नेपाल वायुसेवा निगमले दुईवटा वाइडवडी एयरबस खरिद गर्ने सम्झौता
काठमाडौं । नेपाल वायुसेवा निगमले दुईवटा ए ३३०-२०० वाइडवडी एयरबस खरिद गर्ने सम्झौता भएको छ । उक्त जहाज खरिद गर्ने ऐतिहासिक सम्झौतामा निगमका तर्फबाट महाप्रवन्धक सुगतरत्त कंसाकार र विक्रेता कम्पनी एएआरका तर्फबाट दिपक शर्माले हस्ताक्षर गरेका छन् । निगमले दुई वाइड बडी जहाज २०९.६ मिलियन अमेरिकी डलर २०१६ को आधार मूल्यमा खरिद गर्दैछ । सम्झौता लगत्तै निगमले पहिलो किस्ताबापत करिव ३५ प्रतिशत रकम पठाउने सहमति भएको छ । अमेरिकी कम्पनीले १० कम्पनीलाई पछि पार्दै निगमले गरेको ग्लोबल टेन्डर जितेको थियो । निगमले खरिद गर्ने जहाजमा २५० देखि २८० सम्म सिट हुने कम्पनीले जनाएको छ । उक्त सम्झौता अनुसार निगमलाई दुवै जहाज सन् २०१८ को दोश्रो त्रैमासिकमा हस्तान्तरण गरिनेछ । दुई जहाज थपिएपछि निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि ५ वटा जहाज हुनेछन् । हाल एक बोइङ ७५७-२०० र दुई एयरबस ३२०-२०० सिरिजका न्यारो बडी जहाजमार्फत ८ गन्तव्यमा उडान भरिरहेको छ । नयाँ विमानबाट निगमले दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, साउदी अरेवीया जस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको छ । यसका लागि निगमले उडान गन्तव्यहरू तय गर्ने कार्यसमेत सरु गरिसकेको छ । निगमले जहाज खरिदका लागि बैना रकम १ मिलियन अमेरिकी डलर माघ दोस्रो साता नै पठाइसकेको छ । हस्ताक्षर समारोहमा बोल्दै निगमका महाप्रवन्धक कंसाकारले नेपाललाई महँगो गन्तव्य मानिदै आएकोमा निगमले वाइडवडी विमान सेवामा लगाएपछि अपेक्षाकृत भाडा सस्तो हुनुका साथै नेपाल सहज गन्तव्य हुने बताए । साथै, एएआरका प्रतिनिधि दिपक शर्माले नेपाल सँग यस प्रकारको सम्झौता गर्नपाएकोमा आफूलाई गौरवको अनुभूति भएको बताए ।
हवाईयात्रा गर्ने पर्यटकलाई २५ प्रतिशत छुट
चितवन। नारायणगढ-मुग्लिन सडकखण्डमा यात्रा गर्न जोखिम र असहज भएपछि हवाईमार्ग भएर जिल्ला भित्रिने पर्यटकलाई यहाँका होटल सञ्चालकले २५ प्रतिशत छुटको व्यवस्था गरेका छन् । जिल्लामा भित्रिने पर्यटक घटेको भन्दै होटल सञ्चालकले सो छुटको व्यवस्था गरेको हो । यहाँ अधिकांश पर्यटक काठमाडौँबाट आउने गर्छन् । अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमै भएकाले विदेशी पर्यटकको पहिलो गन्तव्य काठमाडौँ नै बन्ने गर्छ । दोस्रो गन्तव्य पोखरा जानका लागि सडक यातायात पनि सहज छ । तर चितवन आउँदा नारायणगढ-मुग्लिन सडकखण्ड पार गर्नुपर्ने हुन्छ । स्तरोन्नतिको काम भइरहेको उक्त सडक दैनिक बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म बन्द गरिन्छ भने समय समयमा खस्ने पहिरो, ढुङ्गा र हिलोका कारण पर्यटक घन्टौँ सवारी जाममा पर्छन् । “अहिले सवारी जामकै कारण पर्यटकको रोजाइ चितवन नभई पोखरा हुने गरेको छ,” क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले भने । भूकम्पअघिका वर्षमा ६० प्रतिशत होटल बुकिङ हुने भए पनि अहिले ४० प्रतिशतमात्रै बुकिङ भएको उनको भनाइ छ । सडककै कारण २० प्रतिशत पर्यटकमा कमी आएका कारण सङ्घले निर्णय गरेर हवाईमार्ग प्रयोग गर्ने पर्यटकलाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको घिमिरेले बताए । होटल सञ्चालकले तोकेको महसुलमा बोर्डिङ पासको अधकट्टी पेस गर्ने पर्यटकलाई २५ प्रतिशत छुट दिन सबै होटललाई परिपत्र गरिएको छ । यहाँका होटलमा रु आठ अर्बभन्दा बढी लगानी भइसकेको छ । एक सय ५० वटा पर्यटकीय होटल जिल्लामा रहेका छन् । सबैभन्दा बढी सौराहामा छन् भने निकुञ्ज आसपासका क्षेत्र पटिहानी, जगतपुर, मेघौलीमा पछिल्लो समय पर्यटकीय होटल थपिँदै गएका छन् । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा रहेका दुर्लभ वन्यजन्तु अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक यहाँ आउने गर्छन् । क्षेत्रीय होटल सङ्घले हवाई भाडामा समेत छुट दिन विमान कम्पनीलाई आग्रह गरेको छ । हाल काठमाडौँ-भरतपुर एकतर्फी उडानको नेपालीका लागि रु तीन हजार ५०० र विदेशीका लागि १०९ डलर हवाई भाडा तोकिएको छ । रासस
वाइडवडि खरिद सम्झौता आज, पहिलो किस्तामै ८ अर्ब रुपैयाँ पठाइने
नेपाल वायुसेवा निगमले वाइडवडि जहाज खरिदका लागि शुक्रबार अमेरिकी कम्पनीसँग सम्झौता गर्ने भएको छछ । निगमको इतिहासमै पहिलाहोपटक खरिद गर्न लागिएको वाइडवडि जहाजका लागि टेण्डर पाएको अमेरिकी लिजिङ कम्पनी एएआर कर्पोरेशनसँग यस्तो सम्झौता हुन लागेको हो । सम्झौताका लागि कर्पोरेशनको ४ सदस्यीय टोली विहिबार नै काठमाडौं आएको निगमले जानकारी दिएको छ । निगमले यो जहाज खरिद सम्झौता आजै गर्ने र पहिलो किस्तामै ८ अर्ब रुपैयाँ एएआरलाई पठाउने तयारी गरेको हो । यस अघि निगमले २ वटा वाइडवडि खरिद गर्न बैनावापत १० करोड रुपैयाँ पठाइसकेको छ । दुइवटा जहाज किन्न निगमले २२ अर्ब ६३ करोड रुपैयाँ खर्च गर्दै छ । यो जहाज खरिद भएपछि निगमसँग दुईवटा न्यारो र २ वटै वाइडवडि हुने छ । निगमले खरिद गर्ने वाइडवडि आगामी मंसिरमै काठमाडौं आइपुग्ने पनि उल्लेख छ । कारोबार दैनिकबाट ।