इसेवाबाट अब जुनसुकै बैंकमा रकम पठाउँदा पैसा नलाग्ने

काठमाडौं । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार इसेवाबाट आफ्नो बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने भएको छ । इसेवाले बिहीबार रातीदेखि अप्रिल ३० सम्म लागु हुनेगरी बैंकमा रकम ट्रान्सफर गर्दा शुल्क नलाग्ने जनाएको हो । इसेवामार्फत इसेवा खातामै (पि टु पी ट्रान्स्फर) गर्दा यस अघि नै निशुल्क सेवा रहेकोमा अब बैंक ट्रान्स्फर पनि निशुल्क बनाइएको हो । इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भन्नुभयो, ‘अहिलेको अवस्थामा बैंकहरुसँगको सहकार्यमा बैंक ट्रान्सफरलाई निशुल्क बनाएका छौँ । यसले ग्राहकलाई थप सहज हुने र सेवा सर्वसुलभ हुने अपेक्षा गरेका छौँ । इसेवाले ग्राहकका लागी अन्य सहुलियतका कार्यक्रम समेत ल्याउने जनाएको छ । इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । इसेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४९ वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

वित्तीय कारोबार गर्न मिल्ने कनेक्ट आईपीएस ईपेमेन्ट अब सित्तैमा

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले कनेक्ट आईपीएस ईपेमेन्ट प्रणालीमा रहेका सम्पूर्ण भुक्तानी सेवाहरुमा लाग्ने कारोबार शुल्क चैत मसान्तसम्मका लागी मिनाहा गरेको छ । संस्थाले बैंक वित्तीय संस्थाका शाखाहरुमा सेवाग्राहीको भीड कम गर्ने उदेश्यका साथ उक्त सेवा सुविधा दिने भएको हो । मोबाईल एप्स, वेब, सदस्य बैंकको इन्टर्नेट/मोबाईल बैंकिङ च्यानल तथा अन्य इन्डाइरेक्ट/टेक्निकल सदस्यको च्यानल लगायतबाट कनेक्ट आईपीएस इपेमेन्टमार्फत गरिने सम्पूर्ण भुक्तानी कारोबारहरुमा पठाउने ग्राहकलाई कुनै शुल्क नलाग्ने व्यहोरा कम्पनीले जनाएको छ । बैंक वित्तीय संस्थाहरुमा भीडभाडबाट टाढा रहनुपर्ने र वित्तीय कारोबार पनि सहज तरिकाले सञ्चालन गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरी सो व्यवस्था लागू गरिएको हो । यसले सर्वसाधारणले अनलाईन भुक्तानी प्रणाली प्रयोग गर्न थप सहजता हुने अपेक्षा गरिएको छ । कनेक्ट आईपीएस ईपेमेन्ट प्रणालीमा एक वा सो भन्दा बढी बैंक खाता लिन्क गरी फण्ड ट्रान्स्फर लगायतका विभिन्न भुक्तानी गर्न सकिन्छ । यसको वेबबाट १० लाख रूपैयाँ र मोबाईल एप्सबाट १ लाख रूपैयाँसम्मको प्रति कारोबार रियल टाइममा गर्न सकिन्छ । कनेक्ट आईपीएसको फण्ड ट्रान्स्फर सुविधा विभिन्न बैंक वित्तिय संस्थाको मोबाईल/इन्टेर्नेट बैंकिङमा पनि उपलब्ध रहेको छ ।

सेलपे सेवाले ल्यायो सामसङ ग्यालेक्सी एस२० जित्ने अफर, कसरी हुने सहभागी ?

काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले नयाँ योजना ‘२०२०-एस२० अफर’सुरु गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले लक्की ड्र मार्फत कुनै एक भाग्यसाली विजेताले एउटा नयाँ सामसङ ग्यालेक्सी एस२० जित्नेछन् । यो योजना चैत ७ गते देखि चैत २७ गते सम्म लागु हुनेछ । यस योजनामा सेलपेका ग्राहकहरुले न्युनतम २० रुपैयाँको कुनै पनि कारोवार रिचार्ज, युटिलिटी पेमेन्ट, पीटुपी फण्ट ट्रान्सफर (मर्चेन्ट भुक्तानी बाहेक) गरे, लक्की ड्र को लागि एउटा कोड नं. पाउनेछन्, सो कोड नं. लक्की ड्र को लागि छनोट हुनेछ । सोही कोडहरुबाट लक्की ड्र मार्फत कुनै एक भाग्यसाली ग्राहकले एउटा नयाँ सामसङ ग्यालेक्सी एस२० जित्ने मौका पाउनेछन् । यसका कसाथै ७ जना भाग्यसाली ग्राहकहरुले हरेक हप्ता पेलेस, एड्रेस लङज र एक्स-एजबाट विभिन्न उपहारहरु पाउनेछन् । यो योजना नयाँ तथा पुराना दुबै ग्राहकहरुको लागि लागू हुनेछ । जसमा नयाँ ग्राहकहरुले सेलपे एप्प डाउनलोड गरेर आफ्नो बैंक खाता लिंक गरे पश्चात न्युनतम २० रुपैयाँको कुनै पनि कारोवार रिचार्ज, युटिलिटी पेमेन्ट, पीटुपी फण्ट ट्रान्सफर (मर्चेन्ट भुक्तानी बाहेक) को कारोबार गरी यस योजनामा सहभागी हुन पाउनेछन् ।