एनटीसीले बिलिङको ठेक्का प्रतिबन्धित कम्पनीलाई दिन लागेपछि अख्तियारमा उजुरी, अनियमितताको आशंका
काठमाडौं । नेपाल टेलिकमले आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रमा फेरि अनियमितता भएको भन्दै अख्तियार अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । टेलिकमले खरिद गर्न लागेको नयाँ बिलिङ प्रणालीसम्बन्धी बोलपत्रमा सीमित विवादित र प्रतिबन्धित कम्पनीलाई ठेक्का दिने तयारी भइरहेको भन्दै आयोगमा उजुरी परेको हो । अधिवक्ता विक्रम थापाले उजुरी दर्ता गरेका छन् । उनले टेलिकमको बिलिङ प्रणाली सधैं विवादित रही आएको र अहिले पनि आह्वान गरेको रियल टाइम बिलिङ प्रणालीको अन्तर्राष्ट्रिय बोलपत्र आव्हान गरेर चिनियाँ विवादित कम्पनी हुवावेलाई ठेक्का दिने अन्तिम तयारी रहेको उल्लेख गर्दै उजुरी दर्ता गराएका हुन् । उनले उजुरीमा अमेरिकी प्रतिबन्धमा परेको चिनियाँ कम्पनी हुवावेलाई ठेक्का दिन लागेको उल्लेख गरेका हुन् । यसलेसार्वजनिक खरिद ऐनको उल्लंघन मात्र नभई राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशीलतामा समेत गम्भीर प्रश्न उठाएको उल्लेख उनले उजुरी पत्रमा गरेका छन् । उनले टेलिकमले बिलिङ प्रणाली र नेटवर्क प्रणाली एउटै कम्पनीमार्फत लिएको पनि उल्लेख गरेका छन् । जसले स्वार्थको द्वन्द्व हुने बताएका छन् । अन्तर्राष्ट्रिय अभ्यासअनुसार यी दुई प्रणालीका आपूर्तिकर्ता अलग हुनुपर्छ । त्यसले पारदर्शिता र स्वतन्त्र मूल्याङ्कन सुनिश्चित हुने वातावरण सिर्जना हुन्छ । टेण्डरको अत्यन्त आवश्यक मानिएको बिलिङ प्रणालीको लोड ब्यालेन्स र रिक्वायरमेन्ट मागिएता पनि हुवावेले सफ्टवेरमात्रै पेस गरेको उजुरीमा उल्लेख छ । नेपाल टेलिकमजस्तो रणनीतिक संस्थाले सूचनाको सुरक्षा, सार्वजनिक सम्पत्तिको सदुपयोग र प्रविधिको पारदर्शी खरिद प्रक्रिया सुनिश्चित गर्नुपर्नेमा यस घटनाले गम्भीर सवाल उठाइरहेको छ ।
डिशहोमले नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड सार्वजनिक गर्यो
काठमाडौं । डिशहोमले नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड आधिकारिक रूपमा सार्वजनिक गरेको छ । यो कार्डमार्फत सक्रिय डिशहोम ग्राहकहरूले देशभरका विभिन्न सेवा प्रदायकहरूबाट विशेष छुट र सुविधाहरू प्राप्त गर्न सक्नेछन् । ‘माइ डिशहोम एप’ मा उपलब्ध यो डिजिटल कार्डले ग्राहकहरूलाई प्रमुख होटल, रेस्टुरेन्ट, यात्रा तथा लाइफस्टाइल ब्रान्डहरूमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ । सुरुवाती चरणमा १० प्रतिष्ठित ब्रान्डका ३५ आउटलेटहरू यो कार्डको नेटवर्कमा समावेश गरिएको छ । साझेदार ब्रान्डहरूमा बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन, सिद्धार्थ हस्पिटालिटी ग्रुप (जसअन्तर्गत देशका विभिन्न स्थानमा होटल, रिसोर्ट, कटीज, रेस्टुरेन्ट र क्याफेहरू छन्), होटल ले हिमालय (काठमाडौं), लेक साइड रिट्रिट (पोखरा), इला कम्फर्ट होटल्स एण्ड रिसोर्ट्स (हरकपुर, मौलाकाली, बागलुङ), मेलुङ ठकाली, साकी