एनसेलले ल्यायो ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना

काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना ल्याएको छ । योजनाअन्तर्गत मन पर्ने अन्तिमका ६ अंक रोजेर आफ्नो मोबाइल नम्बर आफैं बनाउन सकिने एनसेलले जनाएको छ । एनसेलका अनुसार चाहे जन्मदिन, सहयात्रीलाई पहिलोपटक भेटेको दिन, सवारीसाधनको नम्बर वा अन्य कुनै महत्त्वपूर्ण मिति वा नम्बरलाई सधैँका लागि आफ्नै मोबाइल नम्बरमा परिणत गरी अन रहन सकिने छ। प्रियजनलाई पनि त्यस्ता विशेष नम्बर उपहार दिन सकिनेछ । योजनाको मोबाइल नम्बर ९७०५ रेन्जबाट सुरु हुनेछ । जसलाई प्राप्त गर्न चाहने ग्राहकले अन्तिम ६ अंक रोजेर आफ्नो विशिष्ट मोबाइल नम्बर बनाउन सक्ने एनसेलले बताएको छ । ग्राहकले सिधै एनसेल एप वा एनसेल वेबसाइटमा गएर ‘मेरो नम्बर, मेरै च्वाइस’ क्लिक गरी आफूले चाहेको मोबाइल नम्बरको पछिल्लो ६ अंक उपलब्ध भए/नभएको सजिलै हेरेर तत्काल अनलाइन बुकिङ गर्न सक्ने एनसेलले जनाएकाे छ । हाल प्रयोग गर्दै आएको मोबाइल नम्बरको पछिल्लो ६ अंक मिल्ने गरी नयाँ मोबाइल नम्बर लिन सकिने सुविधा यो योजनाको प्रमुख विशेषता भएकाे कम्पनीकाे भनाइ छ । योजनाअन्तर्गत ९७०५ रेन्जबाट नम्बर छनोट गर्न ९ लाख बढी मोबाइल नम्बर उपलब्ध छन् । एनसेलले फस्ट कम, फस्ट सर्भ बेसिसमा उपलब्ध नम्बर वितरण गर्नेछ । यो सिम एनसेलले हाल सञ्चालन गरिरहेको ‘सधैँ अन’अन्तर्गत ५९९ देखि १,४९९ रूपैयाँसम्मको प्लानमा बन्डल सेवाका रूपमा उपलब्ध गराउने एनसेलले जनाएको छ । एनसेलका अनुसार ‘सधैँ अन’ योजनाका प्लानअन्तर्गत ग्राहकले भ्वाइस, डेटा, निःशुल्क सामाजिक सञ्जाल डेटा र एसएमएस सेवा पाउँछन् । ८१२३३ डायल गरेर ‘सधैँ अन’ प्लानहरू सञ्चालन गर्न सकिने छ । बुकिङ गरिएको सिम ग्राहकले देशभर फैलिएका एनसेलका ३२ सेन्टरमध्ये कुनैमा गई लिन सक्नेछन् । काठमाडौं उपत्यकामा कार्गो सेवामार्फत होम डेलिभरी गराएर पनि यो सिम लिन सकिन्छ । एनसेलका अनुसार बुकिङ गराएको नम्बर सात दिनभित्र नलिए उक्त नम्बर बुकिङको सूचीबाट स्वतः हट्नेछ । त्यसपछि उक्त नम्बर अरू ग्राहकले पनि लिन सक्ने एनसेलले जनाएको छ ।

सात इन्टरनेट सेवा प्रदायकको लाइसेन्स रद्द

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सात वटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) इ–मेलसहित रद्द गरेको छ । प्राधिकरणले तोकिएको समयभित्र नवीकरण नगरेपछि ७ वटा सेवा प्रदायकको लाइसेन्स स्वतः रद्द भएको जानकारी दिएको छ । यी सात सेवा प्रदायकले ‘दूरसञ्चार नियमावली, २०५४ को नियम १२ बमोजिम अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधिभित्र अनुमतिपत्र नवीकरणवापतको दस्तुर बुझाएर अनुमतिपत्र नवीकरणको लागि निवेदन पेस नगरेकोले,’ लाइसेन्स खारेज भएको प्राधिकरणले जनाएको छ । लाइसेन्स रद्द हुने सेवा प्रदायक कम्पनीहरूमा श्री वशिष्ठ केबल नेट प्रालि, श्री इन्फो नेट टेक्नोलोजी प्रालि, श्री सिम्पल इन्टेलिजेन्ट सिस्टम एण्ड टेक्नोलोजी प्रालि, श्री एशिया नेट कम्युनिकेशन प्रालि, श्री फास्ट स्पिड लिंक नेटवर्क प्रालि, श्री यस नेट नेपाल प्रालि र श्री मिथिला डिजिटल नेपाल प्रालि रहेका छन् । साथै, प्राधिकरणले लाइसेन्स रद्द हुनुअघि सेवाप्रदायकले नेपाल सरकार तथा प्राधिकरणलाई नियमानुसार तिर्न बाँकी रकमसमेत ३० दिनभित्र बुझाउन निर्देशन दिएको छ ।  

आइटी क्षेत्रमा नेपाललाई प्रतिस्पर्धी बनाउन सरकारले वातावरण निर्माण गर्छ : अर्थमन्त्री पुन

