मोबाइल खरिदमै बाहिरियो १ खर्ब ३७ अर्ब रुपैयाँ, नेपालीले प्रयोग गर्छन् ५२ प्रकारका फोन

काठमाडौं । मोबाइल फोन आयातमै मासिक रुपमा अर्ब बढी नेपाली रुपैयाँ बाहिरिने गरेको पाइएको छ । सरकारले विलासिताका वस्तुको सूचिमा राखेको मोबाइल फोन आयातबाट वार्षिक रुपमा २७ अर्बभन्दा बढी नेपाली रुपैयाँ बाहिरिने गरेको छ । विगत ५ वर्षको अवधिमा मोबाइल फोन आयातमा मात्रै एक खर्ब ३७ बढीभन्दा बढी नेपाली रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७४/०७५ सालदेखि २०७८/०७९ सम्ममा दुई करोड ७४ लाख ८२ हजार ११७ वटा मोबाइल फोन नेपाल भित्रिएको छ । उक्त मोबाइल फोन नेपाल ल्याउँदा पाँच वर्षमा एक खर्ब ३७ अर्ब ३० करोड ४४ लाख १३ हजार नेपाली रुपैयाँ बाहिरिएको छ । तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ६२ लाख २३ हजार ६६५ वटा मोबाइल फोन आयात हुँदा २४ अर्ब ८७ करोड ८३ लाख ७८ हजार रुपैयाँ बाहिरिएको छ । यस्तै, आर्थिक वर्ष २०७५/०७६ मा ४२ लाख ७५ हजार ५१८ वटा मोबाइल फोन आयात हुँदा १९ अर्ब २७ करोड ६९ लाख ९६ हजार, आर्थिक वर्ष २०७६/०७७ मा ४३ लाख ६५ हजार ९९० वटा फोन आयात हुँदा १८ अर्ब १७ करोड ७४ लाख ६८ हजार, आर्थिक वर्ष २०७७/०७८ मा ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँ र आर्थिक वर्ष २०७८/०७९ मा ५५ लाख ८६ हजार ५७८ वटा मोबाइल फोन आयात हुँदा ३८ अर्ब ६ करोड ६९ लाख ८७ हजार नेपाली रुपैयाँ बाहिरिएको हो । ५ वर्षको तथ्यांक अनुसार वार्षिक रुपमा २७ अर्ब ४६ करोड नेपाली रुपैयाँ बाहिरिने गरेको पाइएको छ । तथ्यांक अनुसार ५ वर्षको अवधिमा १ खर्ब ३७ अर्ब बढीको मोबाइल फोन आयात हुँदा सरकारले २१ अर्ब ६४ करोड ८७ लाख रुपैयाँ राजश्व संकलन भएको छ । तथ्यांक अनुसार सरकारले वार्षिक रुपमा मोबाइल फोन आयतबाट ४ अर्ब ३३ करोड रुपैयाँ राजश्व संकलन गर्ने गरेको छ । ५२ ब्राण्डका मोबाइल प्रयोग नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार नेपालमा विभिन्न ५२ ब्राण्डका मोबाइल फोन प्रयोग गर्ने गरेको पाइएको छ । प्राधिकरणले तथ्यांक अनुसार एनसेलमा ५१ र नेपाल टेलिकमको नेटवर्कमा ५२ वटा मोबाइल फोन प्रयोग गर्ने गरेको उल्लेख छ । प्रतिवेदन अनुसार अध्ययनको क्रममा एनसेलको नेटवर्कमा कुल एक करोड ७० लाख ३९ हजार ३५ र नेपाल टेलिकमको सिस्टममा एक करोड ५७ लाख ८४ हजार ७२३ ओटा मोबाइल सेट पहिचान भएको थिए । एनसेल र नेपाल टेलिकमको नेटवर्कमा सबैभन्दा बढी सामसुङका सेटका मोबाइल प्रयोग भएको पाइएको उल्लेख छ । सामसुङपछि साओमी, ओप्पो, भिभो, आईटेल, लाभा, नोाकियाका प्रयोगकर्ता सबैभन्दा बढी रहेको तथ्यांकमा उल्लेख छ । ७० प्रतिशत स्मार्ट फोन प्राधिकरणले गरेको अध्यननमा दूरसञ्चार सेवाप्रदायक कम्पनीहरुको सिष्टममा ७० प्रतिशत स्मार्ट फोनको प्रयोगकर्ता गरेको उल्लेख छ । जसमा एनसेलको नेटवर्कमा ६९.७३ प्रतिशत स्मार्ट फोनका प्रयोगकता रहेको पाइएको हो । नेपाल टेलिकमको नेटवर्कमा ६६ प्रतिशत स्मार्ट फोन र स्मार्ट टेलिकमको नेटवर्कमा दुई लाख ९५ हजार १८० स्मार्टफोन को प्रयोग भएको उल्लेख छ । यस्तैगरी, बारफोनका २८.१५ प्रयोगकर्ता रहेका छन् । प्राधिकरणले सेवाप्रदायकको नेटवर्कमा पहिचान भएको तथ्याङ्कका आधारमा सो  प्रतिवेदन तयार पारिएको जनाएको छ ।

पर्यटनमन्त्री किरातीको निर्देशन पछि निगमले सुरु गर्यो अनलाईन टिकेटिङ

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमको टिकट अब अनलाईनबाटै काट्न सकिने भएको छ । भुक्तानी सेवाप्रदायक कम्पनीको रुपमा रहेको ईसेवाबाट नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडानको टिकट खरिद गर्न सकिने भएको हो । ईसेवा वालेटमा उक्त सुविधा केही दिन अघि मात्रै थपिएको हो । यसअघि निगमको केन्द्रीय कार्यालय, वेबसाइट र एन्ड्रोइड मोबाइल एपमार्फतबाट मात्रै टिकट खरिद गर्ने गरिएकोमा अब मोबाइलबाटै टिकट खरिद गर्न सकिने भएको हो । सुरुवाती चरणमा इसेवाबाट उक्त सुविधा दिएको निगमले विस्तारै अन्य पेमेन्ट गेटवेहरु मार्फत समेत टिकट काट्न सकिने सुविधा दिने जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले एक महिनाभित्र सहज रुपमा अनलाईन मार्फत टिकट काट्न सकिने व्यवस्था लागु गर्न निगम सञ्चालक समितिलाई निर्देशन दिएका थिए । पर्यटनमन्त्रीमा नियुक्त भएपछि निगमको अनुगमनका गएका मन्त्री किरातीले निर्देशन दिएको एक सातामै निगमले अनलाईन मार्फत टिकट् काट्न सकिने व्यवस्था लागु गरेको हो । यसअघि निगमले अनलाईन बाटै टिकट काट्न सकिने व्यवस्था लागु भैसकेको जनाएको थियो । निगमको बेवसाइटमा अनलाईन मार्फत टिकट काट्न सकिने सुविधा रहेको उल्लेख भएता पनि डिजिटल वालेटबाट टिकट काट्ने सुविधा उपलब्ध गराईएको थिएन ।

डिजिटल कारोबारको सीमा बढ्यो, सेवा शुल्क घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारको सीमा बढाएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७९ जारी गर्दै डिजिटल कारोबारको सीमा बढाएको हो । यससँगै मोबाइल बैंकिङ्ग कारोबारको सीमा २ लाखबाट बढाएर ३ लाख रुपैयाँ पुर्याइएको छ । यस्तै, राष्ट्र बैंकले इन्टरनेट बैंकिङ्ग कारोबारको सीमा पनि बढाएको छ । अब इन्टरनेट बैंकिङ्ग कारोबारको सीमा २० लाख रुपैयाँ रहेको छ । पछिल्लो समय डिजिटल बैंकिङ्गमा जोड दिएको राष्ट्र बैंकले कारोबारको सीमालाई पनि बढाउँदै लगको हो । साथै, बैंक तथा वित्तीय संस्थाहरुलाई डिजिटल प्रविधिमा जोड दिन राष्ट्र बैंकले निर्देशन दिँदै आएको छ । राष्ट्र बैंकको