन्त्रीसँग भर्चुअल संवाद’ प्लेटफर्म थप गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइट https://www.mocit.gov.np/ मा गएर ‘मन्त्रीसँग भर्चुअल संवाद’ क्लिक गरी संवाद प्रक्रिया अघि बढाउन सकिनेछ । सोझै https://mocit.gov.np/write-to-minister मा गएर पनि मन्त्रीलाई मन्त्रालय वा सरकारसँग सम्बन्धित गुनासो वा सुझाव राख्न सकिने छ । यसले देशका जुनसुकै कुनाबाट पनि गुनासो र सुुझाव प्राप्त गर्न सकिने मन्त्रालयको विश्वास छ । ‘मन्त्रालयमा दैनिक भेट गर्न आउनेहरुको चाप धेरै छ, जसमा अधिकांशले अत्यावश्यकीय तर सानासाना गुुनासो लिएर आएका हुन्छन्’ मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले भने, ‘त्यस्तो गुनासो सेवाग्राहीले अनलाइनबाट पठाउन सकून् र मन्त्रालय नपुगेर पनि देशका जुनसुकै कुनाबाट गुनासो र सुझाव दिन सकून् भनेर यो प्लेटफर्मको व्यवस्था गरिएको हो ।’ मन्त्रीको सञ्चार सचिवालयबाट सम्बन्धित पक्षसँग समन्वय गरी जिज्ञासाको सम्बोधन साप्ताहिकरूपमा गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । ‘सकेसम्म त्यस्ता सुझाव वा गुनासो मन्त्रालयसँगै केन्द्रित रहेर आएमा सम्वोधन गर्न सजिलो हुनेछ’, प्रवक्ता सुवेदी भने, ‘मन्त्री सरकारको प्रवक्ता पनि भएकाले सिंगो सरकारसँग जोडिएका नीतिगत सुझाव पनि दिन सकिने छ ।’

नेप्स पीसीआई एसएससीको सल्लाहकार समितिमा चयन

काठमाडौं । नेप्स पेमेन्ट कार्ड इन्डस्ट्री सेक्युरिटी स्ट्यान्डर्ड्स काउन्सिल (पीसीआइ एसएससी) को सल्लाहकार समितिमा चयन भएको छ । पीसीआइ एसएससी कार्ड मार्फत हुने कारोबारमा डेटा सुरक्षा सम्बन्धी मापदण्डहरुको विकासलाई व्यवस्थित गर्न स्थापना भएको अन्तराष्ट्रिय मान्यता प्राप्त संस्था हो । भिसा, मास्टरकार्ड जस्ता अन्तर्राष्ट्रिय कार्ड नेटवर्कले पीसीआइ डीएसएस सर्टिफिकेसन अनिवार्य गरेका छन् । सल्लाहकार समितिमा भएका सदस्य संस्थाहरुले कार्ड मार्फत हुने कारोबारमा डेटा सुरक्षासम्बन्धी मापदण्डहरुको विकासमा उल्लेख्य भूमिका निर्वाह गर्नुका साथै, आ-आफ्नो बजार, भूगोल र प्राविधिक अनुभवहरु मापदण्डको विकास क्रममा प्रस्तुत गरि मापदण्डहरुलाई समयसापेक्ष बनाउन नेतृत्व गर्ने नेप्सले जनाएको छ । सल्लाहकार समितिको सन् २०२३-२०२५ को कार्यकालको २० सिटको लागि ६४ मनोनयन दर्ता भएको थियो । सन् २०२३ मार्च १३ देखि २४ सम्म चुनाव भएको थियो । २०२३ जुन १ मा प्रकाशित नतिजाबाट नेप्स वित्तीय संस्था श्रेणीबाट मनोनित भएको जनाएको छ । मनोनित भएसँगै नेप्सले अमेजन, एप्पल, बैंक अफ अमेरिका, बार्क्लेज बैंक, युरोपियन पेमेन्ट काउन्सिल, एचडीएफसी बैंक, आइबीएम, जेपी मोर्गन, एनपीसीआइ, यस बैंक, पेपल, माइफ्रोसफ्ट जस्ता अन्तर्राष्ट्रियरुपमा ख्याती प्राप्त संस्थाहरुसँग मापदण्ड निर्धारण तथा कार्ड मार्फत हुने कारोवारमा डाटा सुरक्षा सम्बन्धि अन्य विषयहरुमा छलफल गर्ने नेप्सले जनाएको छ । ‘यो हाम्रो लागि गौरवको विषय हो । यसले नेप्स नयाँ उचाई तर्फ बढिरहेको पनि संकेत गर्दछ । साथै, पीसीआइ एसएससीको लक्ष्य प्राप्तिको लागि ज्ञान, सीप, र अनुभवको योगदान गर्न नेप्स तयार र आतुर पनि रहेको छ । साथै, हामीले यो अवसरलाई कार्ड मार्फत हुने कारोबारको सुरक्षालाई अझै चुस्त र समय सापेक्ष बनाउन सहयोग पुग्छ । भुक्तानी क्षेत्रमा नवीनता र सुरक्षित डिजिटल परिदृश्यको कल्पना साकार पार्ने चुनौतीको रुपमा पनि लिएका छौं,’ नेप्सका सीइओ सन्जिब सुब्बाले भने । यसअघि नै नेप्स नेपालबाट पीसीआइ एसएससीको एसोसिएट पार्टिसिपेसन अर्गनाइजेसन सदस्यता प्राप्त गर्ने पहिलो संस्था बनेको थियो । यसका साथै, कार्ड मार्फत हुने कारोबारको सुरक्षा नै नेप्सको पहिलो प्राथमिकता रहेको जनाएको छ ।

सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

एजेन्सी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गरेका छन् । भारतको मध्यप्रदेशको इन्दौरमा अवस्थित विशेष आर्थिक क्षेत्रमा टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ ले टाटा कम्पनीजस्तै सूचना प्रविधिका क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन। उनले भने, ‘टाटा कम्पनीजस्तै नेपालमा सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना रहेकाले यस क्षेत्रमा काम गर्न सकिन्छ । लगानी गर्नुस् त्यसका लागि हामी (नेपाल सरकार) सहजीकरण गर्छौँ ।’ प्रधानमन्त्री प्रचण्डले अवलोकनका क्रममा सो क्षेत्रमा सुनाखरीको बिरुवासमेत रोप्नुभएको थियो । सोही क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको सूचना प्रविधिका क्षेत्रमा पर्याप्त जनशक्ति रहेकाले लगानीका लागि आग्रह गरे । ‘नेपालको ‘आइटी सेक्टर’मा पर्याप्त जनशक्ति छन् लगानी गर्न आउनुस् हामी स्वागतका लागि आतुर छौँ’, उनले भने । भारतको प्रसिद्ध टाटा कम्पनीले संसारका ४८ भन्दाबढी मुलुकमा काम गर्दै आएको छ । उक्त कम्पनीमा छ लाख बढी कर्मचारी आबद्ध छन् । इन्डौरको विशेष आर्थिक क्षेत्रमा रहेको टाटा कम्पनीको अवलोकनका लागि प्रधानमन्त्री, मन्त्रीहरुसहित नेपाली प्रतिनिधिमण्डल त्यस क्षेत्रमा गएको हो । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बुधबार भारत गएका थिए । भ्रमणका क्रममा प्रधानमन्त्री दाहाल शुक्रबार मध्यप्रदेशस्थित इन्दोर आइपुग्नुभएको हो । आज साँझ प्रधानमन्त्री काठमाडौं फर्कने कार्यसूची छ । रासस ।