एण्ड फेङ रेस्टुरेन्ट (काठमाडौं), लुम्बिनी केबलकार, मौलाकाली केबलकार (गैडाकोट, चितवन) र अचार घर (कमलपोखरी, कुपन्डोल) रहेका छन् । डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले भनिन्, 'भर्चुअल प्रिभिलेज कार्डमार्फत, डिशहोमले इन्टरनेट र टेलिभिजन सेवाको अतिरिक्त ग्राहकहरूको जीवनशैलीमा अर्थपूर्ण योगदान पुर्याउने प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ ।' डिशहोमले आगामी महिनाहरूमा १०० भन्दा बढी ब्रान्ड र आउटलेटहरूसम्म सेवा विस्तार गर्ने योजना बनाएको छ। यस अन्तर्गत थप अफरहरू र श्रेणीहरू समावेश गरिनेछन् । डिशहोमका सक्रिय ग्राहकहरूले ‘माइ डिशहोम एप’ (प्लेस्टोर वा एप स्टोरबाट डाउनलोड गरी) प्रयोग गरेर आफ्नो भर्चुअल कार्ड देखाई साझेदार आउटलेटहरूमा छुट पाउन सक्नेछन् ।
एनसेल बन्यो भोल्टे रोमिङ सेवा सुरु गर्ने पहिलो नेपाली टेलिकम कम्पनी
काठमाडौं । नेपाल भ्रमणमा आउने विदेशीका साथै नेपाल बाहिर जाने आफ्ना ग्राहकहरुका लागि भ्वाइस ओभर लङ टर्म इभोल्युसन (भोल्टे) अन्तर्राष्ट्रिय रोमिङ सेवा सुरु गर्ने एनसेल पहिलो नेपाली टेलिकम कम्पनी बनेको छ । यससँगै अब ग्राहकहरूले विदेश यात्रा गर्दा पनि स्पष्ट सुनिने भ्वाइस कल र उच्च गतिको डेटा सेवा उपयोग गरी सधैं अन रहन सक्छन् । एनसेलले पहिलादेखि नै विभिन्न देशबाट नेपाल आउने विदेशीहरुलाई इनबाउन्ड भोल्टे रोमिङ सेवा दिँदै आएको छ । कम्पनीले अब आफ्नो सेवा विस्तार गर्दै, सोमबारबाट लागु हुनेगरी भारत जाने ग्राहकहरूका लागि एयरटेलसँगको साझेदारीमा आउटबाउन्ड भोल्टे रोमिङ सेवा पनि प्रदान गर्न थालेको हो । भोल्टे दूरसञ्चार क्षेत्रको एक नयाँ प्रविधि हो । यसले फोरजी नेटवर्कमार्फत अझ छिटो कनेक्ट हुने उच्च गुणस्तरीय आवाजसहितको एचडी कल सुविधा प्रदान गर्दछ । यो सेवा थपिँदा पहिला नै उत्कृष्ट रोमिङ अफरको फाइदा लिइरहेका एनसेलका ग्राहकहरूका लागि भारत रोमिङ अझै परिस्कृत भएको छ । विभिन्न उद्देश्यका साथ नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकसमेत सबै ग्राहकलाई उत्कृष्ट डेटा र भ्वाइस सेवा अनुभव प्रदान गर्न एनसेल प्रतिबद्ध रहेको छ । ग्राहकहरुलाई भारत भ्रमणका बेलामा गुणस्तरीय सेवा प्रदान गर्न एयरटेलसँग साझेदारी गर्न पाएकोमा कम्पनी खुसी रहेको र थप अन्तर्राष्ट्रिय मोबाइल सेवा प्रदायकहरूसँग भोल्टे रोमिङ विस्तार गर्न परीक्षणहरू गरिरहेको एनसेलले जनाएको छ । एनसेलले भारतको जियो र भोडाफोन, अमेरिकाको एटी एन्ड टी, टी मोबाइल, र भरिजोन, जापानका सफ्टबैंक र एनटीटी डोकोमो, चीनको चाइना मोबाइल र चाइना युनिकम तथा क्यानडाको बेल र टेलस लगायतका प्रमुख अन्तर्राष्ट्रिय मोबाइल सेवा प्रदायकहरूसँग आउटबाउन्ड रोमिङ सेवा परीक्षण गरिरहेको छ । इनबाउन्ड भोल्टे रोमिङका लागि, एनसेलले एयरटेल र जियो (भारत), चाइना मोबाइल (चीन), ओरेडू (कुवेत), मोबिली (साउदी अरेबिया), एटी एन्ड टी (अमेरिका) र भियटेल (भियतनाम)का ग्राहकहरूलाई भोल्टे रोमिङ सेवा दिँदै आएको छ ।