कैलाश हेलिकप्टरले शनिबारदेखि व्यवसायिक उडान भर्ने

काठमाडौं । कैलाश हेलिकप्टर सर्भिसेज प्रा.लि.ले भोलि चैत १० गते शनिबारबाट व्यावसायिक रुपमा सेवा प्रदान गर्ने भएको छ । कम्पनीकाे पहिलाे व्यवासायिक उडान काठमाडाैं लुक्लाकाे तयारी भएकाे बताइएकाे छ। नागरिक उड्डयन प्राधिकरणले चैत्र ९ गते वायुयान संचालन अनुमति (एओसी) प्रदान गरेकोले अब व्यवसायिक उडान सञ्चालन गर्न लागिएको कम्पनीको प्रबन्ध निर्देशक प्रतापजंग पाण्डेले बताए । कम्पनीले विरामीको तत्काल उपचारका लागि गन्तव्यसम्म पुर्याउने, कर्पोरेट फ्लाइट, ह्युमन/कार्गो स्लीङअपरेसन्स, हाइअल्टिच्युट अपरेसन, एरियल सर्भे, दृश्यावलोकन, माउन्टेन फ्लाइट, स्पेशल एडभेञ्चर मिसन, फिल्मिङ, स्काइ डाइभिङ, प्राकृतिक प्रकोप उद्धार जस्ता विस्तृत हेलिकप्टर सेवा सञ्चालन गरिने उनले बताए । कम्पनीले एयर बसद्धारा निर्मित नयाँ एएस३५०बी३इ जहाज (९एन–एएमएल) हेलिकप्टर खरिद गरी नेपाल ल्याइ सकिएको छ । यस हेलिकप्टरले २३ हजार फिटसम्म उडान गर्ने क्षमता राख्छ । कम्पनीले निकट भविष्यमा नेपाली आकाशमा अर्को एक जहाज थप गर्ने तयारी भएको कम्पनीले जनाएको छ । ‘हामी स्वदेशी तथा विदेशी अनुभवी चालक तथा क्रु मेम्बरमार्फत सेवा दिनेछौं’ कम्पनीले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘हाम्रो सेवा सुरुवात सँगै नेपालको पर्यटन उद्योग र अत्यावश्यकीय सेवाका क्षेत्रमा योगदान पुर्याउन सकिने अपेक्षा गरेका छौं ।’ नेपालमा हाल व्यावसायिक गतिविधि मुलुक भर विस्तार भइरहेको छ । यससँगै मुलुकका दुर्गम तथा कतिपय सुगम क्षेत्रमा पनि अत्यावश्यकीय सेवा पुग्न सकेको छैन । नेपालको उड्डयन क्षेत्रमा हाम्रो उपस्थितिले यी आवश्यकता पूरा गर्न सहयोग पुग्ने विश्वास लिएको कम्पनीले जनाएको छ । कैलाश हेलिकप्टरका हवाई र पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायीसहित बैंकर, उद्योगी लगायतको लगानी रहेको छ । पहिलाे चरणमा करिब ३० कराेड रूपैयाँ लगानी रहेकाे र नयाँ जहाज थपसँगै लगानी विस्तार गर्दै जाने तयारी भएकाे पाण्डेले बताए ।

चन्द्रागिरि हिल्स महत्वपूर्ण पर्यटकीय ‘प्रोडक्ट’

