बिलिङ प्रणाली स्तरोन्नति गर्दै नेपाल टेलिकम, रिचार्ज र प्याकेज खरिद प्रभावित हुनसक्ने
काठमाडौं । नेपाल टेलिकमले बिलिङ प्रणाली स्तरोन्नति परीक्षण गर्ने भएको छ । टेलिकमले मंगलबार सूचना जारी गरेर बिलिङ प्रणाली स्तरोन्नति परीक्षण कार्य मंगलबार राति ११ बजेंदेखि बुधबार बिहान ६ बजेसम्म हुने जनाएको छ । बिलिङ प्रणाली स्तरोन्नति परीक्षणका क्रममा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद वा सोधपुछ सेवा केही समयका लागि प्रभावित हुनसक्ने टेलिकमले जानकारी दिएको छ । त्यस अवधिमा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद वा सोधपुछ सेवा प्रभावित हुनसक्ने भन्दै उक्त समयभन्दा अगाडि नै आवश्यक पर्ने ब्यालेन्स रिचार्ज तथा प्याकेज खरिद गर्न टेलिकमले आफ्ना ग्राहकहरुलाई अनुरोध गरेको छ । मोबाइल भ्वाइस, डाटा, एसएमएस तथा एफटीटीएच भ्वाइस, डाटा, आईपीटीभी आदि सेवा भने यथावत सञ्चालन हुने सूचनामा जनाइएको छ ।
किन हटायो टिकटकले १६ करोड भिडियो र ९७ करोड कमेन्ट ?
काठमाडाैं । टिकटकले सन् २०२४ को पहिलो त्रैमासिकका महत्वपूर्ण नयाँ डेटा प्वइन्ट र ट्रेन्डहरूलाई समेटेर कम्युनिटी गाइडलाइन्स एन्फोर्समेन्ट रिपोर्ट प्रकाशित गरेको छ । टिकटकले पहिलो त्रैमासमा संसारभरबाट आफ्नो प्लेटफर्ममा अपलोड भएका १६ करोड ६९ लाख ९७ हजार ३०७ भिडियोहरू हटाएको छ । जुन अपलोड गरिएका भिडियोहरूको लगभग ०.९ प्रतिशत हो । यी मध्येको एक महत्वपूर्ण हिस्सा १२ करोड ९३ लाख ३५ हजार ७९३ भिडियोहरू अटोमेटेड डिटेक्सन प्रविधिहरू मार्फत पहिचान गरी हटाइएको थियो भने ६० लाख ४२ हजार २८७ भिडियोहरू थप समीक्षापछि पुनर्स्थापित गरिएका छन् । यसका साथै, टिकटकले आफ्नो कम्युनिटी गाइडलाइनहरू उल्लंघन गरेको आधारमा पहिलो त्रैमासमा ९७ करोड ६४ लाख ७९ हजार ९ ४६ भिडियो कमेन्टहरू पनि हटाएको छ । यो संख्या त्यस अवधिमा प्रकाशित कुल भिडियो कमेन्टहरूको १.६ प्रतिशत हो । त्यस अवधिमा क्रियटरहरूले आफ्ना भिडियोहरूबाट ३ अर्ब ३८ करोड १६ लाख ४६ हजार ७२२ कमेन्टहरू फिल्टर गर्न वा हटाउनका लागि उनीहरूको एक्स्टेन्सिभ कमेन्ट सेफ्टी टुलहरूको पनि प्रयोग गरेका थिए । उन्नत टेक्नोलोजी र मानवीय निगरानीको फाइदा उठाउँदै टिकटक आफ्नो गाइडलाइन्स विपरीतका कन्टेन्टहरू पहिचान गर्न, रिभ्यु गर्न र अड्रेस गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । कम्युनिटी गाइडलाइन एन्फोर्समेन्ट रिपोर्टको आवधिक प्रकाशनले पूर्ण पारदर्शिताप्रति टिकटकको प्रतिबद्धतालाई चित्रण गर्दै कन्टेन्ट र अकाउन्टका कार्यहरूको मापन र प्रकृतिमा इनसाइटहरू समेत प्रदान गरेको कम्पनीले दाबी गरेको छ। यसबाहेक टिकटकले अनलाइन बाल यौन दुर्व्यवहार र शोषण र बाल यौन दुर्व्यवहार सामाग्रीको आदानप्रदान विरुद्ध लड्न आफ्नो प्रयासहरूमा एक नयाँ स्ट्यान्ड–अलोन रिपोर्ट पनि लन्च गर्दैछ। यसले प्लेटफर्मलाई बालबालिकालाई हानि गर्न खोज्नेहरूको पहुँचबाट जोगाउने टिकटकको विश्वास छ ।
सूचना प्रविधिमार्फत सरकारले रोजगारी सिर्जना गर्दै जान्छ : मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाललाई सूचना प्रविधिको हबको रुपमा विकास गर्ने बताएकी छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलको क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएकी हुन् । मन्त्री शर्माले आगामी आर्थिक वर्षलाई आगामी दशकलाई सूचना प्रविधि दशकको रुपमा अघि बढाउन आगामी आर्थिक वर्षलाई प्रारम्भिक वर्षको रुपमा लिई सोही अनुसारको कामको थालनी गर्ने योजना पनि प्रस्तुत गरिन् । सरकारले सूचना प्रविधि दशकलाई राष्ट्रिय प्राथमिकता अभियानको रुपमा अघि बढाउनका लागि निजी क्षेत्रसँगको सहकार्यमा मार्ग चित्र तयारी पारी कार्यान्वयन गर्ने पनि बताइन् । ‘सूचना प्रविधि दशकलाई राष्ट्रिय प्राथमिकता अभियानका साथ अघि बढाउन तीन वटै तहका सरकार, निजी क्षेत्र र संवद्ध व्यवसायी समेतको वृहत सहभागितामा १० वर्षे मार्ग चित्र तयारी पारी कार्यान्वयन गर्नुपर्नेछ’, उनले भनिन् । मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रकोमार्फत सरकारले रोजगारी सिर्जना गर्दै सो सम्बन्धि सेवा निर्यात गर्न चाहेको पनि उल्लेख गरिन् ।