ट्रेकिङ एजेन्सिज् एशोसिएसनले भन्यो-पदयात्रामा विदेशी लगानी अमान्य

काठमाडौँ । पदयात्रा व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान)ले पदयात्रा व्यवसायमा वैदेशिक लगानी मान्य नहुने बताएको छ । टानका अध्यक्ष नवराज दाहालले आज एक विज्ञप्ति जारी गरी पदयात्रा क्षेत्रमा पूर्णरुपमा विदेशी लगानी गर्न दिने भन्ने समाचारप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै स्वदेशी पदयात्रा व्यवसायीलाई निरास बनाउने किसिमको निर्णय कार्यान्वयन नगर्न सरोकारवालालाई आग्रह गरेका छन् । “पदयात्रा नेपालको एकमात्र मौलिक व्यवसाय हो । चार दशकभन्दा बढी सयम यो क्षेत्रमा लगानी गर्ने सक्षम नेपाली व्यवसायी नै हुन् त्यसैले विदेशी लगानीकर्ताको आवश्यकता पर्दैन । यदि त्यस्तो निर्णय कार्यान्वयन भए व्यवसायी सङ्घर्षमा जान बाध्य हुनेछौँ”, विज्ञप्तिमा भनिएको छ । विदेशी लगानीकर्ताई पदयात्रा व्यवसायमा लगानी गर्न दिने भन्ने निर्णय स्वदेशी पदयात्रा व्यवसायी हितविपरीत हुन जाने र विदेशी लगानीकर्ताको मात्र एकाधिकार हुन जाने टानको आशङ्का छ । पर्यटन विभागको ट्रेकिङ शाखाका अनुसार मुलुकभर दुई हजार ६७५ ट्रेकिङ कम्पनी दर्ता छन् । रासस

धनगढी-अछाम पहिलोपटक हवाई सेवा शुरु, भाडादर ३ हजार ३ सय ५० रुपैयाँ

अछाम । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीदेखि अछामको साँफेबगरसम्म पहिलोपटक हवाई सेवा शुरु भएको छ । निजी हवाई कम्पनी समिट एयरले पहिलोपटक धनगढीदेखि साँफेबगरसम्मको उडान सञ्चालनमा ल्याएको हो । यस क्षेत्रका यात्रुको सहजताका लागि आजदेखि धनगढीदेखि साँफेबगरका लागि नियमित उडान भर्न शुरु गरिएको समिट एयरका अछाम प्रतिनिधि दीपक दुवालले जानकारी दिए । समिट एयरमा धनगढी–साँफेबगरसम्म १७ मिनेटमै यात्रा गर्न सकिने भन्दै उनले यात्रुको चाप र मागलाई मध्यनजर गरी हप्तामा सातै दिन उडान भर्न सकिने बताए । धनगढीदेखि साँफेबगरसम्मका लागि तीन हजार ३५० भाडादर कायम गरिएको छ । धनगढी–साँफेबगर नियमित हवाई सेवा सञ्चालन हुँदा अछामसहित बाजुरा र डोटी जिल्लाका यात्रुलाई पनि सहज हुने भएको छ । यसअघि नेपाल एयरलाइन्सले नेपालगञ्जदेखि साँफेसम्म निरन्तर दोहोरो उडान सञ्चालन गरिरहेकामा फागुन २२ गतेदेखि समिट एयरले पनि नेपालगञ्जदेखि साँफेबगर उडान शुरु गरेको थियो । नेपाल एयरलाइन्सले हरेक आइतबार र बिहीबार उडान भर्दै आएको छ ।

पर्यटनका संस्था र पर्यटन बोर्डमा तालाबन्दी गर्ने पर्यटन श्रमिकहरुको चेतावनी

काठमाडौं । पर्यटन क्षेत्रका श्रमिकहरुको कार्यक्षेत्रमा पाउनु पर्ने सेवा सुविधा कार्यान्वयनको माग गर्दै पर्यटन क्षेत्रको सबैभन्दा ठूलो श्रमिक संगठन यूनिट्राभले आन्दोलनको घोषणा गरेको छ । राजधानीमा पत्रकार सम्मेलन गरी यूनिट्राभले सबै पर्यटन क्षेत्रमा श्रमिकले पाउनुपर्ने सेवा सुविधा नपाएको भन्दै आन्दोलनको घोषणा गरेको हो । यूनिट्राभले सरकारका सम्बन्धित वन तथा वातावरण, श्रम, गृह, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच आपसी समन्वय गरी श्रमिक संगठन, व्यवसायी संगठनबीच वार्ताका माध्यमबाट तत्काल समस्या समाधान नगरिए पर्यटनका सबै क्षेत्रमा काम ठप्प पार्ने चेतावनी दिएको छ । उक्त संगठनले ट्रेकिङ, ट्राभल्स, र्याफ्टिङ, एयरलाइन्स, संस्कृति पुरातात्विक, कार्गो, कुरियर क्षेत्रहरु बन्द गरिदिने चेतावनी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले यसका लागि विदेशी एजेन्सिमा पत्रचार गरी पर्यटन व्यवसायीका संगठनहरु टान, एक्याप, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, लगायत सरोकार क्षेत्रका कार्यालयमा तालाबन्दी गरिदिने पत्रकार सम्मेलनमा चेतावनी दिएका छन् । अध्यक्ष पराजुलीले तत्काल पर्यटन श्रमिकको माग सम्बोधन नभए चैत २१ गतेबाट आन्दोलन थाल्ने चेतावनी दिए । यूनिट्राभले टान र नाट्टाले पर्यटन बोर्डमा गत मंसिर १३ गते गरेको सम्झौता तत्काल लागू नभए विदेशी ग्रुप नै रोक्ने चेतावनी दिएको छ । पत्रकार सम्मेलनमा यूनिट्राभका महासचिव रामबहादुर श्रेष्ठले राष्ट्रिय निकुञ्जहरुमा श्रमिकसँगै उठाउँदै आइएको कर तत्काल खारेज गर्न माग गरे । त्यस्तै यूनिट्राभले श्रम ऐन, सामाजिक सुरक्षा ऐन र नियमावली कार्यान्वयन तत्काल गराउन माग गरेको छ । एकल पदयात्रा अनुमति पत्र खारेज गर्न पनि उक्त संगठनले माग गरेको छ । सेवा सुविधा ५० प्रतिशत वृद्धि गराउन पनि माग गरेका छन् ।