अमेरिकी कार्यस्थलमा युवा कामदारहरू एआई प्रतिस्थापनको जोखिममा : अध्ययन
काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) ले अमेरिकामा २२ देखि २५ वर्ष उमेर समूहका कर्मचारीहरूलाई विस्थापित गर्न थालेको छ र सन् २०२२ को अन्त्यदेखि एआई–सम्बन्धित व्यवसायहरूमा रोजगारी १३ प्रतिशतले घटेको देखिएको छ । यो अध्ययन स्ट्यानफोर्ड विश्वविद्यालयका अर्थशास्त्री एरिक ब्रिनजोल्फसन, भारत चन्द्र र रुयु चेनले संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो पेरोल प्रोसेसिङ कम्पनी अटोमेटिक डाटा प्रोसेसिङको तथ्याङ्क प्रयोग गरी गरेका हुन् । अध्ययनले सन् २०२५ जुलाईसम्मका दशौँ हजार कम्पनीको रोजगारी ढाँचा ट्र्याक गरेको थियो । अध्ययनको निष्कर्षले पहिलो पटक ठूला स्तरमा च्याटजिपिटीजस्ता उत्पादक एआई उपकरणहरूले रोजगार बजारलाई पुनःआकार दिइरहेको प्रमाण प्रस्तुत गरेको छ । अध्ययनमा भनिएको छ, 'जेनेरेटिभ एआईलाई व्यापक रूपमा अपनाएपछि सबैभन्दा बढी एआई–सम्बन्धित व्यवसायहरूमा प्रारम्भिक क्यारियरका कामदारहरूले कम्पनी स्तरका अन्य प्रभावहरू नियन्त्रण गरिसकेपछि पनि रोजगारीमा १३ प्रतिशत गिरावटको अनुभव गरेका छन् ।' यसमा जागिर कटौती नै मुख्य कारण रहेको र तलब कटौती माध्यमिक भएको उल्लेख गरिएको छ । यी परिवर्तनहरूको सबैभन्दा ठूलो असर युवा सफ्टवेयर विकासकर्ताहरू र ग्राहक सेवा प्रतिनिधिहरूले बेहोरेका छन् । बाइसदेखि २५ वर्ष उमेरका सफ्टवेयर विकासकर्ताहरूको रोजगारी सन् २०२२ को अन्त्यमा देखिएको शिखर अवस्थाबाट झण्डै २० प्रतिशतले घटेको छ भने सोही पेशामा वृद्ध कामदारहरूको रोजगारी स्थिर वा बढ्दो देखिएको छ । लेखकहरूले एआई–प्रभावित रोजगारीमा युवा कामदारहरूको गिरावटलाई समग्र कार्यबलमा हुने आगामी ठूलो परिवर्तनको प्रारम्भिक चेतावनी सङ्केतका रूपमा व्याख्या गरेका छन् । शोधकर्ताहरूले ३५ देखि ५० लाख कामदारको मासिक पेरोल रेकर्डको विश्लेषण गर्दै रोजगारी वर्गीकरणलाई अघिल्लो शैक्षिक अध्ययनहरूद्वारा परिभाषित एआई एक्सपोजर सूचकसँग जोडेका छन् । नतिजामा, एआईले कार्य स्वचालित गर्ने व्यवसायहरूले रोजगारीमा तीव्र गिरावट भोगे भने एआईले मानव क्षमतामा सहयोग गर्ने कामहरूले निरन्तर वृद्धिको अनुभव गरे । यो समय सन् २०२२ नोभेम्बरमा च्याटजिपिटीको सुरु हुने अवधिसँग मेल खान्छ, जसले अमेरिकी कार्यस्थलहरूमा एआई उपकरणहरूको तीव्र प्रयोगलाई गति दियो । सन् २०२५ को