काठमाडौ । सरकारले आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवद्र्धन गर्न सन् २०२० लाई नेपाल पर्यटन वर्ष (नेपाल टुरिजम इयर–२०२० का ) रुपमा मनाउने घोषणा गरेको छ । नेपालमा सन् २०३० भित्र वार्षिक ५० लाख विदेशी पर्यटक भित्र्याउने महत्वकांक्षी योजनाका साथ अभियान घोषणा गरिएको हो । यो लक्ष्यलाई भेट्टाउन आवश्यक पर्यटकीय पूर्वाधार निर्माणलाई राज्यले उच्च प्राथमिकता दिएको छ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले आफ्नो कार्यभार सम्हाल्ने क्रममा उल्लिखित प्रतिबद्धतालाई दोहोर्याउँदै पर्यटकीय पूर्वाधार विस्तार कार्यलाई तीव्रता दिने उद्घोष गरेका छन्। पर्यटक बढाउने सरकारी लक्ष्यलाई सार्थक तुल्याउन आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको चन्द्रागिरि हिल्स महत्वपूर्ण पर्यटकीय उत्पादन ‘प्रोडक्ट’ बनेको छ । चन्द्रागिरि हिल्सलाई सरकारले उत्कृष्ट पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने भएको छ । पर्यटनमन्त्री अधिकारीले बुधबार चन्द्रागिरिको स्थलगत अवलोकन गर्दै महत्वपूर्ण पर्यटकीय गन्तव्य बनेको यो क्षेत्रको विकास र संरक्षणका लागि राज्यले पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिने बताए। उनले भने, “अहिले हामीले जे भनेका छौं त्यसलाई आधिकारिक समयसीमा तोकेर पर्यटन मन्त्रालयले यो विमानस्थल यति दिनभित्र बनिसक्छ भनेर समयसीमा स्पष्ट गर्छौं, त्यसका प्रगति पनि देखाउँछौँ ती पूर्वाधारसँगै पर्यटक कति बढ्नेछन् भनेर बाहिर ल्याउनेछौँ ।” नेपाल पर्यटन वर्ष २०२० लाई सफल तुल्याउन यस्ता ‘प्रोडक्ट’को महत्वपूर्ण भूमिका हुने भन्दै उनले यसमा सञ्चारमाध्यमले राजनीतिकभन्दा आर्थिक गतिविधिलाई विशेष प्राथमिकता दिनुपर्ने खाँचो औँल्याए । वार्षिक ७ लाख पर्यटक पुग्ने धार्मिक महत्वको चन्द्रागिरि पहाड काठमाडौ केन्द्रित पर्यटकका लागि उत्तम गन्तव्य पनि हो । पर्यटन क्षेत्रमा राम्रो प्रोडक्ट बनेको र करिब ३० प्रतिशत विभिन्न तवरबाट राज्यले कर प्राप्त गरिरहेको भन्दै मन्त्री अधिकारीले यस्ता पर्यटकीय प्रोडक्टलाई सातवटै प्रदेशका सम्भावना बोकेका क्षेत्रमा विस्तार गर्न आग्रह गरे। “राज्यले पर्यटकीय पूर्वाधार विकास गरिदिने हो पर्यटकीय उत्पादन विस्तार र विविधीकरण गर्ने निजी क्षेत्र नै हो त्यसैले पूर्वाधार निर्माण गरी पर्यटनमैत्री वातावरण सिर्जना गर्न सरकारको पूर्ण साथ रहनेछ,” उनले भने। मन्त्री अधिकारीले चन्द्रागिरि केवलकार जस्ता नयाँ पर्यटकीय गन्तव्यको संरक्षण गरी अभिभावकीय भूमिका निर्वाह गर्न सरकार तत्पर रहेकाले ढुक्कसँग लगानी गर्न आग्रह गरे । कूल ग्रार्हस्थ्य उत्पादनमा २५ प्रतिशत योगदान पुर्याउने लक्ष्यका साथ पर्यटकीय गन्तव्यको प्रवद्र्धन विकास गरिनुपर्नेमा मन्त्री अधिकारीको जोड छ । चन्द्रागिरि हिल्सका लिमिटेडका अध्यक्ष चन्द्र ढकालले पर्यटकको गन्तब्य बनेको चन्द्रागिरि राज्यको उच्च प्राथमिकतामा पर्नु सकारात्मक हो भन्दै यस्ता पर्यटकीय प्रोडक्टलाई प्रदेश स्तरमा पनि विस्तार गरिने बताउ। पर्यटनलाई प्राथमिकता दिएर चन्द्रागिरिको पूर्वाधार अवलोकन गरिनु पर्यटन विकासमा सरकारको उच्च प्राथमिकता रहेको उदाहरण पेश भएको र यसले समग्र पर्यटन क्षेत्रमा उत्साह जगाएको उनले उल्लेख गरे । मन्त्री अधिकारीले सडकसंजाल र विमानस्थल जस्ता मुख्यमुख्य पर्यटकीय पूर्वाधार निमार्ण गर्ने दायित्व राज्यको भएको बताएका छन् । पर्यटकीय पूर्वाधार निमार्ण भईसकेपछि पर्यटकीय उत्पादनतयार गर्ने काममा नेपालको निजि क्षेत्रलाई पर्याप्त प्रोत्साहन गर्नुपर्ने कुरामा जोड दिदै भने तब मात्र चन्द्रागिरि र चन्द्रागिरि जस्तै सुन्दर सयौँ पर्यटकीय गन्तव्यको लाभ नेपालको अर्थतन्त्रले हासिल गर्न सक्दछ । सरकार आसन्न भ्रमण वर्ष २०२० मा वार्षिक १५ लाख पर्यटक भित्र्याउने योजनाका साथ अगाडी बढीरहेको जानकारी दिँदै पर्यटकीय पूर्वाधारहरुको निमार्णमा सहजिकरण तथा सुरक्षाको पूर्ण दायित्व राज्यले लिने बताए । संक्षिप्त प्रतिक्रियाकै क्रममा चन्द्रागिरि लगायत नेपालका सम्पूर्ण पर्यटकीय गन्तब्यहरु विश्वका पर्यटकहरुका लागी सुरक्षित रहेको बताएका छन् । सन् २०१७ मा छ लाख ५० हजार आन्तरिक तथा बाह्य पर्यटकले चन्द्रागिरिको भ्रमण गरेका थिए । सन् २०१६ मा ५ लाख ५० हजारको हाराहारीमा पर्यटक गएका थिए । दैनिक १ हजार ५०० देखि २ हजारसम्म चन्द्रागिरि पुग्ने गरेका छन् । सार्वजनिक बिदा र चाडबाडको बेला धेरै सर्वसाधारण जाने गर्छन् । झण्डै ५ अर्ब रुपैयाँ लगानीमा पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको यस आयोजनाअन्तर्गत अबको तीन महिनामा अन्तर्राष्ट्रिय स्तरको होटल निर्माण भइसक्ने कम्पनीले जनाएको छ ।

