तपाईको मोबाईल फोन हरायो ? दुरसंचार प्राधिकरणमा खबर गर्नुस्

काठमाडौ । नेपाल दुरसंचार प्राधिकरणले सर्वसाधारणहरुलाई लक्षित गर्दै ‘मोबाईल ट्रयाकिङ्ग’ सेवा ल्याएको छ । यस मोबाईल ट्रयाकिङ्ग सेवा मार्फत कसैको मोबाईल फोन हराएमा अब सहजै पत्ता लगाउन सकिनेछ । एकपटक चलाई सकेको फोनको रेकर्ड दुरसंचार प्राधिकरणमा बस्छ । यस्तै, (सेवा प्रदायक) दुरसंचार कम्पनीहरुमा समेत प्रयोग भएका फोनको रेकर्ड रहिरहन्छ । प्राधिकरणले मोबाईल फोनसेटको पहिचानको रुपमा हरेक मोबाईल फोनसेटमा रहेकाे इन्टरनेशनल मोबाईल इक्युइपमेन्ट आर्ईडेन्टिटी (आईएमईआई) बाट मोबाईलको पहिचान आफूहरुसँग रहने जनाएको छ । मोवाईल ट्रयाकिङ्ग सिस्टम मार्फत कसैले आफ्नो मोबाईल फोन हराएमा एनटीएलाई उजुरी गर्न सक्नेछन् । एनटीएले एक पटक प्रयोग भएको फोन अर्को पटक प्रयोग हुँदा सहजै पत्ता लाग्ने भन्दै कसैले हराएका फोन भेट्टाएमा तत्काल फिर्ता दिन सूचना जारी गरेको हो ।

नेपाल टेलिकमद्धारा कम्पनीको संरचना परिवर्तन गर्ने कार्य शुरु

काठमाडौं । नेपाल टेलिकमले मुलुकको संघीय संरचना अनुसार कम्पनीको संरचना परिवर्तन गर्ने कार्य शुरु गरेको छ । कम्पनीले मुलुकको संघीय संरचना बमोजिम कामकाज गर्न सहज हुनेगरी नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, विराटनगर प्रदेश नं. १, प्रादेशिक निर्देशनालय, वीरगञ्ज प्रदेश नं. २, प्रादेशिक निर्देशनालय, काठमाडौ वागमती प्रदेश, प्रादेशिक निर्देशनालय, पोखरा गण्डकी प्रदेश, प्रादेशिक निर्देशनालय, भैरहवा प्रदेश नं. ५, प्रादेशिक निर्देशनालय, सुर्खेत कर्णाली प्रदेश र प्रादेशिक निर्देशनालय अत्तरिया, सुदूरपश्चिम प्रदेशको स्थापना गर्ने निर्णय गरिसकेको छ । यस बमोजिम कम्पनीले आज साविक पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय अन्तर्गत रहेको नेपाल टेलिकमको पोखरास्थित कार्यालयलाई संघीय संरचना अनुसार नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा, गण्डकी प्रदेशमा रुपान्तरण गरेको हो । सो अवसरमा साविक नेपाल टेलिकम पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय र हाल नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवा, प्रदेश नम्बर ५ का निर्देशक सूर्यनारायण मालाकारले नयाँ प्रादेशिक निर्देशनालयका रुपमा प्रादेशिक निर्देशनालय, पोखरा गण्डकी प्रदेशको शुभारम्भ गरे । उक्त अवसरमा निर्देशक मालाकारले नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, पोखराका निर्देशक सुरेन्द्रमान सिंहलाई गण्डकी प्रदेशसँग सम्बन्धित विकास निर्माण, योजना र प्रशासनिक दस्तावेजहरु हस्तान्तरण गरेका थिए । पोखरामा आयोजित उक्त कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले पठाउनु भएको शुभकामना सन्देश बाचन गरिएको थियो । शुभकामना सन्देशमार्फत प्रबन्ध निर्देशक अधिकारीले एफटिटिएच वितरणको मूल लक्ष्यलाई आत्मसात गरी आफ्नो कार्यक्षेत्रमा क्रियाशील हुन निर्देशन दिएका थिए । यसका साथै कार्यसम्पादनमा आधारित प्रोत्साहन व्यवस्था लागु भइसकेकोले आफू कार्यरत सम्बन्धित प्रदेश प्रमुख तथा समस्त कर्मचारीहरुको संयुक्त प्रयासबाट प्रदेशलाई दूरसञ्चार सेवा विस्तार, सुदृढीकरण र ग्राहक सेवामा अब्बल सावित गर्नुहुने विश्वास लिएको उल्लेख गरेका थिए ।

‘खल्ती’ र नेपाल बैंकबीच सहकार्य, अब बैंक खाताबाट सिधै भुक्तानी गर्न सकिने

काठमाडौं । ‘खल्ती’ डिजिटल वालेटले मुलुककै पुरानो बैंक नेपाल बैंकसँग सहकार्य सुरू गरेको छ । अब ‘खल्ती’ वालेटका ग्राहकले नेपाल बैंकको मोवाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा प्रयोग गरेर मोवाइल वालेटमा नगद लोड गर्न सक्नेछन् । ‘खल्ती’ डिजिटल वालेटका ग्राहकले नेपाल बैंकमा रहेको आफ्नो खातालाई जोडेर ‘खल्ती’मा नगद लोड नगरी सिधै वस्तु तथा खेवाको भुक्तानी गर्न सक्नेछन् । दुवै संस्थाबीच सहकार्य सम्बन्धी सम्झौता पत्रमा नेपाल बैंकको केन्द्रीय कार्यालयमा आयोजतिक कार्यक्रममा खल्तीका तर्फबाट निर्देशक अमित अग्रवाल र प्रमुख ब्यवसाय विकास अधिकृत सदित घिमिरे तथा नेपाल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र सहायक प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेलले हस्ताक्षर गरेका थिए । नेपाल बैंकसँगको सहकार्यपछि ‘खल्ती’ डिजिटल वालेटलाई जोडेर सिधै वस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सकिने बैंकको संख्या चार पुगेको छ । यसअघि एनआइसी एशिया, लक्ष्मी बैंक र मुक्तिनाथ विकास बैंकका ग्राहकले ‘खल्ती’ डिजिटल वालेटलाई खातासँग जोडेर सिधै भुक्तानी गर्दै आएका थिए । ‘खल्ती’का निर्देशक अमित अग्रवाल मुलुककै जेठो बैंकले कान्छो डिजिटल वालेटलाई विश्वास गरेकामा आफूहरू गौरवान्वित भएको बताउँछन् । ‘नेपाल बैंकसँग सहकार्य गर्न पाउनु हाम्रा लागि गौरवको कुरा हो,’ उनले भने, ‘ठूलो नेटवर्क र लाखौं ग्राहक भएको बैंक ‘खल्ती’सँग जोडिएपछि धेरै ग्राहकले ‘खल्ती’को सेवा उपयोग गर्ने हाम्रो विश्वास छ ।’ खल्तीसँग बैंक खातालाई जोडेपछि सिधै वालेटमार्फत भुक्तानी गर्न सकिने भएकाले वालेटमा नगद लोड गर्ने झण्झट पनि ग्राहकलाई नपर्ने उनले बताए । ‘खल्ती’ डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो । ‘खल्ती’ वालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । ‘खल्ती’का प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढि छ ।