स्टार्टअप सक्सेस अवार्डबाट ‘खल्ती’ सम्मानित
काठमाडाैं । ‘न्यु बिजिनेस एज’द्वारा आयोजित “न्यु बिज स्टार्ट अप समिट एण्ड अवार्ड २०२१” मा खल्ती (स्प्यारो पे प्रा.लि.) लाईस्टार्टअप सक्सेस अवार्डद्वारा सम्मानित गरिएको छ। ५ वर्षको यात्रामा खल्ती स्टार्टअपबाट एक सफल कर्पोरेट हाउस बनिसकेको छ । हाल कम्पनीमा २३० जना खल्ती परिवार छन् भने ६० हजार बढी व्यापारी तथा २० लाख बढी खल्तीका प्रयोगकर्ताहरूले ‘खल्ती’लाई विश्वास गर्दै आएका छन्। यस उपलब्धिमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “यस सम्मानको योग्य बन्न पुर्याउनु भएको योगदानको लागि सम्पूर्ण खल्ती परिवार,साझेदार, नेपाल राष्ट्र बैंक, व्यवसायी, एजेन्ट र प्रयोगकर्ताहरूलाई धन्यवाद दिन चाहन्छौं। सहजताको साथ वित्तीय साक्षरता र पहुँच, हरेक नेपाली माझ पुग्न केही समय लाग्नेछ । त्यहाँ नपुगुन्जेल हामी कडा परिश्रम गरिरहनेछौं।” खल्ती नेपालको फिनटेक उद्योगमा एक युवामैत्री, प्रचलित र नवीन ब्रान्ड बन्न पुगेको छ । हाल, लाखौं मानिसहरू नियमित रूपमा स्वयम् र एजेन्ट नेटवर्क मार्फत विभिन्न बिल भुक्तानी सेवाहरूको लागि व्यापक रूपमा प्रयोग गर्छन्। प्रयोगकर्ताहरूले विभिन्न बिल भुक्तानी सेवाहरू, मोबाइल र डीटीएच रिचार्ज, उडान र होटल बुकिङ, चलचित्र र कार्यक्रम टिकट, पत्रिकाको शब्स्क्रिप्शन , अनलाइन सपिङ साइट भुक्तानीहरू, र विभिन्न अन्य डिजिटल भुक्तानी सेवाहरू बीच बीमा प्रिमियम भुक्तानी सेवाहरू प्रयोग गर्न सक्नेछन्।
बोर्ड राखेर टिभिको उद्घाटनः कारवाही गर्नुपर्ने आधार भेटिएन
काठमाडौं । यही मंसिर ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाका साथै पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसमेतले ‘टेलिभिजन’ उद्घाटन गरेका थिए । भारतीय योग गुरु रामदेव र आचार्य बालकृष्णको उपस्थितिमा प्रधानमन्त्री सशित पूर्व प्रधानमन्त्रीहरुले ‘पतञ्जलि नेपाल’ र ‘आस्था’ टेलिभिजन उद्घाटन गरेपछि सो टेलिभिजले अनुमति नै नलिएको तथ्य खुलेको थियो । नेपालमा विदेशी लगानीका सञ्चारमाध्यमहरु स्थापना र सञ्चालन गर्न पाइदैन् । प्रधानमन्त्री स्वयमले दर्ता बिनका गौरकानूनी सञ्चार माध्यमको तामझामका साथ उद्घाटन गरेको भन्दै विभिन्न आलोचना समेत भएको थियो । अनुमति नै नलिएको भन्ने तथ्य बाहिरिएपछि सूचना तथा सञ्चार विभागले टोलीले मण्डिखाटारमा रहेको टेलिभिजनको कार्यालयमा आइतबार आकस्मिक निरीक्षण समेत गर्याे । सो टेलिभिजनले विभागबाट प्रसारण अनुमतिपत्र र पूर्वप्रसारण अनुमति समेत नलिई टेलिभिजन उद्धघाटन गरेपछि विभागका निर्देशक सुदीप भट्टराई संयोजक रहने गरी एक समिति गठन गरेको थियो । टेलिभिजनको अनुगमन गरेर सो समितिले बुझाएको प्रतिवेदन अनुसार बोर्ड राखेर मात्र टेलिभिजन उद्घाटन गरेको पाइएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । उनका अनुसार अनुगमन टोलिले टेलिभिजनका लागि आवश्यक पर्ने संरचनादेखि कुनै पनि उपकरण खरिद गरेको नभेटिएको जनाएका छन् । ‘बिना अनुमति आवश्यक तयारी गरेको, स्टुडियो, प्रसारका लागि आवश्यक उपकरणहरु ल्याएर जडान गरेको भए हामीले नियमानुसार कारवाही