चार प्रदेश महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले शक्ति विकेन्द्रित गर्न सकोस्

काठमाडाैं । आगामी चैतमा नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा हुदैछ । सो सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् । त्यसैकारण अहिलेका बरिष्ठ उपाध्याक्ष शेखर गोल्छा महासंघको आगामी कार्यकालको अध्यक्ष हुदैछन् । तर, चैतमा हुने अधिवेशनले गोल्छापछिको नेतृत्व पनि चयन गर्दैछ । चैतमा हुने महाधिवेशनले जसलाई बरिष्ठ उपाध्यक्ष बनाउनेछ, सो व्यक्ति नै गोल्छापछिको महासंघको अध्यक्ष बन्नेछ । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था भएको कारण पनि महासंघको नेतृत्वका बारेमा चासो र सरोकार हुनु स्वभाविकै हो । सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर कार्यान्वयन गर्ने अधिकांश काममा महासंघको संलग्नता हुने भएकोले पनि यसको महत्व धेरै छ । महासंघले सबैभन्दा धेरै चिन्ता र सरोकार राख्ने भनेको उसका आफ्नै सदस्यहरुको हित प्रबद्र्धन नै हो । कुनै पनि संघ संस्थाले आफ्ना सदस्यहरुको हित संरक्षण र प्रबद्र्धन गर्नको लागि नै काम गर्नुपर्छ । यसैकारण महासंघका सदस्यहरुले अवको नेतृत्वबाट के कस्तो अपेक्षा राखेका छन् ? यो प्रश्न प्रदेश–२ अध्यक्ष शिवशंकर साह,बाग्मती प्रदेशकाका अध्यक्ष दिनेश श्रेष्ठ, गण्डकी प्रदेशका अध्यक्ष सञ्जिव कोइराला र कर्णाली प्रदेशका अध्यक्ष पदम बहादुर शाहीसँग राखेका छौं । उनीहरुले समग्रमा अबको नेतृत्वले शक्ति विकेन्द्रित गर्न सकाेस् भन्ने धारणा राखेका छन् । अबको नेतृत्वले शक्ति विकेन्द्रित गर्न सकोस्  शिवशंकर साह,अध्यक्ष, प्रदेश–२ सिँह दरवार जसरी विकेन्द्रिकरण भयो त्यसरी नै नेपाल उद्योग वाणिज्य महासंघले पनि आफ्नो शक्ति विकेन्द्रित गरोस्  । विभिन्न नीति नियम ल्याएर सरकारले व्यवसायीहरुलाई समस्या पारिरहेको छ । यो समग्र व्यवसायीका लागि पीडादायी छ । ती नीति नियमलाई सरल बनाउन सरकारसँग कडा रुपमा वार्ता गरेर उद्योगी व्यवसायीमैत्री नीति ल्याउनु अबको नेतृत्वले भूमिका खेलोस् । नीति नियम बन्दा नीजि क्षेत्रको सल्लाह सरकारले लिनु पर्ने वातावरण अबको नेतृत्वले सिर्जना गरोस् । अबको नेतृत्वले त्यो किसिमको वातावरण सिर्जना गर्नेछ भन्ने हामीले आशा लिएका छौं । महासंघले हालसम्म त्यस्तो उल्लेखनिय काम गरेको महसुस हामीले गरेका छैनौं । नीतिगत समस्या समाधान गर्ने नेतृत्व आजको आवश्यकता हो   अध्यक्ष दिनेश श्रेष्ठ, अध्यक्ष, बाग्मती प्रदेश बाग्मती देशकै संघिय राजधानी भएको प्रदेश हो । यो प्रदेशको सबै जिल्लामा धेरै साना तथा मझौला उद्योगी व्यवसायीहरु छन् । सबैभन्दा बढी उद्योग व्यवसाय बाग्मतीमान नै बढी छन् । अहिले उद्योगी व्यवसायीहरुका नीतिगत र कानुनी समस्याहरु धेरै छन् । ती समस्याहरु समाधान गर्ने, राज्य