नास आईटीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न, गौरवराज पाण्डे अध्यक्षमा निर्वाचित

काठमाडौं । नेपाल एशोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास-आईटी) ले आफ्नो तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।  काठमाडौंको होटल सोल्टीमा आयोजित यस सभामा सदस्य कम्पनीका प्रतिनिधि, बोर्ड सदस्य र प्रमुख सरोकारवालाहरूको उपस्थिति थियो । सभाले गत वर्षका उपलब्धिहरूको समीक्षा गर्नुका साथै आगामी वर्षका लागि नयाँ कार्यसमिति पनि चयन गरेको छ । साधारण सभाले ईके सोलुसन्सका सीईओ गौरवराज पाण्डेलाई यस वर्षको अध्यक्षमा नियुक्त गरेको छ ।  नवगठित कार्यसमितिमा लोगपोइन्टका राष्ट्र निर्देशक दीपेन चापागाईं उपाध्यक्ष, अम्निल टेक्नोलोजिजकी सीओओ आलिशा श्रेष्ठ महासचिव र गोक्यो ल्याब्सका सह-संस्थापक अभया पौडेल कोषाध्यक्षको जिम्मेवारीमा रहेका छन् । कार्यसमितिका अन्य कार्यकारी सदस्यहरूमा लिपफ्रग टेक्नोलोजिजका एसभीपी कैलाश राज बिजयानन्द, एमिनेन्स वेजका प्रबन्ध निर्देशक नारायण कोइराला, बीआईसी टेक्नोलोजिजकी सह(संस्थापक प्रार्थना साखा, क्विकफक्स टेक्नोलोजिजका सीईओ रिचन श्रेष्ठ र तत्कालीन अध्यक्ष सन्तोष कोइराला रहेका छन् । गत वर्ष नास आईटीले सूचना प्रविधि (आईटी) क्षेत्रको विकासका लागि महत्त्वपूर्ण नीतिगत वकालत गर्दै सरकारसँग विभिन्न छलफलहरू सञ्चालन गरेको थियो ।  यसको परिणाम स्वरूप, संघले आईटी सम्बन्धी ऐन, निर्देशिका र नियमावलीमा भएका परिवर्तनहरूलाई नजिकबाट नियाल्दै उद्योगको पक्षमा आवाज उठाएको थियो ।  संघले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व बढाउँदै महाकुम्भ आईटी कार्यक्रम, वर्ल्ड आईटी शो र एपीआईसीटीए अवार्ड्स २०२४, ब्रुनाई जस्ता प्रतिष्ठित कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाएको थियो ।  यसबाहेक नेपाल र यूकेबीचको प्राविधिक सम्बन्ध सुदृढ पार्ने पहलहरूमा पनि नास आईटीको महत्त्वपूर्ण भूमिका रहेको थियो । संस्थाको अर्को प्रमुख प्राथमिकता कौशल र दक्षता विकास रहेको छ। यस अन्तर्गत, नास आईटीले युवा पेशेवरहरूलाई प्रविधि क्षेत्रमा तयार पार्न ‘करिअर कम्पास’ कार्यक्रम, ‘आईटी करियर कार्यशाला’, र विभिन्न तालिम तथा कोर्सहरू सञ्चालन गरेको छ ।  यसले उद्योग पहिचान र सहकार्यलाई प्रवर्द्धन गर्दै साइबर सुरक्षा समिति गठन गरेर उद्योगको क्षमता र सुरक्षा अभ्यासलाई मजबुत बनाउन पनि योगदान पुर्याएको छ। अन्त्यमा, संघले नेपालको आईटी उद्योगलाई विश्वस्तरीय अवसरहरू सिर्जना गर्ने र नवप्रवर्तन तथा उद्यमशीलतालाई प्रोत्साहित गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ। नेपाल एशोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास-आईटी) नेपालमा आईटी उद्योगको विकास र प्रवर्धनमा समर्पित गैर-नाफामूलक संस्था हो । यसले आईटी व्यवसायहरूको लागि अनुकूल वातावरण सिर्जना गर्न, नवप्रवर्तनलाई प्रोत्साहन गर्न र आईटी पेशेवरहरूको क्षमता विकास गर्न काम गर्दै आइरहेको छ ।  

डिशहोम ग्राहकका लागि मेलुङ थकालीमा १० प्रतिशत छुट

काठमाडौं । डिशहोमले नेपालकै चर्चित थकाली रेस्टुरेन्ट चेन मेलुङ थकाली सँग साझेदारी गर्दै आफ्ना ग्राहकका लागि विशेष छुटको व्यवस्था गरेको छ । अब सक्रिय डिशहोम प्रयोगकर्ताले भर्चुअल प्रिभिलेज कार्डमार्फत मेलुङ थकालीका सबै आउटलेटहरूमा १० प्रतिशत छुट पाउनेछन् । मेलुङ थकालीका एअरपोर्ट, गठ्ठाघर, बानेश्वर, बौद्ध र बालुवाटारमा पाँच शाखा सञ्चालनमा रहेका छन् भने अन्य नयाँ शाखा विस्तारको तयारी भइरहेको कम्पनीले जनाएको छ । यस साझेदारीसँगै ग्राहकले आफ्ना मनपर्ने थकाली परिकार छुटसहित उपभोग गर्न सक्ने सुविधा पाउनेछन् । छुट लिनका लागि ग्राहकले माइ डिशहोम एप प्रयोग गर्नुपर्नेछ । एपमार्फत आफ्नो मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी लग–इन गरी होमपेज वा प्रोफाइल सेक्सनबाट भर्चुअल प्रिभिलेज कार्ड देखाएर मेलुङ थकालीमा छुट प्राप्त गर्न सकिनेछ । यस सम्झौतामा मेलुङ थकालीका सह–संस्थापक बसन्त लामा र डिशहोमका चिफ न्यु प्रोडक्ट डेभलपमेन्ट एन्ड इन्टिग्रेसन अफिसर सबिन महर्जनले हस्ताक्षर गरेका छन् । साझेदारीलाई विशेष अर्थपूर्ण बताउँदै डिशहोमकी सीईओ तारा मानन्धरले भनिन्, 'यो सहकार्यले नेपालका लोकप्रिय थकाली परिकारलाई ग्राहकको दैनिक जीवनसँग अझ नजिक बनाउने हाम्रो प्रतिबद्धतालाई प्रकट गर्छ ।' डिशहोमले आफ्ना भर्चुअल प्रिभिलेज कार्डमार्फत डाइनिङ, आतिथ्य, यात्रा र लाइफस्टाइल क्षेत्रमा विशेष सुविधा उपलब्ध गराउँदै आएको छ । कम्पनीले आगामी दिनमा थप ब्रान्डहरूलाई यस कार्यक्रममा समावेश गर्ने तयारी गरेको जनाएको छ ।

