नेपाल क्लियरिङ्ग हाउसका सबै सेवामा भ्याट लाग्ने
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले सञ्चालन गर्ने सेवाहरूको कारोबार शुल्कमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने भएको छ । कम्पनीले आज साउन १ गतेदेखि लागु हुनेगरी सञ्चालनमा रहेका सम्पूर्ण सेवाहरूमा मूल्य अभिवृद्धि कर लागू हुने जनाएको हो । आर्थिक वर्ष २०८१/८२ बजेट अनुरूप अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (आर्थिक ऐन, २०८१) बमोजिम नेपाल क्लियरिङ्ग हाउसले प्रदान गर्दै आएको समासोधन गृह (क्लियरिङ्ग) सेवालाई मूल्य अभिवृद्धि कर छुट सूचीबाट हटाइएको हुँदा सेवामा भ्याट लाग्ने कम्पनीका भनाइ छ । साथै ग्राहकहरूलाई यस व्यवस्था सम्बन्धी थप जानकारीको लागी आफ्ना सम्बन्धित बैंक वित्तीय संस्थाहरूमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।
नेपाल टेलिकमले ल्यायो मनसुन अफर
काठमाडाैं । नेपाल टेलिकमले साउन १ देखि लागू हुने गरी मनसुन अफर २०८१ अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु सञ्चालनमा ल्याउन लागेको टेलिकमले जनाएकाे छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन समयावधि रहेको १९९ रुपैयाँ देखिका कम्बो प्याकेजहरु उपलब्ध हुनेछन् । यस अन्तर्गत १९९ रुपैयाँमा २०० मिनेट अल–नेट भ्वाइस र २ जीबी डाटा सहितको कम्बो १९९ प्याक सञ्चालनमा आउनेछ । सोही अन्तर्गत कम्पनीले २९९ रुपैयाँमा ३०० मिनेट अल–नेट भ्वाइस, ४ जीबी डाटा र २० अन–नेट एसएमएस सहितको कम्बो २९९ प्याक र ४९९ रुपैयाँमा ५०० मिनेट अल–नेट भ्वाइस, ८ जीबी डाटा र १०० अल–नेट एसएमएस सहितको कम्बो ४९९ प्याक उपलब्ध गराउनेछ । प्रिपेड र पोस्टपेड जुनसुकै मोबाइल प्रयोगकर्ताका लागि सजिलो अनलिमिटेड प्याक अन्तर्गत ६९९ रुपैयाँमा अनलिमिटेड अल–नेट भ्वाइस, १५ जीबी डाटा र २०० अल–नेट एसएमएस सहितको सजिलो अनलिमिटेड ६९९ प्याक सञ्चालन हुनेछ । साथै सजिलो अनलिमिटेड ७९९, ९९९ र १४९९ प्याकमा ग्राहकका लागि सुबिधा थप गरी उक्त प्याकहरुलाई अझै आकर्षक बनाइने भएको छ, जसमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताको लागि ३० दिनको समयावधि रहनेछ । डाटा प्याक अन्तर्गत १ दिन देखि २८ दिनसम्म समयावधि रहेका २९ देखि ९९९ रुपैयाँसम्मका १ जीबी देखि १०० जीबी सम्म रिसोर्स सहितका बिभिन्न आकर्षक डाटा प्याकहरु उपलब्ध हुनेछन् । पोस्टपेडमा भने ३७३ रुपैयाँ वा सो भन्दा बढी मूल्यको प्याकेज खरिद गर्दा मासिक रुपमा तिनुपर्ने रेन्टल चार्ज पनि प्याकेजमा नै समावेश हुने टेलिकमका प्रवक्ता किशाेर कुमार भट्टले जानकारी दिएका छन् । कम्पनीले अन–नेट अर्थात कम्पनीकै नेटवर्कमा कल गर्न सकिने नयाँ प्याकेजहरु, जुनसुकै नेटवर्कमा कल गर्न सकिने गरी अल–नेट प्याकेजहरुका साथै ४९ रुपैयाँमा १ दिनका लागि १ एमबीपीएस अनलिमिटेड डाटा प्याकेज र ५९ रुपैयाँमा अनलिमिटेड अन–नेट भ्वाइस एवं ५ एमबीपीएस सम्मको अनलिमिटेड डाटा सहितको अनलिमिटेड नाइट कम्बो प्याक तथा १९९ रुपैयाँमा भ्वाइस तथा डाटा सुबिधा सहितको अनलिमिटेड विक्ली कम्बो प्याक पनि उपलब्ध गराउने भएको छ । यसका साथै कम्बो प्याकेज, अनलिमिटेड प्याकेज लगायतका प्याकेज प्रयोगकर्ताका लागि रिसोर्स समाप्त भएको अवस्थामा सजिलै थप गर्न मिल्ने गरी सहुलियत दरमा एड अन प्याकेजहरु समेत सञ्चालन गरिने टेलिकमले जनाएकाे छ । । ग्राहकले आफ्नो मोबाइलबाट *1415# डायल गरेर वा ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन् । त्यसैगरी कम्पनीको वेबसाइटमार्फत पनि यस सम्बन्धमा विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिनेछ ।