डिजिटल अभियानलाई सहयोग गर्दै बैंक तथा वित्तीय संस्थाहरुले पनि डिजिटल प्रविधिमा जोड दिइरहेका छन् । यस्तै, राष्ट्र बैंकले विद्युतीय वालेटको माध्यमबाट हुने कारोबारको अधिकतम सीमा पनि निर्धारण गरेको छ । बैंक खाताबाट वालेटमा प्रतिदिन २ लाख रुपैयाँ र मासिक १० लाख रुपैयाँसम्मको कारोबार गर्न पाइने भएको छ । यस्तै, वालेटबाट अन्य बैंक खातामा प्रतिदिन २ लाख रुपैयाँ र मासिक १० लाख रुपैयाँ र एक वालेटबाट अर्काे वालेटमा प्रतिदिन ५० हजार रुपैयाँ र मासिक ५ लाख रुपैयाँसम्मको कारोबार गर्न पाइने व्यवस्था मिलाएको छ । विद्युतीय वालेटमा जुनसुकै माध्यमबाट रकम जम्मा भएतापनि उपर्युक्त सीमा भन्दा अधिक हुने छैन । प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म मात्र रकम जम्मा गर्न सकिनेछ । भुक्तानी सेवा प्रदायक संस्थाले रेमट्यिान्स कम्पनीसँग सम्झौता गरी विदेशबाट आप्रवाह हुने रकम नेपालमा सञ्चालित विद्युतीय वालेटमा जम्मा हुने गरी रेमिटेन्स भित्र्याउन सक्नेछन् । यसरी रेमिटेन्स प्राप्त गर्दा वालेटमा रकम जम्मा गर्न तोकिएको सीमाले बाधा पुर्याएको मानिने छैन् । विदेशबाट वालेटमा प्राप्त रेमिटेन्स रकम वालेटको ओभरनाइट ब्यालेन्सको सीमाभन्दा बढी भएको अवस्थामा प्रापकले उपलब्ध गराएको बैंक खातामा स्थानान्तरण हुने व्यवस्था सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले मिलाउनु पर्ने राष्ट्र बैंकले जनाएको छ । वालेटमा कारोबार गर्दा भुक्तानी सेवा प्रदायक संस्थाहरूले नियुक्त गरेको एजेन्टको कारोबार तथा संस्थागत ग्राहकले वालेटमा रकम प्राप्त गर्दाको हकमा लागू हुने छैन । एजेन्टले गरेको कारोबारको सम्पूर्ण विवरण सम्बन्धित भुक्तानी सेवा प्रदायकले विद्युतीय माध्यमबाट प्राप्त गरी अभिलेख राख्नु पर्ने राष्ट्र बैंकले जनाएको छ । नेपाल सरकार, राजस्व व्यवस्थापन सूचना प्रणालीमा आबद्ध भएका भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेट मार्फत गरिने राजस्व भुक्तानी सम्बन्धी कारोबारमा सम्बन्धित सेवा प्रदायकले ५ हजार रुपैयाँ कारोबार भए ५ रुपैयाँ, ५ हजार १ रुपैयाँदेखि १० हजार रुपैयाँसम्मको कारोबारमा ८ रुपैयाँ र १० हजार माथिको कारोबार गर्दा १० रुपैयाँ शुल्क लाग्नेछ । साथै, अन्तर बैंक मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग कारोबार गर्दा प्रति कारोबार १० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । यस्तै, एजेन्ट मार्फत वालेटमा कारोबार गर्दा न्यूनतम ५ रुपैयाँदेखि २५ रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ । साथै, आरटिजीएस मार्फत कारोबार गर्दा विहान १० रुपैयाँ, मध्यान्ह २० रुपैयाँ र बेलुका १ सय रुपैयाँ शुल्क तोकिएको छ ।