निजगढ अन्तराष्ट्रिय विमानस्थललाई तीव्रता दिइने, भ्रमण वर्ष २०२० मा १५ लाख पर्यटक पुर्याउने तयारी

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले तीव्रता पाउने भएको छ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले देशकै मुख्य प्राथमिकता निजगढ विमानस्थल भएको र यसको निर्माण कार्य तीव्र रुपमा अघि बढाइने उल्लेख गरेका हुन् । मन्त्री अधिकारीको पदभारको पहिलो नीतिगत निर्णयमा परेको निजगढ विमानस्थललाई चाँडो प्रक्रिया अघि बढाउन निर्देशन पनि दिएका थिए । मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले विभिन्न निर्णय पढेर सुनाउँदै गर्दा मन्त्री अधिकारीले भने, “मुख्य प्राथमिकता निजगढ हो, यो मेरो मात्र भन्ने नठान्नुस् राज्यकै प्राथमिकताको आयोजना पनि हो ।” त्यसैगरी, सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन ‘भिजिट नेपाल इयर’ एक महिनाभित्र सचिवालय गठन गरी आवश्यक कार्यक्रम तय गरिसक्ने र चीन र भारत केन्द्रीय पर्यटन प्रवद्र्धनलाई तीब्रता दिने मन्त्री अधिकारीको पहिलो निर्णयमा परेका छन् । सन् २०२० मा १५ लाख पर्यटक पुर्याउने गरी भ्रमण वर्ष मनाउन लागेको हो । सन् २०१७ मा १० लाख पर्यटक नेपाल आएका थिए । पदभार ग्रहणपछि मन्त्रालय मातहतका निकायलाई निर्देशन दिदैँ मन्त्री अधिकारीले उच्च मनोवल र उच्च स्वाभिानका साथ परिणाम आउने गरी काम गर्न निर्देशन दिएका छन् ।