इन्टरनेटकाे अनुभवलाई थप उत्कृष्ट बनाउँदै सुबिसु, ल्यायो यस्तो सेवा

काठमाडौं । नेपालको केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रा. लि.ले ५जीएचजेड डुयल ब्याण्ड राउटर सहितको सेवा प्रस्तुत गरेको छ । आफना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्नका निम्ति कम्पनीले उक्त सेवा प्रस्तुत गरेको हो । यस अघि २.४ जीएचजेड सेवा दिँदै आएको कम्पनीले ग्राहकहरुको इन्टरनेट अनुभवलाई अझ उत्कृष्ट बनाउने उद्देश्यका साथ ५जी सेवा सुरु गरेको हो । इन्टरनेटको बद्लिदो माग तथा अझ उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यका साथ यस कम्पनीले ५जीएचजेड डुयल ब्याण्ड राउटर सहितको सेवा सुरु गरेको हो । ५जीएचजेडको प्रयोगले इन्टरनेट सेवा प्रयोग गर्दा आउने प्राविधिक समस्यालाई कम गर्दै ग्राहकहरुको इन्टरनेट अनुभवलाई अझ गुणस्तरीय बनाउनेछ । ग्राहकहरुको माग र सन्तुष्टिलाई प्राथमिकतामा राखि समय समयमा कम्पनीले सेवा विस्तार तथा परिमार्जित गरि गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

अपाङ्गता भएका व्यक्तिका लागि सञ्चार पहुँच सहज बनाउन एप्स निर्माण

काठमाडाैं । सूचना तथा सञ्चार प्रविधिले अपाङ्गता भएका व्यक्तिका लागि सबै निकायका सूचनाको पहुँचमा सहजताका लागि नीतिगत व्यवस्था गरेको छ । अपाङ्गता भएका व्यक्तिको २९ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल, सिबिएमसहित संस्थाले आज भर्चुअलरुपमा आयोजना गरेको ‘नेपालमा पहुँचयुक्तता : प्रवद्र्धनको अवस्था र अबको बाटो’ विषय कार्यक्रममा सो मन्त्रालयका सहसचिव अनिकुमार दत्तले सूचना तथा सञ्चार नीतिअनुसार विशेष क्षमता भएका व्यक्तिको सूचनामा सहजताका लागि कार्यक्रम तर्जुमा गरिएको र अनुकूल मोबाइल एप्स निर्माण गरिएको बताए । उनले प्रत्येक निकायले निर्माण गर्ने वेबसाइट र इन्टरनेट सेवालाई त्यस्ता व्यक्तिको पहुँचयुक्त बनाउन नयाँ निर्देशिकाको तयारी भइरहेको जानकारी दिए । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव टेकराज निरौलाले राज्यका भवन तथा सेवासम्बन्धी अलगअलग निर्देशिका कार्यान्वयनमा रहेको र थप अनुकूल बनाउन संशोधन गरिने बताए । उनले अपाङ्गमैत्री नेपाल निर्माणको लक्ष्यसहित राष्ट्रिय कार्ययोजनाका लागि कार्यदल गठन गरिएको पनि जानकारी दिए । महासङ्घका अध्यक्ष मित्रलाल शर्माले सरकारले आफूहरुले गरेको वकालतका आधारमा अपाङ्गतामैत्री नीति र संरचना बन्न थाले पनि सबै क्षेत्रमा सहजता नभएको बताए । कार्यक्रम संयोजक विमल पौडेलले आफूहरुको अध्ययनमा काठमाडौँ उपत्यकाका १५० सार्वजनिक संरचनामा १२ प्रतिशतमा मात्रै आंशिक पहुँचयुक्तता पाइएको बताए । रासस

शिक्षक र विद्यार्थीकाे लागि टेलिकमकाे सिम: मासिक ९९ रुपैंयामा असिमित कुरासँगै ५ जिबि डाटा

