धरहराको फाइनल डिजाइन बुधबार आउँदै, कस्तो होला आधुनिक धरहरा ?
काठमाडौं । करिब एक करोड लागतमा धरहराको नयाँ डिजाइन तयार भएको छ । गत बैशाख १२ गतेको भूकम्पले भत्काएको धरहराको नयाँ डिजाइन तयार पार्न पुरातत्व विभागले ९४ लाख ७९ हजार ४ सय ३६ रुपैंयाँ लागतमा केस कन्सल्टेन्टलाई जिम्मेवारी दिएको थियो । प्रस्तावित धरहराकाे स्केज केस कन्सल्टेन्टले बुधबार धरहराको नयाँ डिजाइन पुरातत्व विभागलाई हस्तान्तरण गर्न लागेको हो ।‘धरहराको आधुनिक डिजाइन तयार भएको छ, पुरातत्व विभागले बुधबार नयाँ डिजाइनको स्वामित्व ग्रहण गर्नेछ’, पुरातत्व विभागको सिनियर डिभिजनल इञ्जिनियर सम्पत घिमिरेले विकासन्युजसँग भने । केस कन्सल्टेन्टले माघ २८ गते नै धरहराको नयाँ डिजाइन बुझाउने भनेको थियो तर विभागले आवश्यक अध्ययन गरि पुन परिस्कृत गर्न भनेपछि ढिलो भएको हो । सुरुमा ६ रोपनीमा धरहरा बनाउने भनिएको थियो । केस कन्सल्टेन्टले १६ लाख ९५ हजारमा ६ रोपनी क्षेत्रमा निर्माण गर्ने भनिएको धरहराको डिजाइन तयार पारेको थियो । तरपछि २३ रोपनी ४ आना २ पैसा २ दाम जमिन थपिएपछि नयाँ डिजाइन तयार पारिएको हो । अब २९ रोपनी ४ आना २ पैसा २ दाम क्षेत्रफलमा आधुनिक धरहराको निर्माण हुनेछ । यसैबिच, धरहराको निर्माण भने नेपाल टेलिकमले गर्दैछ । त्यसका लागि टेलिकमले हाल धरहरा निर्माणको मोडालिटीबारे अध्ययन गरिरहेको छ । करिब ३ अर्ब खर्चेर निर्माण गरिने धरहराको सञ्चालन नेपाल टेलिकमले ३० बर्षसम्म गर्ने र त्यसपछि सरकारलाई हस्तान्तरण गर्ने योजनासहितको मोडालिटी निर्माण गरिरहेको बताएको छ ।
पाँच दिनदेखि अवरुद्ध जुफाल विमानस्थल मंगलबारदेखि पुनःसञ्चालन
डोल्पा । भारी हिमपातका कारण पाँच दिनदेखि अवरुद्ध जुफाल विमानस्थल मंगलबारदेखि पुनः सञ्चालन भएको छ । उक्त विमानस्थल भारी हिमपातका कारण दुई फिटसम्म हिउँ जमेर अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ । विमानस्थलमा हवाई सेवा लिन पुगेका सयौँ बिरामीको समस्यालाई ध्यानमा राखी छिटो विमानस्थल सञ्चालन गर्न जमेको हिउँ डोजरबाट हटाइएको थियो । मौसममा सुधार आएसँगै लगातार दुई दिनसम्म लागेको घामले बाँकी हिउँ र हिलो सुकेपछि विमानस्थल पुनःसञ्चालन भएको हो । यातायातको एक मात्र साधनका रुपमा रहेको विमानस्थलमा हवाई सेवा सञ्चालन भएपछि हप्तौँदेखि विमानस्थलमै अलपत्र परेका सर्वसाधारण पालो कुर्दै गन्तव्यसम्म जान थालेका छन् । विमानस्थल सञ्चालन भएसँगै दैनिक उपभोग्य सामग्री समेत ढुवानी गर्न सहज भएको व्यापारीले बताएका छन् । मंगलबार मात्रै तारा एयरलायन्सले नेपालगन्जदेखि एउटा उडान भरेको छ । रासस
सिंगल इन्जिनमा अर्बको लगानी डुब्दै, मल्टि इन्जिनमा जाने वायुसेवाकाे पनि सिंगल इन्जिन थन्कीयाे