मध्यसम्ममा, अमेरिकी सर्वेक्षणमा सहभागीमध्ये ४६ प्रतिशतले आफ्ना कार्यस्थलमा ठूला भाषा मोडेल प्रयोग गरेको बताएका छन् । यद्यपि अध्ययनले एआईको प्रभाव व्यवसायको प्रकारअनुसार निकै फरक पर्ने देखाएको छ । स्वास्थ्य सहयोगी, नर्सिङ सहायक र अन्य कम एआई–प्रभावित भूमिकाहरूमा युवा कामदारहरूको रोजगारी बढेको छ । एआईले मुख्यतया विद्यालयमा सिकाइने संहिताबद्ध ज्ञानलाई प्रतिस्थापन गर्छ, तर कार्य अनुभवबाट प्राप्त मौन ज्ञानलाई भने प्रतिस्थापन गर्न सक्दैन भन्ने शोधकर्ताहरूको सुझाव छ । रासस
डिशहोम र चन्द्रागिरी हिल्सबीच साझेदारी, भर्चुअल प्रिभिलेज कार्डमार्फत छुट सुविधा
काठमाडौं । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्डमार्फत नेपालकै प्रमुख पर्यटन गन्तव्य चन्द्रागिरी हिल्ससँग साझेदारी गरेको छ । यस साझेदारीअन्तर्गत सक्रिय डिशहोम ग्राहकहरूले चन्द्रागिरी केबलकार टिकटमा १० प्रतिशत छुट पाउने भएका छन् । काठमाडौं उपत्यकाको सुन्दर दृश्य, ऐतिहासिक महत्व र प्राकृतिक सौन्दर्यका कारण प्रसिद्ध चन्द्रागिरी हिल्स सहजै पुग्न सकिने पर्यटन गन्तव्य मानिन्छ । डिशहोमसँगको यो सहकार्यपछि ग्राहकहरूले छुटसहित चन्द्रागिरीको अनुभव लिन सक्ने अवसर पाउने भएका छन् । कम्पनीका अनुसार ग्राहकहरूले छुट पाउनका लागि ‘माइ डिशहोम एप’ प्रयोग गर्नुपर्नेछ । एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरेर लग–इन गर्न सकिन्छ । त्यसपछि होमपेज वा प्रोफाइल सेक्सनमा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड देखाएर चन्द्रागिरी केबलकार टिकट खरिद गर्दा छुट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । यस सम्झौतामा चन्द्रागिरी हिल्सका सेल्स एण्ड मार्केटिङ प्रमुख प्रभाकर खड्का र डिशहोमका चिफ न्यु प्रोडक्ट डेभलपमेन्ट एन्ड इन्टिग्रेसन अफिसर सबिन महर्जनले हस्ताक्षर गरेका छन् । सम्झौता अवसरमा डिशहोमका सीईओ तारा मानन्धरले यो साझेदारीले ग्राहकलाई केवल डिजिटल सेवामा मात्र सीमित नगरी नेपालका उत्कृष्ट पर्यटन अनुभवमा पनि छुटसहित पहुँच दिने बताए । डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रममार्फत हाल डाइनिङ, आतिथ्य, यात्रा, मनोरञ्जन र लाइफस्टाइल क्षेत्रमा विभिन्न छुट उपलब्ध छन् । कम्पनीले आगामी दिनमा थप शीर्ष ब्रान्डहरूलाई पनि यस योजनामा सहभागी गराउने लक्ष्य लिएको छ ।
एआई कोर्षमा विद्यार्थीको आकर्षण, कति लाग्छ खर्च ?
काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) मानव जीवनको एक अभिन्न अंगजस्तै भइसकेको छ । कुनै पनि विषयमा जिज्ञासा भयो वा त्यसको कुनै चित्त बुझ्दो जवाफ आएन भने सबैभन्दा पहिले एआईलाई सोध्ने अभ्यास बढिरहेको छ । ओपनएआईको च्याटजीपीटी, एक्सएआईको ग्रोक, गुगलको जेमिनाई, क्लाउडी एआई र चिनियाँ एआई डीपसीक लगायतका एआईले जिज्ञासुको जिज्ञासा सजिलै मेटाइदिन्छन् । सूचना र प्रविधि क्षेत्रमा एआईको विकास तीव्र भएसँगै नेपालमा पनि विद्यालय तथा कलेजहरूले एआई विषय पढाउन सुरु गरेका छन् । जसमा विद्यार्थीको आकर्षण निकै बढिरहेको बुझिएको छ । आज हामीले एआई पढाउने विद्यालय तथा कलेजको बारेमा चर्चा गर्दैछौं । सनवे कलेज सूचना प्रविधि क्षेत्रमा १५ वर्षदेखि जनशक्ति उत्पादन गर्दै आइरहेको कलेज हो सनवे कलेज । काठमाडौंको मैतीदेवीमा रहेको यो कलेजले पछिल्लो समय एआईसँगै कम्प्युटर साइन्सकाे कक्षा सञ्चालन गरिरहेको छ । स्नातक तहमा एआई विषयमा दक्ष एक सयभन्दा बढी विद्यार्थी बर्सेनि बजारमा पठाउँदै आएको दावी कलेजको छ। २०२२ सालदेखि एआई विषय पढाउन सुरु गरेको कलेजले गत वष ११२ विद्यार्थी भर्ना गरेको थियो । अहिले पनि ब्याचलरमा भर्ना कार्यक्रम जारी रहेको कलेजले जनाएको छ । ‘यहाँ यति सिटमात्र विद्यार्थी लिन पाइन्छ भन्ने छैन, कम्तीमा एक सय बढीमा जति विद्यार्थी पढ्न आउनुहुन्छ, उहाँहरू सबैलाई हामी पढाउँछौं,’ एडमिसन शाखामा कार्यरत निशा गौतम भन्छिन्, ‘यो वर्षको लागि अहिले भर्ना जारी छ, विद्यार्थीहरू भर्नाको लागि आइरहनुभएको छ ।’ यो कलेजले अब छिट्टै स्नातकोत्तरका पनि एआई कोर्ष सुरु गर्ने योजना बनाएको छ । कलेजका अनुसार यो विषयमा विद्यार्थीको आकर्षण बढेसँगै स्नातकोत्तरमा पनि कार्यक्रम सुरु हुन लागेको छ । कलेजले विद्यार्थीलाई पढाउनेमात्र नभई जब प्लेसमेन्ट सुविधा पनि दिइरहेको छ । विभिन्न ६० बढी कम्पनीसँग साझेदारी गर्दै काम सुरु गरेको छ । यो कोर्ष पूरा गर्न एउटा विद्यार्थीले करिब १० लाख रुपैयाँ तिनुपर्ने हुन्छ । सफ्टवेरिका कलेज डिल्लीबजारमा रहेको सफ्टवेरिका कलेज पनि एआई पढाउँदै आइरहेको छ । यो कलेजले सन् २०२१ सालदेखि स्नातक तहमा एआई पढाउन सुरु गरेको थियो । बदलिँदो विश्वको परिवेश र नागरिकको जीवनलाई मध्यनजर गर्दै एआई पढाउन सुरु गरेको विषयमा अहिले थप विद्यार्थीको आकर्षण बढेको कलेजले जनाएको छ । २.४ जीपीए ल्याएको विद्यार्थीले पनि सफ्टवेरिकामा एआई पढ्न पाउँछन् । कलेजले कुनै सीमित विषय पढेका विद्यार्थीलाई मात्र यो विषय पढ्न पाइने भन्ने नरहेको कलेजका बजार रणनीति म्यानेजर सुमन बस्यालले बताए । सफ्टवेरिकामा तीन वर्षीय स्नातक कोर्स छ । यो कोर्स पुरा गर्न एक जना विद्यार्थी १३ लाख रुपैयाँ खर्च गर्नुपर्छ । कलेजले विभिन्न किसिमका छात्रवृत्तिको पनि व्यवस्था गरेको छ । लुम्बिनी प्राविधिक विश्वविद्यालय आईटी क्षेत्रमा शिक्षा दिँदै आइरहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयले तीन वर्ष अगाडिदेखि एआई पढाउन सुरु गरेको छ । विश्वविद्यालयमा ४८ जनाको सिट निर्धारण गरिएको छ । पहिलो वर्ष १६ जना विद्यार्थी भर्ना भएकोमा दोस्रो वर्ष बढेर २० पुगेको थियो । यो वर्ष भर्ना खुलेको दुई सातामै ४० जना विद्यार्थी आइसकेको लुम्बिनी प्राविधिक विश्वविद्यालयले जनाएको छ । ‘हामीसँग अझै केही सिट बाँकी छ, भर्ना जारी राखेका छौं । अरू विद्यार्थी पनि आउनुहुन्छ भन्ने अपेक्षा छ,’ विश्वविद्यालयका कम्प्युटर अपरेटर प्रकाश चौधरीले भने । लुम्बिनी प्राविधिक विश्वविद्यालयमा यो कोर्ष चार वर्षमा पुरा हुन्छ । चार वर्षमा पूर्ण शुल्क तिरेर पढ्ने विद्यार्थीले पाँच लाख रुपैयाँभन्दा बढी तिर्नुपर्छ । तर प्रायः सबै विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको विश्वविद्यालयको दाबी छ । चौधरीका अनुसार १२ जना विद्यार्थीलाई ७५ प्रतिशत छुट दिइएको छ भने १३ देखि २० सम्म र्याङ्किङ भएका विद्यार्थीलाई पनि ५० प्रतिशत छुट दिदाँ धेरै खर्च नलाग्ने उनको भनाइ छ । इस्लिङटन कलेज सूचना तथा प्रविधि क्षेमा विद्यार्थी उत्पादन गर्दै आइरहेको इस्लिङटन कलेजले एआई विषय पढाउन थालेको चार वर्ष भयो । अहिले १ सय ६० जना विद्यार्थी भर्ना भइसकेका छन् । गत वर्ष १ सय ३० जना विद्यार्थी भर्ना भएका थिए भने पहिलो वर्ष ३० जना विद्यार्थी भर्ना भएका थिए । यो कलेजमा कोर्ष पुरा गर्न तीन वर्ष लाग्छ । यो कोर्ष पढ्ने विद्यार्थीमध्ये ६० प्रतिशत ग्राजुएट हुनेबित्तिकै जागिर सुरु गर्ने भएकाले पनि यसमा रुचि बढेको हुनसक्ने एआई कोर्ष लिडर दिपेश्वर सिलवाल बताउँछन् । यो कलेजले तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै कसरी काम खोज्ने, कस्तो कम्पनीमा इन्टर्न गर्ने भन्ने विषयमा सिकाउँछ । यसका लागि केही कम्पनीसँग साझेदारी पनि गरेको छ । यसमा विद्यार्थीले इन्टर्नसिप गर्छन् भने यसैबाट जागिर पनि उनीहरूले पाउने गर्छन् । काठमाडौं विश्वविद्यालय एआई विषयमा विद्यार्थीको रुचि बढेसँगै काठमाडौं विश्वविद्यालयले अहिले सिट संख्या समेत बढाएको छ । पहिले काभ्रेको पाँचखालमा ३० जनालाई अध्ययन गराउँदै आएको केयुले अहिले धुलिखेलमा सारेर ६० जना विद्यार्थी पढाउन थालेको छ । केयुले विद्यार्थीको संख्या अझै बढे पहिले अध्ययन भइरहेको ठाउँमा पनि विद्यार्थी पढाउन मिल्ने गरी व्यवस्थापन गर्ने तयारी भइरहेको डिपार्टमेन्ट अफ एआई प्रमुख डा. मनोज शाक्यले बताए । उनका अनुसार केयुमा एआई विषय पढ्ने विद्यार्थीले प्लस टुमा फिजिक्स, केमेस्ट्री र म्याथ लिएर पढेको हुनुपर्छ । अथवा कम्प्युटर साइन्स गरे पनि हुन्छ । द ब्रिटिस कलेज ब्रिटिस कलेजले स्नातक तहको बिएस्सी कम्प्युटर साइन्सअन्तर्गत एआई अध्ययन गराउँदै आएको छ । युनिभर्सिटी अफ वेस्ट अफ इङ्ल्याण्डको सहकार्यमा कलेजले कार्यक्रम सुरु गरेको हो । कलेज प्रशासनका अनुसार यो कलेजमा पनि एआई पढ्ने विद्यार्थीको संख्या अहिले बढ्दै