हिमालयन ट्राभलमार्टको तेस्रो संस्करण जेठ २३ देखि २६ सम्म काठमाडौमा हुने

काठमाडौँ । हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण आगामी जेठ २३ देखि २६ (जुन ६ देखि ९) सम्म काठमाडौंकोमा आयोजना हुने भएको छ । नेपाललाई हिमालय प्रवेशद्धार तथा साहसिक पर्यटनको केन्द्र एवं सबल पर्यटन मैत्री गन्तब्यको रुपमा विश्व सामु स्थापित गर्ने उद्देश्यका साथ सन २०१७ देखि वार्षिक कार्यक्रमको रुपमा आयोजना गरिदै आएको हिमालयन ट्राभल मार्ट नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने शसक्त ब्राण्डको रुपमा विकास हुँदै गएको छ । नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा पाटा अन्तर्राष्ट्रिय एवम पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाहरुको सहयोग, समन्वय तथा सहकार्यमा प्यासिफिक एसिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले आयोजना गरिने हिमालयन ट्राभल मार्टको आयोजना गर्दै आइरहको छ । हिमालयन ट्राभल मार्टको यस अघि सम्पन्न भएका दुई संस्करणहरुको सफल आयोजनाले नेपाली पर्यटन क्षेत्रको प्रचार–प्रसार तथा प्रवद्र्धनमा नयाँ आयाम थपेको पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले बताए । उनले भने,‘ हिमालयन ट्राभल मार्ट क्रमशः ब्राण्डिङ्ग हुँदै आइरहको छ । जसले नेपाली पर्यटन क्षेत्रकै शीर उच्च पार्नुका साथै विश्व बजारमा नेपालको शसक्त उपस्थिति जनाउन सहयोग पुगेको छ ।’ हिमालयन ट्राभल मार्टले छोटो समयमै विश्व पर्यटन बजारमा राम्रो ख्याति प्राप्त गरिरहेको र धरै पर्यटन स्रोत बजारहरुवाट मार्टमा सहभागिताका लागि चाहना बढ्दै जानुले यसको लोकप्रियता पनि बढ्दै गएको शाक्यले बताए । हिमालयन ट्राभल मार्ट देशकै प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाको रुपमा स्थापित हुँदै गइरहेको र यसमा आयोजना गरिने बी–टु–बी कार्यक्रमले नेपालको पर्यटन पर्वद्धनमा सहयोग लाई विश्व सामु चिनाउन पुगेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए । उनले भने,‘मार्ट पर्यटन ब्यावसायीहरु, सहभागीहरु तथा सबै सरोकारवालाहरुका लागि नेटवर्किङ्ग, ब्यावसाय प्रवद्र्धन, ज्ञान तथा सिप आदान–प्रदान गर्न एक अद्धितीय मञ्च बन्न पुगेको छ । ’ जोशीले नेपाल भ्रमण वर्षकोे पूर्व सन्ध्यामा आयोजना हुन गईरहको मार्टले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि सहयोग गर्ने बताए । मार्टको पूर्व सन्ध्यामा क्रेता र बिक्रेताबाट जुन खालको चासोहरु देखिएका छन् । यसले मार्टको सफलता बढ्दै गएको जोशीले बताए । हिमालयन राष्ट्रहरुबाट विक्रेताहरु तथा विश्वब्यापी क्रेताहरुलाई एउटै मञ्चमा भेला गराई उनीहरुबीच ब्यापार आदान–प्रदान तथा सम्बन्ध संञ्जाल विस्तारको उद्देश्यले पाटा नेपाल च्याप्टरद्धारा यस विजनेस–टु–विजनेस मार्टको परिकल्पना गरिएको हो । हिमालयन ट्राभल मार्टको दास्रो संस्करणमा हिमालयन राष्ट्रहरु बाहेकपनि युएई, भियतनाम र कोरिया जस्ता राष्ट्रहरुले विक्रेताको रुपमा सहभागिता जनाएको थिए जसले प्रश्तुत मार्टको बढ्दो लोकप्रियतालाइ दर्शाउँदछ । मार्टको बढ्दो लोकप्रियतालाई कायम राख्दै मार्टको आगामी संस्करणहरुलाई थप सशक्त, प्रभावकारी एवम् फलदायी मार्टको रुपमा आयोजना गर्नका लागि अन्तर्राष्ट्रिय सम्बन्धन तथा साझेदारी, विशिष्ठ ब्यक्तित्वहरु–वक्ताहरु निर्धारण, प्रायोजक प्रवद्र्धन, सहभागीहरु (क्रेता तथा विक्रेताहरु लगायत अन्य पाहुनाहरु) को आमन्त्रण तथा पत्राचार जस्ता अधिकांश आवश्यक पूर्वतयारी तथा ब्यवस्थापन कार्यहरु उल्लेख्य मात्रामा समपन्न भइसकेको नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडालले बताए ।  यो पटकको मार्टमा नेपाल, भारत, पाकिस्तान, तिब्वत (चीन) र भुटान लगायत हिमालयन राष्ट्रहरुबाट विक्रेताहरु तथा युरोप, अमेरीका, अष्ट्रेलिया, न्यूजिल्याड, रसिया तथा सि. आई. एस. राष्ट्रहरु, एशिया र अरब राष्ट्रका क्रेताहरुको सहभागी हुने बुडालले जानकारी दिए । यस अघि सन् २०१७ सालमा ५३ देशहरुवाट २ सय २५ विदेशी प्रतिनिधिहरु,सन् २०१८ मा सम्पन्न भएको मेलामा ३६ वटा विभिन्न देशहरुवाट १ सय ७० भन्दा बढी विदेशी प्रतिनिधिहरुको सहभागिता रहेको पाटा नेपाल च्याप्टरले जानकारी दिएको छ । मार्टले देशको पर्यटकीय गन्तव्य, वस्तु तथा सेवाको प्रचारप्रसार र बजारीकरण, लगायत विश्वब्यापी पर्यटन एवम हस्पिट्यालिटी संध संस्थाहरु, कम्पनीहरु र हिमालयन पर्यटन क्षेत्र सम्बन्धित विविध क्षेत्रमा आवद्ध ब्यवसायी तथा व्यक्तित्वहरु बीच व्यापार आदान प्रदान गराउने असिमित अवसरहरु प्रदान गराउने छ । तेस्रो हिमालयन ट्राभल मार्टमा आयोजना गरिने कार्यक्रमहरु नेपाल भ्रमण बर्ष २०२० को पूर्वतयारी एवम् निर्धारित लक्ष्यप्राप्तिमा समेत केन्द्रित रहने पाटा नेपाल च्याप्टरले जानकारी दिएको छ ।