कहाँ लिएर वार्ता गर्ने नेतृत्व हामीलाई चाहिएको छ । व्यवसायीको हति विपरीत हुने ती नीति नियमहरुलाई परिमार्जन गर्ने, निजी क्षेत्रमैत्री नीति नियम बनाउने खालको नेतृत्व हामीलाई चाहिन्छ । अहिले धेरै जिल्ला नगर संघहरु सन्तुष्ट छैनन् । त्यसकारण अब आउने नेतृत्व अहिलेको जस्तो नेतृत्व नहोस् भन्ने चाहना हो । व्यवसायीले अनुभूति गर्ने खालका काम अहिले भइराखेको अवस्था छैन । राज्यपनि कानुनी निर्माणमा बढी समय दिई रहेको छ । ती कानुन हामीसंग समन्वय नभएर बनि रहेका छन् । हामीले अब आउने नेतृत्वबाट बन्ने कानुनमा हामीलाई पनि सहभागी गराएर कानुन बनाउने वातावरण सिर्जजना गर्नतर्फ लागोस् भन्ने हाम्रो अपेक्षा हो । अहिले आइरहेको औद्योगिक व्यवसाय ऐन,उपभोक्ता हित संरक्षण ऐन राज्यले सबै काम गर्ने भन्ने कुरा भइरहेको छ । त्यसमा निजी क्षेत्रले के काम गर्ने भन्ने कुरा हुनु पर्यो । मूल्य निर्धारण गर्ने कुरा राज्यले गर्ने भनिएको छ । त्यसको लागि अगाडि व्यवसायी र राज्य बसेर मूल्य कति निर्धारण  गर्ने भन्ने निक्र्योल गर्नु पर्यो । द्धिअर्थी लाग्ने धेरै कानुन निर्माण भएका छन् । ती ऐन कानुनहरुलाई व्यवसायीमैत्री बनाउन अब आउने नेतृत्वले भूमिका खेल्न सकोस् ।  अबको नेतृत्वले राजनीतिक चलखेल बन्द गरोस्  सञ्जिव बहादुर कोइराला, अध्यक्ष,गण्डकी प्रदेश नेपाल उद्योग वाणिज्य महासंघ निजी क्षेत्रको सबैभन्दा पुरानो संस्था हो । यसलाई कमजोर बनाउनका लागि सरकारले अन्य संस्थाहरुलाई महत्व दिइरहेको छ । यसलाई खण्डिकरण गर्यो भने भोली निजी क्षेत्रको आवाज बुलन्द हुन सक्दैन भनेर सरकार निजी क्षेत्रलाई कमजोर बनोउने खेलमा छ । यस्तो खेललाई अन्त्य गर्न सक्ने नेतृत्व अब आउनु पर्छ । हाम्रो यही अपेक्षा हो । संंस्था खोल्नु ठूलो विषय होइन ।  त्यो संस्था भित्र सदस्य कति छन् ? त्यो संस्थाको सांगठनिक स्वरुप कस्तो छ भन्ने अवस्था बुझेर त्यो मान्यता दिन सक्ने नेतृत्व अहिलेको आवश्यकता हो । नेपालमा ठूला व्यवसायीहरु जो आयात र निर्यात गर्छन् ति व्यवसयाहरु अर्थमन्त्रालयको नजिक बसेर आफु अनुकुलको ऐन बनाउन तल्लीन हुन्छन् त्यसको अन्त्य अबको नेतृत्वले गरोस् । अबको नेतृत्वले सरकारसँग लविङ गर्न सकोस् पदम बहादुर शाही , अध्यक्ष ,कर्णाली प्रदेश सर्वप्रथम अब आउने नेतृत्वले सरकारसँग लविङ गर्न सकोस् । निजी क्षेत्रमा भएका विविध समस्याहरुलाई समाधान गर्न सक्ने नेतृत्व आओस् भन्ने हाम्रो भनाई छ । कर्णाली प्रदेश जहिले पनि राज्यको नजरबाट टाढा रह्यो । निजी क्षेत्रको नजरबाट पनि टाढा रह्यौं । कर्णालीमा भएका उद्योग व्यवसायलाई बाहिर ल्याउने कुरामा हामी पछाडि परेका छौं । अबको नेतृत्वले कर्णालीको यिनै समस्यालाई बुझ्ने र समाधान गर्नेछ भन्ने अपेक्षा छ । सबैभन्दा बढी सम्भावना भएको र पछाडि परेको प्रदेश कर्णाली हो । अबको नेतृत्वले यहाँको औद्योगिक सम्भावनालाई बाहिर ल्याउने, यहाँका समस्याहरुलाई समाधान गर्न सक्नेछ भन्ने आशा छ । सम्बन्धित समाचारः तीन प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले एसएमईको प्रबर्द्धन सोचोस्  