गएको छ । चार वर्षे यो कोर्स पुरा गर्न विद्यार्थीले करिब २० लाख रुपैयाँसम्म तिर्जुपर्ने हुन्छ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्विद्यालय एआईप्रति विद्यार्थीको रुचि बढेपछि मकवानपुरको चित्लाङमा रहेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्विद्यालयले स्नातक तहमा पनि कार्यक्रम सुरु गर्ने योजना बनाएको छ । स्नातकोत्तर र पीएचडीमा एआई विषय पढाउँदै आएको विश्वविद्यालयले ब्याचलरका कार्यक्रम सुरु गर्ने योजना बनाएको छ । स्नातकोत्तरको पहिलो ब्याचमा ९ जना विद्यार्थी भर्ना भएकोमा दोस्रो ब्याचमा संख्या बढेर १२ जना अध्ययन गरिरहेका छन् भने पीएचडीमा दुईजना विद्यार्थी अध्ययन गरिरहेका छन् । विश्वविद्यालयले बढीमा १६ जना विद्यार्थीलाई मात्र भर्ना गर्न सक्छ । एआई विभाग प्रमुख राजीब सुब्बा भन्छन्, ‘हामीले धेरै विद्यार्थी लिनुभन्दा पनि कम र क्वालिफाइड विद्यार्थीलाई मात्र भर्ना गर्छौं, हामी अनुसन्धान बेसमा काम गर्ने भएकाले अरूभन्दा फरक छौं ।’ यहाँ अध्ययन गर्ने विद्यार्थीले दुई वर्षको कोर्ष पुरा गर्न डेढ लाख खर्च गर्नुपर्छ । एआईमा विद्यार्थीको आकर्षण बढ्दै एआई विषय पढाइरहेका सबै कलेजले विद्यार्थीको सिट संख्या बढाएका छन् । यो विषयमा विद्यार्थीको रुचि बढेसँगै सिट संख्या पनि बढाएको कलेजहरू बताउँछन् । विश्वमा एआई हाबी भइरहेको बेला नेपाली शिक्षा पनि यहीअनुसार अघि बढ्न सक्नुपर्ने कलेजहरूको टिप्पणी छ । विश्व परिवेशलाई मध्यनजर गर्दै सञ्चालन गरिएका कोर्षमा विद्यार्थीको रुचि बढ्दै गइरहेको हो । विभिन्न कलेजले सञ्चालन गरिरहेका एआई कोर्षहरू फरकफरक छन् । कतिपय कलेज, विश्वविद्यालयले तीन वर्षे र कतिपयले चार वर्षे कोर्सहरू सञ्चालन गरिरहेका छन् । एआई विषय पढ्न म्याथम्याटिक्स, स्टाटिस्टीक, प्रोग्रामिङ र डाटा स्ट्रक्चर्स, आर्टिफिसिएल इन्टेलिजेन्स फन्डामेन्टल, मेसिन लर्निङ, एआई एपिल्केसन कम्प्युटर भिजन लगायत एआईसँग सम्बन्धित सबै विषयहरू पढ्नुपर्छ भने साथै रिसर्च मेथड पनि पढ्नुपर्छ । विद्यार्थीहरू उद्यमी बनून, आफ्नो काम आफै गरून्, जागिरभन्दा पनि आफ्नै बिजनेस गरून् भन्ने हिसाबले उद्यमशीलता पनि पढाउने गरेको कलेजहरूको प्रतिक्रया छ । एआई कोर्सभित्र २० वटा विषय पढाइ हुने गरेको सफ्टवेरिका कलेजका मार्केट स्टाटेजी म्यानेजर सुमन बस्यालले बताए । नेपालमै अवसर अहिले सूचना प्रविधिको बजार ठूलो छ । हरेक कम्पनीमा प्रविधिको विकास बढ्दो छ । सफ्टवेयर डेभलप गर्न, डेटा एनालाइज गर्न र सफ्टवेयर इन्जिनियरिङको काम पनि एआई पढेका विद्यार्थीले गर्न सक्छन् । एआई पढेका विद्यार्थीलाई अहिले नेपालमा पनि थुप्रै अवसर रहेको केयुको एआई विभागका प्रमुख डा. शाक्य बताउँछन् । नेपालमा पनि एआईको कम्पनी छ । एआई रिसर्चरदेखि लिएर डेटा साइन्स डेभलपर, डेटा साइन्स इन्जिनियर, विभिन्न काम नेपालमै भइरहेका छन् । यस्ता विद्यार्थीले यो क्षेत्रमा काम गर्न पाउँछन् ।