नेपाल टेलिकमको सेवा ४ घण्टा अवरुद्ध हुने

काठमाडौं । नेपाल टेलिकमको सेवा अवुरुद्ध हुने भएको छ । नेपाल टेलिकमको बिलिङ्ग प्रणाली स्तरोन्नति गरिने भएकाले सेवा अवरुद्ध हुने भएको हो । टेलिकमका अनुसरा बिलिङ्ग प्रणाली स्तरोन्नति गरिने भएकाले आज (साउन १७ गते) राति ११ बजेदेखि ४ घण्टासम्म सेवा अवरुद्ध हुनेछ । सो अवधिमा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र क्वेइरी सेवाहरू प्रभावित हुने टेलिकमले जनाएको छ । ११ बजे अगाडि नै ब्यालेन्स रिचार्ज र प्याकेज खरिद गर्न कम्पनीले आग्रह गरेको छ । तर, उक्त समयमा मोबाइल भ्वाइस, डाटा, एसएमएस र पीएसटीएन तथा एफटीटीएच, भ्वाइस, डाटा, आईपीटीभी सेवा भने यथावत रूपमा सञ्चालन हुनेछन् । रिचार्ज तथा प्याकेज सब्स्क्रिप्सन वा अन्य सेवा सम्बन्धी समस्याका लागि १४९८ र १९८ मा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

अफवाह फैलाउने ३१ युट्युब च्यानल सञ्चालक कारबाहीमा, २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन

काठमाडौं । प्रेस काउन्सिल नेपालले पछिल्लो १५ दिनमा पत्रकार आचारसंहिताविपरीत सामग्री सम्प्रेषण गर्ने ३१ वटा युट्युब च्यानल सञ्चालक (व्यक्तिरकम्पनी) लाई कारबाही गरेको छ । काउन्सिलले मंगलबार विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमका रूपमा दर्तारसूचीकरण भएका र नभएका दुवैलाई कारबाही गरिएको जनाएको हो । दर्ता नभए पनि समाचारको शैलीमा द्वन्द्व बढाउने, चरित्रहत्या गर्ने तथा एकपक्षीय आरोपका सामग्री सम्प्रेषण गर्ने ती युट्युब च्यानल सञ्चालकलाई कारबाही गरिएको काउन्सिलले जनाएको छ । मिडियाअन्तर्गत सूचीकृत भएका तीन युट्युब च्यानललाई काउन्सिलले आचारसंहिता प्रतिकूल देखिएका अंश हटाई सम्पादन गर्न, सामग्री स्थगनगरी २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न र अश्लील सामग्री तत्काल हटाउन निर्देशन दिएको छ । हेल्लोटिभी नेपाल फेसबुक पेज, पिएनपी मिडिया र नागरिकपत्र युट्युब च्यानललाई उक्त निर्देशन दिइएको हो । काउन्सिलले हिंसा, आतंकलाई प्रश्रय पुग्ने, निराधार, अफवाहपूर्ण, अतिरञ्जित थम्बनेलसहितको शीर्षक दिइ भ्रमपूर्ण, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गर्ने त्यस्ता युट्युब च्यानल सञ्चालकलाई कारबाही प्रक्रिया अघि बढाएको विज्ञप्तिमा उल्लेख छ । मिडियासँग सम्बन्धित नभएका तर मिडियाकै शैलीमा अश्लील सामग्री सम्प्रेषण गर्ने २८ युट्युब च्यानललाई त्यस्ता सामग्री तत्काल हटाउन तथा थप अनुसन्धान र कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो) मा पत्राचार गरिएको काउन्सिलले जनाएको छ । गत आर्थिक वर्षमा काउन्सिलले त्यस्ता ४३ वटा विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई कारबाही गरेको थियो । ‘प्रेस काउन्सिल नेपालले पछिल्लो समयमा कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानलबाट सम्प्रेषित सामग्री अनुगमन गरिरहेको छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘द्वन्द्वलाई बढावा दिने किसिमका सामग्री सम्प्रेषण गर्ने, गालीगलौजपूर्ण भाषाशैली प्रयोग गर्ने, हिंसा, त्रासलाई प्रश्रय पुग्ने सामग्री सम्प्रेषण गर्ने, तथ्यगत पुष्ट्याइँबेगर अप्राकृतिक रूपमा भ्युअर बढाउने उद्देश्यले अतिरञ्जनागरी सामग्री सम्प्रेषण भएकोप्रति प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण भएको छ ।’

