एनसेलको अन्य डाटा प्याक किन्दा भाइबर चलाउन डाटा निःशुल्क पाइने

काठमाडौं । एनसेल आजियाटा र राकुटेन भाइबरले एनसेलका ग्राहकहरुलाई विशेष डाटा प्याकेज प्रदान गर्न साझेदारी गरेको छ । यस समझदारी अन्तर्गत ग्राहकले धेरै रुचाएका चार प्याकहरु हिरो प्याक, ननस्टप यूट्युव, ट्रीपल मजा र एसएमएस प्याकको खरिदमा ग्राहकले अब भाइबर चलाउनका लागि थप छुट्टै डाटा निःशुल्क पाउनेछन् । यी प्याकहरुका साथ भाइबर म्यासेजीङ्का लागि पाइने डेटामा कुनै अतिरिक्त शुल्क लाग्दैन र पहिलेदेखिकै प्रीपेड र पोस्टपेड डाटा प्याकेजमा वैकल्पिक ‘एड–अन’ को रूपमा उपलब्ध रहेका छन् । यो नयाँ अफरसँगै अब भाइबरका सुविधाहरू जस्तै भाइबर म्यासेजीङ, स्टीकर, नयाँ अगमेन्टेड रियालिटी ९एआर० लेन्सहरू प्रयोग गर्नका लागि थप डेटामा एनसेलका ग्राहकहरुको पहुँच सुनिश्चित भएको छ । त्यसैगरी, एनसेल ग्राहकहरुले भाइबरको स्टीकरहरु निःशुल्क पाउनेछन् र खरिद गरेपछि मात्र पाइने ‘पेड स्टीकर प्याक’ पनि विषेश गरी एनसेल ग्राहकका लागि निःशुल्क उपलब्ध रहेको छ । ‘डिजिटल जीवनशैली सक्षम पार्ने हाम्रो निरन्तर यात्राको एक प्रयासका रूपमा हामीले हाम्रा ग्राहकहरूलाई नेपालको एक अग्रणी निःशुल्क म्यासेजीङ् एपहरू मध्येको एक भाइबरमा निःशुल्क पहुँचको फाइदा दिन सहकार्य गरेका छौं । हामी यस साझेदारीबाट साँच्चिकै उत्साहित छौं र नेपाली उपभोक्ताहरूलाई सेवाबाट फाइदा दिन थप अवसरहरू सिर्जना गर्ने योजनामा छौं,’ एनसेलका चीफ कमर्शसियल अफिसर प्रदीप श्रीवास्तवले भने । एनसेलले पहिले नै भाइबरमा आफ्ना ग्राहकहरूका लागि समर्पित समुदाय र डिजिटल बट सेवा उपलब्ध गराउँदै आएको छ । यस साझेदारीले निकट भविष्यमा अगमेन्टेड रियालिटी ९एआर० मा आधारित लोकजाइज्ड भाइबर लेन्सको पनि सुरुवात गर्ने कम्पनीले जनाएको छ ।

ज्योति विकास बैंकले शुरु गर्यो प्रिपेड डलर कार्ड, वार्षिक ५०० डलरसम्मको भुक्तानी गर्न सकिने

