नेपाल टेलिकमको दशैंलक्षित अफर सार्वजनिक
काठमाडौं । नेपाल टेलिकमले दशैंतिहार तथा छठलगायतका पर्वको अवसरमा अफर सार्वजनिक गरेकाे छ । अफर असोज १३ गतेदेखि सुरु भई आगामी कार्तिक २३ गते सम्म उपलब्ध हुने टेलिकमले जनाएकाे छ । अफरअन्तर्गत साविकका एफटीटीएचका प्याकेजमा साविककै मूल्यमा थप ब्याण्डविथ उपलब्ध गराइएको छ । ५०, ७५, १००, १५० र २०० एमबीपीएस गतिका एफटीटीएच डाटा र कम्बो प्याकेजमा ५० प्रतिशतसम्म क्षमता अभिवृद्धि गरी क्रमशः ७५, १००, १२५, १७५ र २२५ एमबीपीएस ब्याण्डविथ कायम गरिएको छ । यो अफर उल्लेखित समयावधिभित्र नयाँ सेवा जडान गर्ने एवम प्याकेज नवीकरण गर्ने सबै ग्राहकका लागि कायम रहनेछ । साथै एफटीटीएच नयाँ जडानमा जडान शुल्क ५०० रुपैयाँ मिनाहासमेत गरिएको छ । यसैगरी, दशैं अफरअन्तर्गत नै जीएसएम सेवाका ग्राहकका लागि ७९९ रुपैयाँमा अल नेट अनलिमिटेड भ्वाइस सुविधा, ४५ जीबी डाटा र ५०० अल नेट एसएमएस सुविधा सहितको ७९९ सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरिएको छ । साथै २५० रुपैयाँमा एक हजार मिनेट अल नेट भ्वाइस सुविधा सहितको एक हजार मिनेट अल नेट भ्वाइस कल अफर र ९९ रुपैयाँमा एक हजार अन नेट एसएमएस सुविधाको एक हजार अन नेट एसएमएस प्याकेज समेत सञ्चालनमा ल्याइएको छ । यी सबै प्याकेजहरुमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ ।
आरटीजीएस कारोबार साढे ६७ प्रतिशतले बढ्यो, कुन माध्यमबाट कति कारोबार ?
काठमाडौं । साउनमा रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) मार्फत् हुने कारोबार बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनमा ७४ हजार ३८० जनाले आरटीजीएसमार्फत् एक सय खर्ब बढी रुपैयाँ बराबरको कारोबार गरेका हुन् । गत असारमा ८१ हजार ६०५ जनाले ६४ खर्ब ५१ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार गरेका थिए । साउनमा कारोबार गर्ने संख्या घटेको छ भने कारोबार रकम भने बढेको देखिन्छ । यस्तै, गत साउनमा १ करोड १३ लाख १६ हजार ५२० जनाले ८७ अर्ब ८७ करोड रुपैयाँ एटीएमबाट पैसा झिकेको राष्ट्र बैंकले जनाएको छ । गत असारमा भने १ करोड १२ लाख १६ हजार ३० जनाले ९१ अर्ब २६ करोड रुपैयाँ एटीएमबाट पैसा झिकेका थिए । त्यस्तै, साउनमा कनेक्ट आइपीएस गर्नेहरूको संख्या र कारोबार रकम पनि घटेको देखिन्छ । साउनमा ६८ लाख ४४ हजार ६८७ जनाले ५ खर्ब २५ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार कनेक्ट आइपीएसबाट गरेका छन् । गत असारमा ७७ लाख ८७ हजार २८२ जनाले ६ खर्ब ६६ अर्ब ५८ करोड रुपैयाँ कारोबार कनेक्ट आइपीएसबाट गरेका थिए । त्यस्तै, गत साउनमा इन्टरनेट बैंकिङ गरेर ४ लाख ९ लाख ६५ जनाले २२ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । गत असारमा ३ लाख ५१ हजार ३०१ जनाले इन्टरनेट बैंकिङ प्रयोग गरेर १७ अर्ब ७३ करोड रुपैयाँको कारोबार गरेका छन् । त्यस्तै, मोबाइल बैंकिङ प्रयोग गरेबापत साउनमा ४ करोड ७४ लाख ६० हजार २४५ कारोबार हुँदा ३ खर्ब ७७ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको छ । गत असारमा ४ करोड ५६ लाख ६९ हजार ३०१ पटक कारोबार हुँदा ३ खर्ब ७३ अर्ब ९७ करोड रुपैयाँको कारोबार भएको थियो । त्यस्तै, वालेटबाट साउनमा ३ करोड ८ लाख ७८ हजार ९४० पटक कारोबार हुँदा ४३ अर्ब ६९ करोड रुपैयाँको कारोबार भएको छ । गत असारमा ३ करोड २१ लाख ५ लाख ९१७ पटक कारोबार हुँदा ३८ अर्ब १४ करोड रुपैयाँको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । साउनमा क्यूआरमा आधारित भुक्तानी २ करोड २९ लाख ३४ हजार ६२७ पटक हुँदा ६२ अर्ब २८ करोड रुपैयाँको कारोबार भएको छ । जबकि असारमा २ करोड ८ लाख २५ हजार ६१५ पटक क्यूआरमा आधारित भुक्तानी हुँदा ६१ अर्ब ७३ करोड रुपैयाँ कारोबार भएको थियो ।
विपद्को घडीमा एनसेलको निःशुल्क डेटा प्रदान, शनिवार देखि नै यस सेवा लागू
काठमाडौं । देशभर भारी वर्षाका कारण बाढी र पहिरोले गर्दा लाखौं नेपालीहरूले सामना गर्न परेको क्षतिप्रति एनसेल चिन्तित भएको बताउँदै उसले शनिबार बिहानदेखि नै बाढी र पहिरोबाट प्रभावित क्षेत्रका आफ्ना ग्राहकहरूलाई निःशुल्क डेटा उपलब्ध गराइसकेको जनाएको छ । यस पहलले एनसेलले आफ्ना ग्राहकलाई परिवार, आफन्तजन, साथीभाइसँग सम्पर्कमा रहन, महत्वपूर्ण जानकारी प्राप्त गर्न, तुरुन्तै आवश्यक सहयोगको लागि सम्पर्क गर्न र सुरक्षित रहन सहयोग पुर्याउने कम्पनीले जनाएको छ । एनसेलकाअनुसार निःशुल्क डेटा उपलब्ध गराउनुका साथै हालको अवस्थाको मूल्यांकन गरिरहेको र क्षतिको विस्तृत जानकारी प्राप्त गरेपछि राहतका कार्यमा थप योगदान गर्ने छ। नेपाली जनताको सुरक्षालाई सुनिश्चित गर्न र नेपाल सरकारको प्रयासमा सहयोग गर्न एनसेल विभिन्न विपद् व्यवस्थापनमा काम गर्ने निकायहरुसँग समन्वय र सहकार्य गरिरहेको छ । ग्राहकलाई अनलाइन राख्न मात्र भई आवश्यक सहयोग लिन पाउन, राहत तथा उद्धार कार्यका लागि समन्वय गर्न पाउन र आफ्ना परिवार तथा प्रियजनहरुसँग सम्पर्कमा रहिरहुन् भन्ने उदेश्यले निशुल्क डेटा सुविधा उपलब्ध गराएको एनसेलले जनाएको छ। एनसेलले हाल देशभरका १ करोड ३० लाख भन्दा बढी ग्राहकलाई सञ्चार सेवा प्रदान गरिरहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।