कात्तिक मसान्तभित्र पोल भाडा सम्झौता गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले कात्तिक मसान्तभित्र पोल भाडा सम्झौता गर्न इन्टरनेट सेवाप्रदायक संस्थाहरुलाई निर्देशन दिएको छ । प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै नेपाल विद्युत प्राधिकरणसँग पोल भाडा सम्झौता गर्न निर्देशन दिएको हो । प्राधिकरणले सेवा प्रदायकहरुलाई पोल प्रयोग गरेको स्थान, परिमाण र अवधि स्वघोषणा गरी सम्झौता गर्न निर्देशन दिएको छ । विद्युत प्राधिकरणले २०७७ मा काठमाडौं लगायतका सहरी क्षेत्रमा दोब्बर र ग्रामीण भेगमा आठ गुणाभन्दा बढीले पोलको भाडा बढाएको भन्दै सेवाप्रदायक कम्पनीहरुले बढेको मूल्य फिर्ताको माग गर्दै आएका थिए । बढेको मूल्य फिर्ता नहुँदासम्म बक्यौता रकम भुक्तानी नगर्ने सेवाप्रदायक कम्पनीले अडान राख्दा विद्युत प्राधिकरणले इन्टरनेटको तार समेत काटेको थियो । पटक/पटक सूचना प्रकाशन गरी बक्यौता रकम भुक्तानी गर्न आग्रह गर्दा समेत वेवास्ता गरेकोभन्दै प्राधिकरणले इन्टरनेटको तार काटेको थियो । इन्टरनेटको तार काटिएपछि पोलभाडा विवादलाई दीर्घकालीन समाधान गर्न संचार मन्त्रालयको सहसचिवको नेतृत्वमा ६ सदस्यीय समिति निर्माण भएको छ । समितिलाई पोल भाडा विवाद समाधानका लागि मंसिर १५ गतेसम्म प्रतिवेदन बुझाउने म्याद दिइएको छ ।

डिशहोम फाइबरनेटको ४० एमबीपीएस इन्टरनेट जोड्दा आईपीटीभी सित्तैमा

काठमाडौं । डिशहोम फाइबरनेटले “काईदाको फाइबरनेटमा फाईदाको आईपीटीभी” योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत कम्पनीले ४० एमबीपीएसको इन्टरनेट जडानमा आईपीटीभी सित्तैमा दिने भएको हो । यो योजना अन्तर्गत डिशहोम फाइबरनेटको ४० एमबीपीएसको सेवा लिने नयाँ ग्राहकले बार्षिक भुक्तानिमा आईपीटीभी सित्तैमा पाउनेछन् । डिशहोम फाइबरनेटको ४० एमबीपीएसको एक वर्षको लागि ग्राहकले भ्याट बाहेक १२ हजार ९९९ रुपैयाँ खर्चनुपर्ने हुन्छ । ग्राहकले यसबापत इन्टरनेट र आईपीटीभीको बार्षिक सब्सक्रिप्सनका साथै आवश्यक ड्रप वाइर, राउटर, सेटअप बक्स र जडान सेवा सबै निःशुल्क पाउनेछन् । साथै, डिशहोम फाइबरनेटले यसअघि नै १०० एमबीपीएसको इन्टरनेट मात्र ८९९ रुपैयाँमा ग्राहकलाई उपलब्ध गराईरहेको छ ।

ट्वीटर र फेसबुकबाट हटेका ट्रम्पले नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने

वासिङ्टन । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । बहुचर्चित सामाजिक सञ्जालहरु ट्वीटर र फेसबुकले उनका आधिकारीक “एकाउन्ट” हटाइदिएपछि उनले नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने घोषणा गरेका हुन् । अमेरिकामा गत वर्ष भएको राष्ट्रपतीय निर्वाचनका बेलामा तत्कालिन राष्ट्रपति ट्रम्पले आफै भ्रम फैलाएको, सामाजिक सद्भावलाई असर पारेको लगायतका आरोप लगाउदै ती सामाजिक सञ्जालहरुले उनको एकाउन्ट हटाइदिएका हुन् । विषेशगरेर ट्रम्पका समर्थकहरूको भिड अमेरिकी संसद् भवनमा प्रवेश गरेको घटनापछि उनलाई ट्विटर र फेसबुकले आफ्ना सञ्जालहरूबाट हटाएका थिए । उनीहरुले हटाएपछि पूर्व राष्ट्रपति ट्रम्पले आफ्ना अपडेटहरु सार्वजनिक गर्न छुट्टै ब्लग जस्तै अनलाईन सञ्चालन गरेका थिए । तर त्यो पनि केही समयपछि बन्द भएको छ । आगामी सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा पनि उम्मेदवारी दिने तयारीमा रहेका ट्रम्पले त्यसैलाई लक्षित गरेर नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्न लाग्नु भएको जनाइएको छ । उहाँले सञ्चालन गर्न लागेको सामाजिक सञ्जालको नाम “ट्रुथ सोसियल” राख्ने पनि तय भइसकेको उनले सचिवालयले जनाएको छ । ट्रुथ सामाजिक सञ्जालको सञ्चालन ट्रम्प मिडिया एण्ड टेक्नोलोजी ग्रुप (टीएमटीजी)ले गर्ने भएको छ । ग्रुपको अध्यक्ष ट्रम्प आफै रहेका छन् । ट्रम्पले उक्त सामाजिक सञ्जाल प्रविधि सम्वन्धी ठूला कम्पनीहरुको अत्याचारविरुद्ध उभिने बताएका छन् । अहिले प्रभावशाली रहेका सामाजिक सञ्जालहरुले अमेरिकाका विद्रोही आवाजलाई स्थान नदिएको ट्रम्पको आरोप छ । ट्रुथ सामाजिक सञ्जालमा भिडिओ प्रसारण सेवा पनि समावेश गरिने भएको छ । भिडिओ सेवामा समाचार, पडकास्टलगायतका धेरै सुविधा उपलब्ध गराइने टीएमटीजीले जानकारी दिएको छ । सो सामाजिक सञ्जाल आगामी महिनादेखि केही आमन्त्रित प्रयोगकर्ताका लागि तयार हुनेछ भने सन् २०२२ को पहिलो तीन महिना अमेरिकामा मात्रै उपलब्ध हुनेछ । रासस/एएफपी