‘सूचना प्रविधि क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक विकासका लागि सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना रहेकाले यसबाट लाभ लिन सक्ने गरी औद्योगिक विकास गर्न आग्रह गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा आयोजित सूचना प्रविधिसम्बन्धी एक अन्तर्राष्ट्रिय कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसारमा दु्रततर रूपमा विकास भइरहेको सूचना प्रविधिबाट उनीहरूले यथेष्ट लाभ लिइरहेका दृष्टान्त पेस गर्दै नेपालले पनि सूचना प्रविधिको विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए । उनले भने, ‘विश्वका अरु देशमा जस्तै नेपालमा पनि पछिल्ला वर्ष सूचना प्रविधिका क्षेत्रमा द्रुत विकास भइरहेको छ र यसमा नेपालको युवा वर्ग अहिले पनि निकै नै ठूलो सङ्ख्यामा यस क्षेत्रमा लागिरहेकाले देशमा सूचना प्रविधि उद्योगको विकास र विस्तार गरी यसको सेवा निर्यातबाट हामीले लाभ लिन सक्नुपर्दछ।’ युवा जनसङ्ख्या धेरै भएको देश नेपालमा अहिले ठूलो सङ्ख्याका युवाहरू सूचना प्रविधि विषयको पठनपाठन तथा उद्यमशीलताको विकासमा लागिरहेकाले नेपालमा सूचना प्रविधि उद्योगको विकास गरी यसबाट सेवा निर्यातको अधिक सम्भावना रहेको उनको तर्क थियो । नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत आगामी दशकलाई सूचना प्रविधि दशकका रूपमा घोषणा गरी हरेक प्रदेशमा सूचना प्रविधि पार्क निर्माण गर्ने, १५ लाख रोजगारी सिर्जना गर्ने र हरेक वर्ष नेपालबाट कम्तीमा पनि रु तीन खर्ब बराबरको सूचना प्रविधि सेवा निर्यात गर्ने लक्ष्य लिएको प्रसंग उल्लेख गर्दै यसका लागि यसैबमोजिमको लगानीको वातावरण राज्यले निर्माण गनुपर्नेमा जोड दिए । सूचना प्रविधि अहिलेको समाजको जीवत पद्धति नै भइसकेकाले संसारले पनि यसैबमोजिम अङ्गीकार गरिरहेका र नेपाल पनि यसबाट अछुतो नरहेको प्रसंग उल्लेख गर्दै अध्यक्ष ढकालले भने, ‘नेपालमा पनि मेडिकल, इन्जिनियरिङ तथा वित्तीय क्षेत्र हुँदै धेरै क्षेत्रमा सूचना प्रविधिको प्रयोग बढ्दै गएको छ । आगामी दिनमा यसको विकास र विस्तार गरी सूचना प्रविधिमा आधारित समाज र औद्योगिक विकासको नीतिबाट राज्य अघि बढ्नुपर्छ ।’ उनले नेपालमा रहेको यस क्षेत्रको सम्भावनाअनुसारको लगानीको वातावरण निर्माण गर्न सरकारसँग माग गर्दै यस सम्भावनायुक्त क्षेत्रमा लगानी गरी मुनाफा आर्जन गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् । नेपालमा अहिले पनि करिब पाँच सय सूचना प्रविधिसम्बन्धी कम्पनी रहेका जानकारी दिँदै राज्यले उचित नीति अख्तियार गर्यो र लगानीको सहज वातावरणको सुनिश्चितता गर्यो भने योभन्दा कैयौँ गुणा बढी कम्पनीहरू केही समयमै स्थापना भई सञ्चालनमा आउने पनि बताए ।