काठमाडौं । नेपाल टेलिकमले देशभरका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सियुजी सिम’ योजना अन्तर्गत निःशुल्क सिमकार्ड वितरण गरेको छ । कोरोना महामारीको समयमा पनि अनलाइन माध्यमबाट विद्यालयको पठनपाठन जारी राख्नका लागि कम्पनीले निःशुल्क सिम उपलब्ध गराएकाे हो । सो सिममार्फत ग्रुपमा आबद्ध सबै विद्यार्थी वा शिक्षकहरुले एकआपसमा जति पनि (असीमित) कुराकानी गर्न, शिक्षा मन्त्रालयको कक्षा १ देखि १० सम्मको पाठ्यसामग्री रहेको वेबसाइट  चलाउन ५ जिबी डाटा र एकैपटक धेरै सन्देश अर्थात् बल्क एसएमएससमेत पठाउन सक्नेछन् । यी सुविधा प्रयोग गरेवापत मासिक रुपले लाग्ने जम्मा रु. ९९ ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ बमोजिम स्थानीय निकायमार्फत सरकारले व्यहोर्ने छ । यस योजना बमोजिम कक्षा १ देखि १२ सम्मका सरकारी वा सामुदायिक विद्यालयका हरेक विद्यार्थी र शिक्षकले १ थान निःशुल्क पाठशाला सियुजी सिमकार्ड लिन सक्नेछन् । प्रशस्त सहुलियत प्रदान गरिएको आकर्षक यस योजनामा आबद्ध हुन नेपाल टेलिकमको जीएसएम वा सीडीएमए प्रिपेड मोबाइल नम्बर आवश्यक पर्दछ । विद्यार्थी र शिक्षकले चाहेमा पहिलेदेखि नै उनीहरुले प्रयोग गरिरहेकाे भएको प्रिपेड सिमकार्डलाई पनि पाठशाला सियुजीमा आबद्ध गर्न पनि सकिने र  सिमकार्ड नहुनेहरुले निःशुल्क रुपमा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्ड लिन सक्ने कम्पनीले जनाएकाे छ । निशुल्क सिम कसरी लिने ? विद्यार्थीको लागि सिमकार्ड लिँदा विद्यार्थीको नाममा वा अभिभावकको नाममा लिन सकिने छ । निःशुल्क सिम प्राप्त गर्नका लागि शिक्षक तथा विद्यार्थीले कम्पनीले निर्धारण गरेको प्रिपेड मोबाइलको आवेदन फाराम भरी सम्बन्धित सार्वजनिक विद्यालयमा बुझाउनु पर्नेछ । यसरी आवेदन फारामको साथमा विद्यार्थीको परिचयपत्रको प्रतिलिपी, विद्यार्थीको नागरिकताको प्रतिलिपी वा नागरिकता नबनेको भएमा अभिभावकको नागरिकताको प्रतिलिपीका साथै आवेदन फारामको निर्धारित स्थानमा एक प्रति फोटो टाँसिएको हुनु पर्नेछ । कसरी सियुजी सिममा आबद्ध हुने ? विद्यालयले पाठशाला सियुजीमा आबद्ध हुने सम्पूर्ण शिक्षक, विद्यार्थी र अभिभावकहरुको सियुजीमा आबद्ध गर्नुपर्ने मोबाइल नम्बर र नाम सहितको विवरण तोकिएको ढाँचामा तयार गरेर सो विवरणसहित स्थानीय तहको सिफारिस साथ नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गरी सो वापत लाग्ने शुल्क भुक्तानी गर्नुपर्दछ । त्यस पश्चात् सो ग्रुपमा अबवद्ध सबै मोबाइल नम्बरहरुमा एसएमएसमार्फत जानकारी उपलब्ध हुन्छ । प्रत्येक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकलाई कम्पनीको कोल्सड युसर ग्रुप (सियुजी) मा आबद्ध गरी मासिक जम्मा ९९ मा क्लोज्ड ग्रुपभित्र असीमित कुराकानी गर्न सकिने भ्वाइस सेवा, शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइट  चलाउन ५ जिबी डाटा सेवा र बल्क एसएमएस सुविधा समेत उपलब्ध गराइने छ । शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइटमा कक्षा १ देखि १० सम्मको पाठ्यक्रम र पाठ्यसामग्रीहरु उपलब्ध हुन्छ । पाठशाला सियुजी अफरको अवधि समाप्तिपश्चात पनि यो अफरमा आबद्ध मोबाइल नम्बरहरु प्रयोगकर्ता शिक्षक, विद्यार्थी र अभिभावकले अन्य प्रयोगकर्ताको मोबाइल नम्बर सरह नै निरन्तर प्रयोग गर्न सकिने टेलिकमले जनाएकाे छ । नेपाल टेलिकमका देशभरिका सेवा केन्द्रहरुबाट सार्वजनिक विद्यालयले माग अनुसार निःशुल्क पाठशाला सियुजी सिम लिन सक्नेछन् ।