वायुसेवा निगमले जहाज खरिदको टेण्डर गर्ने, २५० सीट क्षमता भन्दा ठूला २ जहाज किन्ने

काठमाडौं ७, भदौ । राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमले आगामी साता दुई वाइड बडी जहाज खरिदका लागि विश्वव्यापी प्रतिस्पर्धा (ग्लोबल टेन्डर) गर्ने भएको छ। निगमको जहाज खरिदका लागि आवश्यक ऋणको जमानी बस्ने अर्थ मन्त्रालयको निर्णयपछि ग्लोबल टेन्डर सुरु गर्न लागिएको समाचार शुक्रबारको कारोबार दैनिकमा मा छापिएको छ। कर्मचारी सञ्चयकोषले गतसाता नै २५ अर्ब ऋण दिने आशयसहितको पत्र पठाइसेको छ । नागरिक लगानी कोष ताथा अन्य वित्तीय संस्थाहरुले पनि सस्तो व्याजदरमा लगानी गर्न निगमलाई प्रस्ताव पठाएका छन्। अर्थ मन्त्रालयबाट जमानी बस्ने पत्र मन्त्रालयमा आइसकेकाले अब जहाज खरिदका लागि लगानीको कुनै समस्या नहुने वायुसेवा निगम सञ्चालक समितका सदस्य बुद्धिसागर लामिछानेले बताए। निगमले दुईवटा एयरवका जहाज किन्ने तयारी गरेको छ । निगमले २५० सिट क्षमता भन्दा ठूला जहाज खरिद गर्न २५ अर्ब रुपैयाँको जोहो गर्दै छ । यो रकम दिन संचयकोष तयार रहेकोले पनि आवश्यक प्रक्रिया पुराएर जहाज खरिदका लागि सार्वजनिक प्रस्ताव आव्हान गर्ने पनि निगमले जानकारी दिएको छ ।

हिमालय एयरलाइन्सको दोश्रो उडान कोलम्बोमा, हप्तामा तीन उडान भर्ने

काठमाडौं, ३ असोज । हिमालय एयरलाइन्सले दोश्रो नियमित गन्तव्यका रुपमा श्रीलंकाको राजधानी कोलम्बोमा उडान भर्ने भएको छ । अगष्ट २०१४ मा स्थापित हिमालय एअरलाइन्सले २०७२ साल चैत ३१ कोलम्बोबाटै पहिलो अन्तराष्ट्रिय व्यावसायिक उडान शुरु गरेको थियो । जेठ १८ गतेदेखि कतारको राजधानी दोहामा पहिलो नियमित उडान भरिरहेको हिमालयले दोश्रो गन्तव्यका रुपमा कोलम्बोलाई छानेको हो । हिमालय एयरलाइन्सका महाप्रबन्धक राजुबहादुर केसीले हप्ता तीन उडान भर्ने जानकारी दिए । हिमालयले मंगलबार, बिहिबार र शनिबार कोलम्बो उडान भर्नेछ । बर्षेनी ३० हजार श्रीलंकाली नेपाल आउने गरेको र १५ हजार नेपाली श्रीलंका जाने गरेको महाप्रबन्धक केसीले जानकारी दिए । त्यस बाहेक ट्रान्जिट पोइन्टका रुपमा पनि धेरैले श्रीलंका र नेपाललाई प्रयोग गरिहरको उनले बताए । हिमालयले नियमित उडान सुरु गरेपछि ठुलो मात्रामा श्रीलंकाली पर्यटक नेपाल आउने दावी समेत उनले गरे । ८ बिजनेस क्लास र १५० इकोनोमी क्लास गरी १५८ सीट क्षमताको विमान एअरबस ३२०–२०० बाट हिमालयले श्रीलंका उडान गर्नेछ । एक तर्फी भाडा ३० हजार तोकिएको छ भने दुई तर्फको शुल्क ५० हजार रुपैंयाँ लाग्नेछ । हिमालय एयरलाइन्सले तेश्रो उडान गन्तव्यका रुपमा भारतको नयाँ दिल्ली उडान भर्ने योजना बनाएको पनि महाप्रबन्धक केसीले विकासन्युजलाई जानकारी दिए । केही महिना पछि हिमालयले  भारतको नयाँ दिल्ली, चीनको ल्हासा, चेंगदु र बेइजिङ उडान भर्ने तालिका बनाएको उनले बताए । संयुक्त लगानीमा सञ्चालित एअरलाइन्समा ५१.०१ प्रतिशत लगानी नेपालीको छ भने ४८.९९ प्रतिशत लगानी तिब्बत एअरलाइन्सको छ ।

आन्तरिक उडानको भाडा घट्यो, दशैंमा घर जाने हवाई यात्रुलाई राहत

काठमाडौं, ३ असोज । नेपाल आयल निगमले हवाई इन्धनको मुल्य घटाएपछि आन्तरिक वायुसेवा कम्पनीहरुले पनि हवाई भाडा घटाएका छन् । वायुसेवा सञ्चालक संघले असोज ४ गते मंगलबार(भोली)देखि लागू हुने गरी नयाँ हवाइ भाडादर तोकेका हुन् । सञ्चालक संघकोे बैठकले काठमाडौंबाट सबैभन्दा नजिकको गन्तव्य सिमरामा प्रतियात्रु ५३ रुपैयाँ भाडा घटाएको छ भने सबैभन्दा टाढाको धनगढीका लागि १९३ रुपैयाँ घटाएको छ ।त्यसैगरी, काठमाडौंबाट बिहानमा हुँदै आएको माउन्टेन फ्लाइटको भाडा पनि १८५ पनि घटाएको छ । निगमले हवाइ इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर ५ रुपैयाँ घटाएर ९४ रुपैयाँ कायम गरेको थियो । संघले प्रतियात्रु प्रतिमिनेटका दरले गन्तव्यका आधारमा भाडा समायोजन गर्दै आएको छ ।