श्री एयरलाइन्सले जहाजबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्दै,  एक वर्षभित्रमा पाँच अर्ब लगानी

काठमाडौं २२, भदौ । हेलिकोप्टर सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले नियमित उडानका जहाजको अनुमति पाएको छ । १७ वर्षदेखि नियमित रूपमा हेलिकोप्टर उडाइरहेको यो कम्पनीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडानको जहाज थप गरेर नियमित उडानको अनुमति दिएको हो । मन्त्रालयबाट मंगलबार फिक्स विंग्स (पंखा जडित) जहाज संचालनको इजाजतपत्र (लाइसेन्स) श्रीले पाएको छ । ‘मन्त्रालयबाट इजाजत पाएकोले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान संचालन अनुमित (एओसी) लिएर आगामी तीन महिनाभित्रमा आन्तरिक गन्तव्यमा जहाज उडाउँछौ’, श्री एयरलाइन्सका प्रवन्ध निर्देशक सुधीर मित्तलले भने । उनका अनुसार डेढ दशक लामो समय हेलिकोप्टर (रोटर विंग्स) संचालन गरेको अनुभवलाई आन्तरिक उडानमा पनि प्रयोग गर्न लागिएको हो । श्रीले हेलिकोप्टरमार्फत आन्तरिक र अन्तर्राष्ट्रिय दुबै अनुमति थप गर्न खोजिएको हो । मंगलबारबाट आन्तरिक उडानको लागि भने इजाजत थप भएको छ । जहाज उडान सुरुसँगै आवश्यक प्रक्रिया पू¥याएर अन्तर्राष्ट्रिय उडान अनुमतिसमेत लिने श्रीले जानकारी दिएको छ । अहिलेको श्रीको प्राथमिकता आन्तरिक गन्तव्यमा हो भने ६ महिना भित्रमा क्षेत्रीय अन्तर्राष्ट्रिय गन्तव्यको उडानको पनि भएको मित्तलको भनाइ छ । आन्तरिक उडान संचालन सुरु गरेपछि आवश्यक प्रक्रिया मिलाएर अन्तर्राष्ट्रिय उडानमा जानुपर्ने भएकोले हामीले छिटो गर्ने भन्दाभन्दै पनि प्रक्रिया पूरा गर्न समय लाग्न सक्ने मित्तलको बुझाई छ । हालका लागि भारतका विभिन्न सहरका गन्तव्यबाट अन्तर्राष्ट्रिय उडानमा जाने र आवश्कता अनुसार एयरवस वा वोइङका जहाजमा थप गर्दै मध्यपूर्वी मुलुकपनि जान सकिने मित्तलको भनाई रहेको बुधबारको अन्नपूर्ण पोष्टमा समाचार छापिएको छ । आन्तरिक उडानमा दुई अर्ब रुपैयाँसम्मको लगानी योजना बनाएको मित्तलले जानकारी दिए । मित्तलको एकल लगानी रहेको यो वायुसेवाले उड्डयन क्षेत्रमा क्रियाशील भएर लागिएसकेपछि आक्रामक योजना बनाएरै आगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । १७ वर्षको हेलिकोप्टर उडानको अनुभवबाट जहाज उडान नेपालमा श्रीले एमआई १७ नामक ठूला र एएस ३५० बी ३ नामक साना हेलिकोप्टर संचालन गरिरहेको छ । हेलिकोप्टरमा राम्रो सेवा गरेको अनुभवलाई नै जहाजमार्फत अन्तरिक र अन्तर्राष्ट्रिय उडानमा प्रयोग गर्ने योजना बनेको श्री एयरका कर्पोरेट प्रवन्धक अनिल मानन्धरको भनाइ छ । श्रीले आन्तरिक उडानका लागि ५० सीट क्षमताका सीआर जे २०० नामक तीनवटा जहाज ल्याउने भएको छ । तत्काल दुईवटा यो जहाज ल्याएर उडान संचालन गरिहाल्ने योजना श्रीको छ । काठमाडौं विमानस्थललाई आधार बनाएर माउन्टेन फ्लाइट, भन्द्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढीसहितका शहरी क्षेत्रका विमानस्थल (ट्रङ्क रुटका) गन्तव्यमा उडान गर्ने योजना यो वायुसेवाको छ । आन्तरिक उडानका यी गन्तव्यमा उडान गर्न सीआरजे २०० नामका जहाजबाट उडान हुन्छ । देशभित्र उडान गर्न ५० र ७० सीटका क्षमतामा जहाज हेरिएको मानन्धरको भनाइ छ । उड्डयन नियम अनुसार कम्तिमा दुईवटा जहाज संचालन गर्नुपर्ने भएकोले एकैपटक दुईवटा र थप एक गरी दुइटै क्षेत्रमा तीनतीन वटा जहाज हुने छ । अन्तर्राष्ट्रिय उडानका लागि ईआरजे १९० सिरिजका ११० सीटक्षमताको जहाज ल्याउन प्रक्रिया अगाडि बढेको छ । अन्तर्राष्ट्रिय उडानका गन्तव्यमा भारतीय सहर हैदराबाद, मुम्मै, मदरास, बैग्लोर, कोलकत्ता, वनारसलगायतका गन्तव्य रहेको उल्लेख छ । अन्तर्राष्ट्रिय उडान गर्न ब्राजिली जहाज निर्माता कम्पनी एम्ब्रेयरमा निर्मित १ सय १० सिट क्षमतायुक्त ‘इआरजे–१९०’ सिरिजका तीनथान जहाज ल्याउने गरी योजना तय भैसकेको छ । श्री का अनुसार जहाज तयारी अवस्थामा रहेकोले उड्डयन प्राधिकरणबाट अनुमति पाउनेवित्तिकै काठमाडौं आइहाल्ने जानकारी दिएको छ । डेढ दशकदेखि हेलिकोप्टर संचालन गरिरहेको यो कम्पनीले लामो समयदेखि नियमित उडानको जहाज संचालन गर्न पनि आन्तरिक योजना बनाइरहेको थियो । नेपालमै रोजगारी बढाउने उद्देश्यले हवाइ क्षेत्रमै आक्रामक लगानी गर्न थालेको पनि मित्तलको भनाइ छ । जहाज उडानमा प्रतिस्पर्धामा जाने आन्तरिक र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न श्रीले आफ्नो व्यापारिक योजनालाई फराकिलो दायरा बनाएर अगाडि सारिएको जानकारी दिएको छ । श्रीले हाल साना र ठूला गरी १० वटा हेलिकोप्टर सञ्चालन गरिरहेको छ । नेपालसहित अफ्रिकी मुलुकमा पनि श्रीले एमआई १७ नामक ठूलो हेलिकोप्टर उडाइरहेको छ । हाल श्रीसँग रुसमा निर्मित २४ सिट क्षमताका ६ वटा एमआई–१७ नामक ठूलो हेलिकोप्टर छ । फ्रान्सेली वायुसेवा कम्पनी एयरबस हेलिकोप्टर्सले निर्माण गरेको पाँच र ६ सिट क्षमताका अर्को चारवटा ‘एएस३५० बिथ्रिई’ नामका साना होलिकोप्टर पनि छन् । हेलिकोप्टर सेवाप्रदाकय कम्पनीबाट नियमति उडानका आन्तरिक वायुसेवामा जाने कम्पनी श्री नै पहिलो होइन । यस अघि गोर्खा र कस्मिक एयरले पनि ठूलो हेलिकोप्टरसँगै नियमति उडानका जहाज संचालन गरेका थिए । आफूसँग भएको वर्षोदेखिका आन्तरिक र अन्तर्राष्ट्रिय हेलिकोप्टर सेवाको अनुमति तथा सेवालाई विस्तार गरेर जहाजमा पनि जान लागेको श्रीको भनाइ छ ।