साना उद्योगका निर्यातयोग्य वस्तुको ट्रेडमार्क स्वामित्व कायम गर्नुपर्नेमा सरोकारवालाको जोड

काठमाडौं । स्थानीयदेखि अन्तराष्ट्रिय बजारमा समेत निर्यात हुँदै आएका नेपालका लघु, घरेलु तथा साना उद्योगहरुका उत्पादनहरुको ट्रेडमार्क सुरक्षित गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगत लघु, घरेलु तथा साना उद्योग विकास कोषले संयुक्त रुपमा मङ्गलबार राजधानीमा आयोजित ‘लघु, घरेलु तथा साना उद्योगहरुका लागि ट्रेडमार्क तथा वौद्धिक सम्पत्ति संरक्षण’ विषयक एक दिने कार्यशाला गोष्ठीका सहभागीहरुले यस्तो बताएका हुन् । महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले नेपालले विश्व व्यापार संगठनको सदस्यता लिएपश्चात विश्व व्यापार संगठनका सदस्य अन्य मुलुकहरुमा डब्लुटिओको नियम कानुन अन्तरगत रही आफना उत्पादनहरु अन्य सदस्य मुलुकहरुमा निर्यात गर्दै आएको बताउँदै भने – ‘यस अवस्थामा नेपालमा उत्पादन हुने कतिपय वस्तुहरु अन्य मुलुकहरुमा समेत उत्पादन हुने गर्दछन् ।’ यसरी उत्पादित वस्तुहरु मुल रुपमा नेपालबाट उत्पादन सुरु भएपनि अन्य मुलुकहरुले यस्ता वस्तुहरुको प्रतिलिपी उतारगरी उत्पादन गरिदिनाले नेपालको मौलिक, सांस्कृतिक, हस्तकला तथा अन्य वस्तुहरु समेतमा नेपालको हक कायम नभइदिंदा भविश्यमा अन्य मुलुकले यस्ता वस्तुको पेटेन्ट दर्ता गर्न सक्ने र हाम्रा उत्पादनहरुलेउल्टै रोयल्टी तिर्नुपर्ने वा यस्ता वस्तु उत्पादन नै गर्न नपाउने अवस्थाको सिर्जना हुन सक्छ ।’ नेपालमै भएका कतिपय निर्यातयोग्य वस्तुहरुमा हाम्रो स्वामित्व कायम गर्नु अपरिहार्य भएकोमा जोडदिंदै उनले– ‘हालसम्म पेटेन्ट अधिकारको बारेमा नेपालका अधिकांश लघु, घरेलु तथा साना उद्यमीलाई वौद्घिक सम्पत्तिको संरक्षणका बारेमा जानकारी समेत छैन, उनीहरुलाई ट्रेडमार्क र ब्राण्ड सम्बन्धी चेतना जगाउनुपर्छ ।’ उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले बौद्धिक सम्पत्ति के हाे ? भन्ने विषयमा भने – ‘उद्योगको कुरा गर्दा कुल जीडीपीको छ प्रतिशत उद्योगको योगदान छ त्यसमध्ये ८० प्रतिशतभन्दा बढी साना तथा घरेलु उद्योगको योगदान रहेको छ । साना व्यवसायीले उत्पादन गर्छन, दुःख गर्छन, थुप्रै सामानको सिर्जना हुन्छ, सिर्जनामा उनीहरुकै ट्रेडमार्क सुरक्षित हुँदैन ।’ कार्यक्रममा उद्योग विभागका कानुन उपसचिव टंकबहादुर महतले ट्रेडमार्कको अवधारणा, महत्व र दर्ता प्रक्रिया, वस्तु डिजाइन तथा वौद्धिक सम्पत्तिको संरक्षणको अवधारणा र प्रभावकारीताका साथै वस्तु डिजाइन तथा वौद्धिक सम्पत्तिका अन्तराष्ट्रिय अभ्यास रहेकाे छ । कार्यक्रममा विज्ञ राजकुमार सुवालले ट्रेडमार्क र वौद्घिक सम्पत्तिको संरक्षणका विषयमा प्रस्तुत गरे । एकदिने कार्यशाला गोष्ठीमा लघु, घरेलु तथा साना उद्योगहरुका उत्पादनमा लागेका करिब एक सयजना व्यवसायीहरुको सहभागिता रहेकको कार्यक्रमका सहजकर्ता रुपक सापकोटाले जानकारी दिए ।