ललितपुर । अर्थमन्त्री वर्षमान पुनले मुलुकमा सूचना प्रविधि क्षेत्रको विकासका लागि नीतिगत स्थिरता र पूर्वाधार विकास सरकारको प्राथमिकतामा रहेको र यस क्षेत्रमा नेपाललाई प्रतिस्पर्धी बनाउन सरकारले सबै खालको वातावरण निर्माण गर्ने बताएका छन् । डिजिटल मिडिया फाउन्डेसनद्वारा आज यहाँ आयोजित ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन, २०८१’ मा उनले सूचना प्रविधिका क्षेत्रमा फड्को मार्न आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सरकारले महत्वाकांक्षी योजना अघि सारेको जानकारी दिए । ‘सरकारले बजेटमार्फत सूचना प्रविधि क्षेत्रमा लगानी दशक घोषणा गरेर यो क्षेत्रलाई महत्वका साथ अघि बढाएको छ । अबको १० वर्षमा करिब ३० खर्बको निर्यात र १५ लाख जनशक्तिलाई रोजगारीको सम्भावना देखिएको छ, यसका लागि सरकारले नीतिगत स्थिरता र सूचना प्रविधि क्षेत्रको पूर्वाधार निर्माणलाई जोड दिइएको छ,’ उनले भने, ‘पाँच वर्षसम्म करका नीति नफेर्ने, काठमाडौं उपत्यकाका कम्तीमा १० ठाउँ र प्रत्येक प्रदेशमा आइटी पार्क बनाएर तीन वर्षसम्म कुनै शुल्क नलिने योजना सरकारले बनाइरहेको छ ।’ आगामी आवको बजेटमार्फत सरकारले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको र मुलुकको आर्थिक समृद्धिका लागि सार्वजनिक, निजी तथा सहकारी क्षेत्रलाई सँगसँगै अघि बढाउने नीति सरकारले लिएको उनले जानकारी दिए । अर्थमन्त्री पुनले कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलीजेन्स–एआई) को विकासलाई मानव सभ्यता माथिको चुनौतीका रुपमा समेत हेर्न थालिएको भए पनि यसलाई औद्योगिक क्रान्तिको अर्को चरणका रुपमा लिइनुपर्ने र समग्र विकासका लागि महत्वपूर्ण माध्यमका लागि विकास तथा प्रयोग गरिनुपर्ने बताए । ‘एआईसँग समुदाय नै आतंकित छ । कृतिम बौद्धिकतासँग मानव जाति नै चिन्तित छ। मान्छेले जस्तै सोच्न सक्नेजस्तै गरी एआइले पनि सोच्न सक्ने भएपछि यो प्रविधि मान्छेको सहयोगीको रूपमा रहन सक्छ कि सक्दैन भन्ने मुख्य चुनौती हो,’ उनले भने, ‘तर, मानव जीवनलाई सहज बनाउनका लागि प्रविधिको प्रयोग अति आवश्यक छ र यो जीवनको यथार्थ बनिसकेको छ ।’ वस्तु तथा सेवाको उत्पादनमा सूचना प्रविधिको प्रयोगलाई औद्योगिक क्रान्तिको पाँचौँ चरणका रूपमा लिने गरिएको उल्लेख गर्दै अर्थमन्त्री पुनले नेपालजस्ता मुलुकले यसलाई अवलम्बन नगर्ने हो भने आर्थिक र प्रविधिका क्षेत्रमा थप पछि पर्दै जाने बताए । कार्यक्रममा एआईविज्ञ डा. विवेक पौडेलले सूचना प्रविधि क्षेत्र र एआइले सरकारको नीति कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । उनले भने, ‘पूर्वाधार निर्माण, कृषि क्षेत्र, सेवा प्रवाह, स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा एआइको प्रयोगले उल्लेख्य नतिजा दिनसक्छ । मुलुकको अर्थतन्त्र र रोजगारी विकासमा यसको भूमिका महत्वपूर्ण हुन्छ ।’ डिजिटल मिडिया फाउन्डेसनका अध्यक्ष प्रवेश सुवेदीले नेपालमा सूचना प्रविधि क्षेत्रको विकास कमजोर रहेको जनाउँदै विश्वस्तरमा प्रतिस्पर्धाका लागि सरकारको नीति, लगानीलगायतका आवश्यक सहयोग आवश्यक पर्ने बताए । उनले भने, ‘सन् १९९५ देखि २००५ सम्ममा नेपाल सूचना प्रविधि क्षेत्रको विकासमा अन्य थुप्रै देशसँग प्रतिस्पर्धी भए पनि त्यसलाई निरन्तरता दिन नसक्दा नेपाल अहिले पछि परेको छ । सञ्चार क्षेत्रले पनि नयाँ प्रविधि अवलम्बन नगर्ने हो भने मूलधारका सञ्चारमाध्यमलाई वैकल्पिक सञ्चारमाध्यमले छायामा पार्न सक्छ ।’ सम्मेलनकासहभागीलाई एआइले मन्तव्यमार्फत स्वागत गर्नुका साथै कार्यक्रमबारे प्रकाश पारेको थियो । अध्यक्ष सुवेदीले मोबाइल फोनमार्फत स्वागत मन्तव्यका लागि (प्रम्प्ट) निर्देशन दिएका थिए । लगत्तै एआइ प्लाटफर्म च्याट जिपिटीले कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री पुनसहित अतिथिलाई मन्तव्यमार्फत स्वागत गरेको थियो । सम्मेलनमा एआइकै प्रयोग गरी तयार पारिएको भिडियोमार्फत कार्यक्रमबारे प्रकाश पारिएको थियो । भिडियोमा कृत्रिम बौद्धिकतामार्फत तयार पारिएका टेलिभिजन कार्यक्रम प्रस्तोताझैँ लाग्ने एक युवकले सम्मेलनको आवश्यकता, एआइले विश्वभर र नेपालमा ल्याउन सक्ने अवसर र चुनौती तथा सञ्चार माध्यमको भविष्य, सार्वजनिक सेवाको प्रयोगलगायत विषयमा प्रस्तुति दिएका थिए ।