पोखरा विमानस्थलको धावनमार्ग निर्माण पूरा

काठमाडौँ । निर्माण सुरु भएको तीन महिनामै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलको धावनमार्गको निर्माण कार्य पूरा भएको छ । दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको उक्त धावनमार्गको बुधबार निर्माण कार्य सकिएको नेपाल नागरिक उड्डययन प्राधिकरण अन्तर्गतको राष्ट्रिय गौरवका आयोजनाका निर्देशक प्रदिप अधिकारीले जानकारी दिए । निर्माणको काम पूरा भएको छ –उनले भने, ‘अब बाँकी निर्माणका काम निरन्तर अघि बढ्छन् ।’ अहिलेसम्म एप्रोन र जहाज पार्किङ स्थल निर्माणको काम पनि पूरा भइसकेको छ । उक्त पार्किङमा तीनओटा ठूला र आठओटा साना जहाज पार्किङ गर्न मिल्नेछ । विमानस्थल निर्माणको जिम्मा पाएको चाइना सीएएनसी इन्जिनियरिङ कन्सल्टेन्सीले धावनमार्ग निर्माण गरेको हो । अन्य विमानस्थल कालोपत्रे गरिने भए पनि यो नेपालमै पहिलोपटक ढलान गरिएको धावनमार्ग हो । तीव्र गतिमा निर्माणको काम अघि बढेको उक्त विमानस्थल सन् २०२० भित्रै सम्पन्न हुने अधिकारीले दाबी गरे । ‘सन् २०२१ को जुलाइभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि त्योभन्दा अघि नै यसको काम पूरा हुन्छ’–उनले भने । सन् २०२० भित्र उक्त आयोजना पूरा भए यो समयअघि नै पूरा हुने पहिलो राष्ट्रिय गौरवको आयोजना बन्नेछ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

