बाइस वर्षमा नभएका काम दुई वर्षमा भयोः मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले २२ वर्षमा नगरेको काम वर्तमान सरकारले दुई वर्षमै गरिएको दाबी गरेका छन् । “अब तीन वर्षमा नेपाली मनको आत्मविश्वास जाग्ने गरी पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, कृषिमा काम हुनेछ”, उनले भने । मन्त्री बाँस्कोटाले नेपाल भ्रमण वर्ष २०२० विशेष रूपमा मनाउन लागिएको र यसपछिका वर्ष पर्यटनकै वर्ष हुने बताएका छन् । आउँदो दुई वर्षमा वृद्धभत्ता रु पाँच हजार पुर्याइने उनले जानकारी दिए । प्रधानमन्त्री केपी ओलीको दृढता र विश्वासका साथ नीति कार्यक्रम, बजेट, अन्तरराष्ट्रिय सम्बन्धले राष्ट्रिय आत्मविश्वासको जागरण पैदा भएकाले जनताले राम्रो कामलाई राम्रो र नराम्रोलाई खबरदारी गर्न उनले आग्रह गरे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित नमोबुद्ध तिमाल समाजद्वारा नेपाल भ्रमण वर्षका अवसरमा शनिबार आयोजित हाफ म्याराथुन प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपालको पर्यटन पृथ्वी रहेसम्म चलिरहने छ भनेका छन् । मन्त्री बाँस्कोटाले भने, “नेपालमा पर्यटन पृथ्वी रहेसम्म चलिरहन्छ, हामीसँग अथाह प्राकृतिक स्रोत र सौन्दर्य छ ।” पर्यटन वर्षपछि नेपालमा केही हुन्न भनेर पर्यटन व्यवसायीले नसोच्न उनले आग्रह गरे । पर्यटनको विशेषताको रूपमा हिमाल, महाभारत खण्ड, उपत्यका तथा भौगोलिक हिसाबले शेर्पा, तामाङ, बाहुन–क्षेत्री, चौधरी, धिमाल, मेचे, कोचे, अनेकौँ संस्कृति, जाति पहिरन रहेकाले आफ्ना पहिचानलाई पर्यटनको माध्यमले उत्पादनसँग जोड्नुपर्ने मन्त्री बाँस्कोटाले जोड दिए । हरेक क्षेत्रमा स्थानीय कला, संस्कृति र परम्परालाई पर्यटकलाई प्रदर्शन गर्ने व्यवस्थापन गर्नुपर्छ । उनले भने, “हामी हिमाल र ऐतिहासिक धरोहरले विश्वमा परिचित त छौँ नै, तर हामी हाम्रा सम्पूर्ण पर्यटकीय क्षेत्रलाई प्रवद्र्धन गर्नेतर्फ लाग्नेछौँ ।” मन्त्री बाँस्कोटाले नेपालको सयमध्ये काभ्रेपलाञ्चोकमा १९ किलोमिटर महाभारतमा ट्रेकिङ टे«लको बोलपत्र आह्वान भइसकेको जानकारी दिँदै नाला–धुलिखल–नमोबुद्ध–कोटतिमाल–तङसोमकुण्डसम्म बुद्ध परिपथ निर्माण गर्ने योजना बनाइएको बताए । मन्त्री बाँस्कोटाले नमोबुद्ध नपाको दुई र पाँचखाल नपाको तीन वडास्थित १२ हजार रोपनी जमिनमा मदन भण्डारी विश्वविद्यालय निर्माण गरिने, अरनिको राजमार्ग स्तरोन्नति हुने तथा मध्यपहाडी लोकमार्ग यसवर्ष ३९५ किलोमिटर पक्की हुने जानकारी दिए । उनले भने, “सुनकोशी नदीबाट ५३६ मेगावाट बिजुली पनि निकाल्छौँ, हामी काम गर्दैछौँ, विकासको परिणाम आम जनताका हातमा पुर्याउँछौँ ।” वर्तमान सरकारको पहिलो आधार वर्ष, दास्रो शिलान्यास र तेस्रो र आउँदा वर्ष उद्घाटनको वर्ष हुँदै जाने बताए । सो अवसरमा मन्त्री बाँस्कोटाले म्याराथुनमा प्रथम शिवबहादुर रायमाझी, द्वितीय हिमाल कार्की र तृतीय कस राईलाई क्रमशः रु ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । एक्काइस किलोमिटर लामो दूरीको म्याराथुनमा २७ जना सहभागी थिए । रासस