काठमाडौं । पाइलट अभावले दुईवटा उडान योग्य जहाज भएर पनि गोमा एयरको सिंगल इन्जिनको उडान करिब चार महिनादेखि बन्द छ । काष्टमण्डपको एउटा जहाज गत वर्षको फागुनमा दुर्घटना भएपछि यसको उडान अवस्था कमजोर रहेको भन्दै अर्को पनि प्रतिवन्ध लाग्यो । गत कात्तिक अन्तिम साता मकालु एयरको जहाज कर्णालीमा दुर्घटना भएको थियो । त्यसपछि एउटा मात्रै बाँकी रहेको मकालु एयरको जहाज पनि एक सातादेखि विग्रिएर उडान बन्द भएको छ । भएका जहाज बन्द हुँदै जाने, नयाँ थप नहुने भएका कारण नेपालमा अहिले दुर्गम क्षेत्रको सेवाको आधार मानिएको सिंगल इन्जिनको जहाज उडान ठप्प नै छ । पाइलट अभाव भएकैकारण गोमा एयरको २ वटा जहाजले उडान गर्न सकेको छैन । पछिल्लो समय नेपाल नागरिक उड्डयन प्राधिकरणले सिंगल इन्जिनका वायुसेवाको उडानमा प्रोत्साहन नगरेका कारण भएको जहाजलाई पनि टिक्नै धौधौ परिरहेको छ । सिंगल इन्जिनका जहाज प्रयोग गर्न नसक्दा, भएकै जहाज थन्कदा र थप लगानी गर्ने नपाउँदा करोडौ लगानीको जहाज खेर त गयो, मल्टि इन्जिनमा जान नसक्ने कम्पनीको संचरना र व्यवस्थापन पनि खेर गएको छ । एक सिंगल इन्जिन वायुसेवा कम्पनीका अनुसार मूल्यमा हिसाव गर्दा अहिले तीन वटा सिंगल इन्जिन जहाज कम्पनी, यसमा भएको लगानीको हिसाव गर्ने हो भने एक अर्ब रुपैयाँ डुवेको छ । गोमा एयरका एक इन्जिनियर राकेश कोइरालाका अनुसार गोमाको २ जहाज नेपालगन्जमै थन्किएको छ । उनका अनुसार यो कम्पनीले सिंगल इन्जिनको विकल्प मल्टि इन्जिन खोजिसकेको छ । यसका अन्य चार वटा मल्टि इन्जिनका जहाज भने नियमित उडानमा छन् । उनका अनुसार प्राविधिक कारणले सिंगल इन्जिन सकिदै जानु, भएको जहाजले पनि उडान गर्न नक्सनु र थप ल्याउने आधार नहुुनले पनि सिंगल इन्जिन नेपालबाट विस्थापन हुन लागेको हो । गोमा एयरको दुई वटा सिंगल इन्जिनका जहाज पाइलट नै नपाएकोका कारण थन्किएको हो । गोमाले जहाज उडानको लागि पाइलटको खोजि गरिरहेको बताएको छ । पाइलट पाउँनासाथ दुईवटै सिंगल इन्जिनको उडान गर्ने यो कम्पनीको भनाइ छ । गोमाले हाल चार वटा मल्टि इन्जिनको १९ सिट क्षमताको लेट उडाइरहेको छ । मल्टि इन्जिनको जहाजका लागि भने पाइलट अभाव नभएको कम्पनीको भनाइ छ । सिंगल इन्जिन हट्दै मल्टि इन्जिन थपिँदै सिंगल इन्जिनबाट सेवा सुरु गरेको गोमा एयरले हाल ४ वटा मल्टि इन्जिनका जहाज पुराइसकेको छ । यसले सन् २०१० मा २ वटा सिंगल इन्जिनबाट सेवा सुरु गरेको थियो । मकालु र एयर काष्टमण्डपसँग भएका सिंगल इन्जिनका जहाज सकिएका छन् । थप ल्याउन नपाउँने व्यवस्था नेपालको हवाई क्षेत्रको नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको छ । प्राधिकरणका एक अधिकारीका अनृुसार अब काष्टमण्डप र मकालुलेपनि मल्टि इन्जिनमा नगए यो वायुसेवा सधैलाई बन्द हुने भएको छ । प्राधिकरणका अनुसार थप सिंगल इन्जिन ल्याउन पाइदैन, मल्टि इन्जिनमा प्रतिस्पर्धा गर्न नसक्ने टिक्न सक्दैनन् । मल्टि इन्जिनकै सेवा दिइरहेको सौर्य एयरले पनि भर्खरै एउटा जहाज थप गरेको छ । यो वायुसेवाले ५० सिट क्षमताको सीआरजे २०० नामक जहाज थप गरेको हो । यो वायुसेवासँग यही प्रकृतिको एउटा जहाज उडानमा रहेको छ । एउटा थप भएपछि यसका पनि दुई वटा जहाज भएका छन् । एउटा मात्रै जहाज भएका कारण चार्टर उडान गरिरहेको यो वायुसेवाले अब भने नियमित सेड्युल उडान गर्न पाउने भएको छ । यो वायुसेवाले नयाँ जहाज एक अर्ब रुपैयाँ खर्च गरेर थप गरेको जानकारी दिएको छ । अब जहाज थप गर्ने तयारीमा रहेको श्री एयरलाइन्सले पनि छिट्टै २ वटा मल्टिइन्जिनका जहाज ल्याउने भएको छ । यो वायुसेवाले उडान अनुमतिको लागि प्रक्रिया अगाडि बढाइरहेकोले छिट्टै २ वटा जहाज ल्याएर नियमित उडान गर्ने जानकारी दिएको छ ।