२५ लाखले अवलोकन गरे शाश्वत धाम

काठमाडौँ । शाश्वत धामको दर्शन एवं भ्रमण गर्नेको संख्या २५ लाख पुगेको छ । बुधवार बाराको कलैया उपमहानगरपालिकाका आस महमत अन्सारी शाश्वत धामको २५औं लाख अवलोकनकर्ताका रुपमा प्रवेश गरेका थिए । ‘यति सुन्दर र मनमोहक होला भन्ने मैले साेंचेकै थिइन’ अन्सारीले भने– यहाँ भ्रमण गर्नेहरुको बयान सुनेर परिवारसहित आएको हुँ । आफैले प्रत्यक्ष अवलोकन गरेपछि मलाई यस्तो भव्य स्थान नेपालमा अन्यत्र कहि छैन जस्तो लागेको छ । उनको परिवारजन सहित अन्य १० जना आगन्तुकलाई शाश्वत धाम ब्यबस्थापनले फुलमाला र दोसल्ला ओडाएर स्वागत गरेको थियो । त्यहाँ रहेको एकाम्बरेश्वर मन्दिरको भब्य कलात्मक शैलीले आफुहरुलाई लोभ्याएको र बुद्धिष्ट सेन्टरवाट धेरै ज्ञान सिक्न पाएको अनिसा बेगम खातुनले बताईन् । उनले यो हिन्दू मन्दिर भएपनि आफनो पनि उत्तिकै श्रद्धा रहेको बताईन् । बुधवार २५औँ लाख आगन्तुकका रुपमा शाश्वतधाम प्रबेश गरेका अन्सारी सहित १० जना आयुवम अन्सारी, राजकुमारी अन्सारी, हिमराम अन्सारी, टिकाराम बस्याल, कमला बस्याल विष्णु चापागाई, हिरा चापागाई, तिर्थ लामा र करुणालाई विशेष सम्मान गरिएको थियो । शाश्वत धाममा २५ लाख दर्शनार्थी पुगेको उपलक्ष्यमा बुधबार यहाँ आएका सबै दर्शनार्थीका लागिस्वस्ती वाचन, भजन किर्तनले स्वागत गरिएको थियो । यहाँको वातावरण, सरसफाइ , बगैचाले आफुलाई लोभ्याएको टिकाराम बस्यालले बताए । पवित्र देवघाट र लुम्बिनी क्षेत्रको सामिप्यमा रहेको यस धामभित्र रहेको मनमोहक र वैभवयुक्त एकम्वरेश्वर शिव मन्दिर यहाँको प्रमुख आकर्षण हो । चारैतिर हरियाली र पानीको फोहोरा रहेकाले रातीको समयमा यो मन्दिर पानीमा अडिएको भान हुन्छ । एकम्बरेश्वर मन्दिरभित्र ठूलो शिवलिंग रहेको छ । पार्वती, गणेश, हनुमान, सूर्य नारायण, नवग्रह, सतिदेवी लगायतका थुप्रै हिन्दु देवी देवताका प्रतिमाहरु एकम्बरेश्वर मन्दिरसँगै रहेका छन्। यस्को भब्य कलात्मक शैलीले सबैलाई लोभ्याउदै आएको छ । नयां बर्षका अबसरमा त्यहा पुजा आजा गर्नेको भिड लागेको थियो । हिन्दू धर्मकामुख्यमुख्य देवी देउताको एउटै थलोमादर्शन गर्न पाइने यो मन्दिरको फरक बिषेशता रहेको छ । भब्य र आर्कषक मन्दिर निमार्ण गर्न भारतिय पाच दर्जन बढी कालिगढलाई १४ वर्ष समय लागेको थियो । महेन्द्रराजमार्ग अन्तरगत नवलपरासीको दुम्कौलीमा करिब ८० बिगाह क्षेत्रफलमा फैलिएको अर्बपति बिनोद चौधरीको सिजी इन्डस्ट्रियल पार्क रहेको छ । त्यसैको दक्षिणी हातामा चौधरीले शाश्वत धामको निर्माण गरेका छन् । कलात्मक र सुन्दरताका कारण यो मन्दिरमा सबै धर्माबलम्बिहरुको आर्कषणको केन्द्र बनेको छ । मन्दिर परिसरमा बैदिक कर्मकाण्ड गुरुकुल पनि संचालनमा छ । त्यहाँ ७२ बिद्यार्थीले निशुल्क संस्कृत अध्ययन गर्दै आएका छन् । त्यहाँ आकर्षक बुद्धिष्ट सेन्टर पनि स्थापना गरिएको छ । जहाँ बुद्ध धर्म सम्वन्धी विशेष जानकारीहरू पाउन सकिन्छ ।