माघ १० गतेदेखि दाङमा हुने कृषि औद्योगिक महोत्सवकाे समिति गठन

काठमाडौं । दाङ चेम्बर अफ कमर्सको आयोजनामा आगामी माघ १० देखि २२ गते सम्म घोराहीमा ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६’ आयोजना हुने भएको छ । उक्त महोत्सव सफल बनाउन सचिवालय, प्रचारप्रसार समिति र सुरक्षा उपसमिति गठन गरिएको छ । महासचिव टिकादत्त खनाल ‘सागर’ को संयोजकत्वमा रहेको सचिवालयमा दीपक पाण्डे, सुदन केसी, पाण्डव शर्मा, आरके शितल, जंग रोका, देवबहादुर वली र तिलक रावतलाई चयन गरिएको छ । त्यसैगरी, सचिव कुमारराज श्रेष्ठको संयोजकत्वमा रहेको प्रचारप्रसार उपसमितिमा सदस्य सचिवको रुपमा नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष आरके शितललाई जिम्मेवारी दिइएको छ । उपसमितिको सदस्यहरुमा पाण्डव शर्मा, देवेन्द्र बस्नेत, प्रेम राम्जा, केशरमान विसी, जनक नेपाली, दशरथ घिमिरे, गिरिराज नेपाली, नविन अभिलाशि, लिलाधर वली, रिता लामा, छवि पुरी, निशानदाजु भट्टराई, सपना बोहोरा, दीपक जिएम, सुशिला वली, आभाष बुढाथोकी, देव यादव, देवी भण्डारी, सविता चौधरी, दीपक वली र दामोदर बस्नेत ‘राकेश’ रहेका छन् । सचिव श्रेष्ठकै संयोजकत्वमा रहेको शान्ति सुरक्षा उप–समितिमा सह–संयोजकको जिम्मेवारी विष्णुप्रसाद पुनलाई दिइएको छ । सुरक्षा उपसमितिको सदस्यहरुमा शरद अधिकारी, पाण्डव शर्मा र आरके शितल छन् । महोत्सवमा सञ्चारकर्मीहरुले सम्बन्धित सञ्चारगृहको परिचयपत्रकै आधारमा महोत्सव स्थलमा प्रवेशको व्यवस्था गरिएको छ । महोत्सवलाई मिडियामैत्री बनाउन र सञ्चारकर्मीहरुलाई सहज ढंगले रिपोर्टिङ गर्न सजिलो होस् भनेर सञ्चारगृहको परिचयपत्रकै आधारमा प्रवेशको व्यवस्था गरिएको संयोजक श्रेष्ठले जानकारी दिएका छन् । उपाध्यक्ष घनश्याम अधिकारीको संयोजकत्वमा रहेको कार्यक्रम तथा मञ्च व्यवस्थापन समितिमा पुरुषोत्तम खनाल र केएल पीडित र लक्ष्मी अधिकारीको संयोजकत्वमा रहेको शोभायात्रा तथा झाँकी जुलुश उपसमितिमा प्रकाशसिंह पुन देवा पाण्डेयलाई थप गरिएको छ । विनोदकुमार पाण्डेको संयोजकत्वमा रहेको अतिथि सत्कार उप समितिमा घनश्याम घिमिरे छन् । महोत्सवमा लोकदोहोरी गीत प्रतियोगिता आयोजना गरिने भएको छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद २० हजार रुपैयाँ, द्धितीय हुनेलाई १५ हजार र तृतीयलाई १० हजार पुरस्कार राषि व्यवस्था गरिएको छ । प्रतियोगितामा एक समुहमा एक पुरुष र एक महिला मात्रै रहने व्यवस्था गरिएको छ ।