गर्न सक्थ्यौँ, तर बोड मात्र राखेर उद्घाटन गरिएको स्थानमा हामीले कारवाही गर्न मिलेन’, उनले भने । उनले टेलिभिजनले अनुमतिका लिनका लागि आवश्यक तयारी थालेको जानकारी गराएको बताए । ‘टेलिभिजनको नाम जुनसुकै होस् हामीले हेर्ने कुरा भएन, तर विदेशी लगानी हुनुभएन, नेपाली लगानीमा आयोभने हामी प्रक्रिया पुर्याएर अनुमति दिन्छौँ’, उनले भने । अनुगमन टोलिका एक सदस्यले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री जस्तो मान्छेले बिना जानकारी टेलिभिजन उद्घाटनमा जानु नै लाजपूर्ण गतिविधि भएको बताए । ‘हाम्रा नेताहरुलाई जसले जहाँ बोलाए पनि गएर भाषण गरे पुग्छ, कस्तो कार्यक्रम हो, कुन करा गर्दा ठिक हुन्छ केही हेक्का हुँदैन्, बोलएको ठाउँमा गएर ठूला भाषण गरे पुगिहाल्छ’, ती सदस्यले भने ।
९७४ मा आधारित सिमकार्ड बिक्री रोक्न निर्देशन
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई ९७४ रेञ्जका सिमकार्ड बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको छ । गत कात्तिक २९ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले अनुमतिबिना ९७४ मा आधारित जिएसएममा आधारित नम्बर बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको हो । टेलिकमले यसअघि सिडिएमएमा प्रयोग हुँदै आएको ९७४ र ९७६ रेञ्जमा आधारित नम्बरलाई जिएसएममा रूपान्तरण गरी सिमकार्ड बिक्री सुरु गरेको थियो । त्यसमध्ये ९७४ मा आधारित भएर जिएसएम सेवा दिने विषयमा प्राधिकरणबाट स्वीकृति नलिएकाले तत्कालै उक्त कार्य बन्द गर्न निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । उनका अनुसार सञ्चालक समितिले टेलिकमले स्वीकृतविना नम्बर वितरण गरेकाले एक पटकका लागि सचेत गराउने र आगामी दिनमा सोही प्रकारका कार्य गरेमा दूरसञ्चार ऐन, २०५३ बमोजिम कारवाही हुनेछ । यस्तै सञ्चालक समितिले टेलिकमलाई पुनःनम्बर परिवर्तन गर्दा ग्राहकमा पर्न जाने असरलाई मध्यनजर गर्दै ९७४ बाट हाल वितरण भइसकेको नम्बरको अलावा थप नम्बर वितरण नगर्न निर्देशन दिएको हो । नम्बर प्रयोगकर्तालाई वितरण भएपश्चात् उक्त नम्बर दीर्घकालीनरूपमा प्रयोग हुने भएकाले अस्थायीरूपमा प्रदान गरिएको नम्बरिङ रेञ्ज ९७६ स्थायीरूपमा प्रदान हुनेछ । सिडिएमए प्रविधि बन्द गर्ने तयारीमा रहेको टेलिमकले गत साउनदेखि सिडिएमएबाट जिएसएममा रूपान्तरण हुन ग्राहकलाई प्रोत्साहित गरिरहेको छ । नेपामा हाल करिब तीन लाख २० हजार सिडिएमए प्रयोगकर्ता छन् । फाइभजी परीक्षणको जिम्मा प्राधिकरणले नेपाल टेलिकमलाई फाइभजीको परीक्षण सेवा सञ्चालन गर्न अनुमति दिएको छ । कात्तिक २९ गते बसेको प्राधिकरण बोर्डले ‘फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि, २०७८’ बमोजिम हुनेगरी टेलिकमलाई फाइभजीको ट्रायलका लागि स्वीकृति दिने निर्णय गरेको हो । परीक्षणका लागि आवश्यक पर्ने उपकरण जडान कार्य सम्पन्न गरी प्राधिकरणलाई जानकारी गराउने शर्तमा थप फ्रिक्वेन्सी व्याण्डविथ आवश्यक भएमा पछि उपलब्ध गराइने गरी हाललाई २६०० मेगाहर्ज ब्याण्डमा २५००–२५६० मेगाहर्ज फ्रिक्वेन्सी व्याण्डविथ एक वर्षका लागि निःशुल्क प्रदान गर्ने निर्णय गरेको हो ।