आगामी वर्षमा पुरातात्विक सम्पदा पुनः निर्माण गरिसक्ने- मन्त्री अधिकारी

काठमाडौं । पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले हनुमानढोकास्थित ‘भग्नावशेषबाट पुनरुत्थान’ प्रदर्शनी कक्ष शुभारम्भ गरेका छन् । हनुमानढोका दरबार संग्रहालय विकास समितिले बनाएको उक्त कक्ष शुभारम्भ गर्दै उनले आगामी वर्षमा भूकम्पबाट क्षति भएको पुरातात्विक सम्पदाको पुनः निर्माण गरिसक्ने बताएका छन् । भूकम्पपछि सम्पदाको पुनः निर्माणले गति लिन नसकेकमा अबदेखि कार्ययोजना बनाई अघिबढ्नेमा जोड दिंदै मन्त्री अधिकारीले दुई वर्ष बित्न लाग्दा पनि धरहरा र काष्ठमण्डप बन्न नसक्नु दुःखद भएको बताए । पुनः निर्माणमा बिगतको सरकारले काम गर्न सकेको थिएन तर अब स्थायी सरकार भएकाले पुनः निर्माणलाई तीव्रता दिइने र यस्ता काममा प्रतिपक्षलाई पनि सँगै लिएर जाने उल्लेख गरेका छन् । कार्यक्रममा काठमाडौंमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुनः निर्माणको कामले सोचजस्तो प्रगति हासिल गर्न नसकेको बताए । शताब्दी पुरुष सत्यमोहन जोशी पुर्खाले बनाएको सम्पदा संरक्षण गर्नुपर्ने भएकाले भूकम्पबाट क्षति भएका सम्पदा पनि चाँडो बनाउनुपर्नेमा जोड दिएका छन् । करीब २८ लाख रुपैयाँको लागतमा निर्मित कक्षमा भूकम्प र भूकम्पपछिको उद्धारसम्बन्धी फोटा, भूकम्पपछि काठमाडौंमा उत्खनन गरिएका पुरातात्विक फोटा राखिएका छन् । सोही अवसरमा मन्त्री अधिकारीले हनुमानढोकास्थित प्रताप मल्लको पुनः स्थापित शालिकसमेत अनावरण गरेका छन् । भूकम्पबाट ढलेको सालिकको पुनः निर्माण ललितपुर मंगलबजारका कलाकार बुबा श्याम डंगोल र छोरा कपिल डंगोलले गरेका छन् । रासस

भाजपाका बरिष्ठ नेता बिजयजोलीद्वारा चन्द्रागिरि भ्रमण

काठमाडौं । भारतीय जनता पार्टीका बरिष्ठ नेता बीजयजोलीले काठमाण्डौको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमा निर्माण गरिएको चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गरेका छन् । चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपालउद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जोलीलाई स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए । चन्द्रागिरिको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै जोलीले निर्माण कार्य शुरु गरेकै छोटो समयमा यस ऐतिहासिक स्थानमा स्थापित परियोजनाले पर्यटन प्रवद्र्धन गर्नुका साथै धार्मिक आस्था, शान्ति र सहिष्णुता कायम राख्न ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गरे । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको जनाइएको छ ।

कैलाशको दोस्रो हेलिकप्टर सञ्चालनमा

काठमाडौं । कैलाश हेलिकप्टर सर्भिसेज प्राइभेट लिमिटेडले बुधबारदेखि दोसो हेलिकप्टर उडान सुरु गरेको छ । कम्पनीले गत पुस १० गतेदेखि पहिलो हेलिकप्टरले उडान सुरु गरेको थियो । फ्रान्सको एयसबसले निर्माण गरेको सो हेलिकप्ट कम्पनीका अध्यक्ष तथा क्याप्टेन आशिष शेरचनको नेतृत्वमा हेटौडाबाट विरामीको उद्धार गरी काठमाडौंको मेडिसिटी हस्पिटलमा अवतरण गराएर पहिलो सेवाको सुरुवात गराएको हो । हेलिकप्टरले विरामीको उद्धार, कर्पोरेट फलाइट, कार्गो, स्पिड अपरेशन, हाइ अल्टिच्युट अपरेशन, एरियल सर्वे, दृष्यावलोकन र माउन्टेन फलाइट गर्ने कम्पनीले जनाएको छ ।