सूचना प्रविधिसम्बन्धी प्रदर्शनी ‘टेक एक्स, २०२४’ सुरु

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबर्ट र साइबर सुरक्षासम्बन्धी परियोजनाहरूको प्रदर्शनी ‘टेक एक्स २०२४’ सुरु भएको छ । डिल्लीबजारस्थित  सफ्टवेरिका कलेज परिसरमा आयोजित मेलामा सूचना प्रविधिका विद्यार्थीले निर्माण गरेका उत्पादन प्रदर्शन गरिएको कलेजका निर्देशक अमृत थापाले जानकारी दिए । ‘प्रदर्शनी सूचना प्रविधिमा रुचि राख्ने र अध्ययन गर्न चाहनेलाई लक्षित गरिएको छ’, उनले भने,’प्रदर्शनी साउन २० गतेसम्म  बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।’ प्रदर्शनीमा ‘रोबोट वारियर्स लिग, २०२४’ सञ्चालन गरिने छ । लिगमा ४० भन्दा बढी रोबर्टहरूले विभिन्न कम्पनीको प्रतिनिधित्व गर्दै ‘रोबो वार ब्याटल’मा सहभागी हुने र सो लिग छ महिनासम्म चल्ने जनाइएको छ । प्रदर्शनीमा रोबोटिक डग, पुस्तकालय तथा विमानस्थल व्यवस्थापनका लागि लक्षित गरी निर्माण गरिएका असिस्टेन्ट एआई रोबोट र गोदाम व्यवस्थापनको अर्धस्वचालित प्रविधि पनि अवलोकन गर्न पाइने छ । विद्यार्थीहरूले पासवर्ड क्रयाकिङको विश्लेषण गर्ने रोबर्ट प्रदर्शनीमा राखिने कलेजले जनाएको छ । कार्यक्रमको मुख्य उद्देश्य पछिल्लो समय सूचना प्रविधि क्षेत्रमा भइरहेको परिवर्तनबारे जानकारी दिनु रहेको छ । विद्यार्थीहरूले आइटीसम्बन्धी अध्ययनपश्चात् जीवनोपयोगी सीप विकासमा कस्तो भूमिका खेलिरहेका छन् भन्नेबारे पनि कार्यक्रममा चर्चा गरिनेछ । ‘आइटीको क्षेत्रमा पछिल्लो समय के–कस्ता परिवर्तन भइरहेका छन्, यही क्षेत्रमा के–के परिवर्तन गर्न सकिन्छ । आइटी अध्ययनले हाम्रो जीवनमा कस्तो भूमिका खेलिरहेको छ र हामीलाई आइटी अध्ययन किन जरूरी छ भन्ने जस्ता कुराको ज्ञान दिन कार्यक्रम आयोजना गरिएको हो’, कलेज प्रमुख प्रमोद पौडेलले भने । विद्यार्थीले बनाएको परियोजना निकै राम्रो भएको र नयाँ पुस्ताको प्रविधि देख्दा खुसी लागेको अवलोकनकर्ता अनुसुया भट्टराईले बताए । फुडस्टल, बौद्धिक खेल समावेश हुने प्रदर्शनीमा विद्यार्थीले निर्माण गरेका विद्युतीय सवारीसाधनको अनुभव लिन सकिने छ । प्रदर्शनीमा बैंकिङ, टुर गाइड, फुटबल, एआई असिस्टेन्ट फर आई हस्पिटल, रोबोटिक वेटर, रोबोट वारलगायतका ३० भन्दा बढी इन्नोभेटिभ प्रोजेक्टहरू राखिएको छ ।