नवीकरणीय ऊर्जा क्षेत्रको अध्ययनका लागि इथियोपियाली विज्ञ नेपालमा

काठमाडौं । नेपालमा नवीकरणीय ऊर्जाका प्रविधि, यसको विकास र विस्तारका लागि लागू गरिएका नीति नियमहरु तथा सरकारी र निजी क्षेत्रको सहभागिताको बारेमा सङ्घीय प्रजातान्त्रिक गणतन्त्र इथियोपियाको एक उच्चस्तरीय प्रतिनिधिमण्डल बृहत अध्ययन गरेको छ । साताव्यापी अध्ययनको क्रममा नेपाल आएको टोलीले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा सञ्चालित परियोजना, विभिन्न प्रविधिहरुको गुणस्तर मापन र नियमनका लागि गठित नवीकरणीय ऊर्जा परीक्षण केन्द्र, नवीकरणीय ऊर्जा कोष परिचान तथा ग्रामीण प्रविधि केन्द्रलगायत विभिन्न गैरसरकारी संस्था र निजी क्षेत्रले गरेका कामहरुका बारेमा पनि अध्ययन गरेको थियो । ठूला क्षमताका जलविद्युत परियोजनाहरु निर्माण गरेसँगै नवीकरणीय ऊर्जाका क्षेत्रमा पनि राम्रो प्रगति हासिल गर्न सफल इथियोपियाली विज्ञ टालीको नेपाल भ्रमणले लगानीका अवसर र ज्ञानको आदानप्रदान गर्न सहयोग पुग्ने नवीकरणीय ऊर्जा परिसङ्घ नेपालका अध्यक्ष गुणराज ढकालले बताए। छोटो समयमै नेपालले नवीकरणीय ऊर्जा क्षेत्रमा निकै प्रगति गरेको र यहाँको नीति, सरकारी, गैरसरकारी एवम् निजी क्षेत्रको सहभागिता निकै सह्राहनीय भएको बताउँदै यसबाट आफ्नो देशले धेरै कुरा सिक्न पाएको टोली प्रमुख जलश्रोत, सिँचाइ तथा ऊर्जा मन्त्रालयका टेसफाए एलेमाएहुले भने । संयुक्त राष्ट्रसङ्घीय पूँजी विकास कोष इथियोपियाको आयोजना र नवीकरणीय ऊर्जा परिसङ्घ नेपालको व्यवस्थापनमा आएको अध्ययन टोलीमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका तीन र जलश्रोत, सिँचाइ तथा ऊर्जा मन्त्रालयका १२ जना गरी १५ जनाको सहभागिता थियो । भ्रमण पूरा गरी अध्ययन टोली शनिवार स्वदेश फर्किएको छ । रासस

टेलिकमद्वारा खेलाडीहरुका लागि सम्मान तथा गिफ्ट प्याकेज उपलब्ध

काठमाडौं । नेपाल टेलिकमले पोखरामा हुने पोखरा प्रिमियर लिग (पीपीएल) को सह–प्रायोजक बन्ने र खेलाडीहरुलाई सम्मान तथा विभिन्न गिफ्ट प्याकेज उपलब्ध गराउने भएको छ । पोखरामा मंसिर २८ गतेदेखि पुस १२ गतेसम्म चल्ने पीपीएलका १५ वटा लिग, एक–एकवटा क्वालिफायर र फाइनल गरी कूल १७ खेलमा सहभागी खेलाडीहरुलाई कम्पनीले विभिन्न सम्मान र गिफ्ट प्याकेज उपलब्ध गराउने विज्ञप्तिमा जनाएको छ । लिगका प्रत्येक खेलका उत्कृष्ट खेलाडीहरुलाई कम्पनीले ‘नेपाल टेलिकम म्यान अफ द म्याच’ उपाधि प्रदान गर्नेछ । ती खेलाडीलाई पुरस्कारका रुपमा १२ जीबीको डाटा प्याक र नेपाल टेलिकमको नेटवर्कमा कल गर्न सकिने गरी १ हजार १ सय मिनेटको टक भ्याल्यु भएको भ्वाइस प्याक उपलब्ध गराइने छ । त्यसैगरी प्रत्येक खेलका एक जना खेलाडीलाई ‘गेम चेन्जर अफ द डे’ उपाधि प्रदान गरिने छ । ती खेलाडीलाई १२ जीबी डाटा र ४ सय ९० मिनेट टक भ्याल्यु भएको भ्वाइस प्याक उपलब्ध गराइने छ । एक जना खेलाडीलाई ‘एनटी फोरजी फास्टेस्ट बलर अफ द टुर्नामेन्ट’ उपाधि प्रदान गरिने छ । ती खेलाडीलाई १ सय ४४ जीबी डाटा प्याक र ५ हजार ८ सय ८० मिनेटको भ्वाइस प्याक उपलब्ध गराइने छ । उल्लेखित सुविधा पीपीएल आयोजक समितिले उपलब्ध गराएका खेलाडीका नेपाल टेलिकमका मोबाइल नम्बरमा प्रदान गरिने छ ।