फोहरमैला व्यवस्थापनका गर्न ‘सफ्टवेयर’ प्रणाली सार्वजनिक

काठमाडौं । नेपाल टेक मार्केटले नेपालको फोहरमैला व्यवस्थापनका लागि आधुनिक (स्मार्ट) ‘सफ्टवेयर’ प्रणालीको सार्वजनिक गरेको छ । आधुनिक प्रविधिको विकास सँगसँगै सहरी सरसफाइका लागि सहजता ल्याउने अभिप्रायले सोलिड वेष्ट एशोसियशन म्यानेजमेन्ट नेपाल, अपकोड नेपाल र नेपाल टेक मार्केटको सहकार्यमा फोहर व्यवस्थापन प्रणाली सार्वजनिक गरिएको नेपाल टेक मार्केटका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी अधिकारीले जानकारी दिए । 'यो पहल केवल प्रविधि मात्र होइन, सामाजिक जिम्मेवारीसँग जोडिएको हाम्रो सामूहिक सङ्कल्प हो, फोहर समस्या मात्र होइन, यसलाई सदुपयोग गरेर पुनः प्रयोग गर्ने, पुनःचक्रण गर्ने, नयाँ प्रविधि ल्याउने र दीगो समाधान सिर्जना गर्ने सुनौलो अवसर हो,’ अधिकारीले भने ।  उनले यो प्रणाली उपभोक्ताको आवश्यकता र बजारको मागलाई ध्यानमा राखेर विकसित गरिएको बताए । यस प्रणालीमा कृत्रिम बुद्धिमत्ताको प्रयोग गरिएको जानकारी दिँदै यसले फोहर व्यवस्थापनलाई अझ प्रभावकारी र सहज बनाउने विश्वास व्यक्त उनले गरे ।  आइतबार ललितपुरमा आयोजित कार्यक्रममा फोहर व्यवस्थापन प्रणाली बारे जानकारी दिँदै अपकोड नेपालका वरिष्ठ सफ्टवेयर इञ्जिनियर मङ्गल कृष्ण प्रधानले फोहरमैला व्यवस्थापन प्रणालीलाई प्रयोगकर्ता मैत्री बनाउन नवीनतम् प्रविधि र विश्वव्यापी प्रचलन समावेश गरिएको बताए ।  ‘यो प्रणाली बलियो, सुरक्षित र प्रयोग गर्न सजिलो छ, यसले फोहर सङ्कलन र व्यवस्थापनलाई अझ प्रभावकारी बनाउँछ, नेपालको भविष्यको नीति कागजमा मात्र होइन, सपना देख्ने, सिर्जना गर्ने र सहकार्य गर्ने हाम्रा हातमा लेखिन्छ, आज हामी केवल एउटा सफ्टवेयरको विकास मात्रै गरिरहेका छैनौँ, एउटा व्यवस्थापन प्रणालीको विकास गरेर सुन्दर र सुखी भविष्यका लागि अभियान सुरु गर्छौँ । सुन्दर र सफा शहरको दीगो विकासको लागि सचेतनाका लागि नागरिकको अभियानलाई सफल बनाउन लागि रहेका छौँ,’ उनले भने । इञ्जिनियर प्रधानका अनुसार यो फोहर व्यवस्थापन सफ्टवेयरको सम्भावित प्रयोगकर्ताहरू फोहरमैला व्यवस्थापनमा काम गर्ने संस्था, घरायसी फोहर उत्पादन गर्ने, हस्पिटल, होटल, व्यवसायी, विद्यालय, सरकारी संस्था आदि यो सफ्टवेयरका प्रयोगकर्ता हुन् ।य स सिस्टममार्फत प्रत्येक फोहर व्यवस्थापन गर्ने कम्पनी, फोहर उत्पादन गर्ने सङ्घ संस्था, घरबीच अन्तर सम्पर्क गर्न सकिनेछ । फोहर व्यवस्थापन गर्न लाग्ने शुल्कको अनलाइन भुक्तानी गर्नु साथसाथै यो सिस्टमले नगरपालिकाको लागि छुट्टै ड्यास बोर्ड उपलब्ध गराएको छ। नगरपालिकाका युजरबाट आफ्नो नगर वडामा फोहर व्यवस्थापनका के-के गतिविधिहरू भइरहेको छ भनेर थाहा पाउन सक्नेछ । यो फोहर व्यवस्थापन प्रणालीले नेपालमा फोहर व्यवस्थापनको क्षेत्रमा नयाँ आयाम थप्ने लक्ष्य राखेको उनले जानकारी गराए । यो प्रणालीमा फोहर बोक्ने सवारीमा जिपिएस प्रणालीको उपयोग, फोहोरको वर्गीकरणअनुसार व्यवस्थित पुनः उपयोगलाई जोड दिने जानकारी गराइएको छ । नेपाल टेक मार्केटका प्रमुख व्यावसायिक अधिकृत सुष्मिता पौडेलले यस प्रणालीले प्रयोगकर्ताबाट सकारात्मक प्रतिक्रिया पाएको बताइन् ।  ‘प्रविधिको उपयोगबाट हुने डिजिटल रुपान्तरणले जनजीवनलाई सहज बनाउँदै हरेक घर घरलाई फोहरको वर्गीकरण गर्न प्रेरित गर्छ, यसले स्थानीय तहको कार्यक्षमता बढ्छ । सफा सहर कायम गर्दै समुदायलाई सबल बनाउन प्रेरित गर्छ,’ उनले भनिन् ।  यस अभियानले नीति निर्माता, नगरपालिका, निजी क्षेत्र, नवप्रवर्तनकर्ता र समुदायलाई एकताबद्ध गराउँदै सफा र सुन्दर सहर निर्माणतर्फ ठोस कदम चाल्ने लक्ष्य राखेको जनाइएको छ । यो प्रणालीमार्फत ‘सफा सहर अभियान’ लाई दीर्घकालीन पहलको रूपमा स्थापित गर्ने, फोहर व्यवस्थापन प्रणाली नीति तथा रणनीतिक संवादलाई प्रवर्द्धन गर्ने, पुनःचक्रण उद्योग र हरित रोजगारीका अवसर उजागर गर्ने, विद्यालय र समुदायमार्फत नागरिकलाई सक्रिय बनाउने, अन्तर्राष्ट्रिय अभ्यासलाई नेपालमा लागू गर्ने र सञ्चारमाध्यममार्फत प्रभाव सिर्जना गर्ने लक्ष्य राखिएको नेपाल टेक मार्केटका प्रमुख कार्यकारी अधिकृत अधिकारीले जानकारी गराए ।