काठमाडौं । ज्योति विकास बैंकले प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ । बैंकले विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको उक्त कार्ड आइतबार सार्वजनिक गरेको हो । यससँगै अब बैंकका ग्राहकले प्रिपेड डलर कार्ड अनलाइनबाटै एप्लाई गरी १ दिन भित्र भर्च्युअल डलर कार्ड प्राप्त गर्न सक्नेछन् । बैंकले मंसिर १९ गतेदेखि डिजिटल बैंकिंग सेवालाई थप प्रर्वद्धन गर्दै अनलाईमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनको लागि अमेरिकी डलरमा आधारित प्रिपेड डलर कार्ड सेवा सुचारु गरेको हो । प्रिपेड डलर कार्ड सेवा सुरु भएसंगै बैंकका ग्राहकले स्वदेशमै रहेर पनि अन्तर्राष्ट्रिय ई-कमर्श प्लाटफर्म मार्फत सुरक्षित ढंगले किनमेल गरि रकम भुक्तानी गर्न सक्नेछन् । भिसा नेटवर्कमा आधारित यस कार्डमार्फत ग्राहकहरूले वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको अनलाईन किनमेल गरी भुक्तानी गर्न सक्नेछन् । डलर कार्ड प्राप्त गर्नका लागि केवाईसी विवरण अपडेट गरिएको बैंक खातासँगै प्यान कार्ड हुनुपर्नेछ । बैंकले कार्ड जारी गर्दा कार्ड शुल्क वापत निश्चित रकम लिनेछ र पहिलोपटक डलर लोड गर्दा निःशुल्क हुने व्यवस्था समेत गरेको छ । यो सुविधा बैंकका १०५ वटै शाखा कार्यालयहरुबाट र आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको वेबसाइट मार्फत अनलाइनबाटै पनि आवेदन दिई प्राप्त गर्न सकिनेछ। साथै बैंकले डिजिटल बैंकिंग सेवालाई प्रर्वद्धन गर्दै हालसालै ओम्नी च्यानल अवधारणामा आधारित मोबाइल बैंकिङ्ग एप सुचारु गरेको थियो । बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

साइबर सेक्युरिटीको नाममा वार्षिक ठूलो रकम बाहिरिँदै छः डेपुटी गभर्नर मिश्र

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले स्वेदशमा साइबर सेक्युरिटी सम्बन्धि दक्ष जनशक्ति नहुँदा वार्षिक ठूलो रकम विदेशिने गरेको बताएका छन् । बिहीबार द ब्रिटीस कलेजले आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै उनले देशमा साइबर सेक्युरिटी सम्बन्धि दक्ष र सीपयुक्त जनशक्ति नहुँदा वार्षिक ठूलो रकम विदेशिने गरेको र यसले देशलाई आर्थिक व्ययभार पनि हुने गरेको बताएका हुन् । ब्रिटिस कलेजले ‘साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ विषयको पढाई गर्नको लागि आयेजित कार्यक्रममा प्रमुख अतिथि समेत रहेका उनले ब्रिटिस कलेजले पढाई सञ्चालन गर्दा वार्षिक विदेशिने गरेको ठूलो रकम नेपालमै रहने र दक्ष जनशक्ति पनि स्वदेशमै उत्पादन हुने विश्वास लिएको बताए । ‘अहिले देशमा साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक पढेको जनशक्तिको आवश्यकता र माग बढेकोले यो विषयको पढाईले धेरै टेवा पुग्ने उनको भनाई छ । ‘अहिले साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषय पढ्ने चाहना हुनेले सिंगापुर लगायतका देशहरुमा जानु पर्ने बाध्यता छ, देशमा दक्ष जनशक्ति पनि अभाव छ, विदेशबाट जनशक्ति ल्याउनु पर्ने बाध्यता छ, उनीहरुले वार्षिक ठूलो रकम लिइरहेका छन्, अब ब्रिटीस कलेजको यो कदमले देशलाई केही राहत हुने मैले महसुस गरेको छु,’ उनले भने । यस्तै, कार्यक्रममा द ब्रिटिस कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा संस्थापक राजन कँडेलले युर्निभर्सिटी अफ वेष्ट इंग्ल्याण्डको सम्वन्धनमा यो नयाँ विषयको पढाई सञ्चालन गरेको बताए । उनले विद्यार्थीहरुको सिकाईका लागि कलेजमा ल्याव पनि राखेको बताए । सैद्धान्तिक तथा प्रयोगात्मक क्षेत्रका विज्ञहरुले यो विषयको पढाई गर्ने उनको भनाई छ । ‘कम्प्युटरमा आधारित गतिविधिहरुको जाँच, प्रविधियुक्त उपकरणहरुको प्रयोगले विद्यार्थीहरुलाई थप लाभ हुनेछ, देशमा साइबर क्राइम जस्ता क्रियाकलाप रोक्न यसले धेरे मद्दत पुग्नेछ,’ उनले भने । कोरोनाभाइरस (कोभिड– १९)को महामारीको कारण नेपालमा पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताहरुको वृद्धि भएको र साइबर क्राइमका गतिविधि पनि बढेकोलाई यसलाई रोक्न आवश्यक भएको बताए ।