वायुसेवा निगमको १८ जहाज पुर्याउने लक्ष्य, हरेक वर्ष जहाज थप गर्ने योजना

काठमाडौं २१, भदौ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले १८ वटा जहाज पुर्याउने लक्ष्य राखेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले हरेक वर्ष जहाज थप गर्दै १८ वटा बनाउने योजना रहेको बताए । वायुसेवाले २/४ गर्दै १८ वटा विमान पुर्याउने लक्ष्यलाई व्यावहारिक रूपमा अगाडि बढाउनु अहिलेको आवश्यकता रहेको पनि मन्त्री शाहीले बताएका छन् । नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा उहाँले विमान थप गर्ने क्रमसँगै आवश्यक जनशक्ति पाइलट, इन्जिनियरको व्यवस्था पनि समानान्तर रुपमा गर्दै जानुपर्ने पनि बताए । मन्त्री शाहीले लक्ष्य निर्धारण गर्दा भविष्यका संभावना र व्यावहारिकतालाई ध्यानमा राखी महत्वाकाँक्षा सहित बढ्नु पर्दछ भन्नु हँुदै क्रमिकरुपमा विमान थप्दै जाने आधार आफूले तयार गर्ने र सक्रिय भूमिका निर्वाह गर्ने बताए । उनले एकै पल्ट १८ वटा विमान सेवामा समावेश गर्ने नभई प्रत्येक वर्ष थप गर्दै जाँदा केही वर्षपछि यस्तो लक्ष्य पूरा गर्न सकिने जानकारी दिए । निगमका गन्तव्य पर्याप्त भए पनि ती सबै गन्तव्यमा पुग्ने विमानको कमीलाई पुरा गर्ने प्राथमिकता साथ नयाँ नयाँ गन्तव्यको खोजीगर्ने विकल्पमा पनि सोच्नुपर्ने बताए । निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले निगम नयाँ र जटिल मोडमा पुगेको उल्लेख गर्दै निगमले वाइडबडी विमान चलाएर अन्तर्राष्ट्रिय उडानमा नयाँ फड्को मार्ने दृढता व्यक्त गर्नुभयो ।

नेपाल एसबिआई बैंकले फेवाताल सफा गर्ने

काठमाडौं, २० भदौ । नेपाल एसबिआई बैंक लिमिटेड र पोखरा उपमहानगरपालिकाबीच पोखराको फेवातालको सौन्दर्यकरण तथा सरसफाई सम्बन्धि समझदारीपत्र सम्पन्न भएको छ । पोखरामा आयोजित एक कार्यक्रमकाबीच बैकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत विजयकुमार त्यागी र पोखरा उपमहानगरपालिका कार्यालयका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत ओमराज पौडेलले उक्त समझदारीपत्र अदान प्रदान गरेका छन् । समक्षदारीपत्र बमोजिम बैंकले फेवातालको किनार (बाराहीघाट देखि गैह्राको चौतारासम्म) मा हाल निर्माण भएको फुट ट्रयाकमध्ये १०० देखि २०० मिटर क्षेत्र वरिपरी अधिकतम १५ वटा विश्राम स्थल/अवलोकन सेड निर्माण गर्नेछ । साथै, बैंकले सो वरिपरि आकर्षक बगैँचा तयार पार्ने र हरियालीको विकास गर्ने कार्य गर्नेछ । सोही समझदारीपत्र अन्तर्गत बैंकले उक्त स्थानमा स्थानीय एवं बाह्य पर्यटकको सुविधालाई ध्यानमा राखी महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय, स्वच्छ पिउने पानी वितरण कक्ष, बैंकिङ् टर्मिनल कक्षको समेत निर्मा/विकास गर्ने विज्ञप्तिमा उल्लेख छ । हाल बाराही घाटमा निर्मित उद्धार टावरको सौन्दर्यकरण तथा सोको वरपर न.पा.ले तोकेको क्षेत्रफलसम्मको ल्यान्ड स्केपिङ् समेत बैंकले गर्नेछ । संरचना निर्माणका अतिरिक्त बैंकले निर्माण गरेको एवं सौन्दर्यकरण गरेको सम्पुर्ण संरचनाको ५ वर्षसम्स मर्मत संभार गर्ने जिम्मेवारी समेत बैंक स्वयंले निर्वाह गर्नेछ । उपरोक्त कार्यहरु आरम्भ गर्न बैंकलाई आइतबार देखिनै कार्यादेश समेत प्रदान भएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत उक्त क्रियाकलापहरु गर्ने भएको हो ।