संगठित हुँदै मोबाइल व्यवसायी, चारवटा प्रदेशमा बन्यो संगठन
काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले देशभरका मोवाइल व्यवायीहरुलाई संगठित गर्ने अभियान थालेको छ । मोवाइल व्यवसायीको हकहितका लागि गठन भएको महासंघले धमाधम प्रदेश, जिल्ला र क्षेत्रीय समिति निर्माण थालेको छ । संगठन विस्तारका लागि देश दौडाहामा रहेको महासंघको टोलीले बागमती, गण्डकी, कर्णाली र प्रदेश ५ मा प्रदेश समिति गठन गरिसकेको महासंघका अध्यक्ष भरत भट्टराईले जानकारी दिए । नेपालभरका मोवाइल व्यवसायीलाई एकठाउँमा ल्याउन यो प्रयास थालिएको भट्टराई बताउँछन् । उनका अनुसार मोलवाइल बिक्रेताहरुले राज्यलाई उल्लेख्य कर तिरेका छन् । तर व्यवसायीहरु संगठित हुन नसक्दा राज्यवाट पाउनुपर्ने सेवा सुविधाबाट मोवाइल विक्रेताहरु वञ्चित छन् । महासंघले देशव्यापी नेटवर्क निर्माण गरेर व्यवसायको प्रर्वद्धनसँगै राज्यवाट प्राप्त गनुृपर्ने सुविधामा संगठित रुपमा प्रयास थाल्ने अध्यक्ष भट्टराई बताउँछन् । भट्टराईको अध्यक्षतामा गठित महासंघको तदर्थ समितिमा, वरिष्ठ उपाध्यक्ष सुरेश प्रसाई, उपाध्यक्ष अर्जुन चालिसे, महासचिव रमेश घिमिरे, सचिव डिल्लीबहादुर तामाङ, कोषाध्यक्ष सन्तोष घिमिरे, सह–कोषाध्यक्ष श्याम नगरकोटी र वरिष्ठ सदस्य दीपक बोगटी छन् । १७ सदस्यीय तदर्थ समितिलाई प्रदेश भेला सकिएलगत्तै पूर्णता दिइने उनले जानकारी दिए । देशभर ५ हजारभन्दा बढी मोबाइल व्यवसायी छन् ।
नेपाल राष्ट्र बैंकले मागेको पदको आवेदन शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि माग गरेको आवेदनको शुल्क मोबाइलमा खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएको छ । शुक्रबारदेखि लागु हुने गरी खल्तीले यस्ताे सेवा सुरु गरेकाे हाे । नेपाल राष्ट्र बैंकले जागिरका लागि मागेको आवेदन अनलाईनमार्फत बुझाउन सकिन्छ । अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनौट गर्नपर्छ । खल्ती छनौट गरेपछि आफ्नो युजरनेम र पासवर्ड हालेर लगइन गरेपछि तोकिएको शुल्क भुक्तानी सजिलैसँग भुक्तानी गर्न सकिन्छ ।
स्मार्टच्वाइसको स्मार्ट क्यूआर आजबाट सञ्चालनमा
काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिजले स्मार्ट क्यूआर शुक्रबारबाट सञ्चालनमा ल्याएको छ । विभिन्न प्रकारका भुक्तानी सेवा र सुविधाहरुको प्राप्तीमा अनलाइन भुक्तानीलाई अझ आधुनिक, सहज र एकिकृत गर्न सक्ने गरी यस किसिमको क्वीक रेस्पोन्स कोड पेमेन्ट प्लाटर्फम स्मार्ट क्यूआर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । परम्परागत प्रणालीलाई स्तरोन्नती गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवर्धन गर्ने आफुहरुकाे मुख्य लक्ष्य रहेको कम्पनीले जनाएकाे छ । स्मार्ट क्युआरको प्रयोगबाट ग्राहकलाई छिटो र सरल किसिमले क्युआर कोड स्क्यान गरी विविध आवश्यकता बमोजिम सेवा र सुविधाहरुको उपयोग गर्न सजिलो हुने कम्पनी बताउँछ । स्मार्ट क्युआरमा आइएमई पे, प्रभु पे, क्यु पे जस्ता स्वदेशी भुक्तानी सेवा प्रदायक कम्पनी रहेका छन् । साथै यसमा अन्तराष्ट्रिय संस्था युनियन पे इन्टरनेशनलसँग आबद्ध खल्ती, मो–बैंक जस्ता विभिन्न भुक्तानी सेवा प्रदायकले पनि भुक्तानी प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ ।